राजनीति

भिडियो

‘फल टिप्ने बेलामा टुप्लुक्क आइपुग्यो विवेकशील’ भन्नेहरुलाई जवाफ (भिडियोसहित)

सोमबार, १८ मङि्सर २०७४ गते मा प्रकाशित

gobinda-narayan-nepalaaja-02

गोविन्द नारायण विवेकशील साझा पार्टीका प्रभावशाली नेता हुन् । तर उनी यसपटकको निर्वाचनमा कतैबाट पनि उम्मेदवार छैनन् । मुलुकभर विवेकशील साझाका १५७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । ती उम्मेदवारहरुलाई सघाउन उनले देश दौडाहा सिध्याए । जवाहरलाल नेहरु विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्ध विषयमा स्नातकोत्तर गरेका गोविन्दले केही समय अमेरिकामा खेतिपाती पनि गरे । त्रिविमा ‘पार्ट टाइम’ डेभलपमेन्ट स्टडिज पढाउँछन् । विवेकशील साझा पार्टीविरुद्धको आलोचनाहरु समेटेर हामीले उनीसँग कुराकानी गरेका छौं । यो पार्टीविरुद्धको आरोप र मुलुक समृद्ध बनाउने विवेकशीलसँग के ‘फर्मुला’ छ त ? यस्ता छन् उनका मूलभूत धारणाहरुः

फल टिप्नेबेलामा टुप्लुक्क आइपुग्यो विवेकशील
प्रजातन्त्र/लोकतन्त्र प्राप्तिका लागि अरु दलका नेताहरुले जेलनेल भोगे, अहिले लोकतन्त्रको फल टिप्ने बेला विवेकशील साझा आयो भन्नेहरुलाई मेरो जवाफ के छ भने ४६ सालको जनआन्दोलनमा काठमाडौंका म पनि होमिएको थिएँ । आन्दोलन सफल बनाएको कुनै दलका नेता र उनीहरुका कार्यकर्ताले मात्रै होइन । आम जनता सहभागी भए । यसकारण प्राप्त उपलब्धीमा परम्परागत शक्तिहरुको ‘सिण्डीकेट’ लागू हुँदैन । हरेक ठूला आन्दोलनमा जनता सडकमा उत्रिएका थिए । ती सबै जनताको हातमा कुनै दलको झन्डा थिएन । यसकारण लोकतन्त्रको फल टिप्न आएको भन्ने तर्क ठिक होइन ।

हामी एकमात्र वैकल्पिक शक्ति
नेपालको राजनीतिमा हामी एकमात्र वैकल्पिक राजनीतिक शक्ति हौं । नयाँ शक्तिले पनि आफूलाई कांग्रेस, एमाले, माओवादीभन्दा पृथक राजनीतिक शक्तिको रुपमा स्थापित गर्न खोजेको त हो । तर कहिले एमालेसँग मिल्न जाने, अहिले कांग्रेससँग मिलेर चुनाव लड्ने अवस्थाले नयाँ शक्ति अब विकल्पका रुपमा रहेन । उहाँहरुको पतनको मूल कारण नै ढलपल हो । यसकारण अहिले हामी एकमात्र विकल्प हौं भन्ने लाग्छ ।

सानो संख्यामा विवेकशील संसद पुग्दैमा केही हुँदैन
हामी सानो संख्यामा भए पनि संसदमा पुग्छौं भन्ने विश्वास छ । कम्तिमा तीन स्थानबाट प्रत्यक्ष निर्वाचनमा पनि विजयी हुन्छौं । दूनियाँमा धेरै वस्तु, विषय साना हुन्छन्, तर तिनको महत्व ठूलो हुन्छ । हामी जति जना संसदमा गए पनि हामीले गर्ने काम विशिष्ट हुन्छ । राष्ट्र र जनताको हितमा हामीले उठाउने विषय महत्वपूर्ण हुनेछ । सशक्त र सकारात्मक प्रतिपक्षका रुपमा हाम्रो भूमिका हुन्छ ।

मान्छे मार्ने भर्सेस् भाषण गर्ने
संसदमा मान्छे मार्ने र भाषण गर्ने दुवै खाले पुग्छन् । तर जनताको ज्यान लिनेहरु धेरै समय संसदमा रहिरहन सक्दैनन् भन्ने देखा परिसकेको छ । उदाहरणका लागि १७ हजारको ज्यान लिने माओवादीका सांसदहरुले संसद झन्डै भरिदिएका थिए । तर अहिले त उनीहरुको पतनको यात्रा सुरु भयो । यसकारण जनताले कहिले पनि हिंसालाई मन पराउँदैन् । जनताको नाममा गरिने हिंसा त अझै मन पराउँदैनन् ।

