बिचार / ब्लग

एक टिभी रिपोर्टरले देखेको दमननाथ ढुंगानाको ‘रियल फेस’

बुधबार, २२ कार्तिक २०७४ गते मा प्रकाशित

daman

संविधानसभाको दोस्रो निर्वाचन हुँनै लाग्दा सो सम्बन्धी एक रिपोर्ट बनाउनु पर्ने भयो । विप्लव माओवादी चुनावको विरोध गरिरहेको थियो । सन्दर्भ मिलेकोले दमननाथ ढुंगानाको बाइट राख्न ठिक थियो । उहाँको समय एक वरिष्ठ दाईले मिलाइदिनु भयो ।

बत्तीसपुतलीस्थित उहाँको घर खोज्दै उहाँकै नम्बर बोकेर बाइकमा हामी दुई हुइँकियौं । घर नदेखेर कल गर्यौं । ढुंगानाले नै उठाउनु भयो । लोकेसन दिनु भयो । लोकेसन झुक्किएर अर्को ठाउँमा पुगियो । फेरि फोन गरेँ । मैले भने, ‘सर, म त झुक्किएँ । यहाँबाट कता आउँ ?’ उहाँले भन्नु भयो, ‘कतै पनि आउनु पर्दैन, आफ्नै घरतिर जानूस । तपाईको घर कहाँ हो ? ’

मैले भने, ‘मेरो घर विराटनगर हो ।’उहाँले भन्नुभयो, ‘उसो भए उतै जानुस म भए ठाउँ आउनु पर्दैन ।’

उमेरमा वृद्ध । जे भनून् । घरै पुगेपछि त के कुरा नगर्लान भनेर म हामी खोज्दै गयौं ।
घर भेट्यौं । ढोका अगाडि पुगेर बेल थिच्यौं । हामी जे जस्तो भए पनि उनको घर पुगेका अतिथी थियौं । तर उनले अपमान गर्न छाडेनन् । बल्लतल्ल कुरा गर्न राजी भए ।

मैले सोधेँ, ‘चुनाव होला ?’

उनले तु जवाफ दिए, ‘के को चुनाव कस्तो चुनाव ? किन हुने ?’

संविधानसभाको चुनावको पक्षमा केही राजनीतिक दल पनि छन्, यिनले भाँड्ने सम्भावना कति छ ?
उनको जवाफ थियो, ‘बैद्य, विप्लवको पार्टी भनेको शान्ति सम्झौताको एक अंग हो । उनीहरुलाई सहमतिमा नल्याएसम्म कसरी हुन्छ चुनाव ?’

मैले प्रतिप्रश्न गरेँ, ‘शान्ति सम्झौता भन्दै बस्ने हो भने त मुलुक यो संक्रमणकालबाट कहिले निस्केला ? ’
त्यसपछि उनले बल्ल आफ्ना आशययुक्त÷आवेशयुक्त जवाफ दिए, ‘जनयुद्ध भनेको के हो थाहा छ ? शान्ति सम्झौता के बुझ्नु भएको त तपाईले ? असन्तुष्ट दललाई बाहिर राखेर चुनाव गराउने कुचेष्टा गरेर हुन्छ ? आकाश खसोस, धर्ती फाटोस्, यो अवस्थामा चुनाव हुन हुँदैन ।’

उनका आँखा राता राता पनि भए । चुनाव हुन लाग्दा उनी दुःखी रहेको भाव झल्किन्थ्यो । भित्री नियत दमननाथको के थियो भगवान नै जानून् ।

अब उनको घर छाड्ने बेला भएको थियो । मैले भने, ‘सर, म स्कुल पढ्दै, कक्षामा सरले नेपालका सभामुख अहिले को छन् ? भनेर प्रश्न सोधेको मलाई याद नै छ । आज हजुरसँग भेट भयो ।’

उनले फेरि पनि अपमान गर्न बाँकी राखेनन्, ‘प्रश्नको जवाफ नआएर कुटाइ खाएको भए अहिले अलि सुध्रिनु हुन्थ्यो कि ?’

फर्केर बाटोमा आउँदा मसँगै रहेका क्यामेरा पर्सनले मलाई भने, ‘सर, आजसम्म यी भन्दा ठूला र वरिष्ठ मान्छेसँग अन्तर्वार्ता लिन पनि गएको छु । ऋषि धमलासँग जाँदा उनका उलटपुलट प्रश्नमा पनि मानिसहरु संयमित भएर कुरा गर्छन् । तर यति सामान्य कुरा गर्दा यिनले कति ‘चूतिया’ व्यवहार गरे हामीसँग ?

मैले भने, ‘छाडिदिनुस यार, जसलाई तपाई आदर्श व्यक्ति ठान्नुहुन्छ, तिनलाई सधै आदर्श नै बनाएर राख्न चाहनु हुन्छ भने उनीहरुसँग भरसक भेट नै नगर्नूस । भेट गर्नु भयो भने पनि संगत नगर्नूस । यस्तै हो ।’

कांग्रेस छाडेको, राजनीति छाडेको घोषणा गरिसकेका ढुंगानालाई कांग्रेसले यसपटक टिकट दियो । दुंगानाका बारेमा निलो प्लेटको गाडी चढ्ने

गरेको ‘विदेशीको दलाल’, ‘युरोपेली युनियन एजेन्ट’ भन्ने आरोप लाग्ने गरेको धेरै पछि मात्रै थाहा पाएँ । त्यसअघि उनी मेरो नोटिसमा खासै थिएनन् ।
यसपटक जब उनी भक्तपुर २ बाट प्रतिनिधिसभामा कांग्रेसका उम्मेदवार बने, उनी बोलेको टिभीले देखाउन थाल्यो । भक्तपुरको रफ्त सञ्चारमा एमालेका महेश बस्नेतसँगै उनी बोलिरहेका थिए । उनको कुरा कति मीठा लागे मलाई । मान्छेलाई कन्भिन्स गर्न सक्ने गरी बोलेका उनले । मान्छे बुढो भए पनि कुरामा कति मिठास, कति रोचक । म दंग भएँ ।

दमननाथको त्यो फेस । जुन वास्तविक थियो । जहाँ उनको फेस हामी दुई बाहेक कसैले देख्न सक्दैन थियो । अहिले टिभीको फेस जुन आम जनताले हेरिरहेका छन् । यी दुई फेसबीच कति धेरै भिन्नता । सोचे यति नाथे गतिशील हुन नसके के को नेता ?

–एक पत्रकार ।
(लेखकले आफ्ना नाम नराखी पाठक पत्रका रुपमा प्रकाशित गरिदिन आग्रह गर्नु भएको छ । सम्पादक)