अपराध सुरक्षा

कीर्ते नागरिकताधारी अंगद सिंहविरुद्ध उजुरी, उजुरी दर्ता गर्न सिडिओ अफिसमा आनाकानी

सोमबार, २५ मङि्सर २०७४ गते प्रकाशित
- नेपाल आज (DR)

कीर्ते नागरिकताधारी अंगद सिंहविरुद्ध उजुरी, उजुरी दर्ता गर्न सिडिओ अफिसमा आनाकानी

काठमाडौं । सात वर्ष अगाडि भारतीय नागरिक रहिसकेका तर नेपाली प्रशासनको कमजोरीमा खेलेर नेपालमा वंशजको नागरिकता हत्याउन सफल भएका एक संदीग्ध व्यक्ति अंगद सिंहविरुद्ध उजुरी परेको छ ।

सन् २००१ सेप्टेम्बर ५ मा उनी भारतीय नागरिक रहेको प्रमाणित नेपालस्थित भारतीय दूतावासले गरेको थियो । त्यसको सातवर्षपछि त अंगदले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट बंशजकै आधारमा नागरिकता लिएका थिए । अंगदले २०६७ साल श्रावण २५ गते विभिन्न कीर्ते कागजात जम्मा पारेर नेपाली प्रशासनलाई झुक्याएर नागरिकता लिएको भन्दै उनीविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेको छ ।

उजुरीमा अंगद सिंहले कीर्ते कर्म गरेको दावी गर्दै लेखिएको छ, ‘नेपालको प्रचलित कानुनअनुसार अंगद सिंह कुनै पनि हालतमा वंशजको नागरिकता लिन योग्य व्यक्ति होइनन् । सात वर्ष अगाडि भारतीय नागरिक रहेको व्यक्ति सातवर्षपछि वंशजको नागरिक हुन सक्दैन । नेपालको संविधान, विभिन्न कानुनलाई समेत उनले चुनौती दिएका छन् ।’

अंगद सिंह त्यस्ता व्यक्ति हुन् जसले पैशा, राजनीतिक पहुँच प्रयोग गरेर काठमाडौं प्रहरीलाई प्रभावमा पारी केही अगाडि हर्सिम्रन सिंह नामक २६ वर्षीय युवकलाई बिना कारण सात दिन प्रहरी हिरासतमा राख्न लगाएका थिए । उनका हजुरबुवा नेपालमा ट्रक चलाउन भारतबाट वर्षौं अगाडि नेपाल पसेका थिए । अंगदका बाबुले नेपालको नागरिकता लिएको बुझिएको छ । उनकी आमा भारतीय भएका कारण उनले सुरुमा आमाको नागरिकताको बलमा भारतीय नागरिकता लिए । लगत्तै उनले नेपालमा वंशजको नागरिकता पनि लिए ।

यस्तो जालझेल गर्नेलाई पक्राउ गरी अविलम्व कारबाही गरियोस् भनि उजुरी परेको छ । उजुरी गर्ने महिलाले भनिन्, ‘१० मिनेटमा हुने दर्ता गर्न चार घण्टा लगाइयो । जिल्ला प्रशासन कार्यालयमा म निवेदन लिएँर जाँदा अपराधिलाई झै केरकार गर्ने काम भयो । मानौं कीर्ते नागरिकता मैले नै लिएको हुँ ।’ अंगदविरुद्धको उजुरी दर्ता गर्न जिल्ला प्रशासन कार्यालयका कर्मचारीले निकै आनाकानी गरेको बुझिएको छ ।