तपाईहरु ठिक बाँकी सबै बेठिक हुन् त ?
नेपालका सबका सब बेठिक र बेइमान होइनन् । राजनीति, कर्मचारीतन्त्र सबैतिर असल मानिसहरु पनि छन् । तर तिनलाई खराबहरुले काम गर्न दिँदैनन् । देशभरका सबै खराब छैनन् । कुशल प्रशासकहरुलाई कुशल नेतृत्व नआएकोमा गुनासो छ । प्रशासन र प्रशासकलाई अगाडि लिएर जान कुशल नेतृत्व चाहिन्छ, त्यो विवेकशीलसँग छ ।

हामीसँग पैशा नभएकोे होइन
विकास गर्न पैसा महत्वपूर्ण होइन । इच्छाशक्ति बढी महत्वपूर्ण हुन्छ । खाडीका मुलुकहरुले अहिले तेल होइन, सेवाको क्षेत्रमा विकास गरेर अगाडि बढिसकेका छन् । चारैतिर दुश्मनहरुले घेरिएको इजरायल अहिले समृद्ध र शक्तिशाली छ । उनीहरुले यसो गर्नुको कारण भनेको इच्छाशक्ति हो । टन्न पैशा मात्रै भएर विकास हुँदैन ।

कृषिका कुरा
नेपालमा लुटिखाने समूह नेतृत्वमा छ । उनीहरुलाई पसिनाको अर्थ थाहा छैन । नेताका कार्यकर्ताको ध्यान नै पैसा कमाउने मात्रै छ । नेताहरुले पनि कहिले पनि आत्मनिर्भर हुने काम गरेन् । हाम्रो कृषि प्राथमिकतामा छैन । जमिन खण्डीकरण गर्ने प्रथा अन्त्य हुनु पर्छ । ठूला ठूला फाँटमा आधुनिक कृषि गरिनु पर्छ । मैले जापान र अमेरिकामा कृषि देखे । नेपालमा भएको जमिनको बनोटले हामीलाई कृषिमा रुपान्तरण गर्न सघाउ पुर्याउँछ ।

आर्थिक उदारीकरणको गलत प्रयोग
नेपालमा आर्थिक उदारीकरणको गलत प्रयोग भयो । देशका उद्योग धन्दा बन्द गर्ने कांग्रेस नीति देखियो । भएका उद्योग बेचेर खाए । नयाँ खुलेनन् । सरकारी बन्द भएर निजी क्षेत्रले पनि चलाउन सकेनन् । उद्योगहरु बन्दा भइरहे । नयाँ खुल्न सकेनन् । यसकारण र्आिर्थक उदारीकरणको दुरुपयोग गरियो । संसारभर मै हरेक सरकारले आफ्नो देशका उद्योगधन्दालाई संरक्षण गर्छन् । तर नेपालमा त सरकारले नै बेचिदियो । जसले उद्योगमा ताल्चा लगाए, उनीहरुले नै उद्योग मन्त्री हुने अवसर पायो । अमेरिकामा अटोमोबाइल कम्पनी बन्द हुन लाग्दा त्यहाँको सरकारले ऋण दिएर उकास्ने प्रयास गर्यो ।

कृषिमा रुपान्तरण
कृषिमा हामीले तुरुन्तै गर्ने भनेको जमिनलाई एकीकरण गर्ने हो । जमिनको परिचालन समूहले गर्नु पर्छ । त्यसको प्रतिफल स्वामित्वको आधारमा हुनुपर्छ । टुक्रा टुक्रा पारिएको जमिनमा आधुनिक कृषि सम्भव छैन । जसरी हुन्छ, जमिन जोड्नु पर्छ । दोस्रो कुरा सिंचाई, कृषिको ज्ञान, मलखाद सबैको व्यवस्था मिलाउनु पर्छ । राज्यले किसानलाई शिक्षित बनाउनु पर्छ । बजार व्यवस्थापन राम्रो गर्नुपर्छ । किसानले १५ मा बेचेको टमाटर उपभोक्ताकहाँपुग्दा ६० रुपैयाँ पुग्छ । बिचौलियाको अन्त्य हुनुपर्छ । क्षेत्रगत हिसाबले कृषिमा रुपान्तरण हुनुपर्छ ।

विकास रोक्ने व्यवस्था होइन, व्यक्ति हुन्
पञ्चायती व्यवस्थाले विकास रोकेको थिएन । त्यो व्यवस्थाका शासकले रोके । राजासहितको प्रजातान्त्रिक व्यवस्थामा पनि विकास रोक्ने कुनै अवस्था थिएन । राजा आफै पनि विकासका बाधक थिएनन् । सत्तामा जो जो गए यथार्थमा तिनै थिए विकासका बाधक । आफनो हित पूरागर्न खोज्दा खोज्दै उनीहरुले राष्ट्रको हित बिर्सिदिए । यसकारण हामी व्यवस्थाको आलोचना धेरै गर्दैनौं । त्यो व्यवस्थाभित्रका गलत तत्वहरुको आलोचना गर्छौं । राजाले सबै विकास रोके भन्नेहरु पनि थिए । तर राजा हटेको १० वर्ष भयो । खै त विकास भएको ?

राजनीति भनेको आफ्नो सुविधाको लागि गरिने होइन । जनताकालागि गरिने हो ।