मेरो परिवार मेरो कथा

भिडियो

८ महिनादेखि धर्ना बसेकी दीपा भन्छिन्–‘कि संसदभवन अगाडि जलेर खरानी हुन्छु कि त संविधान जलाउछु’ (भिडियोसहित)

७ वर्षदेखि श्रीमान जेलमा श्रीमती न्यायको भिख माग्दै सडकमा

बिहिबार, २८ बैशाख २०७४ गते मा प्रकाशित

dipa-gautam-pidit-nepalaaja

‘श्रीमानले अपराध गरेको भए प्रमाणित गर, नत्र जेलमुक्त गर ।’

यो नारा लेखिएको फ्लेक्स टासेर आठ महिनादेखि संसदभवन अगाडीको सडकमा दीपा गौतम धर्ना बसिरहेकी छिन् । त्यो बाटो भएर हिड्नेहरु दीपा गौतमलाई सहानुभुती व्यक्त गर्छन्–‘बिचरा ! कस्तो अन्याय परेको रहेछ । यस्तो निदोर्ष मान्छेलाई किन थुनेको होला ?’ दीपालाई देख्ने जो कोहीको मनमा प्रश्नहरुको लहर छाउछँ –‘यत्रो महिना संसद भवन अगाडी धर्ना बस्दापनि किन सरकारी निकायको ध्यान नगएको होला ?’

दीपा नख्खु जेल धाएको ७ वर्ष पुगिसक्यो । नख्खु जेलबाट श्रीमान छुट्ने अत्तोपत्तो छैन । उनको माग छ– ‘श्रीमानले अपराध गरेको हो भने प्रमाणित गर्नुप¥यो नत्र, जेलमुक्त गर्नुप¥यो ।’ उनले यो माग लिएर प्रमुख दलका नेतादेखि प्रधानमन्त्री सम्मलाई भेटिसकिन् । मानव अधिकारवादी र मिडियाहरुलाई समेत गुहारिसकिन् । तर, कानुनको लम्बेतान नियमदेखि कसैको केहि लागेको छैन् ।

केही समयअघि उनलाई लाग्थ्यो –‘एकदिन सत्यको जित हुन्छ, भ्रम चिर्न सके न्याय अवश्य पाइन्छ ।’ श्रीमान जेल परेको आठ वर्षसम्म उनी त्यही भ्रम चिर्न लागिन् । अनेकौ कष्ट सहेर श्रीमानलाई निर्दोष सावित गराईन् । तर, न्याय पाइनन् ।

आजकाल उनलाई ‘सतीले सरापेको देशमा केही हुदैन् भन्ने लाग्न थालेको छ ।

नख्खुमा उनका पति विश्वनाथ गौतम ७ बर्षदेखि पूर्पक्षका लागि थुनामा छन् । उनी ८ महिनादेखि संसद भवन अगाडिको सडकमा छिन् । श्रीमान जेल परेपछिको ७ वर्ष उनले गरेको संर्घष शब्दमा व्यक्त गर्न नसक्ने बताउछिन् ।

सडक संर्घष

२०७३ असार २ गते दीपाले रिर्पोटस क्लब काठमाडौंमा पत्रकार सम्मलेन गरेकी थिईन् । विभिन्न मिडियाहरुको पत्रकारहरुसंग अन्र्तक्रिया गर्दै उनले आफ्नो पतिको बारेमा सत्यतथ्य जानकारी गराएकी थिईन् । त्यसपछि मिडियाहरुले गौतम निर्दोष भएको समाचार प्रकाशन, प्रशारण गरे । तर, समाचार आयो गयो, समबन्धित निकाएको ध्यान गएन् ।

पत्रकार सम्मेलन गरेको भोलिपल्टै उनी संसद भवन अगाडिको सडकमा धर्ना बस्न थालिन् । उनको धर्ना दिन, हप्ता र महिना गर्दागर्दै आठ महिना पुग्यो । यो बीचमा उनलाई भेट्न धेरै पार्टीका नेताहरु आए । विभिन्न संघसस्थाका प्रमुख व्यक्तिहरुले समेत आश्वासन दिए । साँच्चिकै अन्याय भएको भन्दै सहयोग गर्ने सान्त्वना दिएर गए । तर, दोस्रोपटक फर्केर आएनन् । न त कुनै सम्र्पक नै गरे ।

