भिडियो

कुरा: युवाको

'राजा ज्ञानेन्द्रले दुई पटक असक्षम घोषणा गरेका शेर बहादुरलाई नेपाली जनताले प्रधानमन्त्री किन मान्ने ?' (भिडियाेसहित)

शनिबार, १३ जेठ २०७४ गते प्रकाशित
- नेपाल आज (PH)

'राजा ज्ञानेन्द्रले दुई पटक असक्षम घोषणा गरेका शेर बहादुरलाई नेपाली जनताले प्रधानमन्त्री किन मान्ने ?' (भिडियाेसहित)

हरिराम रिमाल, केही समय अघिसम्म नयाँ शक्ति पार्टीको केन्द्रीय परिषद सदस्य हुनुहुन्थ्यो । राजनीतिमा १० वर्ष विताइसक्नु भएका रिमाल सामाजिक अभियन्ता र व्यवसायी पनि हुनुहुन्छ । राजनीतिमा गहिरो रुची राख्ने रिमालसँग नेपाल आजले गरेको कुराकानीको सम्पादित अंश यस्तो छः


एक दशकदेखि राजनीतिमा सक्रिय हुनुहुन्छ, नयाँ शक्तिपछिबाट अलग भएपछिको राजनीतिक घटनाक्रमलाई कसरी हेरिरहनु भएको छ ?

राजनीतिक विषय वस्तु त गञ्जागोल हिसाबले चलि नै रहेको छ । कुटनीतिक र अन्तर्राष्ट्रिय क्षेत्रमा भने नेपालको भूमिका उल्लेखनीय रह्यो यसबीच । नेपाली प्रतिनिधी मण्डलले राष्ट्रपति सिजिन पिङको सन् २०१३ मा आएको वान बेल्ट वान रोड कन्सेन्टमा हस्ताक्षर गरेर समर्थन जनाएको छ । त्यो प्रोजेक्टबाट नेपालले ठूलो लाभ लिन सक्छ । त्यसरी हेर्दा नेपालको महत्वपूर्ण मुद्दा यहाँको गरिबी हो । जबसम्म राजनीतिले गरिबीविरुद्ध सफलता हात पार्दैन तबसम्म आर्थिक सम्बृद्धि प्रबल हुँदैन । त्यसकारण जुनसुकै पार्टीले पनि नेपाललाई आर्थिक सम्बृद्धितिर धकेल्ने र वान बेल्ट वान रोडको धारणालाई सचेतात्मक रुपमा नेपाली राजनीतिज्ञले सदुपयोग गरे भने मैले नेपालको भविष्य बीस वर्ष पछि निकै राम्रो देख्छु ।


तर राजनीतिज्ञहरुले आर्थिक मुद्दालाई खासै प्राथामिकताका साथ उठाएको देखिदैन नि ?

नउठाउँदा उहाँहरुले त्यस्तो केही सजाय पाउनुभएको छैन । तर, नेपाली जनताले अलिकति सचेततापूर्वक आफ्ना प्रतिनिधी छनौट गर्न थालेको निर्वाचनले देखाएको छ । धेरै ठाउँमा नेपाली जनताले भोट माग्न गएका उम्मेदवारसँग आफ्नो गाउँको शिक्षा, सेवा, स्वास्थ, सडक माग्न थाल्नुभएको छ । त्यसकारणले पनि यो निर्वाचनले विकासका एजेन्डालाई अघि सारेको छ । त्यसकारण त्यो नारा मात्र लगाउने होइन । नेपालमा राजनीतिक पार्टीहरुको दुईवटा कुरा देखियो । एउटा, आफ्नो राजनीतिलाई चर्चित बनाउको लागिमात्र नारा दिने तर त्यो मुद्दालाई हामीले अघि बढाउन सक्छौँ भन्ने समथर््य र शक्ति नेपाली जनतालाई विश्वस्त रुपमा दिलाउन नसक्ने देखियो । यो कुरालाई हाम्रो नयाँ शक्ति पार्टीले उठायो तर त्यसले नेपाली जनतालाई पूरा गर्न सक्ने समथ्र्यलाई प्रमाणित गर्न सकेन । यसकारण मतदाताहरुले यो मुद्दा अस्वीकार गरिदिए । त्यसले गर्दा अब विस्तारै निर्वाचनमार्फत पनि त्यो कुरालाई समातेको छ । यो नारा अब अझै प्रबल हुन्छ जस्तो लाग्छ मलाई ।


तपाइ आर्थिक सम्बृद्धिको कुरा त गर्नु हुन्छ तर तपाईलाई नै बाबुरामले नयाँ शक्ति पार्टीबाट निकालीदिए नि ?

