मेरो परिवार मेरो कथा

आफ्नै मनलाई सोधे भन्छः के आमाको माया लाग्छ ?

मङ्गलबार, १२ बैशाख २०७४ गते मा प्रकाशित

narayan-poudel-nepalaaja

नारायण पौडेल  न्यूरोडको गल्लीमा मःम ढडाइसकेपछि हामी हात समातेर हिडिरहेका थियौं । एमएको एसेसमेन्ट (आन्तरिक परीक्षा) सकिएको दिन भिन्दै जोश थियो । परीक्षा सकेपछि किर्तिपुरबाट हामी सिधै न्यूरोड हानिएका थियौं । उखरमाउलो उमेरका मिल्ने साथी हामी विन्दास गफमा व्यस्त थियौं । घुमाइ फिराइ गफ रोमान्समा पुगिहाल्थ्यो । चन्द्रकमल अधिकारी परिवारको जेठो सन्तान भएकाले पढाइपछि बिहे गर्ने मुडमा थिए । उनी प्राय भन्थे–आमा बुबालाई बुहारीको धोको छ । तिमीलाई जस्तो समयको छुट मलाई छैन । यस्तै कुरा हुँदै गर्दा उनको मोबाइल बज्यो । न्यूरोडको काँकाँ र कूँकूँ उस्तै, उनी फोनमा एक्कासी चिउरिए–हँ । कुना पसे र केही बेर गफिए । फर्कदा उनको मुहारमा पूर्ववत चमक थिएन । हसिला चन्द्रको मूहारमा बादल छाएको थियो । निधारमा चिटचिट पसिना देखिन्थ्यो । ‘आमालाई पखलाले च्याप्यो रे । आजै हिंड भनेर दाइ(नाता पर्ने)ले फोन गर्नुभयो । बर्बाद भयो ।’ मलिन स्वरमा चन्द्र बोले । उनको आँखा रसाएको थियो । ओठ थरथराइरहेको थियो । मैले दाइलाई फोन गरेँ । उनले आमा सिकिस्त रहेको बताए । ‘मिलेसम्म कान्छोलाई ( चन्द्रको भाइ) व्रतबन्ध गराइदिनुहोला ।’ दाइले फोनमै सुझाए । फोनबाटै किर्तिपूरमा रहेका भाइलाई नुहाइधुहाइ गर्न लगाएँ । किशोरवयका भाइलाई विशेष कारण देखाउँदै मन्दिर लगेर डोरो लगाइयो । उ फुरुङ्ग थियो । उसलाई के भइरहेको छ भन्ने कुनै आभाष थिएन । सि यू सुन भन्दै पुष्कर गाडी चढ्यो । चन्द्रको बोली हराइसकेको थियो । बस झर्ने ठाउँसम्मै आफन्त लिन आएछन् । दुई भाइलाई सिधै घाटमा लगेर आमाको सतिगति गरिएछ । ४६ बर्षकी सरसाउँदी आमालाई यत्ति छिट्टै गुमाउँला भन्ने चन्द्रले सायदै सोचेका थिए । भोलिपल्ट उनले फोनमा भने, ‘कोरामा छु यार । जे नहुनु पथ्र्यो, त्यही भयो ।.... मलाई एउटा कुराले सबैभन्दा बढी पोलेको छ । आमाले हामीलाई सधैं स्यहार गर्नुभयो । तर, एक दिन पनि सेवा गर्ने अवसर दिनुभएन । मृत्यु त एक दिन सबैको हुन्छ, सत्य हो । तर, आमाको सेवा गर्नै नपाउने पीडा सायदै हाम्लाई जस्तो कसैलाई होला ।’ उनी भक्कानिए । चन्द्रले कोराबाट रुँदै भनेको सन्दर्भ मेरो कानमा आजपनि गुन्जिरहन्छ ः मृत्यु त एक दिन सबैको हुन्छ, सत्य हो । तर, आमाको सेवा गर्नै नपाउने पीडा सायदै हाम्लाई जस्तो कसैलाई होला ! ‘कति जन्माएकी ?’ आमामाथि म जन्मेपछि धेरैले प्रश्न गरेका थिए रे । ५ छोरा र २ छोरीपछि जन्मिएको थिएँ म । एक दाजुको बाल्यकालमै मृत्यु भएको रहेछ । मपछि पनि भाइ जन्मियो । पाँच छोरीपछि बल्लतल्ल छोरा जन्माउन सफल भएकी हजुरआमा हामी जन्मिदा नाच्नुभएको थियो रे –फेरि जन्माइ छोरो भन्दै । खिल्ली उडाउनेहरुको भीडमा हजुरआमा अपवाद हुनुहुन्थ्यो ! हजुरआमाले पछि सम्म ‘तँ जन्मदा नाँचेकी हुँ बुझिस्’ भन्नुहुन्थ्यो । केही समय पहिले डाक्टर शाराले सोध्नुभयो । तपाईका दाजुभाइ दिदीबहिनी