दीपालाई भेट्न एमाले नेता झलनाथ खनाल उनको धर्नास्थलमै पुगे । उनले गौतम परिवारलाई अन्याय भएको मिडियाको अगाडि बोले । दिपालाई न्याय दिलाएरै छाड्ने संकल्प पनि गरे । तर, उनी पनि त्यसपछि फर्किएनन् ।

उनलाई सहयोग गर्ने वाचा मानवअधिकारकर्मी सुबोधराज प्याकुरेलले गरेका थिए । धर्नास्थलमा उनी बारम्बार आएर के कसरी अगाडि बढ्ने सल्लाह दिन्छन् । पीडित गौतमलाई के कसरी छुटाउन सकिन्छ उनले त्यसको प्रयाससमेत गरेका छन् । तर, उनको प्रयासले सार्थककता पाउन सकेको छैन् ।

दीपाले धर्ना सुरु गर्नुअघि रिर्पोटर््स क्लवमा गरेको पत्रकार सम्मेलनमा प्याकुरेल पनि सहभागी थिए । उनले गौतम परिवारलाई अन्याय परेको दाबी गरेका थिए । साथै उनलाई सहयोग गर्ने प्रतिबद्धता समेत गरेका थिए ।

मानवअधिकारकर्मी प्याकुरेल गौतमलाई जस्तो अन्याय कसैलाई नभएको बताउछन् । ‘जसले विश्वनाथ जीलाई जेल हाले, ती सबैलाई जेल हालेर उनीहरुबाट क्षतिपूर्ति दिलाउनु पर्दछ ।’ प्याकुरेल भन्छन्–‘फसाएर अपराधीहरुले उहाँलाई माखेसाङ्लोमा पारेका छन् ।’

युनिटीको अरबौंको सम्पत्तिलाई हिनामिना गर्न षडयन्त्रपूर्वक गौतमलाई फसाइएको प्याकुरेलको तर्क छ । ‘बैंकमा करोडौं रकम फ्रिज राखिएको छ । बैंकले बिना ब्याज वर्षौ चलाइरहेको छ । रोपनीका रोपनी जग्गा दोहन भइरहेको छ ।

संचालक भित्र परिहाले । गौतम जीलाई पनि फसाएपछि त उनीहरुको टन्टै साफ । योभन्दा ठूलो अन्याय र अपराध अर्को हुँनै सक्दैन ।’ गौतमलाई क्षतिपूर्तीसहित रिहा गर्नुपर्ने तथा राज्यले उनीसँग माफ माग्नुपर्ने प्याकुरेलको भनाइ छ ।

दीपा असारदेखि निरन्तर धर्नामा छिन् । उनलाई दसैँले छोएन् । तिहार धर्नामै बसेर बिताईन् । दसैँ तिहारको माहोलमा श्रीमानको न्यायको भीख माग्दै सडकमा बसिन् । ‘वर्षौदेखि बुवा जेलमा हुनुहुन्छ, के को खुसीले दसैँ तिहार मनाउछौ ?’ दीपाले आफ्ना छोराछोरीलाई सम्झाइन् ।

धर्नास्थलमा त्रिपाल मिलाउन खोज्दा उनी लडिन् । धर्ना बसेको १ महिना नपुग्दै खुट्टा भाचिँयो । खुट्टामा पलास्टर गरेकै अवस्थामा पनि उनले धर्ना छोडिनन् ।

धर्ना बसेको महिनौ बित्ता पनि सरकार तथा सम्बन्धित निकायबाट कुनै प्रतिक्रिया थिएन् । उनीलगायत उनलाई अन्याय परेको भन्ने केही व्यक्तिहरु प्रधानमन्त्री कार्यालयमा विरोध जनाउन गए । तर, ३ नं गेट नपुग्दै दीपा र उनको परिवार सहित अन्य १५ जनालाई प्रहरीले पक्राउ गरी महानगरिय प्रहरी वृतमा नक्साल पुर्यायो । दिनभरि राखेर सोधपुछपछि छोडियो ।

