कुरा: खस्रा मिठा

देउवासँग दुई विकल्प थिए, ‘सत्ता सेनाको हातमा वा कम्युनिष्टको हातमा जिम्मा लगाउने’ (भिडियोसहित)

शुक्रबार, २९ मङि्सर २०७४ गते मा प्रकाशित

arun-kumar-subedi-kura-khasra-mitha-nepalaaja-02

काठमाडौं । अरुणकुमार सुवेदी मूलतः नेपालको जलस्रोतका जानकार हुन् । तर उनको तिखो विश्लेषण र टिप्पणी राजनीति, कुटनीति र अन्तर्राष्ट्रिय सम्बन्धमा पनि छ । समृद्धि र आर्थिक क्रान्तिका लागि उनी उदार अर्थतन्त्रमा विश्वास गर्छन् । भौतिक पूर्वाधार, शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राख्न रुचाउने सुवेदीले पछिल्लो निर्वाचन परिणामलाई अपेक्षित मानेका छन् । किनभने दोस्रो र तेस्रो ठूलो दल मिलेपछि त्यो दल पहिलो ठूलो दल बन्नु स्वभाविक नै हो ।

जहाँसम्म नेपाली कांग्रेसले पराजयको आभाष पहिले नै पाएको थियो, तर पनि उसले निर्वाचन गरायो । यसमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवासँग चुनाव अगाडि दुई विकल्प थिए । सुवेदी भन्छन्, ‘या त देउवाले संविधान, सत्ता सबै लगेर सेनालाई बुझाउनु पथ्र्यो, या त उनले निर्वाचन गराएर कम्युनिष्टलाई सत्ता जिम्मा लगाउने । उनले दोस्रो विकल्प रोजे । उनीसँग अर्को विकल्प पनि थिएन । ’

यसपटकको निर्वाचनमा सबैभन्दा जोखिममा नेकपा माओवादी केन्द्र नै थियो । माओवादीले आफ्नो पार्टी जोगाउने हरसम्भव प्रयास गर्ने थियो । शेरबहादुर देउवाले प्रचण्डकै नेतृत्वमा सबै चुनाव गराउन छाडि दिएको भए पनि प्रचण्ड एमालेसँग मिल्न जान्थे । यो कुरामा कुनै दुई मत नै छैन । सुवेदी भन्छन्, ‘सरकार परिवर्तनसँग यसको धेरै सम्बन्ध छैन । जसरी पनि यो त हुनु नै थियो । ’

अहिलेको मत परिणामबाट केपी ओली प्रधानमन्त्री बन्दैछन् । तर यो भन्दा महाजञ्जालमा अब मुलुक फस्दै छ । सुवेदी धेरै दावीका साथ भन्दैनन् । तर उनले सजगतापूर्वक भन्छन्, ‘अहिले धेरै टिप्पणी नगरौं । तर यो संविधान कार्यान्वयन गर्दा के के हुन्छ, थाहा भइहाल्छ । सधै कटु आलोचना गर्नु हुँदैन । तर विषय त्यति सजिलो छैन ।’

यता नेपाली कांग्रेसमा सभापति देउवा दबाबमा परेका छन् । उनलाई पद छाड्न गगन थापालगायतले दबाब दिइरहेका छन् । केहीले कांग्रेस आफ्नो पुरानो धार (राजसंस्था र हिन्दूत्व)मा फर्किनु पर्छ भनिरहेका छन् । तर राजा नै गणतन्त्रपक्षधर भएपछि कांग्रेस राजसंस्थातर्फ फर्किन अवस्था भने सुवेदी देख्दैनन् । हिन्दूत्व र राजसंस्थाको पक्षमा खुलेर बोल्ने कांग्रेसहरु देखिएको सुवेदी बताउँछन् ।

नेपालआज डटकमको ‘कुरा खस्रा मीठा’ नामक नियमित भिडियो स्तम्भमा सुवेदीले आफ्नो विचार राख्छन् । यसपटक उनले राजनीतिका अतिरिक्त विकासका विषयहरु पनि प्रमुखताका साथ राखेका छन् ।