राजनीति

उपेन्द्र भन्छन्, ‘वाम गठबन्धन बहुरुपिया हो, सावधान !’

सोमबार, १८ मङि्सर २०७४ गते मा प्रकाशित

sanghiya 1

राजविराज । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मरुभूमिमा परिणत भइसकेको जन्मभूमि सप्तरीलाई समृद्ध क्षेत्र बनाउने उद्घोष गरेका छन् । सप्तरीलाई समृद्ध र विकासको दिशामा केन्द्रीत गर्न आफूस“ग स्पष्ट भिजन र योजना रहेको यादवले बताए । 

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नं.३ तोपामा आयोजित अन्तिम चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष यादवले समृद्ध जन्मभूमि आफ्नो सपना भएको बताए ।

सप्तरी निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदबार फोरम नेपालका अध्यक्ष यादवले एमाले र माओवादीको वाम गठबन्धन बहुरुपिया रहेको आरोप लगाउँदै त्यसबाट सावधान रहन आम जनतालाई अपील गरेका छन् । ‘बहुरुपिया वाम गठबन्धनबाट पूरै देशलाई खतरा छ, त्यसकारण उनीहरुबाट सावधान रहन जरुरी छ’– यादवले भने ।

मधेश गठबन्धनको जीतले मात्र मधेशको मुक्ति सम्भव रहेको स्पष्ट पार्दै यादवले दुई नम्बर प्रदेशमा फोरम नेपाल र राजपाको गठबन्धन भारी बहुमतले विजयी हुने दाबी गरेका छन् । मधेशको मुक्ति र सहीदको सपना पूरा गर्न मधेश गठबन्धनलाई विजयी गराउनुको विकल्प नरहेको उनले बताए ।

शहीदलाई सम्झेर चुनाव प्रचारको शुभारम्भ र समापन

मलेठमा प्रहरीद्धारा गोलि हानी मारिएका ५ जना शहीदको समाधिमाथि फूलमाला अर्पण गरेर कात्तिक २५ गतेदेखि यादवले औपचारिक रुपमा चुनाव प्रचार प्रसारको शुभारम्भ गरेका थिए ।

ठीक त्यसैगरि, चुनाव प्रचारको अन्तिम दिन सोमबार तिलाठी कोइलाडीको तोपामा आयोजित चुनावी सभामा शहीदहरुको तस्बीरमा माल्यार्पण गरेर चुनाव प्रचारलाई समापन गरेका छन् ।

मौन अवधि सुरु हुनुअघि प्रचार प्रसारको अन्तिम दिन बिहानैदेखि सक्रिय रहेका यादवले तिलाठी कोइलाडीको सभालाई विशेष महत्वका साथ सम्बोधन गरेका छन् । कार्यक्रममा मधेश गठबन्धनको तर्फबाट क्षेत्र नं. २ (ख) प्रदेश सभा सदस्यका उम्मेदबार एवं फोरम नेपालका नेता शैलेन्द्र साह, क्षेत्र नं. २ प्रदेश सभा उम्मेदबार एवं राजपा नेता मनिष सुमन, फोरम नेपाल सप्तरीका जिल्ला अध्यक्ष दिनेश यादव लगायतको उपस्थिति थियो ।