प्रवास

अवैध रुपमा युएइ पुगेका ३५ महिला फिर्ता

बुधबार, २० बैशाख २०७४ गते मा प्रकाशित

bidesh

वैशाख २० । भारत हुँदै युनाइटेड अरब इमिरेट्स (युयई)को दुबई पुगेका ३५ जना नेपाली महिलालाई त्यहाँको विमानस्थलले फिर्ता गरेको छ ।

फिर्ता गरिएकामध्ये १२ जना भारत हुँदै फिर्ता आएकोमा एअर इन्डियाको दिल्ली उडानबाट मंगलबार दिउँसो काठमाडौँ आइपुगेका छन् । फिर्ता भएकालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अध्यागमन विभागले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको विभागका महानिर्देशक गङ्गाराम गेलालले जानकारी दिए ।

उनीहरुलाई सोमबार साँझ फिर्ता गरिएपछि मंगलबार १२ जना दिल्ली हुँदै काठमाडौँ आइपुगेका हुन् । बाँकी २३ जना महिला अझै दुबईमै रहेको र फिर्ता हुने टिकट नहुँदा अलपत्र अवस्थामा रहेका छन् ।

अहिले फिर्ता भएका आफ्नै पैसाले टिकट काटेर फर्किएको बताएका छन्, अरु टिकट काट्ने पैसा नहुँदा दुबईमै रहेको विवरण आएको छ । उनीहरु पर्यटक प्रवेशाज्ञामा गएको अनुसन्धानको क्रममा देखिएको छ । पर्यटक प्रवेशाज्ञामा जानेहरुले जाँदा नै आफूसाथमा आउने टिकट पनि साथै लिएर जानुपर्नेमा उनीहरुको साथमा त्यस्तो टिकट नरहेको भेटिएको छ ।

 फर्किएकाले दिएको प्रारम्भिक वयानमा आफूहरु घरेलु कामदारको रुपमा कुँवेत जान लागेको बताएका छन् । भारतबाट दुबई जाँदा उनीहरुले आफू दुबई हुँदै अफ्रिकी मुलुक केन्या जान लागेका भनी त्यहाँको विमानस्थलमा विवरण लेखाएका छन् ।

विभागका महानिर्देशक गेलालले उनीहरुलाई तराईका विभिन्न सीमानाका हुँदै स्थलमार्गबाट भारत लगिएको जानकारी दिनुभयो । पक्राउ परेकाले दिएको विवरणको आधारमा उनीहरुलाई त्यसरी अवैध बाटोबाट कुँवेत लैजाने गिरोहबारे अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो । त्यसरी जानेमा विभिन्न जिल्लाका रहेका छन् ।

उत्तर प्रदेशको वाराणसीस्थित लालबहादुर शास्त्री अन्तर्राष्ट्रिय विमानस्थल हुँदै युएईको शारजाह जान लागेका ३६ जना नेपाली महिलालाई गत हप्ता विमानस्थलबाट भारतीय प्रहरीले रोकेको थियो ।

पर्यटक प्रवेशाज्ञामा जान लागेका उनीहरुको साथमा जाने टिकट भए पनि आउने टिकट नभेटिएपछि उनीहरुलाई फिर्ता गरिएको थियो । संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले खाडीका राष्ट्रहरुमा घरेलु कामदारमा पठाउन रोक लगाउने निर्णय गरेपछि पछिल्लो समय भारत हुँदै खाडीमा जानेको सङ्ख्या बढ्दै गएको छ ।