अपराध सुरक्षा

स्मार्ट लाइसेन्सः नेपालीको विवरण भारतमा

आइतबार, २० चैत २०७३ गते मा प्रकाशित

Screenshot_2015-03-10-17-22-30-1-300x187

चैत–२० । यातायात व्यवस्था विभागले १६ महिना अघिदेखि काठमाडौं उपत्यकामा विद्युतीय सवारी चालक अनुमति पत्र ‘इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स’ वितरण गर्न थालेको छ । कागजको परम्परागत सवारी चालक अनुमति पत्रलाई ‘स्मार्ट कार्ड ’बाट विस्थापन गर्न भनेर १४ मंसिर २०७२ देखि विभागले बामगती अञ्चल कार्यालयबाट ‘इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स’ वितरण सुरु गरेको हो ।

यसमा चालकसँग सम्बन्धित फोतोसहितका विवरण देखिने गरी राखिएका हुन्छन् । त्यो बाहेक मोबाइल फोनको सिमकार्डमा जस्तै गरी कार्डमा जडान गरिएको धातुको चिप्समा चालकको ‘बायोमेट्रिक डिटेल’ सहितको विवरण र सवारी साधनसँग सम्बन्धित डाटाहरु स्टोर गरिएको हुन्छ ।

सवारी चालक अनुमति पत्रको रुपरेखा नै फेरिने यति महत्वपूर्ण विशेषता भएको ‘इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स’ प्रयोगमा आएसँगै नागरिकका गोप्य सूचना अरु कसैको पहुँच हुने र प्रकारान्तरले यो राष्ट्रिय सुरक्षामा चुनौतीको विषय बन्ने अवस्था सिर्जना भएको छ ।

‘इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स’का लागि आह्वान गरिएको टेन्डरमा सबैभन्दा कम रकमको प्रस्ताव मेसियन कम्पनीले पेश गरेको भए पनि विभागले प्राविधिक रुपमा उत्कृष्ट भन्दै भारतीय कम्पनी मद्रास सेक्युरिटी प्रिन्टर्सलाई टेन्डर दिने निर्णय गर्यो ।

स्र्माट लाइसेन्स वितरण गर्ने यो प्रणालीको मुख्य सर्भर मद्रास सेक्युरिटी प्रिन्टर्सको चेन्नइस्थित कार्यालयमा छ । विभागसँग सपोर्टिङ सर्भर मात्रै छ । –हिमाल साप्ताहिकबाट