बिचार

चुनाव जितेर पनि लुक्न बाध्य रेशमलाल चौधरीको वास्तविकता

बसन्त क्षेत्री

बुधबार, ०५ पुष २०७४ गते प्रकाशित
- नेपाल आज (DR)

चुनाव जितेर पनि लुक्न बाध्य रेशमलाल चौधरीको वास्तविकता

नेपाली सञ्चार माध्यममा अहिले कलाकार रेशमलाल चौधरी अत्याधिक चर्चामा छन् । भूमिगत अवस्थामा रहदै कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाको चुनाव अत्याधिक मतले जितेकाले उनको चर्चा चुलिएको छ ।

२०७२ साल भदौ ७ गते एक नाबालक र वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपाने सहित आठ जनाको हत्याको मुख्य नेतृत्वकर्ताको आरोप लागेका रेशमलालले चुनाव त जिते तर निर्वाचन आयोगले जितको प्रमाणपत्र भने रेशमलाललाई दिएको छैन ।

जितको प्रमाणपत्र नदिँदा सञ्चारमाध्यमहरुमा निर्वाचन आयोगको आलोचना भइरहेको छ । वरिष्ठ पत्रकार किशोर नेपालदेखि लेखक खगेन्द्र संग्रौलासम्मले सामाजिक सञ्जालमा अयोगको अलोचना गरेका छन् । प्रमाणपत्रकालागि सर्वोच्च अदालतमा दर्ता गर्न खोजिएको रिट अस्वीकृत भएको छ ।

टीकापुर हत्याकाण्ड लगत्तै फरार रहेका रेशमले भूमिगत अवस्थामै चुनाव त जिते तर जितलाई कानूनी मान्यता दिलाउन सकिरहेका छैनन् ।

अत्याधिक मतले विजयी भएपछि रेशमप्रति सहानुभूति पनि बढेको छ । रेशमको पृष्ठभूमि के हो भन्ने विषयमा चासो पनि बढेको छ । सरकारले रेशमलाई टीकापुर घटनाको मुख्य योजनाकारको रुपमा फरार सूचीमा राखेको छ भने रेशम स्वयंले आफुलाई निर्दोष बताईरहेका छन् । दोषी र निर्दोषको बहसका बीच वास्तविकताको चर्चा गर्न जरुरी हुन्छ ।

विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक कांग्रेसमा विलय नहुनु अघि उनले स्वतन्त्ररुपमा चुनाव लडने चाहना राखेका थिए । स्वतन्त्र रुपमा चुनाव लडने र फोरम लोकतान्त्रिकका नेता रामजनम चौधरी र जनकराज चौधरीको भण्डाफोर गर्दै जित हासिल गर्ने योजना बुनेका थिए रेशमले । तर, फोरम लोकतान्त्रिक कांग्रेसमा विलय भैसकेपछि उनी राजपातिर ढल्के र छाता चिन्हमा चुनाव लडे ।

प्रहरी प्रशासनले रेशमलाललाई टीकापुर घटनाका मुख्य योजनाकारको सूचीमा राखेपनि रेशम भने टीकापुर घटनाको मुख्य योजनाकार आफू नभई कोही अरु नै भएको र त्यो को – को हो ? छानविन हुनुपर्ने बताउदै आएका छन् । उनले टेलिभिजन अन्तरवार्ताहरुमा रामजनम र जनकराजको नाम नलिइकन टीकापुर घटना उनीहरुकै डिजाइनमा भएको संकेत गरेका छन् ।

अखण्ड पक्षधर पहाडिया समुदाय र थरुहट पक्षधर थारु समुदायबीचको असमझदारीको परिणाम थियो टीकापुर घटना । संविधान जारी हुने दिन जति नजिकिदै थियो प्रदेशको संरचनाका विषयमा तराई मधेसमा असुन्तुष्टि व्यक्त हुदै थिए । त्यही असन्तुष्टिरुपी आगोमा केही तत्वहरु ध्यू थप्ने योजना बुन्दै थिए ।

’नेपालको संविधान २०७२’ जारी हुनपूर्व एक महिनाअघि भएको टीकापुर घटनाका उद्देश्य के के थिए ? भन्ने विषयमा गहन अध्ययन अनुसन्धान हुन सकेको छैन । रेशमले बेलाबेलामा टेलिभिजन अन्तरवार्ताहरुमा छानविनको माग गरिरहेका छन् । उनले भन्न खोजेको छानविन के हो त ? यस विषयमा ध्यान जान जरुरी छ ।

