बिचार / ब्लग

अर्थमन्त्री बाबुरामलाई बनाए के हुन्छ ?

केदारनाथ नेपाल (निश्चल)

बुधबार, ०५ पुष २०७४ गते मा प्रकाशित

baburam-bhattarai-nepalaaja-file

दुई चरणमा सम्पन्न भएको प्रदेश र प्रतिनिधि सभाको निर्वाचन पश्चात् अव देश राष्ट्रिय सभाको निर्वाचनको पर्खाइमा छ । राष्ट्रिय सभाको निर्वाचन पश्चात् माघ सात गतेभित्र देशमा नयाँ सरकार बन्नेछ । यो लेखमा अब बन्ने सरकार कस्को नेतृत्वमा कसरी सम्भव छ र आर्थिक विकास र सम्बृद्व मुलुक निर्माणको लागि बाबुरामलाई अर्थमन्त्री बनाउदा के हुन्छ भन्ने बिषयमा चर्चा गरिन्छ । अबको सरकार एमालेको नेतृत्वमा बनोस् या प्रचण्डको नेतृत्वमा काङ्ग्रेस सहितको बनोस् । तर बाबुरामलाई अर्थमन्त्री बनाउन किन आवश्यक छ र बनाए के हुन्छ भन्ने बिषयमाथि चर्चा गरिन्छ ।

अब मुलुकको स्थिरताको लागि एमाले माओबादी दुई पार्टीको एकता भन्दापनि राजनीतिक स्थिरता अहिलेको आवश्यकता हो । दुई पार्टीको एकता दुई पार्टीबीचको आन्तरिक कुरा हो । तर, गठबन्धनमार्फत जनताको बीचमा गएर बहुमत प्राप्त गरिसकेपछि उनिहरुले आर्थिक विकास र सम्बृद्व मुलुक निर्माणको स्पस्ट खाकासहित दिगो सरकार गठन गर्नुपर्ने पहिलो आवश्यकता हो । यदि एमाले माओबादी बीच सहमति नभएर गठबन्धन भाडिएमा त्यसको सबैभन्दा जिम्मेवार ओली र प्रचण्डले लिनुपर्छ र कारबाहिको भागिदार दुबै नेता हुनुपर्छ ।

पूर्व अमेरीकी राष्ट्रपति बराक ओबामा अहिले कुनै निजी कम्पनिमा काम गर्छन् । अन्य मुलुकमा पनि देशका कार्यकारी पदमा पुगेका ब्यक्तिहरु आफ्नो कार्यकाल सकिएपछि सर्वसाधारणले जस्तै काम गरेर साधारण तरिकाले जीवनयापन गरिरहेका छन् ।

अब प्रसंग बदलौ ! २०७२ सालको विनासकारी भुकम्प पश्चात् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पुनर्निर्माण प्राधिकरणको सिईओ बनेर काम गर्ने ईच्छा ब्यक्त गरेका थिए । तर, त्यसबेला उनलाई त्यो अवसर राजनीतिक दलहरुले प्रदान गरेनन् । अब बन्ने सरकारमा उनलाई अर्थमन्त्री बनाएमा देशको अर्थतन्त्रमा सकारात्मक सुधार आउनेछ । उनमा एउटा छुट्टै प्रकारको विशेषता छ । उनी एकपटक ठूलो पदमा पुगेको ब्यक्तिले पछि सानो पदमा रहेर काम गर्नुहुन्न भन्ने प्रवृतिलाई परिवर्तन गर्न चाहान्छन् । अधिकांश युवावर्गले उनको त्यही बानिलाई मनपराएर उनलाई जिताएर पठाएका छन् र त्यो आवश्यकता पनि थियो ।

नयाँ शक्तिले राष्ट्रिय दलको मान्यता नपाइरहदा डा. भट्टराईले प्रतिनिधि सभाको निर्वाचनमा झण्डै ७ हजार मतान्तरले जित्नुलाई देशलाई बाबुरामको कति आवश्यकता रहेछ र जनतामाझ उनको लोकप्रियता कति रहेछ भन्ने सजिलै बुझ्न सकिन्छ ।

यसपटक बाबुराम कुनै राजनीतिक दलको नेताको रुपमा संसदमा उपस्थित हुने छैनन् । नयाँशक्ति भन्दापनि गोरखामा लोकप्रिय ‘बाबुराम’ ब्राण्डको कारण उनले यसपटकको निर्वाचन जितेका हुन् ।

देश बहुदलीय ब्यवस्थामा आएपश्चात् देशमा दुई दर्जनभन्दा बढि अर्थमन्त्री भए तर बाबुरामको एउटै कार्यकालले उनलाई सफल अर्थमन्त्रीको सूचिमा इतिहास सामू दर्ज गर्यो । उनी प्रधानमन्त्री पनि बने तर राजनीतिक जटिलता र तत्कालीन परिस्थितिका कारण संविधान सभाको बिगठन उनै प्रधानमन्त्री भएको बेलामा भएको कारण उनी असफल प्रधानमन्त्रीको सूचिमा परे ।

अहिले युवाहरुमा पनि राजनीतिक चेतना बदिलएको छ । आफ्नै दलको नेताले मात्र जित्नुपर्छ भन्ने मान्यताभन्दा माथि उठेर युवाहरुले देशको हितमा सोच्न थालिसकेका छन् । लालबाबु पण्डित र जनार्दन शर्माले जित्दा काङ्ग्रेसका कार्यकर्ताहरु समेत खुशी भए , गगन थापाले जित्दा बाम गठबन्धनका कार्यकर्ताहरुले समेत खुशी साटासाट गरेको देखियो ।

भट्टराईको अर्थमन्त्री कालले उनलाई सफल अर्थमन्त्रीको रुपमा जनतामाझ स्थापित गराईदिएको छ । त्यसो पनि संघीयताको कारण देशको बित्तिय ब्यावस्थापन चुनौतिपूर्ण बनेको छ । राज्वश्व बृद्वि, राज्वश्व चुहावट नियन्त्रण र गैरकर राज्वश्व संकलन गर्ने कार्य भट्टराई अर्थमन्त्री भएमा उनले तुरुन्तै गर्न सक्छन् । उनमा त्यो खुबी छ र बिगतले पनि त्यसलाई पुष्टि गरिदिएको छ ।

अदृश्य रुपमा भित्री चलखेल नभएमा अब बन्ने सरकार ओलीको नेतृत्वमा गठन हुने करिब निश्चित जस्तै देखिएको छ । अब बन्ने सरकारमा डा. भट्टराईलाई अर्थमन्त्री बनाउने हो भने सरकारको कार्यकालमा देशको अर्थतन्त्र कायापलट हुनेमा शंका रहन्न यो तथ्य पुष्टिको लागि उनको पहिलो अर्थमन्त्री कार्यकाललाई सम्झन सकिन्छ । तसर्थ आर्थिक विकास र सम्वृद्धिको लागि डा. भट्टराईलाई अर्थमन्त्री बनाउन जरुरी देखिन्छ ।