प्रवास

परिवार

नेपाल आज बिशेस

साउदी जेलमा ७ वर्ष यातना भोगेर फर्किएकाहरु भन्छन्–‘ हात्ती आयो हात्ती आयो फुस्स बनाए प्रचण्डले’

सागर बुढाथोकी

शुक्रबार, १२ जेठ २०७४ गते मा प्रकाशित

Bhim-Prasad-Chimoriya-bir-bahadur-budhathoki-nepalaaja

घटना ६ महिना अगाडिको हो । साउदी अरवमा बिना कसुर जेल सजाय भोगेर १० जना नेपाली युवाहरु काठमाडौं उत्रिए । नेपालमा जिउँदै फर्किन पाउँदा उनीको आँखाबाट खुसीको आँसू बगिरहेको थियो । चाहेर पनि आँसू रोक्न सकिरहेका थिएनन् । किनकि, निर्दोष हुँदाहुदै जेल परेको लामो समयपछि उनीहरुले आफ्नो देशको माटोको गन्ध सुघ्न पाएका थिए ।

तर, अहिले आफ्नै देशमा उनीहरुको अवस्था नाजुक छ । न त दिल खोलेर हाँस्न सकेका छन्, नत डाँको छोडेर रुन नै ।

रोजगारीको सिलसिलामा खाडी मुलुक साउदी पुगेका ती युवाहरु अपराधी थिएनन् । तर, पनि सात वर्ष जेलमा यातना सहेर बस्न बाध्य भए । देशको बेरोजगारी र राजनीतिक अस्थिरताको तितो परिणामले उनीहरुको घरपरिवार तहसनहस भयो । लामो समयपछि घर फर्कदा कसैका बाउआमा बितिसकेका थिए भने कसैका श्रीमतीले अर्को बिहे गरिसकेका थिए । धेरैजनाको घर परिवार साउको ऋणमा चुर्लुम्म डुबेको थियो ।

परिवारलाई सुख दिने भनेर खाडी छिरेका उनीहरु जादा लागेको ऋण नतिर्दै जेल परे । त्यसपछि जीवनमा नसोचेको मोड आयो । तर, जसोतसो बाँचेर फर्किन सफल भए । जेलको नारकिय जीवनबाट मुक्त भएर नेपाल फर्किएको करिब डेढ महिनापछि गत माघ ९ गते तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग उनीहरुले भेट गरे ।

भेटमा उनीहरुले साउदी जेलमा पाएको यातनाको बेलिविस्तार लगाए । यातना सुनाउँदा भावुक हुँदै प्रधानमन्त्रीसंग भनेका थिए – ‘सात वर्ष लामो जेल जीवनले पारिवारिक जीवन अस्तव्यस्त भएको छ । पुनस्र्थापनाको लागि सहयोग गरिदिनु पर्यो ।’ जवाफमा प्रधानमन्त्री प्रचण्डले भनेका थिए, ‘अब म तपाईंहरूलाई के भनौँ, सम्झनुस् तपाईंहरूको माग पूरा गर्न म गम्भीर छु ।’

तर, प्रधानमन्त्रीले वाचा गरेको ६ महिना वितिसक्दासमेत उनीहरुले सरकारबाट कुनै प्रतिक्रिया पाएनन् । आफू उक्त विषयमा सम्वेदनसिल भएको बताएपनि प्रधानमन्त्रीले कुनै ठोस कदम चालेनन् । त्यसैले उनीहरु अझैसम्म तनावमा छन् । भन्छन्, ‘प्रधानमन्त्री प्रचण्डबाट ठूलो आस थियो, तर, उहाँपनि विदेशको राजदूतावासका कर्मचारीहरु जस्तै बेवास्ता गर्ने हुनुहुँदो रहेछ ।’

भीमप्रसाद चिमोरियाः साउदी जेलमा ७ वर्ष यातना भोगेर फर्किएका हुन् ।


प्रधानमन्त्री प्रचण्डले उनीहरुलाई भेटमा आश्वाशन दिँदै भनेका थिए, ‘तपाईंहरु निर्दोष भएका कारण साउदी सरकारसँग पनि कुटनीतिक पहल गरेर राहत उपलब्ध गराउने कोशिस गर्नेछु । दूतावास कर्मचारीहरुको लापरवाहीका कारण तपाईंहरुले दुःख पाएको भए त्यसबारे पनि समीक्षा गर्नेछु । साउदीमा भएको मृत शरीर नेपाल ल्याउन र परिवारलाई राहतका लागि म सम्वेदनशील छु ।’

