Breaking News

बिचार / ब्लग

देशभित्रैबाट देश सिध्याउने खेल भइरहेको छ

सोमबार, १८ बैशाख २०७४ गते मा प्रकाशित

surndra kc

–डा. सुरेन्द्र केसी, राजनीतिक विश्लेषक

प्रधानन्यायाधीश सुशीला कार्कीमाथि एकाएक यसरी महाभियोग लगाउनुको सीधा अर्थ देशमा भाँडभैलो निम्त्याउनु हो । भोलि(वैशाख १९) मनोनयन दर्ता गर्नु पर्ने छ । यसको दुई दिन अघि प्रधानन्यायाधीशविरुद्ध महाभियोग दर्ता भएको छ । यो कस्तो र के स्वार्थले यसो भएको हो बुझ्न गाह्रो छैन । तत्कालका लागि निर्वाचन बिथोल्ने, त्यसपछि मुलुकलाई भाँडभैलोमा जाक्ने प्रपञ्च हो यो ।

शेरबहादुरले प्रहरीको आइजिपीमा ल्याउन खोजेको व्यक्तिलाई नियुक्त गर्न नपाएपछि त्यसको प्रतिशोध लिन प्रधानन्यायाधीशमाथि महाभियोग प्रस्ताव दर्ता भएको देखिन्छ । सुशीला कार्की आफैमा प्रधानन्यायाधीश हुनु पर्ने पात्र थिइन् कि थिइनन् त्यो बेग्लै कुरा हो । तर अहिले यो अवस्थामा प्रधानन्यायाधीशविरद्ध नै महाभियोग प्रस्ताव दर्ता गर्नु भनेको प्रायोजित नै हो ।

नेपालमा यौन दूराचारीलाई राजदूत, म्यानपावर सञ्चालकलाई राजदूत, शिक्षाका माफीयालाई सांसद बनाइन्छ । त्यस्ता माफीयाले प्रधानन्यायाधीशलाई महाभियोग लगाउनु पर्छ भन्दा किन हस्ताक्षर नगरुन ।

कांग्रेस भित्रकै केही सांसदहरुले यो प्रस्तावमा हस्ताक्षर गरेका छैनन् । सुजाता कोइरालाले अरु नै प्रयोजनका लागि लिइएको हस्ताक्षर दुरुपयोग भयो भनेकी छन् । तर कुन प्रयोजनका लागि हस्ताक्षर लिइएको थियो खुलाएकी छैनन् । यो विषय पनि स्पष्ट हुनु पर्छ ।

सुशीला कार्कीले डिआइजी नवराज सिलवालको कार्य सम्पादन मूल्यांकन प्रतिवेदन कीर्ते थियो तर उनले कारबाही गरिनन् भन्ने आरोप महाभियोग लगाउनेले लगाएका छन् । उनीविरुद्ध महाभियोगमा एक प्रयोजनका लागि भनेर सांसदको हस्ताक्षर लिने, अर्को प्रयोजनमा दूरुपयोग गरेको भनेर सुजाताले नै मुख खोलेपछि कीर्ते गर्ने को हो त ?

सुशीला कार्कीविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेपछि कार्यवाहक प्रधानन्यायाधीश गोपाल पराजुली आएका छन् । पराजुली त न्याय क्षेत्रमा पहिलेदेखि नै विवादास्पद मानिस हुन् । उनको त एसलएसीकै प्रमाणपत्र छैन भनिएको छ । यो काम चाहि कीर्ते हो कि हैन ? प्रश्न तेर्सिएका छन् ।

निर्वाचन हुँदैन भन्ने मेरो निष्कर्ष हो । यस्तो अस्तव्यस्तता सिर्जना गरेपछि अब संसदको म्याद बढाउने, निर्वाचन नगराउने, सत्ता समिकरण फेरिरहने काम हुन्छ । हाम्रा नेता यस्तैमा रमाउछन् । यिनीहरुलाई अरु कुनै कुराको पनि मतलव छैन । आफ्नो स्वार्थ पूरा भए पुग्छ । राजनीतिलाई सघन बनाएर देशभित्रबाटै देश सिध्याउने खेल भइरहेको छ ।

जनतालाई थाहा पनि हुँदैन कतिबेला देश सकिएछ भन्ने । सिक्कीममा यस्तै भएको थियो । नेपालका लेण्डुपहरुले पनि यसै गरिरहेका छन् । कुनै बेला प्रचण्ड बाबुरामलाई भारतको दलाल भन्ने गर्थे । भारतसँग २५ बुँदे संयुक्त विज्ञप्ति जारी गरेपछि प्रचण्ड के रहेछन भन्ने स्पष्ट भयो । फोहोरको डंगुरको बाइ प्रोडक्ट हुन प्रचण्ड । यी प्रचण्ड जम्प मार्न खप्पिस छन् ।

संविधान जारी गर्नु अघि यिनी मधेसीसँग ३३ दलीय मोर्चामा थिए । त्यहाबाट जम्प मारेर संविधान जारी गरे । त्यसपछि जम्प पारेर केपी ओलीसँग सत्तामा टासिए । यस्ता जम्प पटक पटक गरिरहन्छन् । प्रधानन्यायाधीशलाई महाभियोग लगाउनु प्रचण्डको ‘बोल्ड डिसिजन’ भनेर उनका हनुमानहरुले उचालिरहेका छन् ।

नेपालको राजनीतिमा यस्तैको राज चल्छ । आदर्शवान र निष्ठाको राजनीति गर्नेले अवसर नै पाउँदैन । दीपक बोहोरा, कमल थापाआदिलाई हेरौं त । यिनीहरु पञ्चायतकालदेखि अहिलेसम्म सत्ताकै वरिपरी छन् । शेरबहादुर देउवा अपराधि होइनन् । उनलाई सभापति बनाउने कांग्रेसका ती महासमिति सदस्यहरु अपराधि हुन् । नेपालमा जे पनि हुन्छ । जस्तो पनि हुन्छ । मलाई नै भोलि कुनै अपराधको जामा भिराइदिएर जेल हाले पनि अनौठो नमाने हुन्छ । (डा. केसीसँग भएको कुराकानीमा आधारित)