म त त्यसमा खुशी नै छु । म दुःखी छैन । किनभने हामीलाई निकालेको कुरा यो गएको निर्वाचनले प्रमाणित गरेन । हामीले जुन विषय उठायौँ र जुन मुद्दाबापत हामी पार्टीबाट निकालियौँ त्यो मुद्दा नेपाली जनता र मतदाताले अस्वीकार गरिदिनुभयो । हामीले के भनेका थियौँ भने, हाम्रो पार्टी भनेको राष्ट्रिय पार्टी हो । कुनै एउटा क्षत्रीय पार्टीसँग मात्रै हामीले अस्वभाविक खालका साँठगाँठ गर्दा राष्ट्रका धेरै भू भागहरु छुट्न जान्छन् । यो निर्वाचनले हाम्रो मुद्दालाई स्वीकार गर्यो र बाबुरामजीको मुद्दालाई अस्वीकार गर्यो । अब बाबुरामजीले यदि उहाँ साँच्चै लोकतन्त्रलाई प्रयोग गर्न खोज्नुहुन्छ भने उहाँले नयाँ शिक्त पार्टीको संयोजक पदबाट तुरुन्तै राजीनामा दिनुपर्छ । पार्टीलाई नयाँ संरचना दिएर अघि बढ्नुपर्छ भन्नुभयो भने पार्टी अघि बढ्छ । तर, यही संरचनाबाट अघि जान सक्दैन ।


आर्थिक सम्बृद्धिको कुरा गर्दा प्रचण्ड सरकारको कार्य सम्पदनलाई यहाँले कसरी लिनुभएको छ ?

प्रचण्ड सरकारको टिप्पणी गर्दा मैले एक वाक्यलाई प्रयोग गर्ने गरेको छु । यदि प्रचण्डले अहिले जुन खालको सन्तुलन यो राजनीतिक संक्रमण र संविधान कार्यन्वयनको पहिलो खुट्कीलालाई संयमतापूर्वक सम्पादन गर्नुभयो । यसको लागि इतिहासले प्रचण्डलाई सधैँ सम्झिरहनेछ । त्यतिमात्र होइन दश महिनामा प्रचण्ड सरकारले गर्न सक्ने जति प्रशश्त कामहरु गरेको छ । त्यो भन्दा धेरै काम गर्न सक्ने भौतिक परिस्थिति पनि छैन । प्रचण्डले यस्तै खालको सरकारको नेतृत्व पहिलो पटक प्रधानमन्त्री हुँदा गर्नुभएको भए २०८० सालसम्म पनि देश नै माओवादीमय र प्रचण्डमय भइरहने थियो ।


प्रचण्डले गरिएको भनिएको आर्थिक वृद्धिदर बढाएको कुरालाई कसरी लिनुभएको छ ?

त्यो चाहीँ अब एउटा उर्जा भनेको आर्थिक विकासको महत्वपूर्ण पाटो हो । त्यसले गर्दा यो नेपालको हरेक क्षेत्रलाई प्रभाव पारेको लोडसेडिङको अन्त्य भएसँगै आर्थिक वृद्धिदर उभो लाग्न थालिसकेको थियो । यसै वर्ष संयोग पनि भयो की कृषि विकास पनि बढेर आयो । दोस्रो कुरा, भारतले अस्वीकार गरेको ओबिओआर प्रस्तावलाई स्वीकार गर्नु पनि ठूलो कुरा हो ।


प्रचण्ड पछि अब शेरबहादुर देउवाले सत्ता लिने कुरालाई कसरी लिनुभएको छ ? प्रचण्डलाई नै नेतृत्व सम्हाल्न दिएको भए के बिग्रन्थ्यो ?

यो एकदमै गलत भयो । नेपालको राजनीतिमा यो भन्दा अघि पनि नेकपा एमाले र नेकपा माओवादीको बीचमा सरकारको सहमति भएको थियो । केपी ओलीले पनि त्यसलाई लत्याए भनेर बाहिर छापामा ती कुराहरु आए । त्यो भन्दा अघि पनि धेरै राजनीतिक घटना हामी देख्न सक्छौँ की भद्र सहमति हुने तर त्यसको कार्यन्वयन नहुने । त्यो लगातारको प्रक्रियालाई प्रचण्डले इमान्दारीपूर्वक निभाउनु भएको छ । शेरबहादुरले त्यो नैतिक संकट ल्याएर उहाँलाई राजीनामा गर्नका लागि त्यस्तो वातावरण बनाउनुभयो । यो सर्वथा गलत छ किनभने यसले व्यक्तिगत रुपमा प्रचण्डलाई त गर्छ तर घाटा सबै शेरबहादुर र नेपाली कांग्रेसलाई नै हो ।