त्यसपछि उनले फेरि संसद भवन अगाडि जुलुश गरिन् । सयौ सर्मथकहरुको साथमा सडकमा उत्रिएर जुलुश गर्दा पनि उनको माग कसैले सुनेन् । त्यसबेला उनले सम्पूर्ण कैदी बन्दीहरुलाई सार्वजानिक बिदा दिनु पर्ने नयाँ मागसमेत राखेकी थिईन् । त्यसपछि उनले पटक–पटक र्याली र जुलुशहरु गरिन् ।

प्रधानमन्त्री पुष्पकमल दहाललाई पनि उनले गुनासो पोखिन् । भेटमा दाहालले १ महिनासम्ममा काम हुन्छ भन्ने आश्वाशन दिए । गृहमन्त्रालयका सचिव लोकदर्शन रेग्मी र प्रधानमन्त्री कार्यलयको सचिव टंकमणी शर्मालाई प्रधानमन्त्रीले काम गर्न निर्देशन दिए । तर, चार महिना बित्यो प्रधानमन्त्रीको आश्वाशन र निर्देशन दुईटै खेर गयो । निराश हँुदै उनी भन्छिन ‘सबैलाई थाहा छ, म अन्यायमा परेको छु, मेरो पति निर्दोष छन्, तर काम कसैले गर्दैनन् ।’

यसरी परे विश्वनाथ जेल

तेह्रथुमको बसन्तपुरबाट उनीहरु काठमाडौं आएका थिए । बसन्तपुरमा होटल व्यवसाय राम्रै चलेको थियो । तर, द्वन्द्वको राप र तापले उनीहरुलाई पनि छोयो । स्थिति असहज भएपछि काठमाडौं आए । गौतम दम्पत्तिलाई तीन छोरी र एक छोराको लालनपालन गर्न गाह्रो भइरहेको थियो ।

पूर्व जाँदा यूनिटी लाइफ इन्टरनेश्नल लिमिटेडका संचालकहरु उनको होटलमा बस्थे । काठमाडौंमा आएपछि भेट भयो । उनीहरुको चिनजानबाट गौतम निर्देशकका रुपमा यूनिटीमा जागिरे भए ।

गौतममा साहित्य चेतना थियो । राजनीतिक पहुँच र पृष्ठभूमी थियो । त्यसैले उनको स्टाटस ‘मेन्टेण्ड’ गर्न उनलाई निर्देशकको पद दिइएको थियो । २०६६ असारमा विश्वनाथ मासिक तलब ५० हजार र फिल्ड भत्ता पाउने गरी युनिटीमा आबद्ध भए ।

उनले जागिर खाएको ४ महिना नबित्दै यूनिटीका बारेमा अनेक समाचार छापिन थाले । सुरेन्द्र पाण्डे अर्थमन्त्री थिए । उनको निर्देशनमा युनिटीबारे छानबिन समिति बन्यो । छानबिन समितिले यूनिटीले गैरकानूनीरुपमा संचालन गरिएको ठहर ग¥यो । र, संचालकलाई दोषी ठहर्यायो । यतिन्जेल त ठीकै थियो । तर, राजश्व अनुसन्धान विभागका उपमहानिर्देशक राममणी दुवाडी संयोजकत्वको तीन सदस्यीय छानबिन समितिले गौतमलाई पनि संचालक समिति सदस्य भनी प्रतिवेदन बुझायो । यही प्रतिवेदनका आधारमा उनीसहित अन्य सञ्चालकहरुलाई विभिन्न जिल्लामा मुद्दा चलाइयो ।

गौतमले युनिटीको चलअचल सम्पत्तिको फेहरिस्त बोकेर नेता र सरकारी अड्डा धाउँन थाले । उनको तर्क थियो, ‘युनिटीको चलअचल सम्पत्ति अरबौंको छ । यसैबाट नेटवर्कका सदस्यलाई तिर्न पर्ने पैसा तिर्न सकिन्छ । यसको उपयोग गरौं ।’

