बिचार / ब्लग

मैले चिनेकी सुबुना

सुरज सुवेदी

बिहिबार, १४ मङि्सर २०७४ गते मा प्रकाशित

1

बिराटनगर युवा अभियानको अफिसमा पहिलोपल्ट मैले सुबुनालाई भेटेको । त्यहाँ हप्ताको एकदिन ‘स्मार्ट क्लब’ हुन्थ्यो । मेरो दोस्रो हप्ता थियो त्यो । साथीहरू मिलेर अंग्रेजीमा बोल्न सिक्ने ठाँउ हो भनेर मदनले भनेपछि तानिएको थिँए त्यहाँ । १ घण्टाको समय केवल अंग्रेजीमा मात्र कुराकानी गर्ने, बोल्ने र एकआपसको गल्ती सच्याइदिने क्लब थियो त्यो । मेजर इङ्लिस पढिरहेको भएपनि सरकारी स्कुल पढेको भएकाले मलाई अंग्रेजी बोल्न आँउदैनथ्यो । सिक्न पाइने लोभ थियो ।

आफूजस्तै साथिभाईहरू पनि भेटिने अर्को फाइदा । पहिलो हप्ता सुनेँ मात्र। त्यसमा कसले के जिम्मेबारी लिने भन्ने कुरा पहिलानै निर्धारित हुनेरहेछ । एकजना स्पिकर बोलेपछि उसको ग्रामर चेक गर्ने एकजना र बडि ल्याङ्वेज चेक गर्ने अर्को । स्वस्थ र सहज वातावरणमा गल्ति गरेर सिक्ने अवसर देखेपछि मैले पनि एउटा विषयमा आउने हप्ता ‘प्रि डिसाइडेड स्पिकर’ भएर बोल्छु भनेर नाम टिपाँए । विषय दिइयो तर त्यसदिन अलिक कम साथीहरू उपस्थित भएकाले ग्रामर चेकर भने निश्चित भएन ।

अर्को हप्ता मैले बोलेँ । पोडियम समातेर धकाउँदै तथा लेखेर तयारी गरेको संझिँदै बोलिसकेँ । आँखा कता हेरेँ थाहा थिएन । ग्रामर र बडी ल्यांगबेज के भयो त्यो पनि थाहा थिएन । पहिलोपल्ट अंग्रेजीमा कसैको अगाडी बोलेको थिँए । फर्किएर बस्दा पसिनाले भिजेको थिँए । निकैबेरसम्म कसैको आँखामा हेर्न सकिन ।

म बोलेपछि मेरो ग्रामर चेक गर्न एकजना केटी उठिन् । उनलाई मैले युवा अभियान अफिस, जहाँ स्मार्ट क्लब भइरहेको थियो, को भित्तामा झुण्ड्याइएका विभिन्न फोटोहरूमा देखेको रहेछु । उनी सुबुना रहिछन् । उनले म बोल्दै गर्दा भएका ग्रामर मिस्टेकहरूलाई टिपेर राखेकी रहिछन् । एकएक गर्दै ‘यो गल्ति भयो, यस्तो हुनुपर्छ’ भनेर सच्चाइदिइन् । र यो पनि भनिन् कि ‘मैले तिम्रो ग्रामर सच्याइरहँदा मेरो ग्रामर पनि मिस्टेक भइरहेको हुनसक्छ । हामी सबै सँगै सिक्नलाई यहाँ बसेका हौ।’

स्मार्ट क्लब त्यसपछि म नियमित गँए । युवा अभियानका अन्य कृयाकलापहरूमा पनि सहभागी भँए । सामाजिक अभियानमा जोडिने त्यो पहिलो खुँड्किलोले धेरै यात्राहरू हिँडायो । सुबुनासँग त्यस्ता धेरै अभियानहरूमा सँगै हिँड्ने अवसर मिल्यो । त्यसपछि युथ फर ब्लड सुरू भयो । त्यसमा उनी पनि सँगै थिइन् । हामीले धेरै कार्यक्रमहरू सँगै गर्यौ । सामाजिक कामहरूमा सँगै दौडियौ । त्यसबेलाकै एक प्रसंग संझिन्छु जसले सुबुनाको उचाइलाई बढाइदिने काम गर्यो । उनको जन्मदिन थियो ।

