अन्तरवार्ता

ताजा खबर

मुख्य समाचार

भारतले ४५ हजार एसएसबी नेपालको सीमामा खटाएको छ, नेपालले ५५ सय

बिहिबार, ०३ चैत २०७३ गते मा प्रकाशित

khulla-sima-banda-nepalaajaa

चैत–३ । भारतीय सीमा सुरक्षा बल (एसएसबी)को ज्यादती रोक्न सीमामा नेपाली सुरक्षाकर्मीको संख्या वृद्धि गर्नुपर्ने विज्ञहरुले सुझाव दिएका छन् ।

नेपाल भारतबीच १ हजार ८ सय ८० किलोमिटर खुला सीमा छ । त्यो सीमाको रक्षाका लागि भारतले सीमा क्षेत्रमा आफ्ना ४५ हजार एसएसबी परिचालन गरेको छ । एसएसबीले भारतको सीमा रक्षा गर्ने बहानामा नेपालीमाथि गोली वर्षाउनेदेखि सीमाना मिच्नेसम्मको हर्कत गर्दै आएको छ ।

सीमाविद् बुद्धिनारायण श्रेष्ठ भन्छन्, ‘सीमाको हरेक एक किलोमिटरका लागि भारतले २४ एसएसबी राखेको छ । यता नेपालमा एक किलोमिटरका लागि हामीले जम्मा चार जना सशस्त्र प्रहरी बल राखेका छौं । संख्यामै २४ र ४ को अनुपात हुँदा उनीहरुको मनोबल बढ्नु स्वभाविक हो ।’

[caption id="attachment_61012" align="alignleft" width="300"] सीमाविद श्रेष्ठ[/caption]

सरकारले सीमा सुरक्षाको जिम्मेवारी सशस्त्र प्रहरीलाई दिएको छ । सशस्त्र प्रहरीका ५ हजार ५ सय जना सीमामा छन् ।

हालै कञ्चनपुरको आनन्दनगरमा नेपाली युवक गोविन्द गौतमलाई एसएसबीले गोली हानी हत्या गरेपछि सुरक्षाको मामिला अझ संवेदनशील हुँदै आएको छ । सीमाविद श्रेष्ठ भन्छन्, ‘नेपाली सुरक्षा फौजको मनोबल उकास्न सेवा सुविधा, सुरक्षासम्बन्धी सामग्रीले सुसज्जीत पनि पार्नु पर्छ । एसएसबीको बन्दोवस्ती र सशस्त्रको वन्दोवस्ती हेर्दा पनि नेपाली पक्ष कमजोर देखिन्छ । यस्तो हुन हुँदैन ।’

नेपाली सेनाका पूर्वउपरथी डा. उमेशकुमार भट्टराईको मतमा भारतले एसएसबीलाई विशेषतः पाकिस्तानसँगको सीमा सुरक्षाका लागि तालिमप्राप्त बनाएको छ । तिनै एसएसबी नेपालसँगको सीमामा पनि बस्ने गर्छन् । पाकिस्तानसँग जस्तो व्यवहार एसएसबीले गर्छ, त्यही व्यवहार नेपालसँग पनि गर्छ । यति गर्न आवश्यक छैन । तर भइरहेको छ यस्तै ।

डा. भट्टराई भन्छन्, ‘नेपाल सरकारले देश र जनताको रक्षा गर्ने हो भने खुला सीमा बन्द गर्नुपर्छ । भारत र पाकिस्तानको जस्तो नभए पनि ठाउँ ठाउँमा इन्ट्री पोइन्ट राखेर बाँकी ठाउँमा काँडेतार मात्रै भए पनि लगाउनु पर्छ ।’

[caption id="attachment_61013" align="alignright" width="300"] पूर्वउपरथी डा. भट्टराई[/caption]

भारतले आफ्नो सीमा सुरक्षीत हुनुपर्छ भनेर ठूलो चासो दिन्छ । नेपालसँगको सीमाको विषयमा उनीहरु ‘खुला सीमा’ कन्सेप्ट परिवर्तन गर्न चाह“दैनन् । १९५० मा भएको शान्ति तथा मैत्री सन्धी लगायतका असमान सन्धी समायानुकुल संशोधनका लागि छलफल गर्न बनेको प्रबुद्ध समूहको बैठक पनि हुन छाडेको छ । डा. भट्टराई भन्छन्, ‘प्रबुद्ध समूहको पहिलो बैठक नेपालमा बस्यो । दोस्रो भारतमा । दोस्रो बैठकमा के भयो थाहा पनि छैन । सरकारले यो क्षेत्रमा बिशेष जोड दिनु पर्छ ।’

प्रबुद्ध समूहले कुनै निष्कर्ष निकाल्नु र सन्धी संशोधन हुने सपना बराबर भइसकेको छ । यता नेपालीमाथि एसएसबीको ज्यादतीको श्रृंखला रोकिएको छैन ।

७३ साउन १३ गते सप्तरीको तिलाठीमा नेपाली भूभाग डुबानमा पार्ने गरी बा“ध बनाएपछि नेपालीहरुले बाध भत्काइदिए । एसएसबीसँगको झडपमा १२ नेपाली घाइते भएका थिए । त्यस्तै ७२ मंसिरमा भारतीय एसएसबीका जवानहरु सुनसरीको हरिपुरमा प्रवेश गरेर यादव थरका पाच सात नेपालीलाई गोली हानी घाइते बनाए ।

७२ मंसिरमै भारत किसनगञ्ज बटालियनका ११ जना झापाको केचनामा पसे । किन पसेको भनेर नेपाली सुरक्षाकर्मीले रोकेर सोधपुछ गर्दा तस्कर लखटदै आउदा नेपाल पसेको थाहा भएन भन्ने जवाफ दिए ।

बर्दियामा पनि त्यस्तै भयो । गुलरिया –८ का मञ्जुरप्रसाद श्रेष्ठको घरमै पसेर भारतीय प्रहरीे हंगामा मच्चायो । सादा पोसाकमा पारिका डिएसपी उदयप्रताप सिंह आफै नेपाल प्रवेश गरेका थिए । नेपाली नागरिकको घरमा भारतीय प्रहरी पसेर खानतलासी लिएको घटनालाई सरकारले धेरै चासो दिए । तर विषय गम्भीर थियो । सीमाविद् श्रेष्ठ भन्छन्, ‘यस्ता कैयन घटना छन् । नेपालका सरकारमा बस्ने मान्छेहरुको मुटु नै परेवाको जत्रो भयो । नेपालले भारतसँग आफ्नो चासोका विषयहरु स्पष्ट राख्न सक्नु पर्छ । त्यो स्पष्टता नेताहरुमा चाहिन्छ ।’