यहाँ भन्न खोजिएको कुरा रेशम निर्दोष हुन् भन्ने होइन । तर, सञ्चार माध्यममा भनिए जस्तो उनी मुख्य योजनकाकार पनि होइनन् । टीकापुरका सन्दर्भमा उनको छवी पहाडिया र थारु समुदायकाबीच स्वच्छ भने छैन । उनी अवसरपरस्त र भडकाउ अभिव्यक्ति व्यक्तिका रुपमा परिचित छन् ।

अहिले उनले कैलाली क्षेत्र नम्बर १ मा प्राप्त गरेको अत्याधिक मत एक संयोग मात्रै हो । २०७० सालको संविधान सभाको निर्वाचनमा कैलाली क्षेत्र नम्बर १ मा विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकको कुनै संगठन थिएन । जनकराज चौधरी एउटा स्कूलमा अध्यापन गराउँथे । बर्षौदेखि गाँउ गाँउसम्म संगठन भएका मुख्य दलका उम्मेद्वारहरुलाई उछिन्दै फोरमका जनकराज विजयी भए । उनी विजय हुनुको मुख्य कारण थारु समुदायको एकलौटी भोट थियो । फोरमका रामजनम र जनक कांग्रेसी नेता बनेपछी अहिले कैलाली क्षेत्र नम्बर १ का थारु मतदाताले रेशमलाई चुने । २०७० यता थारु समुदायको मत ठूला दलका विरुद्द प्रकट भएको यो दोश्रो पटक हो ।

जातीय नाराले थारुहरुलाई एकिकृत गराएको छ । थरुहट अन्दोलनले थारु समुदायलाई पहाडी विरोधी बनाई दिएको पृष्ठभूमिमा टीकापुर घटना घटेको कुरा नकार्न सकिदैन ।

२०७२ भदौ ७ गते टीकापुर नगरपालिकाको भवनमा थरुहट प्रदेश लेख्ने कार्यक्रम थियो भनेर प्रचार गरिएपनि आन्दोलनको त्यो भीडमा विभिन्न उद्देश्य बोकेका मानिसहरु थिए । पुरा टीकापुरलाई कब्जा गर्ने र ठूलो रक्तपात मच्चाउने तयारी रहेको विभिन्न अनुसन्धानले देखाएको छ ।

टीकापुरलाई चारै तिरबाट घेरा हाल्ने, बजार भित्र पस्ने र बैक, पसल र घरहरुमा व्यापक लुटपाट मच्चाएर धन संकलन गर्ने मुख्य उद्देश्यका साथ एउटा ठूलो गिरोह तयारी अवस्थामा थियो ।

किनभने भदौ ७ अघिका घटनाक्रमले ठूलो लुटपाट र रक्तपातको घटनाको सम्भावनालाई बल पुर्याइरहेको थियो । फिल्डमा नेपाल प्रहरी एक्लै खटेको थियो । आन्दोलनकारी भित्रको त्यो हिंसक गिरोहले सशस्त्र प्रहरीका सुदुरपश्चिम प्रमुख डिआइजी षडानन्द चौधरी लगायतलाई प्रभावमा लिएको घटना छानविन संसदिय उपसिमितको प्रतिवेदन मै उल्लेख छ । सशस्त्र प्रहरीको असहयोगका बावजुद पनि वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेको टिमले आफ्नो जीवन समाप्त गरेर पनि टीकापुर र त्यहाँका नागरिकको जीवनको रक्षा गरे ।

प्रशंग फेरि रेशमलालकै, कस्ता हुन रेशम !

२०५२ साल तिर रेशमको परिचय एक कलाकारको थियो । उनी राजधानीको रत्नराज्य क्याम्पसमा एमाले निकट अखिलबाट स्ववियू सदस्य थिए । पश्चिम नेपालका गाँउहरुबाट रत्नराज्य क्याम्पसमा पढन आउने विध्यार्थीको चाप अत्याधिक हुदा भर्ना पाउन कठिन हुन्थ्यो । बर्दिया कैलालीका थारु विध्यार्थीले भर्नाका लागि रेशमको सहयोग लिन खोज्दा उनीहरुले सहयोग पाउँदैन थिए । रेशम थारु विद्यार्थीहरुलाई ‘रेस्पोन्स’ गर्दैन थिए । उनमा एक प्रकारको अहं र घमण्ड थियो । रत्नराज्य क्याम्पसमा पढ्दासम्म रेशम पहाडप्याहरुकै वरिपरी घुमिरहे ।