तर, प्रधानमन्त्रीको भनाइ भनाइमा मात्र सिमित भयो । ‘नत अहिलेसम्म साउदी सरकारसँग क्षतीपुर्तीको पहल भएको छ । न नेपाल सरकारले हाम्रो लागि केही गरेको छ ।’ जेलबाट फर्किएका विर बहादुर बुढाथोकी भन्छन्, ‘हामी साउदीमा त पीडित थियौँथियौँ, अहिले आफ्नै देशमा पनि पीडित छौँ । सबै आश्वाशन दिने मात्रै रहेछन्, सहयोग कसैले गरेनन् ।’

ओखलढ्ङगाका बुढाथोकीका अनुसार सरकारले एक एक लाख दिने समेत बताएको थियो । तर, पटक पटक फोन गरेर जानकारी माग्दासमेत उनीहरुरको विषयमा के कस्तो काम भइरहेको छ सरकारले जानकारी दिएन् ।

‘हामी पटक–पटक राहत पाउने आशामा काठमाडौं गयौँ । केही हुन्छ कि भनेर आउदा जादाँ धेरै खर्च गर्यौँ । अनेक मानिसहरुलाई भेट्यौ । पटक पटक तेत्रो दुःख गरेर काठमाडौंको महँगीमा बस्यौ । तर, केही काम भएन् ।’ वीर बहादुर भन्छन्, ‘सरकारले केही गर्दैन रहेछ । अब केही पाउने आशा मरिसक्यो । आफ्नै दुःख आफैँसँग छ, त्यत्तिकै काठमाडौं धाएर दुःख पाइयो ।’

उनी मिडियाहरुले लिएको अन्र्तवार्ताबाट पनि दुखी छन् । सबै मिडियाहरुले उनीहरुको अवस्था भन्दा पनि अन्य पारिवारिक कुराहरुलाई महत्व दिए । राहत र पुर्नस्थापनाको लागि सरकारलाई दबाव दिनु भन्दापनि दुख बेच्ने काम गरे । त्यसैले अब उनी कोहीसंगपनि आशावादी नरहेको बताउछन् ।

काठमाडौं धाउदा उनीहरुलाई सरकारको पहलमा सस्था दर्ता गराएर स्वरोजगार बन्न सहयोग गर्ने बताइएको थियो । त्यसको लागि गरिवि निवारणले साढे १५ लाख ऋण दिन कुरामा सहमती पनि भएको थियो । त्यसका लागि उनीहरुले पहल गरे, तर काम भएन् । किनकि, सस्था दर्ता गराउनलाई २५ हजार जम्मा गर्न भनियो । ऋण गरेर काठमाडौं आएका उनीहरुले त्यो रकम तत्कालै जुटाउन सकेनन् ।

उनीहरु अहिले आआफ्नै गाउँमा छन् । जीवन चलाउने नयाँ बाटो केही भेटेका छैनन् । सबैको एउटै समस्या र उस्तै नियती छ । परिवार अस्तव्यस्त भएको छ भने विदेश जादा लागेको ऋण अझै तिर्न सकेका छैनन् । उनीहरु भन्छन्, ‘खै कसरी बाँच्ने केही सोच्न सकेको छैन् ।’

उनीहरुले प्रधानमन्त्री कार्यलयमा पटक–पटक फोन गरेर सोधे । तर, त्यहाँबाट कुनै गतिलो प्रतिक्रिया आएन् । प्रधानमन्त्री प्रचण्डले राजीनामा दिएपछि उनीहरु झनै अन्यौलमा छन् । ‘प्रचण्डले राजीनामा दिए । सरकारमा हुँदा त केही गरेनन् । सरकार बाहिर भएपछि हाम्लाई राहत देलान भन्ने के छ र ।’ बुढाथोकी थप्छन्, ‘जुन जोगी आएपनि कानै चिरेका रैछन् । अब खै कोबाट के आशा गर्नु ।’

बुढाथोकी जस्तै भोजपुरका श्री कुमार राई पनि राहतको विषयलाई लिएर अन्यौल छन् । अरुजस्तै उनी पनि राहत पाउनेमा विश्वस्त नरहेको बताउँछन् । तैपनि केही झिनो आस लिएर राहतको लागि साथीहरुसँग मिलेर पहल गरिरहेका छन् । ‘यताबाट उताबाट यता, त्यस्तो गर्दा गर्दा महिनौ बितिसक्यो, अझै काम बनेको छैन । कसरी राहत पाइन्छ भनेर ढुक्क हुनु ।’ राईले थपे, ‘यति चासो गर्दा त केही भएको छैन । चुप बस्नेहरुको हालत झन के होला ?’

अरु जस्तै विरानगरका भीम चिमोरिया पनि काठमाडौंमै आएर राहतको लागि पहल गर्न थालेको धेरै भइसकेको छ । उनले राहतको लागि सरकारी निकायहरुसँग धेरैपटक पहल गरिसकेका छन् । तर, अहिलेसम्म आश्वाशन बाहेक केही पाएका छैनन् । ‘यति धेरै पहल गरेपछि कसो नपाइएला ।’ चिमोरिया थप्छन्, ‘यो सरकार गएपनि अर्को सरकारले त गर्ला नी !’