त्यसलाई कसरी मनाउने भन्ने सल्लाह गर्दा उनैले भनिन् ‘मेरो जन्मदिन अलिक विशेष तरिकाले मनाउन मन छ ।’ उनको योजना रहेछ कुनै ठाँउका बालबालिकाहरूकोमा गएर उनीहरूलाई कुनै उपहार पनि दिने र केहि घण्टा सँगै बिताउने । ब्याचलर पढ्दै गरेकी एक केटीको त्यो सोच तारिफयोग्य थियो । हामीले हुन्छ भन्यौ । युथ फर ब्लडको टोली सँगै हामी बिराटनगरको बखरी टोलमा गयौ । त्यहाँका लगभग ५० केटाकेटीहरूलाई दिन पुग्ने स्टेशनरी सामाग्रीहरू सँगै थियो । तिनलाई स्टेशनरी र खुशी सँगै बाँढ्यौ । सँगै खेल्यौ । सुबुना त्यसदिन सबैभन्दा खुशी देखिएकी थिइन् ।

सुबुना तालिम दिन्थिन् । सामाजिक नेतृत्व सँगै व्यक्तिगत विकाश कसरी गर्ने भन्ने बारेमा । दुई तिनपल्ट उनले दिने तालिममा सहयोगी भएर काम गरेको छु । तालिमको लागि सामाग्री तयार गर्दा वा कन्टेन्टनै तयार पार्दा पनि उनी धेरै सोचेर तयार पार्थिन् । म बाट सुझाब त लिन्थिन् तर ति सुझाबलाई केलाएर मात्र निर्णय गर्थिन् । धेरैवटा पक्षहरू केलाएर के भन्दा के प्रभाव पर्छ भन्ने सोच्थिन् । अन्य कृयाकलापहरू गराउँदा तालिमको विषयसँग कसरी तालमेल मिलाउने भनेर हाम्रो लामो छलफल हुन्थ्यो । उनले दिएको तालिम लिनेरहरूलाई अहिले पनि उनले खेलाएका खेल र गराएका कृयाकलापहरूको संझना ताजै छ । ‘अबको पाँचवर्षमा आफूलाई कहाँ देख्छौरु’ भनेर उनले त्यसबेला सोधेको प्रश्नले मलाई अहिले पनि झक्झक्याइरहन्छ । त्यो सोधेको पाँच वर्ष भइसकेछ । मैले के के गरेँ थाहा छैन तर उनीबाट सिकेको कन्टेन्ट म्यानेज्मेन्ट सम्बन्धि धेरै कुराहरू पछि मैले आफैले तालिम दिँदा पनि प्रयोग गरेँ ।

उनी आयोजना भएका विभिन्न कार्यक्रमहरूमा जहिल्यै अग्रपंतिमा हुन्थिन् । पुस्तक संकलन गर्नको लागि खेलिने देउसीमा उनले भट्याएको अहिले पनि संझिन्छु । साँस्कृतिक परम्परालाई मनाए सँगै सामाजिक उदेश्यले पुस्तक संकलन गर्नको लागि हरेकवर्ष देउसी खेलिन्थ्यो त्यसबेला हामी भरसक भट्याउनु नपरोस् भनेर ‘देउसुरे’ भन्ने लाइनमा बस्दा उनी पुस्तक संकलन किन गरेको भन्ने भाव झल्किने गरि भट्याउँथिन् । अहिले रियलाइज हुन्छ समाजमा भट्याउनेहरू थोरै किन हुन्छन् भनेर । भट्याउनु पनि एउटा समुहलाई नेतृत्व दिनु रहेछ । अरूले म गर्न सक्दिन होला भनेर पछि हट्ने काम ‘म गर्छु’ भन्दै अगाडी बढ्नु रहेछ ।

