राजनीति

पोखरा र ललितपुरमा कडा प्रतिस्पर्धा, भरतपुरमा ३ हजार मतले रेणु पछाडि

मङ्गलबार, ०९ जेठ २०७४ गते मा प्रकाशित

Shthaniya-Taha-Nirbachan-Local-Government-Election-2074

जेठ–९ । स्थानीय तहको पहिलो चरणको निर्वाचनमा चार महानगरको मत परिणाम अझै सार्वजनिक हुन सकेको छैन । अहिलेसम्मको मतगणनामा काठमाडौंका एमालेका प्रत्यासी विद्यासुन्दर शाक्यले सबैभन्दा बढी मत र बढी मतले अग्रता लिइरहेका छन् । उनले ३३ हजार २४७ मत प्राप्त गरेका छन् । दोस्रोमा कांग्रेसका राजुराज जोशी छन् । उनले २४ हजार १०५ मत प्राप्त गरेका छन् ।
महानगरमध्ये ललितपुर र पोखरामा चरम प्रतिस्पर्धा छ । ललितपुरमा कांग्रेसका चिरीबाबु महर्जन र एमालेका हरिकृष्ण व्यञ्जनकारबीच कडा प्रतिस्पर्धा छ । सुरुदेखि अहिलेसम्म कांग्रेसका चिरीबाबुले अग्रता लिइरहेका छन् । तर उनको अग्रता २ हजार मतको हारहारीमा मात्रै अन्तर छ । चिरीबाबुको १९ हजार ५८३ छ भने हरिकृष्णको १७६४८ छ ।
उता पोखरामा पनि कांग्रेसका रामजी कुँवरले मतान्तर कम गरेका छन् । कांग्रेसका रामजीको मत १९ हजार ५०३ छ भन अग्रता लिने एमालेका मानबहादुर जिसीको २० हजार ५४० छ ।
भरतपुरमा भने एमालेका देवी ज्ञवाली २३ हजार २८० मतसहित अगाडि छन । एमाओवादीकी रेणु दाहाल २० हजार ३७८ मतसँग पछ्याइरहेकी छन् ।
मतगणना लम्बिदै गएका कारण मानिसहरुमा मतपरिणामबारे चासो पनि कम हुन थालेको छ ।