तर, जिल्ला अदालत ललितपुरले गौतमलाई पनि संचालक ठहर गर्यो । दुवाडी प्रतिवेदनलाई आधार मानि उनीसँग १ करोड ६ लाख बिगो र सोही बराबरको जरिवाना तथा ३ बर्ष कैद सुनाइयो । त्यसपछि सुनसरी जिल्ला अदालतले २ करोड २३ लाख बिगो र सोही बराबरको जरिवाना तथा ३ बर्ष कैदको फैसला सुनायो । जागिर खाएर केही लाखमात्र बुझ्न नपाउँदै उनको थाप्लोमा करोडौंको बज्रपात पर्यो ।

संचालकका रुपमा श्रीमान जेल परेपछि दीपाको परिवार तहसनहस भयो । गौतम आफू निर्दोष रहेकाले केही नहुंनेमा निश्चिन्त थिए । तर, बर्बाद भइसकेको थियो । त्यसपछि दीपा प्रमाण जुटाउन लागिन ।

निर्दोष सावित गर्न गरेको प्रयास

दीपाले कम्पनी रजिष्ट्रार कार्यालयबाट यूनिटीका संचालक को को हुन् भन्ने कागजात झिकाइन् । कम्पनी रजिष्ट्रार कार्यालयले कारागार व्यवस्था विभाग र गृहमन्त्रालयलाई गौतम युनिटी मातहतको कुनैपनि संस्थाको संचालक नरहेको फेहरिस्थ पठायो । २०७१ साल चैत्र ११ गतेको कम्पनी रजिष्ट्रार कार्यालयको गोप्य पत्र दीपाको हातमा परेपछि उनले न्याय पाउने विश्वास लिइन् । उनले गृहमा गौतमको रिहाइका लागि निवेदन दिइसकेकी थिइन् ।

गृह मन्त्रालयको कानून तथा फैसला कार्यान्वयन शाखाले कम्पनी रजिष्ट्रार कार्यालयको पत्रको व्यहोरासहित मुद्धा फिर्ताका लागि महान्यायाधिवक्ताको कार्यालयसँग राय माग्यो । महान्यायाधिवक्ताले विश्वनाथ गौतम निर्दोष रहेको स्विकार गरेपनि मुद्दा फिर्ता लिन नसकिने व्यहोराको राय दियो । यसका लागि २ वटा तर्क पेश गर्यो १) अदालतमा बिचाराधीन मुद्दा भएकाले २) एउटै मुद्दामा धेरै अभियुक्त रहेकाले कुनै एकको मुद्धामात्र फिर्ता लिन नमिल्ने ।

महान्यायाधिवक्ताको सो पत्र देखाउँदै गृहका अधिकारीले दीपालाई जवाफ फर्काए, ‘हामीले प्रयास गरेकै हो । महान्यायाधिवक्ताको कार्यालयले यस्तो पत्र दियो । विश्वजी निर्दोष हो तर उहाँलाई न्याय दिने कुरा हाम्रो वसमा छैन ।’

दीपाले सरकारी अधिकारीहरुसँग श्रीमानलाई युनिटीको संचालक समिति प्रमाणित गर्न माग गरिन् । ‘संचालक नै हो भने संचालकको प्रमाणपत्र पाउँ, कारागार र जरिवाना भोगौंला ।’ दीपाको तर्क अकाट्य थियो । उनीहरु नत संचालक समितिको सदस्यको आधिकारिता दिन सक्थे नत सदस्यका रुपमा पूर्पक्षमा रहेका विश्वनाथलाई रिहा गर्न नै ।

विश्वनाथलाई निर्दोष प्रमाणित गर्नेहरुको लाईन

कहिलेकाही नखााएको विष पनि लाग्दारहेछ । दिपालाई एकातिर राज्यसंयन्त्रप्रतिको आक्रोश थियो भने अर्कोतर्फ श्रीमानलाई न्याय दिलाइ छाड्ने भोक । कर्मचारीले उनलाई सुझाए, ‘राजनीतिक नेतृत्वले चाह्यो भने निकास निकाल्न सक्छ ।’

