समाज

भिडियो

बेबारिसे लाश जलाउने एक युवकको मर्मस्पर्शी कथा (भिडियोसहित)

कञ्चन न्याैपाने

बुधबार, २२ कार्तिक २०७४ गते मा प्रकाशित

binaya-jung-basnet-nepalaaja

काठमाडौं । पशुपतिको आर्यघाटस्थित ट्याक्टरमा राखिएका ६ वटा सडेका डुंगडुंग्ती गनाउने लाश । शंकै छैन, वरिपरिका मानिसहरु भागदौड गर्ने नै भए । बसी नसक्नु भएपछि वरिपरीका मान्छे नाक थुनेर जति सक्दो छिटो त्यहाँबाट उम्कने प्रयास गर्दै थिए । तर, समाजसेवी विनय बस्नेत ती लाशलाई यसरी निकाल्दै थिए की मानौं ती शव उनकै आफन्तको हो । उनले माक्ससमेत प्रयोग गरेका थिएनन् । घिन लाग्दैन ? ‘वेवारिसे शवदेखि एक रत्ति पनि घिन लाग्दैन । यी मानिस आफ्नै मान्छेजस्ता लाग्छन्,’ उनको जवाफ थियो । 

सामान्य मानिसको मृत्यु हुँदा मलामीको भिड हुने गर्छ । तर, ती बेवारिसे शवको उनी एक्ला मलामी थिए । केही मिडियाकर्मी र उनलाई सहयोग गर्ने एक दुईजना मानिसको उपस्थिति थियो । एउटा चितामा दुईवटा शव एकै पटक राखियो । तीनवटा चितामा ६ वटा शव अटायो । बस्नेतले सबै चितामा तीन पटक घुमे र दागबत्ती दिए । ती बेवारिसे लाशलाई दागबत्ती दिन पाउँदा उनलाई आनन्द लाग्छ । भन्छन्, ‘यत्ति गरेपछि पुण्य कमाएजस्तो लाग्छ ।’ उनले नजलाउँदा हुन् त, ती लाशहरु सडेर जाने थिए ।

कसरी आयो बेवारिसे लाश जलाउने सोच ?

पशुपति आर्यघाटमा बेवारिसे लाश जलाउने काम बस्नेतबाहेक अरु कसैले पनि गर्दैन । तसर्थ, यो नयाँ कामको सुरुवात उनी आफैैंले गरेका हुन् । बस्नेतका बाबु श्यामबहादुर बस्नेत महालेखाका सहसचिव थिए । १२ वर्षअघि विहान खाना खाएर साथीको घर जान्छु भनेर बाहिर निस्केका बाबु दुई दिनसम्म फिरेनन् । पछि खोजी गर्दा उनी दुर्घटनामा परेछन् । दुई दिनसम्म आफन्त पत्ता नलागेपछि शिक्षण अस्पतालमा उनको शव पनि बेवारिसे कक्षमा थन्क्याइएको रहेछ । बाबुको यस्तो असामयिक निधनले उनलाई ठूलै झट्का लाग्यो । बाबुको लाशसँगै कति बेवारिसे लाशलाई देखे उनले । बाबुको शव जलाउँदै गर्दा कति चिता खाली थिए । ती खाली चितामा त्यस्तै बेवारिसे लाशलाई जलाउन पाए हुन्थ्यो भन्ने विचार उनको दिमागमा आउँथ्यो । आज उनले गर्ने काम पनि यही सोचको उपज हो ।

उनको भनाइअनुसार बुबाको मृत्युपछि बस्नेत जिउँदै बेवारिसे भएका थिए । तीन महिना उपचारमा बसेपछि अब के गर्ने भन्ने भयो उनलाई । उनले भने, ‘मसँग पैसा थियो । अब बेवारिसेलाई सहयोग गर्छु भन्ने सोच आयो । पहिला इमाडोलमा एकजना बाजेको शवगत गरें । त्यसपछि पुलिसहरुको सहयोगमा वेवारिशे लाश संकलन गर्न थालँे । एक महिनासम्म मृतकको आफन्त भेटिएमा जिम्मा लगाउने र पैसा नभएको खण्डमा सहयोग गर्ने गरेँ । आफन्त पत्ता नलागेकाहरुको आफैंले दागबत्ती दिन थालेँ ।’

