बिचार

सपथ लिन आउँछु, टीकापुर नरसंहार मैले गरेको प्रमाणित भए जेल जान तयार छु

बुधबार, २७ मङि्सर २०७४ गते प्रकाशित
- नेपाल आज (DR)

सपथ लिन आउँछु, टीकापुर नरसंहार मैले गरेको प्रमाणित भए जेल जान तयार छु

रेशम चौधरी,  प्रतिनिनिधसभामा निर्वाचित उम्मेदवार 

टीकापुर नरसंहारको नाइके भनेर मविरुद्ध राज्यले झुठा मुद्धा लगाएको छ । डकैती, चोरीको समेत आरोप ममाथि छ । टीकापुर एक दुर्घटना थियो । गल्ति थियो । तर म के आजसम्म कुनै डकैतीमा सामेल भएको छु ? मैले चोरी गरेको छु ? जनताले ममाथि लगाएको आरोप हो यो । यति हुँदा हुँदै पनि मैले कैलालीबाट चुनाव जितँे । कुनै मतदाताकोमा एक पटक नपुगी नै मैले चुनाव जितेँ । मलाई नै आश्चर्य लागेको छ कि मैले चुनाव कसरी जितेँ भन्ने । तर मलाई जनताले जिताए । उहाँहरुलाई मुरी मुरी धन्यवाद दिन चाहन्छु ।

ममाथि राज्यले लगाएको मुद्धा झुठो हो भन्ने जनताले भोटमार्फत अनुमोदन गरेका छन् । टीकापुर नरसंहारका वास्तविक दोषी त राज्यले खोजेकै छैन । जो मानिस आन्दोलनमै थिएनन्, जो मानिस त्यो बेला अन्तै कतै थिए, उनीहरुविरद्ध पनि मुद्धा दर्ता भएको छ । थारु काल्याणकारी सभाका अध्यक्ष धनीराम चौधरी, सभाका कैलाली अध्यक्ष लाहुराम चौधरी, नेता लक्ष्मण चौधरीविरुद्ध पनि मुद्धा दर्ता गरिएको छ । जबकी उनीहरु नरसंहारको बेला त्यहाँ छँदै थिएनन् ।
आन्दोलनका क्रममा टीकापुरमा राखिएको आमसभामा जनता भड्काउने भाषण गरेर यस्तो भएको हो भन्ने हो भने म भन्छु कि त्यस्तो भाषण गर्ने अमरेशकुमार सिंह, उपेन्द्र यादव, राजेन्द्र यादव, रामजनम चौधरी, जनकराज चौधरी, सुरेन्द्र चौधरीलाई समातेर किन कारबाही गरिँदैन ?

त्यो घटनापछि मेरा सम्पत्तिमा आगो लगाइयो । ८ करोड भन्दा बढी क्षति भयो । राज्यले डेढ करोड भन्दा अलिकति बढी क्षतिपूर्ति दियो । बाहिर हल्ला भयो कि रेशम चौधरीको घरको शिशा फुट्दा उसलाई सरकारले पौने दुई करोड क्षतिपूर्ति बाँढ्यो भनेर ।

टीकापुर नरसंहार एक दुर्घटना थियो भनेर मैले माथि नै भनिसकेको छ । यो एक गल्ति थियो भन्ने पनि मान्छु । तर यो राजनीतिक घटना हो । जसरी जनयुद्धमा १७ हजार मानिसको ज्यान गयो, त्यसलाई राज्यले राजनीतिक घटना मान्यो त्यसै गरी यसलाई पनि राजनीतिक घटना मान्नु पर्छ र मेलमिलाप आयोग गठन गरेर मिलाउनु पर्छ ।

भारतमा प्रमसँग भेट
भारत भ्रमणमा जाँदा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पनि मैले भेटे । उहाँले झुठा मुद्धा फिर्ता लिने आश्वासन दिनु भएको थियो । त्यो भेटमा मैले म निर्दोश छु, नरसंहारमा मेरो संलग्नता छैन भनेको थिएँ ।

शान्तिपूर्ण आन्दोलन भन्ने अनि प्रहरी मार्ने, त्यसैलाई राज्यले राजनीतिक मानिदिनु पर्ने ?
४६ सालको जनआन्दोलनमा कालीमाटीमा २२ जना प्रहरीलाई लखेटी लखेटी मारियो । त्यो घटना राजनीतिक हुने । तर यो नहुने कसरी हुन्छ ? तपाईले सोध्नु भयो कि टीकापुरमा जो जो प्रहरी मारिए उनीहरुका परिवारलाई कसरी चित्त बुझाउनु हुन्छ ? यसमा मेरो जवाफ छ कि १७ हजार मानिस पनि मारिए । ती मृतकका परिवारलाई राज्यले कसरी चित्त बुझाएको छ ? त्यो एक उत्तेजित भीडले गरेको कुकर्म थियो । यसमा हाम्रो नियत र पूर्वयोजना केही पनि थिएन । तर दूर्भाग्यपूर्ण घटना भयो ।

तपाईलाई प्रहरीले जहाँ भेट्यो, त्यही गिरफ्तार गर्ने भनेको छ नी ?
मैले पनि यस्तै थाहा पाएको छु । जनताले मलाई चुनावमा जिताए । अब सपथ ग्रहणमा पनि जान्छु । प्रहरीले समायो भने पनि म अदालतमा गएर निर्दाेश रहेको प्रमाणित गरिदिन्छु । प्रहरीले समाउने त होला नी गोली हान्ने त होइन होला । मलाई प्रहरीले पक्राउ गर्छ भन्ने चिन्ता छैन अब । किनभने यदि मैले प्रहरीको हत्या गरेको प्रमाणित हुन्छ भने जेल जान तयार छु । यो घटनाका कथित आरोपी अहिले पनि २५ जना जेलमा छन् । ४० भन्दा बढी भूमिगत भएका छन् ।

त्यो बेला प्रहरी र बच्चा मारेको सबैले देखे । तर त्यही घटनामा प्रहरीले २ सय ज नालाई गोली हानेर घाइते बनायो । चेलीबेटीमाथि सेना प्रहरीले यौन उत्पिडन गर्यो । त्यो कसैले देखेन । घटना भएको कति दिनसम्म कर्फ्यू लाग्यो । वास्तविकता बाहिर आउनै पाएन । देखाउनकालागि विभिन्न छानविन समिति गठन गरिए । तर वास्तविकता कुनै छानविन समितिले पनि बाहिर ल्याएन ।

 

(टीकापुर नरसंहारमा सरकारले अभियुक्त मानेको तथा प्रतिनिधिसभा सदस्यमा कैलाली १ बाट निर्वाचित रेशम चौधरीसँग गरिएको कुराकानीमा आधारित)