शेरबहादुर देउवाले हिजो प्रधानमन्त्री हुँदा पनि विशेषगरि लोकतन्त्र नै शंकटमा पर्दा दरबारमा लगेर लोकतन्त्र बुझाए भन्ने आरोप लाग्ने गर्छ । एकपटक उनलाई राजा ज्ञानेन्द्रले असक्षम भनेर फालिदिए फेरि दोस्रो पटक आफू संकटमा परेपछि राजदरबारमा लोकतन्त्र बुझाउँदै आफैले फुटाएको कांग्रेसलाई जोड्नुभयो । पछिल्लो समय प्रधानन्यायधीश विरुद्धको महाअभियोगको सारा दोष पनि कांग्रेसले झेलेको छ । देउवाले सत्ताको लागि कतिसम्म मरिहत्ते गर्छन् भन्ने कुरा हिजो इतिहासले त देखाएकै थियो । भइरहेको सरकारले राम्रो काम गर्दागर्दै पनि जब अर्को नेतृत्वको सरकारको विकल्प खोजिन्छ भने त्यसको सारा दोष सिंगो कांग्रेस पार्टी र शेरबहादुरले बोक्नुपर्छ ।


केपी ओलीले यो सरकारलाई २० –२५ दिन रहन दिएको भए हुन्थ्यो भन्नेमा के धारणा छ ?

केपी ओलीको त्यसमा धेरै जालझेल म देख्दिँन । उहाँले त्यो कुरा इमान्दारीतापूर्वक बोल्नुभएकोजस्तो लाग्छ किनभने अहिले बजेट ल्याउनुपर्ने कुराहरु, स्थानीय निकायको व्यवस्था गर्ने, दोस्रो चरणको निवार्चनलाई सफल बनाउनुपर्ने कामहरु हुँदा केपी ओलीले त्यसो भन्नु नाजायज होइन ।


शेरबहादुर देउवाले एमालेलाई पाखा लगाउने भए भनेर ओली डराएका पो हुन् की ?

त्यस्तो होइन । कांग्रेसको एउटा उद्देश्य के देखिन्छ भने, गिरिजाप्रसाद कोइरालाले २०४६ सालको आन्दोलन पछि यो जित पञ्चहरुको पनि हो भनेर उहाँले खुल्लामञ्चबाट बोल्दा त्यसको ठूलो विरोध भएको थियो । माओवादी र एमालेले दुवैले नेपालमा थुप्रै वामपन्थी मतदातालाई जन्माएको छ । त्यसकारण पनि माओवादी र एमालेमध्ये एउटा निकै कमजोर र एउटा निकै बलियो हुँदा कांग्रेसलाई धक्का हुन्छ ।


पछिल्लो समय नयाँ आएका पार्टी विवेकशील र साझा पार्टीले पनि राम्रै मत ल्याइरहेका छन् । यो उदयलाई कसरी लिनु भएको छ ?

नेपालको यो २०४६ र २०६३ सालको आन्दोलन पछि हेर्दा कम्युनिष्ट पार्टीहरु मात्र नयाँ नयाँ बन्ने फुट्ने, गाभिने प्रवृत्ति चलिरहेको थियो । अब अहिले त्यो प्रवित्ति हटेको छ । विशषगरि साझा र विवेकशील नेपाली पार्टीकहरुले नेपाली कांग्रेसको क्षत्राधिकार हडप्ने गरि कांग्रेसको लोकतन्त्र स्थापित गर्नतिर लाग्नेछन् भन्ने लाग्छ मलाई । यो दुवैवटा पार्टीको भविष्य राम्रो छ । अझ उहाँहरु जोडिएर अघि बढ्नुभयो भने भविष्य झनै राम्रो छ ।


सामाजिक सञ्जालमा होहल्ला गरेरमात्र वैकल्पिक राजनीति सफल छ ?

अहिलेको बलियो हतियार भनेको सामाजिक सञ्जाल नै हो । सञ्चारमाध्यमहरु पनि काठमाडौँमा बढि विस्तार भइरहेका छन् । काठमाडौँमा प्रचार गर्नका लागि सामाजिक सञ्जाललाई सहि ढंगले परिचालन गरियो भने सामाजिक सञ्जाल नै काफी छन् । सामाजिक सञ्जाल त अहिलेका पार्टी प्रचारको लागि ठूलो हयिार हो । यसको दायरा अझ बढेर जान सक्छ । यति बलिया कुरालाई हामीले कसरी नकार्न सक्छौँ ?