०३९ सालमा १५ बर्ष लाग्दा नलाग्दै दिपा मालेको भुमिगत राजनीतिमा सक्रिय थिइन् । विद्यादेबी पाण्डे (हाल राष्ट्रपति) एउटै तहमा संगठित थिए । विद्यासहित पूर्वका नेताहरुसँग उनको राम्रै चिनजान थियो । उनले समस्याको गुजुल्टो तत्कालिन एमाले उपाध्यक्ष विद्यादेबी भण्डारीसँग फुकाइन् । बिद्याले आफु पदमा नभएकाले केही गर्न नसक्ने बताइन् । त्यसपछि उनी सिपी मैनालीकोमा पुगिन् । मैनालीले गौतम पक्राउ परेको विश्वास गर्नै सकेनन् ।

मैनालीले तत्कालिन गृहमन्त्री बामदेब गौतमलाई हस्तलिखित पत्र नै लेखिदिए । ‘गैरकानूनीरुपमा राज्यले थुनामा राखेपछि थुनामुक्त गर्न कानूनी बाटो छैन भन्न मिल्छ ?’ अनेक तर्कसहित मैनालीले कडा प्रश्न तेर्साए ।

यस्तैमा उनले नेपाली काँग्रेसका नेताहरुलाई भेटिन् । काँग्रेसका मुख्य सचिव ऋषीकेश तिवारीले गृह सचिवलाई पत्र नै लेखेर मुद्धा फिर्ता गर्न अनुरोध गरे । गौतम निर्दोष रहेको व्यहोरा बुझेपछि तत्कालिन प्रधानमन्त्री सुशील कोइराला भक्कानिए । उनले तत्काल कानून संशोधन गरेर भएपनि गौतमलाई थुनामुक्त गर्न आदेश दिए । यतिन्जेलमा संविधानको चटारो शुरु भइसकेको थियो । त्यसपछि सरकार हटिहाल्यो ।

२०७२ साल मंसिरमा युनिटीका अध्यक्ष कासिराम गुरुङले दीपालाई एउटा प्रष्टिकरण पत्र दिए । जुन पत्रमा गुरुङले आफु अध्यक्ष रहेको संस्थाका संचालकको व्यहोरा खुलाएका थिए । उनले प्रष्टै लेखेका छन् ‘विश्वनाथ गौतम विसुद्ध कर्मचारी रहनु भएको र यस कम्पनिको संचालक समितिको पदाधिकारी नभएको ब्यहोरा प्रमाणित गर्दछु ।’ गुरुङको पत्रले दीपालाई झन् ठूलो आधार दियो । सो पत्र लिएर उनले तत्कालिन गृहमन्त्री शक्ति बस्नेतलाई भेटिन् ।

केपी ओली भएको प्रधानमन्त्री भएको बेला दीपाले ओलीसंग भेट्न कोशिस गरिन् । ओलीलाई नाकावन्दीले हायलकायल पारेको थियो । यस्तो बेलामा व्यक्तिको मुद्धा लिएर के जानुभन्दै दिपा खुम्चिइन् । नाकावन्दी हटेपछि सरकारपनि हट्यो । उनले ओलीलाई भेट्न पाईनन् । त्यसपछि पनि ओलीसंग भेट्ने प्रयास दिपाले जारी राखिरहिन् । ओलीले भेट्ने आश्वाशन दिइरहे । भेट अझैसम्म भएको छैन् ।

एमालेले पनि विश्वनाथ निर्दोष रहेको पत्र दिइसकेको थियो । ओलीले तत्कालिन गृहमन्त्री बस्नेत र कानूनमन्त्री अग्नी खरेललाई बोलाए । बस्नेतलाई माओवादी अध्यक्ष प्रचण्डले दिपाका श्रीमान अन्यायमा परेको बिफ्रिङ आन्तरिक रुपमा गरिसकेका थिए ।

सबैले दिपालाई उल्झन सुझाउँदै न्याय दिने वाचा गरे । भरे छुट्लान कि भोलिजस्तो गरी गतिविधि तेज बन्यो । तर, विश्वनाथ छुटेनन् । ‘कहिले के कहिले के ।’ अचानोको पीर खुकुरीलाई के था भनेजस्तो बन्दै गयो ।