माओवादी सशस्त्र विद्रोहका बेला उनको तत्कालीन शाही नेपाली सेनासँंग नजिकको सम्बन्ध थियो । माओवादी विद्रोहमा पश्चिम नेपालका थारु समुदायको उल्लेख्य सहभागिता रह्यो ।

२०५८ सालपछिको संकटकालका बेला शाही सेनाले रेशमलाई थारु माओवादी नेता तथा कार्यकर्ताको सूचना प्राप्त गर्ने काममा परिचालन गरेको माओवादी नेताहरुको आरोप छ । थारु युवाहरुलाई माओवादीको आरोपमा प्रक्राउ गराउने र फेरि आफै रिहा गराउन सहयोग गर्ने यस्तो दोहोरो चरित्र रेशममा देखिएको कैलालीका माओवादी थारु अगुवाहरु बताउँछन् ।

काठमाडौं छाडेर उनले टीकापुरलाई कर्मथलो बनाए । फूलवारी एफएम सञ्चालन गरे । एफएमको लागि भनेर उनले टीकापुर विकास समितिबाट निशुल्क पाँच कठ्ठा जग्गा हत्याए । जसको मूल्य अहिले २ करोड रुपैयाँ छ । उनी प्रत्येक विहान एफएममा एक घण्टा लगातार राजनीतिक प्रवचन दिन्थे । उनको प्रवचनमा पहाडीया समुदायप्रति विरोध मात्र हुन्थ्यो । थारु समुदायको विकास र समृद्धिको मुख्य वाधकका रुपमा पहाडी समुदायलाई प्रस्तुत गर्थे उनी ।

उनले आफू भन्दा बढी जान्ने मानिस थारु समुदायमा कोही पनि नभएको एफएमबाट प्रचार गर्थे । यूरोप अमेरिकालगायत संसारका अधिकांश देश घुमेको, एक दर्जन बढी विदेशी भाषा जानेको, शाही सेनाका जर्नेल , प्रहरीका आइजिपी, मन्त्री, प्रधानमन्त्रीदेखि राजासम्म उठबस रहेको कुरा एफएममार्फत प्रशारण गर्थे रेशमले ।

शाहीकालमा राजा ज्ञानेन्द्रले प्रधानमन्त्रीका लागि कथित विज्ञापन प्रकाशन गर्दा रेशम पनि एक उम्मेद्वार थिए ।

उनी अहिले सञ्चारमाध्यममा अन्तरवार्ता दिदा आफूलाई पत्रकार भएको बताउने गर्छन् । उनी खेलाडी, पत्रकार होइनन् । रेडियो सञ्चालन गरेका छन् सञ्चार व्यवसायी हुन् र विगतमा कलाकार थिए ।

उनले विगतमा तत्कालीन प्रधानसेनापती प्रज्वलशमशेर जबराकी पत्नी सिन्धु राणाको एल्बममा संगीतको काम गरेका थिए । त्यसपछि उनी राणा परिवारसंँग नजिकिए । दरबारसंँग पनि रेशमले सम्बन्ध बनाएका थिए ।

पहाडेहरुप्रति थारुमा घृणा पैदा गर्न सके मात्र आफू नेता बन्न सकिन्छ भन्ने कुरा रेशमले बुझेका थिए । त्यसकालागि उनको फूलबारी एफएम राम्रो माध्यम बन्यो । टीकापुरमा उद्योग वाणिज्य संघले प्रत्येक बर्ष व्यापार तथा पर्यटन मेला सञ्चालन गर्दा रेशमले त्यसको विरुद्दमा वाणिज्य संघको मेला भन्दा अघि नै फूलवारी व्यापार मेला लगाउँथे ।

उनी थारु समुदायका हुँदाहुँदै पनि अरु थारुहरु आफू बराबर ठान्दैन थिए । थारु समुदायमा उनको पहिचान साथीको नभएर शोषक, सामन्त थारुको जस्तो तडकभडक थियो । उनी जवरजस्त ढंगले थारुहरुमध्ये आफू उत्कृष्ट थारु भएको बेला बेलामा प्रमाणीत गर्न खोज्थे ।

