राजनीति

निर्वाचनका लागि तयार रहन सशस्त्र प्रहरीलाई गृहमन्त्रीको निर्देशन

शनिबार, २१ फागुन २०७३ गते मा प्रकाशित

Bimalendra Nidhi-APF

फागुन - २० । उपप्रधानमन्त्री विमलेन्द्र निधिले आसन्न स्थानीय तहको निर्वाचन सफल पार्नका लागि आवश्यक सुरक्षा व्यवस्था मिलाउन सशस्त्र प्रहरी बललाई निर्देशन दिएका छन् । प्रहरी बल प्रधान कार्यालयमा आयोजित ‘कमान्ड एन्ड स्टाफ कोर्स’को समापन कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री निधिले सरकारबाट प्राप्त जुनसुकै जिम्मेवारी र दायित्वलाई व्यावसायिक ढंगबाट पूरा गर्नका लागि तयार भएर बस्न बलका अधिकृत र जवानलाई निर्देशन दिए । बलका १० सशस्त्र प्रहरी नायब उपरीक्षकको सहभागिता रहेको १८ महिना अवधिको सो कार्यक्रम २०७२ साल असोजदेखि सुरु भएको थियो । सो कोर्समा सशस्त्र प्रहरी नायब उपरीक्षक दीपक बरालले ‘बेस्ट रिसर्च अवार्ड’, ‘बेस्ट एकेडेमिक अवार्ड’ र ‘बेस्ट कमान्ड एन्ड स्टाफ कोर्स अवार्ड’ प्राप्त गर्न सफल भए । कार्यक्रममा सहभागी प्रशिक्षार्थीलाई उपप्रधानमन्त्री निधि, त्रिविका रेक्टर प्रा. डा. सुधा त्रिपाठी र सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे । बलका महानिरीक्षक श्रेष्ठले आगामी दिनमा आउनसक्ने नयाँ सुरक्षा चुनौतीलाई सामना गर्दै राज्यप्रदत्त जिम्मेवारी निर्वाहका लागि सो कार्यक्रम कोसेढुंगा साबित हुने विश्वास व्यक्त गरे ।