कतिजना ? मैले गर्वसाथ भनेः ६ दाजुभाइ, २ दिदी र म पाँचौ छोरो । अप्रत्याशित उत्तरबाट तर्सिएकी शाराले फेरि सोध्नुभयो: एउटै आमाका सबै ? मैले हास्दै भनेः कतिजना आमाले सक्लान् यति जन्माउन ? गर्भ रहनुपूर्वदेखि चिकित्सकको निगरानीमा रहेर आमा बन्ने आजको समाजकी डा. शाराका लागि हाम्री आमा अविस्वसनिय लाग्नु अस्वभाविक थिएन । फेरी प्रश्न थपियोः साच्चै हो र ? ‘हो । म करेसामा जन्मेको । मेरो दिदी घास काट्न जाँदा ....।’ मैले विवरण सुनाएँ । डाक्टर शाराको मुहारमा आश्चर्यबोधक चिन्ह कोरिएको थियो । दुनियाँका लागि बढी भएपनि हामी हाम्री आमाका लागि कहिल्यै बढी भएनौँ । तीस बर्षकी हुँदा नहुँदै ९ सन्तान जन्माएकी आमाको संघर्ष कुनै मानेमा पनि सहज थिएन । पर्वतको मध्यम खालको हावापानी एकहदसम्म सहज थियो, बसाइ सराइ गरी बर्दिया पुगेपछि मौसम पनि प्रतिकुल रह्यो । ‘खेती गरेर भएपनि सबैलाई हुर्काउन पढाउन सकियो ।’ आमा सन्तोषको सास फेर्नुहुन्छ । अति गरिवको संख्या अत्याधिक रहेको बर्दियाको बस्तीमा हामी ‘धनी’ थियौँ । तर, त्यो धन आमाको दुःख क मगर्न प्रयाप्त थिएन । टायलले छाएको र खरले बारेको घर लामो थियो । घरभित्र कोठा थिएनन् । डेरी ( धानचामल राख्ने माटोका भाँडा)ले छुट्टाएका कुना काप्चालाई हामी कोठा ठान्थ्यौँ । ठूलो खाटमा फन्ट्याङ फुन्टुङ हामी आमासँग कोचिन्थ्यौँ । बर्षा हुँदा टायलबाट पानी चुहिन्थ्यो । आमा चुहिने ठाउँमा गमला र भाडा राख्नुहुन्थ्यो । कतै पानी आहालिन्थ्यो । रातभरि नसुतेकी आमा एकाबिहानै खेतमा जानुहुन्थ्यो । हामी घरमा जात्रा गथ्र्यौ । आमा फर्कदा हामी झम्टन्थ्यौँ । तरर्र पसिना चुहाउँदै आमा खाना पकाउनुहुन्थ्यो । कहिलेकाहीं हामी जोशिन्थ्यौँ, भाडाभरिको सक्ने भनेर बर्षौँटे हामी सुरिन्थ्यौँ । थपि थपि खन्थ्यौँ । आमाको भागमा कहिले कोतारकुतुर पर्दोरहेछ, कहिले भोकै बस्नुहुँदोरहेछ । यसरी नै हामी हुर्कियौँ । आजपनि आमा हाम्रै चिन्ता गर्नुहुन्छ । घरमा फलेका फलफूल घरभन्दा टाढा रहेका हामीले खान नपाएको भन्दै सुक्सुकाउनुहुन्छ । तिम्लाई धपेडी छ बा भन्दै सुस्केरा हाल्नुहुन्छ । नौ महिना गर्भमा राखेर खाइ नखाइ हुर्काएकी आमाले आजको दिनसम्म यो चाहियो भनेर कहिल्यै भन्नुभएको छैन । स्वार्थ बिनाको आमाको माया ! आमरुपमा सबै आमाले आफ्ना सन्तानलाई गर्ने माया उस्तै हो । हाम्री आमाको कथा प्रतिनिधिमात्र हो । बिहे गरेको केही दिनमा एकजना साथीले ‘मुड अफ’ भन्दै किस्सा सुनायो । ‘बुढी माइत गई यस्तो घाममा, कसरी बसेकी होली ?’ उसले छटपटी व्यक्त गर्दै थियो, ‘बिहानबाट अहिलेसम्म सात आठ पटक फोन भइसक्यो, आत्तिइसकी ।’ उसको पीडा सुनेपनि मैले सहानुभुति व्यक्त गर्न सकिनँ । भनेँ, ‘माइत गएकी बुढीको यति सुर्ता गर्छौँ । त्यो भन्दा बढी गर्मी ठाउँमा घर सम्हालेर बसेकी आमासँग कुरा नभाको कति दिन भयो ? नढाँटी भन त ।’ मेरो जवाफ उसका लागि पाच्य थिएन । ‘आमा र श्रीमती उही हो र ?’ उ च्याँठियो । केही दिनपछि उसले भन्यो, ‘अस्ती तिम्रो कुराले साह्रै रिस उठायो । तर, तिमीले जे भन्यौँ, ठीक गर्‍र्यौँ, मेरो हिजोआज आमासँग पनि नियमित गफ हुन्छ ।’ आमासँग गफ गर्न समेत फुर्सद पाउन छाडेका सन्तान हौँ हामी । हाम्रो पुस्तासँग स्मार्ट फोन छ, दुनियाँसँग सोझो सम्पर्क हुन्छ । तर, आफ्नै बुबाआमासँग महिनौसम्म संवाद हुँदैन । हाम्रो पुस्ताले महत्वपूर्ण समय, उर्जा र पैसा रमाइलोमा व्यतित गरेको छ । हिसावै गर्ने हो भने डेटिङ र मिटिङ नाममा हजारौं तिरिसकेका छौँ । फनका नाममा कति फुर्मास गरेका हौँला । घरमा आमाको कालो चिया खाने सामाथ्र्य होला नहोला, हामी स्मार्ट देखिन कै लागि महँगो रेष्टुरेन्टमा खाएर टिप्स दिन पनि सकेकै छौँ । कुनै सम्बन्ध र कर्तव्यसँग नजोडिएको उसको वा उनको चिन्ता हामीलाई धेरै लाग्छ । ‘ ब्रेकफाष्ट गर्‍यौ ? खाना खायौ ? चिया खायौ ?’ भन्दै हाम्रै मोवाइलबाट तारन्तार फोन गएकै हुन्छ । तर जसको कोखबाट हामी जन्मियौँ, उनैले खाए नखाएको सोध्न सायदै हाम्रो फोन डायल हुन्छ । आत्म साक्षी राखेर हामी सबैले आफैंलाई प्रश्न गरे उत्तर आइहाल्छ । दिन उमेरका हामी फ्रेस हुनका लागि कहिले सिनेमा हल जान्छौँ, कहिले स्विमिङ त कहिले कहाँ । जीबन र जोवन सन्तानका लागि सुम्पेकी आमालाई फ्रेस बनाउन हामीले कहिल्यै कतै लगेका छौँ ? उनको पनि फ्रेस हुने मन होला, सायदै हामीले कहिल्यै सोधेका वा सोचेका छौँ । हामीलाई बोल्न सिकाउने आमा हुन् । हाम्रो तोते बोली बुझ्ने पहिलो व्यक्ति उनै हुन् । तर, उनीसँग उनको धित मर्ने गरी हामी सायदै बोल्छौँ । बोले उल्टो पिर्ने धेरै छौँ । एकातिर आमालाई धरधरी रुवाउँने, अर्का तिर आफना छोराछोरीबाट भोलिको सुन्दर सपना देख्ने परस्पर विरोधी संस्कार जबरजस्त छ । छोराछोरीले खाएनन् भनेर सुर्ता गर्छौ, केही खाएन भन्दै बजार बजार दौडन्छौँ । भोक लाग्ने औषधी खोज्दै क्लिनिक धाउछौँ । तर, हाम्रा लागि यसै गरी सोकाउँथे हाम्रा बुबाआमा भन्ने भुलेका छौँ । नढाटौँ आफ्नै मनलाई । हाम्रो वचनले आमाको आत्मा रुवाएको छ कि छैन ? नछलौँ आत्मालाई, आमाका लागि केही किन्दा मनले बढी नापतोल गर्छ कि गर्दैन ? क्षणिक रोमान्सका लागि फुर्मास गर्न पछि नहट्ने हामी, आफ्नै सृष्टिकर्ताको हकमा बडो जेगाउने बन्छौँ कि बन्दैनौँ ? छलछाम नगरी आफ्नै मनलाई सोधौँः आमालाई आमाको मुख हेर्ने दिनमा बाहेक अघिपछि ‘मिस’ गर्छौँ कि गर्दैनौँ हामी ? हामी मृत्युपछिको कर्ममा जोड दिन्छौँ । बाचुन्जेल आमाको मुख नहेर्नेले आमाको मृत्युपछि बर्ष दिन बर्खी बारेको देखेकै छौँ । आमा बाचुन्जेल खाए नखाएको वास्ता नगर्नेले मरेकी आमाका लागि खिरको पिण्ड सेलाएको पनि सुनिएकै छौँ । आमाको मुख हेर्ने दिन फेसबुकमा फोटो हाल्दैमा सन्तानकर्म पूरा हुँदैन । एक दिन मिठो मसिनो खुवाउँदैमा आमाको बर्ष दिनको भोक मेटिदैन । यो दिनको महामहत्व छ । तर, ३६४ दिन आमालाई पीठ फर्काएर १ दिनले क्षतिपूर्ति गर्न सक्दैन । आज यस्तो कसम खाऔँः आमालाई जीबनभर खुशी राखौँ, आमाको शेषपछि आमाको नाममा अमर कर्म गरौँ । बाचुन्जेल फर्केर नहेर्ने, मरेपछि बलिन्द्रा आँशु चुहाउँने पाखण्ड नरचौँ ।