टीकापुरमा अछामबाट बसाई सरेका पहाडे समुदायको बर्चश्व छ । टीकापुर आवास क्षेत्रको विकासमा पतञ्चायतकालीन मन्त्री खड्गबहादुर सिंहको योगदानलाई मान्ने र नमान्ने दुई थरी पहाडेहरु टीकापुरमा छन् । बर्षौदेखि सिंहको योगदानको बहस चलिरहेका बेला रेशम एक्लैले टीकापुरमा मन्त्री खड्गबहादुर सिंहको शालिक स्थापना गरे र उक्त ठाँउलाई खड्ग चोक भनेर नामाङ्कन गरे । त्यसले एकथरी अछामीहरु रेशमसंग रिसाइरहे ।

रेशमको प्रतिस्पर्धा दुई पक्षसँंग थियो । एक थारु समुदायबाट विभिन्न पार्टीमा रहेका नेताहरु अर्को टीकापुरका पहाडे त्यो पनि अछामी नेताहरु । टीकापुरको परिवेशमा थारु र पहाडेहरु बर्षौदेखि सौहाद्रपूर्ण तरिकाले एकआपसमा मिलेर बसेका समुदाय हुन् ।

माओवादी सशस्त्र विद्रोहले दुई समुदायबीच केही दूरी बढाएको देखिन्छ भने बाँंकी रेशम र उनको एफएम रेडियोले । पहाडे समुदायलाई चिढाउन उनी हेल्मेट नलगाई मोटरसाइकलको ‘लेगगार्ड’मा पेस्तोल झुण्ड्याएर टीकापुर बजारमा घुम्थे ।

२०७२ साउनको अन्तिम साता रेशमले टीकापुरमा आयोजना गरेको आमसभामा उपेन्द्र यादव, राजेन्द्र महतो, अमरेसकुमार सिंह र देव गुरुङले सम्बोधन गरे । थारु समुदायका हजारौ मानिसहरुलाई ती नेताहरुले टीकापुरबाट पहाडेहरुलाई लखेटनु पर्ने भड्काउ भाषण गरे । उक्त आमसभाको अध्यक्षता रेशमले नै गरेका थिए । तर अहिले रेशम नेताहरुले बोलेको कुराको जिम्मेवारी लिन तयार हुदैनन् ।

प्रधानसेनापति रुक्माङगत कटुवाल प्रकरणपछि सत्ताबाट बाहिरिएको माओवादीले सुरु गरेको नागरिक सर्वोच्चताको आन्दोलनकाक्रममा रेशमले भारतीय राजदूत राकेश सुदलाई टीकापुर निम्ता गरे ।

माओवादी कैलालीले सुदलाई टीकापुर नल्याउ गरेको आग्रहपनि उनले सुनेनन् । टीकापुरमा सुदविरुद्दको प्रदर्शनमा दर्जनौ माओवादी नेता तथा कार्यकर्ताले पुलिसको कुटाई खाए ।

विगतका घटनाक्रमले रेशमलाई अहिले टीकापुर घटनाको मुख्य योजनाकारका रुपमा न्यायको कठघरामा उभ्याएको छ । उनले विगतमा गरेका उटपट्याङ कार्यलाई टीकापुर घटनासंग जोडेर प्रहार गरिँदै छ ।

उनी २०६४ सालको संविधान सभाको निर्वाचनमा कैलाली १ बाट उम्मेद्वार भए र करिब एक हजार भोट पाए त्यसपछि २०७० सालमा राजेन्द्र महतो नेतृत्वको सदभावना पार्टीबाट कैलाली १ बाटै उम्मेद्वार भए र २ हजार ७ सय भोट पाए । त्यसपछि अहिले प्रतिनिधिसभामा ३४ हजार ३ सय ४१ मत पाएर विजय भएका छन् ।

टीकापुर घटना पछि फरार रहेका उनी भारतमा बसिरहेका छन् र सञ्चारमाध्यमहरुमा देशको कानुन तथा प्रशासनयन्त्रलाई चुनौति दिइरहेका छन् । उनी विभिन्न आश्वासन बाँडेर सोझासाझा थारुहरुको भोट पाए विजयी त भए तर वरिष्ठ प्रहरी उपरीक्षक सहित आठजनाको दिन दहाडै भएको हत्याको मुद्दाबाट कसरी विजय हुनेछन् । प्रतीक्षाको विषय बनेको छ ।