कसरी परे सात वर्ष जेल

सन् २०१० मा नवलपरासीका कृष्णबहादुर दमाई, रुपन्देहीका भक्तबहादुर दर्जी, रसुवाका सोम तामाङ, धादिङका रामबहादुर तामाङ, तनहुँका केशबहादुर नेपाली जेल परे । त्यसैगरी, भोजपुरका श्रीकुमार राई, ओखलढुङ्गाका बीरबहादुर बुढाथोकी, झापाका दिपेन शर्मा, मोरङका चक्रबहादुर गुरुङ र मोरङका भीमप्रसाद चिमोरियालाई पनि पक्राउ गर्यो । झापा मधुबनका उमेश श्रेष्ठको साउदी जेलमा यातनाको कारण मृत्यु भयो । उनको शव अझै नेपाल ल्याइएको छैन् ।

साउदीको जद्दास्थित बराइमान जेल परेका उनीहरुलाई प्रहरीले भिन्नभिन्नै स्थानबाट पक्राउ गरेको थियो । भारतीय नागरिकको हत्याको अभियोगमा जेल परेको ५ वर्ष बितेपछि उनीहरु विरुद्धको मुदुदामा अदालतले निर्दोष रहेको फैसला सुनायो । तर, दुतावासको लापरबाहीको कारण उनीहरु जेलमुक्त हुन थप २ वर्ष लाग्यो ।

वीरबहादुर बुढाथोकीः साउदीमा ७ वर्ष विना कसुर जेल भोगका थिए ।


उनीहरु जेल पर्ने अवस्था सबैको एउटै थियो । कोही काम गरेको ठाउँबाट पक्राउ परे । कोही बस्ने कोठाबाट पक्राउ परे । जेल पुगेपछि मात्र थाहा पाए पक्राउ पर्ने अरु पनि रहेछन् । तर, पक्राउ पर्ने कसैलाई पनि किन पक्राउ गरेको कारण थाहा थिएन् । भाषाका कारणले गर्दा दुःख बढ्यो, यातनाको त कुनै सिमै थिएन् ।

उनीहरुलाई पाइपले पिट्थ्यो । करेन्ट लगाउथ्यो । पानी र कोल्ड ड्रिङसहरु मात्रै खुवाएरु मरुन्जेल यातना दिन्थ्यो । उनीहरु सहन नसकेर बेहोस हुन्थे । होसमा आउने बित्तिकै उधोमुन्टो लगाएर पानी छ्यापीछ्यापी पिट्थ्यो ।

त्यो बेला कुटेको सम्झिदाँ अहिलेपनि डरलाग्ने बताउछन् । यातनाको कारण उनीहरुको अहिले पनि जीउ राम्रो चल्दैन । शरीर पूरै बिग्रिएको छ । ज्यान धेरै कमजोर भइसकेको छ ।

लगातार ३ महिना कुटेपछि सेन्टर जेल लगेको थियो । सेन्टर जेलमा कुटाई कम हुन्थ्यो यातना धेरै । उनीहरु सबै छुटा्छुट्टै ब्लकमा थिए । तर, पाउने यातना उस्तै थियो ।

जेलमा उनीहरुले मान्छे काटेको प्रत्यक्ष देखे । प्रत्येक दिन कैदीहरुलाई दसैँको बोका काटेको जस्तो काट्थ्यो । त्यो देख्दा उनीहरु भित्रभित्रै कमजोर हुन्थे । मानसिक तनावले गर्दा बाच्ने आसा मारिसकेका थिए ।

उनीहरु सँगै भएका अन्य कैदीहरु बिहान ब्युझिदा हुँदैनथिए । कुन कैदी कतिबेला काटिन्छ, अनुमानभन्दा बाहिरको कुरा थियो । दैनिकी त्रासमा बित्थ्यो । बोल्नेसम्म स्वतन्त्रता थिएन् ।

जेलरहरुले हिन्दू धर्मको कारणले गर्दा पनि धेरै यातना दिए । धर्म परिवर्तन गर भन्दै कुट्थे । ‘हिन्दूहरु सबैलाई सिध्याइदिन्छौँ । अब कोही हिन्दू यहाँबाट बाँचेर जाँदैन् । हिन्दू जति सबैको टुक्रा–टुक्रा पारेर मासु बनाउछौँ ।’ यस्ता किसिमका गालीहरु उनीहरु दिनहुँ सुन्नुपथ्र्यो । त्यस्तो सुन्दा–सुन्दा रिस उठ्थ्यो । रगत उम्लेर आउथ्यो, तर जेलमा परेका उनीहरु निरिह रहन बाध्य थिए ।