उनले न्यायको भिख माग्दै प्रमुख दलका नेताहरु सबैलाइै भेटिसकिन् । सबैबाट न्याय पाउने आश्वाशन पाईसकिन् । तर, अहिलेसम्म त्यसको आभास पाएकी छैनन् । ‘व्यक्तिले गर्ने आन्दोलन भनेको आमरण अनसनदेखि आत्मदाहसम्म हो । म मानसिकरुपमा तयार छु । निर्दोष पतिलाई झ्यालखानामा देख्दा म भित्रभित्रै मरिसकेकी छु ।’

अबको योजना

दीपाले कतैबाट पनि प्रतिक्रिया नपाउदाँ निराश छिन् । तैपनि उनले आस मारेकी छैनन् । अब उनी धर्ना मात्र हैन नेपालको संविधान सार्वजानिक ठाउमा गएर जलाउने बताउछिन् । उनको तर्क बेग्लै छ । ‘म एउटा सचेत नागरिक हुँ, यत्रो वर्ष संविधान मानेर बसे । तर, यो देशका नेताहरु मिलेर जनताहरुको लागि बनाएको संविधानले निर्दोष व्याक्तिलाई थुन्छ भने म यो संविधान किन पालना गरुँ ।’ उनी थप्छिन–‘सबैलाई गुहारिसकेँ उनीहरुले न्याँय दिलाउन सक्दैनन् भने म कहाँ जाउँ ? कि न्याय दिनु प¥यो , कि त न्याय खोज्न जाने ठाउँ कहाँ हो ? देखाईदिनुप¥यो । यो संंविधानले एउटा निर्दोष नागरिकलाई यसरी थुन्छ भने म यो संविधान नजलाएर के सधै पुजा गरेर बसिरहँु ।’

उनी प्रश्न गर्छिन–‘निर्दोष भन्ने सबैलाई थाहा छ । प्रमाणित समेत गरिदिएका छन् । तर, देशका ठुला नेता तथा प्रधानमन्त्रीहरुले नै छुटाउन सक्दैनन् । यो देश को बाट सञ्चालित छ ? कसको ईशारामा चल्छन् नेताहरु ? किन निर्दोष भन्ने थाहा पाउदाँ पाउदै उनीहरु लाचार छन् ? मेरो श्रीमान मेरो परिवार तहसनहस भएपछि छुटेर के अर्थ ? निर्दोष भनेपछि राज्यले कि त उहाँलाई छोड्नुप¥यो । कि त सञ्चालक हो भनेर प्रमाण पत्र दिनुप¥यो ।’

उनको अर्को माग छ, सम्पुर्ण कैदीबन्दीहरुले सार्वजानिक बिदा पाउनुपर्छ । ‘विश्वभरिका कैदीबन्दीहरुले सार्वजानिक बिदा पाउँदा नेपालमा चाहीँ किन नपाउने ?’ उनी प्रश्न गर्छिन्–‘कुनै पनि कुरालाई सरकारले सुनुवाई गर्दैन् । अब हामी जाने कहाँ ?

श्रीमान झ्यालखानामा लामा न लामा दाह्री पालेर बसेका छन् । हरेक पटक उनी भेट्न जादाँ सोध्छन् ‘म छुट्ने कुरा के भयो ?’ मुटुमाथि ढुंगा राखेर उनी मुस्कुराउँदै भन्छिन् ‘छिट्टै होला जस्तो छ । प्रधानमन्त्री मन्त्रीले वाचा गरेका छन् ।’

दीपा पीडाँ सुनाउँछिन् ‘अरुका सन्तानहरु परिवारसंग बसेर राम्रो शिक्षा दिक्षा पाएका छन् । हाम्रो छोराछोरीहरु सडकमा बस्नु परेको छ । धर्ना र जुलुसमा ब्यानर र प्लेकार्ड बोकेर हिड्नु परेको छ । बुवा भएको भएको कति धेरै प्रगती गर्थे होलान् । अहिले सडकछाप बन्नुपरेको छ ।’

- सागर बुढाथोकी