फुड

खाद्य संस्थानले बङ्गलादेशी उसिना चामल बझाङ् र बाजुरा पठाउने

मङ्गलबार, १० फागुन २०७३ गते मा प्रकाशित

rice-store-chamal

फागुन - १० । बङ्गलादेश सरकारले उपलब्ध गराएको उसिना चामल सेती अञ्चलका बझाङ् र बाजुरामा ‘कामका लागि खाद्यान्न कार्यक्रम’ मा उपयोग गरिने भएको छ । बझाङ्मा २६ हजार क्विन्टल र बाजुरामा २० हजार क्विन्टल उसिना चामल पठाउन लागेको नेपाल खाद्य संस्थान सेती अञ्चल कार्यालयका निमित्त प्रमुख गङ्गादत्त पन्तले जानकारी दिए। कामका लागि खाद्यान्न कार्यक्रमअन्तर्गत सडक निर्माणलगायत विकास सम्बन्धी योजनामा सो चामल प्रयोग गरिने छ । यस अघि उक्त चामल भूकम्प प्रभावित क्षेत्र तथा खाद्यान्न अभाव हुने दार्चुला, बझाङ्, बाजुरा, अछामलगायत जिल्लामा ढुवानी अनुदानमा बिक्री वितरण हुने गरेको थियो । खाद्यान्न अभाव हुने जिल्लामा उसिना चामलको माग नहुँदा गोदाममा मौज्दात रहेको चामल समयमै खपत गर्न आपूर्ति मन्त्रालयले कामका लागि खाद्यान्न कार्यक्रममा उपयोग गर्न लागेको पन्तले बताए। भूकम्प प्रभावित क्षेत्रका नागरिकको सहयोगका लागि बङ्गलादेश सरकारले भूकम्प गएलगत्तै सो चामल नेपाललाई उपलब्ध गराएको थियो । बङ्गलादेशी उसिना चामल झापाको विर्तामोडस्थित खाद्य संस्थानको कार्यालयमार्फत् सुदूरपश्चिममा ढुवानी गर्ने गरिएको छ ।