दुव्र्यसनीमा फसेर सिकेको ज्ञानको परिमार्जन

बाबुको मृत्युअघि नै उनी दुव्र्यसनीमा फसेका थिए । दुव्र्यसनी भनेर ड्रग्स त होइन उनलाई जाँड रक्सीको कुलत लागेको थियो । रक्सीको कुलतकै कारण उनलाई श्रीमतीले पनि छोडेर गइसकेकी थिइन् । एउटी भएकी छोरीले बाबु भन्न समेत लाज मान्थिन् । पछि उनी रिह्याबिलिटेसन पुगेपछि बल्ल जीवनको महत्व बुझे । त्यो भन्दा पनि बढी आफूलाई माया गर्ने महत्व बुझे । जे हुन्छ राम्रैको लागि हुन्छ भनिन्छ । यो कुरा उनले आत्मसात गरिसकेका छन् । उनी भन्छन्, ‘यदि मेरी श्रीमतीले मलाई एक्लो नबनाएको भए आज म यो अवस्थामा हुने थिइनँ । उनले मलाई एक्लो बनाएकै कारण म धेरै बेवारिसेका लागि सेवक भएको छु । परिवारसँग भएको भए म यो अवस्थामा सायदै आउने थिइनँ ।’

श्रीमतीले छोडेको पीडा त छँदै छ । अझै फर्किएर नआएको पीडा अर्कातिर छ । ‘मेरी किड्नी फेल भएकी बहिनीले हात जोडेर सम्झाउँदा पनि आउन मानिनन्,’ उनले निन्याउरो अनुहार बनाउँदै भने । अहिले तपाईंले गरेका कामबारे उहाँलाई अवगत छैन ? यो जिज्ञासामा उनले भने, ‘अवगत त किन नहुन्थ्यो र, सामाजिक सञ्जालमा मेरोबारे यसरी समाचार आइरहेका छन् । तर, पनि केही प्रतिक्रिया भने छैन ।’

कहाँबाट आउँछ आर्थिक सहयोग ?

बस्नेतले लाश जलाउनेमात्र होइन, ललितपुरस्थित ‘एक्सन फर सोसल चेन्ज’ नाम गरेको संस्थाबाट धेरै बेवारिसेहरुलाई बासस्थान दिएका छन् । यसका साथै उनले उक्त संस्थामार्फत कुलतमा फसेकाहरुलाई पनि निःशुल्क उपचार दिने गरेका छन् । उनी भन्छन्, ‘हिजो म रक्सीको कुलतमा फस्दा जसरी सहाराविहीन भएको थिएँ, आज अरुको अवस्था त्यस्तो नहोस् ।’ यो सबैका लागि आर्थिक सहयोग कहाँबाट आउँछ ? उनी भन्छन्, ‘मैले अहिलेसम्म आफै गएर अरुसँग पैसा मागेको छैन । मेरा दुई चारजना नजिकका मान्छेहरु छन् जसले परेको खण्डमा सहयोग गरिरहेका हुन्छन् । अन्य सहयोगी हातहरुले पनि सहयोग गरेको खण्डमा स्वीकार गर्छु । तर कसैलाई सहयोग गर भनेर पैसा माग्न अप्ठ्यारो लाग्छ । समाजसेवा गर्न नै अब मैले एक रोपनी जग्गा बेच्नुपर्छ ।’

बस्नेत ललितपुर महालक्ष्मी नगरपालिका, टीकाथलीका स्थानीय बासिन्दा हुन् । उनी विगत १९ वर्षदेखि रेडियोमा कार्यरत छन् । रेडियोमा पनि उनी लागूऔषधबाट फसेर उपचारमा बसेका र बेवारिसे भएकाहरुलाई काउन्सिल गर्छन् । रेडियोमा चलाउने ‘पुनर्जीवन’ नामको कार्यक्रममार्फत पनि उनी लागूऔषधबारे नै आफ्ना विगतका दिनहरु र समस्याका सामाधानबारे कुरा गर्छन् । यो कामबाट अहिले समाजले पनि आफूलाई स्वीकार्दै आएको भन्दै उनले भने, ‘हिजोको दिनमा मैले अरुको लाश जलाएँ भनेर छोएकोसमेत नखानेहरु आज अंकमाल गर्न आउँछन् । मिडियाको साथले यतिसम्म भएको छ ।’