भिडियो

समाचार

एनसेल प्रकरणः ‘प्रचण्ड सरकार नेपाली जनताको कि, एनसेल मालिकको ?’ (भिडियोसहित)

मङ्गलबार, ०८ चैत २०७३ गते प्रकाशित
- नेपाल आज (MG)

एनसेल प्रकरणः ‘प्रचण्ड सरकार नेपाली जनताको कि, एनसेल मालिकको ?’ (भिडियोसहित)


निजी क्षेत्रको मोवाइल सेवा प्रदायक कम्पनी एनसेलले सरकारलाई बुझाउन बाँकी पुँजीगत लाभकर नबुझाएको विरोधमा मंगलबार काठमाडौंको माईतीघरमा प्रदर्शन भएको छ । सार्वजानिक सस्था कर्मचारी संगठन नेपालले एनसेलले सरकारलाई बुझाउन बाँकी ३३ अर्ब पुँजीगत लाभकर अविलम्व बुझाउन माग गर्दै बिरोध कार्यक्रम गरेको हो ।   विरोध कार्यक्रममा बोल्दै अनेरास्ववियूका पूर्व अध्यक्ष तथा नेकपा एमालेका केन्द्रीय सदस्य ठाकुर गैरैले राज्यलाई कर तिर्ने दायित्वबाट कुनै पनि संस्थाले उन्मुक्ति नपाउने तर्क गरे । ‘एउटा पियन सरहको कर्मचारीले कर तिर्नुपर्छ, मजदुरले कर तिर्नुपर्छ, हामिले प्रयोग गर्ने हरेक सामानमा कर जोडिएर आएको हुन्छ ।’ उनले भने –‘तर, एनसेलले कर तिर्दैन । सरकारले एनसेलले कर तिर्नुनपर्ने निर्णय गर्‍यो । यो सरकार नेपाली जनताको हो की, एनसेल मालिकको ?’
विरोध कार्यक्रमपछि नेपाल आजसंग कुरा गर्दै गैरेले एनसेलले कर नतिर्ने कारण छानविन गरेर कारबाही गर्नुपर्ने बताए । ‘सरकारले एनसेलको पक्षमा वकालत गर्नुले प्रष्ट भइसकेको छ, माओवादी, कांग्रेस कर छलिमा संग्लग्न छन् । उनीहरुले एनसेलसंग मिलेर जनताहरुलाई लुटिरहेका छन् ।’ उनले भने–‘ हामी सबै नागरिक मिलेर एनसेललाई कर तिराउँछौँ । सरकारले छोडे पनि एनसेललाई जनताले छोड्दैनन् ।’
माईतीघर मण्डलामा भएको कार्यक्रममा ३ सय जनाभन्दा बढी कर्मचारीहरुको सहभागिता थियो । कार्यक्रममा सार्वजानिक सस्था कर्मचारी संगठन नेपालका महासचिव भोलानाथ घिमिरे र अध्यक्ष गोविन्दप्रसाद पौड्यालले एनसेलविरुद्ध मन्तब्य प्रस्तुत गरे । एनसेलले ३३ अर्व नबुझाए आगामी दिनमा एनसेलविरुद्ध सशक्त आन्दोलन गर्ने चेतावनी दिए ।
सरकारले ३३ अर्ब करबाट एनसेललाई मुक्ति दिन खोजिएपछि चौतर्फी बिरोध भएको छ । माईतीघरमा भएको कार्यक्रममा विभिन्न संघसस्थामा कार्यरत कर्मचारीहरुको सहभागिता थियो । उनीहरुले एनसेल र सरकारको नीतिगत भ्रष्टाचार विरोधी नारा लगाउँदै विरोध जनाए । ‘नो ट्याक्स, नो एनसेल, नो डायल, नो रिसिभ ।’ ‘एनसेल ३३ अर्ब तत्काल फिर्ता गर ।’ लेखिएका पम्प्लेट बोकेर विरोधमा उत्रिएका थिए । - सागर बुढाथोकी