राजनीति

रुकुममा केन्द्रीय नेता चुनाव लड्ने तयारीमा

सोमबार, २८ चैत २०७३ गते मा प्रकाशित

rukum district

चैत्र–२७ । बैशाख ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि जिल्लाका विभिन्न स्थानमा दलहरुले चुनावी सभा तथा घरदैलो कार्यक्रमलाई तीव्र बनाएका छन् । जिल्लाका विभिन्न नगरपालिका तथा गाउँपालिकामा दलहरुका चुनावी सभा दिनहुँजसो भइरहेका छन् । जिल्लामा तीन नगरपालिका र सात गाउँपालिकामा गरी १० स्थानीय तहमा चुनाव हुुँदैछ जसअनुसार तीनजना मेयर र उपमेयर तथा सातजना गाउँपालिका अध्यक्ष र सातजना गाउँपालिका उपाध्यक्षको चुनाव हुनेछ । जिल्लाका १० स्थानीय तहका ८३ वटा वडामा वडा अध्यक्ष र ८३ वडामा तीन सय ३२ सदस्यको चुनाव हुँदैछ । जिल्लामा सबैजसो दलहरु चुनावी माहोल आफ्नो पक्षमा पार्न व्यस्त छन् । अहिले नेकपा एमाले पोलिटब्यूरो सदस्य प्रकाश ज्वाला, नेकपा माओवादी केन्द्रका सचेतक टेकबहादुर बस्नेतलगायतका केन्द्रीय नेताहरु आफ्नो पक्षमा जनमत बटुल्दै दिनदिनै जिल्लाका विभिन्न स्थानमा हुने सभामा सहभागी भइरहेका छन् । मतदाता चोकचोकमा उम्मेदवारको चर्चा गर्न थालेका छन् भने उम्मेदवारका आकांक्षी दिनदिनै कार्यक्रममा व्यस्त छन् । अहिलेसम्म कुनैपनि दलले औपचारिक रुपमा उम्मेदवारको टुङ्गो लगाउन सकेका छैनन् । मुख्य तीन दललाई गुटगत समस्याका कारण उम्मेदवार छान्न सकस भएको देखिन्छ । माओवादी केन्द्रका जिल्ला अध्यक्ष कर्णबहादुर बुढाथोकीले वैशाखको पहिलो हप्तासम्ममा जिल्लाका सबै उम्मेदवारको टुङ्गो लगाइसक्ने बताउछन् । दलहरुले प्रतिस्पर्धी दलहरुको उम्मेदवारको अवस्था हेरेर आफ्नो उम्मेदवार बनाउने रणनीति तय गरेका कारण र आकांक्षी धेरै भएका कारण जिल्लामा उम्मेदवारको टुङ्गो लगाउन ढिला भएको हो । सदरमुकामलाई समेटेको शारदा नगरपालिका क्षेत्रफलको हिसाबले देशकै चौंथो ठूलो नगरपालिका हो । यस नगरपालिकाबाट मेयरको उम्मेदवारको लागि प्रमुख दलका आकांक्षीमा जिविस अधिकृतदेखि पार्टीका सहमहामन्त्रीसम्म देखिएका छन् । कांग्रेसबाट जिल्ला विकास समितिका वरिष्ठ प्रशासकीय अधिकृत सुरेश अधिकारी, नेविसङ्घका जिल्ला अध्यक्ष प्रकाश भण्डारी, शारदा नगर इकाइ सभापति सचेत शाह र प्रेमबहादुर डाँगी आकांक्षी देखिएका छन् । अधिकारी केही दिनअघि जिविसको वरिष्ठ प्रशासकीय अधिकृतबाट राजीनामा दिएर चुनावी तयारीमा जुटेका छन् । यस्तै, एमालेबाट राम खड्गी, कुलबहादुर गिरी, एमाले जिल्ला सचिव रमेशकुमार गौतम, टोपबहादुर थापा र इन्द्र शर्माको नाम चर्चामा छ । माओवादी केन्द्रले प्रमोद श्रेष्ठको नाम अघि सारेको छ । यस्तै राप्रपाले सहमहामन्त्री मनोज प्रधानलाई मेयरको रुपमा अघि सारेको जनाएको छ । मुख्यगरी एमाले र कांग्रेसबीच प्रतिस्पर्धा हुने अनुमान गरिएको शारदा नगरपालिकामा माओवादी केन्द्र र राप्रपाले मेयरमा नेवार समुदायका मानिस अघि सारेर नगरको केन्द्र खलङ्गामा रहेको नेवार समुदायको फाइदा लिन खोजिरहेको देखिन्छ । स्रोतको हिसाबले धनी मानिने बागचौर नगरपालिका प्रमुख तीन दलको पहिलो रोजाइको नगरपालिका बनेको छ । यस नगरपालिकाका लागि माओवादीका पोलिटब्यूरो सदस्यदेखि एमाले पूर्व जिल्ला अध्यक्षलगायतको चर्चा छ । नेकाको तर्फबाट एकराज डिसी, निमबहादुर वली, जनक गौतम र गोरख केसीले आकांक्षा देखाएका छन् । एमालेका तर्फबाट भने पूर्व अध्यक्ष लोकबहादुर डाँगी, सिपी वली, भोला केसी र ज्ञानेश्वर केसीको चर्चा छ । माओवादीको तर्फबाट पोलिटब्यूरो सदस्य भीम प्रकाश