केही बोल्यो र प्रतिबाद ग¥यो भने बाच्ने सम्भावना थिएन् । किनकि, एउटा कैदी लिन ठूलो सङ्ख्यामा प्रहरीहरु आउथे ।

कति कैदीहरु काटिए एकिन थिएन् ।

राति आठ बजेपछि उनीहरु एकछिन भएपनि खुसी हुन्थे । किनकि, मनले भन्थ्यो, ‘आजको दिन त बाँच्न सफल भइयो । भोली के हुन्छ ।’ प्रत्येक दिन, प्रत्येक पल यसरी दोहोरिरहन्थ्यो । दिनहुँ जसो मृत्युको मुख नजिक पुगेर उनीहरु बाचेका थिए ।

खानेकुरा कैले राम्रो खान पाएनन् । जेलको खाना खबुज(रोटी) र एक डाडु तरकारी हुन्थ्यो, त्यो पनि खानै नहुने फोहोर हुन्थ्यो । जेलको चार पर्खालभित्र थुनिएर बसेका उनीहरुले सात वर्षसम्म घाम त के आकाशसम्म देख्न पाएनन् । सातवर्षको समय एक युग बितेजस्तो भयो । किनकि, उनीहरु आफ्नो घरपरिवारबाट सम्र्पक विहीन जस्तै थिए ।
जेलमा रहँदा घरपरिवारलाई नसम्झेको दिन थिएन् । उनीहरु भन्छन्– ‘विरामी बुवाआमाको तस्विर झलझली आँखामा आउँथ्यो । घरपरिवार देशको यादले छाती भक्कानो पथ्र्यो । गरिब देशमा जन्मिएर अर्काको देशमा अनाहकमा सजाइ भोग्नुपर्दा देशको नेताहरुलाई धिक्काथ्र्यौँ ।’

तर, त्यतिबेला उनीहरु झनै निराश भए । किनकि, त्यस्तो अवस्थामा पनि भेट्न कोही गएनन् ।

उनीहरुलाई थाहा थिएन्, हत्याको अभियोग लागेको भारतीय नागरिक कहाँ मारिएको थियो । भन्छन्, ‘त्यो को थियो ? कहाँको थियो ? त्यसको हत्या कहिले र कहाँ भएको थियो ? हामीहरु कसैलाई थाहा थिएन् । हामी अनाहकमा जेलमा यातना भोगिरहेका थियौ ।’

यातना धेरै भएपछि जेलबाट दूतावासको कर्मचारीलाई धेरै पटक फोन गरे । दूतावासका कर्मचारीहरुले उनीहरुको बारेमा थाहा पाए । तर, उद्धार गर्न गर्न प्रयाससमेत गरेनन् । कर्मचारीहरु राति ८ बजे फोन गरेर भन्थे, ‘तिमीहरुको भोली सुनुवाई हुँदैछ ।’ त्यसपछि काम सकिन्थ्यो । भाषा नबुझेका कारण उनीहरु सुनुवाईमा निरिह हुन्थे ।

जेलमा यातना बढी नै भएपछि दूतावासमा पटक पटक फोन गरे । फोनमा विन्ती गर्दै धुरुधुरु रोए । तर, दूतावासका कर्मचारीहरुले उल्टै थर्काउदै भन्थे, ‘हाम्रो पनि जीवन छ । राति फोन गरेर डिस्र्टब नगर ।’

यति भनेपछि फोन काटिन्थ्यो । ती कर्मचारीहरुँंग मानवता थिएन् । रुखो व्यवहार गर्ने ती कर्मचारीरुको नाम उनीहरुले अझै विर्सिएका छैनन् । उनीहरुको अनुसार कर्मचारीहरु हरिश्चन्द्र घिमिरे, मानबहादुर थापा र एकजना अन्सारी थरका थिए । जसको कारण सात वर्ष नारकीय जीवन बिताउनुप¥यो ।

‘विदेशमा काम गर्ने कामदारलाई गाह्रो–साह्रो पर्दा सहयोगको लागि दूतावास हुन्छ भन्थे त्यो हैन रहेछ । दूतावासको कर्मचारीहरु नेपाली युवाले रगत पसिना बगाएर आएको रेमिट्यान्सको पैसाले मोज गर्न त्यहाँ बस्दा रहेछन् ।’ उनीहरु थप्छन्, ‘त्यहाँ जस्तै आफ्नै देशमा पनि हाम्रो पिडाँ बुझ्ने कोही रहेनछन् । रेमिट्यान्सले चलेको देशमा रेमिट्यान्स भित्राउनेहरुको केही मूल्य हुन्न रहेछ ।’