शर्मा, कृतिबहादुर पुन समेतको चर्चा भए पनि लोकमान बुढाथोकी, टीकाराम वली, ज्ञानबहादुर वलीले आफूहरु पनि आकांक्षी रहेको दाबी प्रस्तुत गरिसकेका छन् । बागचौरमा राप्रपाको तर्फबाट टोपबहादुर केसी र अमर गिरीले आकांक्षा देखाएका छन् । तर यस गाउँपालिकामा प्रमुख तीन दलको त्रिपक्षीय भिडन्त हुने अनुमान गरिएको छ । वनगाड कुपिन्डे नगरपालिकालाई धेरैले एमाले र माओवादीका जिल्ला अध्यक्षको भिडन्तको रुपमा हेरेको छ । एमाले जिल्ला अध्यक्ष गोविन्द पुन र माओवादी केन्द्रका जिल्ला अध्यक्ष तथा पोलिटब्यूरो सदस्य कर्णबहादुर बुढाथोकीबीच मेयरमा मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । तर एमालेभित्र टोपबहादुर विष्ट र माओवादीभित्र कृतिबहादुर राना पनि आकांक्षी छन् । नेकाबाट पुरुषोत्तम शर्मा र दीपेन्द्र विष्टले आकांक्षा देखाएका छन् । सात गाउँपालिकामा पनि केन्द्रीय नेता उम्मेदवार  दार्मा गाउँ पालिकामा माओवादीको तर्फबाट केन्द्रीय सदस्य तथा जिल्ला सचिव निमबहादुर केसी, नेकाबाट रामचन्द्र केसी र एमालेबाट दलबहादुर केसी आकांक्षी देखिएका छन् । कुमाख मालिका गाउँपालिकामा माओवादीका तर्फबाट पूर्वसभासद् उकाकान्त शर्मा, धर्मे बुढाथोकी, तिलवीर बुढाथोकी, दिलमाया बुढा र डिल्लीराज शर्माले आकांक्षा देखाएका छन् । यस गाउँपालिकामा एमालेबाट भैरव शाह र लालबहादुर रावत तथा नकाबाट विवेकसिंह राठौर र धनबहादुर हमालको चर्चा छ । राप्रपाले पनि यस गाउँपालिकामा भरत बुढाथोकी र कृष्णबहादुर चन्दमध्ये एकजनालाई उम्मेदवार बनाउने तयारी गरेको छ । यी दुई गाउँपालिका माओवादीको बलियो पकड भएका गाउँपालिका हुन् । यस्तै कपुरकोट गाउँपालिकामा एमालेबाट भद्रसिंह बुढा र भीमबहादुर सेन, माओवादीबाट प्रदीप बस्नेत र प्रकाश भण्डारी तथा नेकाबाट विष्णु शर्मा, दुर्गा गिरी र राप्रपाबाट जागेश्वर गिरीले आकांक्षा देखाएका छन् । लुहाम गाउँपालिकामा एमालेबाट भीमसेन नेपाली, बालकृष्ण महर, गिर्दल बोहरा, कुलबहादुर भण्डारी र पवित्रा केसी आकांक्षी देखिएका छन् । यस गाउँपालिकामा माओवादीका तर्फबाट अजय रोका, नेत्र पुन र राजेन्द्र थापा, काँग्रेसको तर्फबाट खिमबहादुर रावत, मानबहादुर डाँगी र राप्रपाको तर्फबाट गणेश भण्डारी र मङ्गलसिंह पुनको चर्चा छ । यी दुई गाउँपालिका एमालेको बलियो पकड भएका गाउँपालिका हुन् । यस्तै कालिमाटी गाउँपालिकामा नेकाबाट गणेश केसी, नेकपा एमालेबाट दानबहादुर केसी, टेकमान वली र गेहेन्द्र केसी, माओवादी केन्द्रबाट पुरुषोत्तम भट्टराई र असवीर बुढाथोकी तथा राप्रपाबाट रत्नलाल भण्डारी र प्रदीप थापाको चर्चा छ । यस्तै, ढोरचौ गाउँपालिकामा एमालेको तर्फबाट मानबहादुर चलाउने र जितबहादुर चलाउने, नेकाका तर्फबाट भरत गिरी र गुमान बस्नेत, माओवादी केन्द्रको तर्फबाट रामबहादुर बस्नेत र नरवीर चलाउने तथा राप्रपाको तर्फबाट रामबहादुर चलाउने र रेशम चलाउनेले आकांक्षा देखाएर चुनावी सभा तथा घरदैलो गरिरहेका छन् । केन्द्र विवादले जिल्लाबाटै काम कारबाही अघि बढाइरहेको छत्रेश्वरी गाउँपालिकामा एमालेबाट पूर्व जिल्ला अध्यक्ष हरि केसी, ओजबहादुर केसी, टोपबहादुर चन्द, राजबहादुर बुढाथोकी र गोविन्द केसी, नेकाबाट केशबहादुर विष्ट र वेदबहादुर विष्ट, माओवादी केन्द्रबाट चित्रबहादुर केसी र राधा शर्मा तथा राप्रपाबाट अनुवम सिंह श्रेष्ठ, फौदबहादुर बस्नेत र चन्द्रबहादुर वलीको नाम चर्चामा छ । आगामी स्थानीय निर्वाचनका लागि १५ वटा राजनीतिक दलहरु दर्ता गरिएको छन् । रासस