उनी त्यसबेला बिराटनगरको न्युरो हेल्थ कलेजमा लाइब्रेरियन भएर काम गर्थिन् । पढाइ, सामाजिक काम, र लाइब्रेरीको काम । लाइब्रेरिलाई कसरी व्यवस्थित गर्ने भनेर अध्ययन गरिरहेको पनि सुनाउँथिन् । जतिबेला म लगायत धेरै साथीहरू घरबाट पाएको पैसाको भरमा केवल पढ्नमा मात्र व्यस्त थियौ त्यतिबेलैबाट उनी कमाउँदै पढ्थिन् । सुनाउँथिन् ‘मैले एसएलसी दिएर घरबाट हिँडेपछि घरमा पैसा मागेको छैन।’ आर्थिक रूपमा आत्मनिर्भर हुने सँगै समय व्यवस्थापनको त्यो गहन जिम्मेबारी उनी त्यतिबेलैदेखि निभाउँदै रहिछन् जसको महत्व म अहिले बुझ्दैछु । र त्यो कुरामा उनी अहिले झनै पोख्त भएकी छन् । आफ्नो पढाइ, व्यवसाय र राजनीतिलाई सँगै लैजाने गरी ।

त्यसपछि उनी काठमाण्डौ आइन् । यहाँ एक्लै आएकी उनले ‘युथ फर ब्लड’लाई यता पनि स्थापित गराउन भुमिका खेलिन् । काठमाण्डौमा हुने निरन्जन सर, बिष्णु जी, रिवाज, राफेल दाई, रबीन जी लगायत धेरै साथीहरूको भुमिका बलियो थियो तर त्यसलाई मियो बनेर समाल्ने काम उनले गरिन् । फाउन्डिङ प्रेसिडेन्ड भएर उनले युथ फर ब्लड काठमाण्डौमा गरेको कामको अहिले पनि धेरैले प्रशंसा गर्छन् । सबैजना व्यस्त हुने चुनौति सहेर पनि काठमाण्डौमा त्यो स्तरले रगत व्यवस्थापन गर्नु कति चुनौतीपूर्ण रहेछ भन्ने कुरा पछि काठमाण्डौ आएपछि मैले बुझेँ ।

उनी गएको फिल्डमा म सँगै नगएको भनेको ‘राजनीति’ मात्रै हो । उनी बिवेकशीले नेपाली दलमा लागिन्, म साहित्य अध्ययनको लागि कीर्तिपूर पुगेँ । त्यसबिचमा लामो समय उनीसँग प्रत्यक्ष भेटघाट हुन पाएन तर उनले गरेका कामहरू फेसबुकमा देखिरहन्थेँ । भुकम्पको बेलामा गरेको काम सँगै भ्रष्ट्राचार बिरोधी अभियानमा डा। केसीको समर्थनमा भएका विभिन्न अन्य अभियानहरूमा उनी सक्रिय रूपमा सहभागी देखिन्थिन् । विभिन्न लेखमार्फत सामाजिक मुद्धाहरूमा बहस गरिरहेकी हुन्थिन् । इलामको घ्यू काठमाण्डौमा ल्याएर बेच्दैछिन् भन्ने कुरा पनि उनको फेसबुकलेनै भनिदिएको थियो ।

र भर्खरै उनी प्रतिनिधीशभा निर्वाचन अन्तर्गत काठमाण्डौ क्षेत्र नं ४ बाट उमेद्वार भएकी छन् । विवेकशीला साझा दलले उनको नेतृत्व क्षमतालाई विश्वास गरेर उठाएको छ । उनको उमेद्वारीको समाचार आएपछी मैले सामाजिक संजालहरूमा केही प्रतिकृयाहरू आएको देखेँ । जसमा ‘विवेकशीलले राम्री केटीलाई मात्र उठाउँदो रहेछ’ भनिएको थियो । उनी राम्री केटी हुन् त्यसमा कुनै दुइमत छैन तर मैले उनलाई सामाजिक अभियानमा लाग्दादेखि अहिले सम्म आँउदा गरेको संगतमा देखेको छु कि उनी राम्री केटी भन्दा कयौ धेरै कुशल नेतृत्व क्षमता भएकी युवती हुन् जसलाई यो देशको भविष्यको चिन्ता छ ।

मेरो अंग्रेजीको ग्रामर चेक गरिदिने ती सुबुना आज देशको राजनैतिक ग्रामर चेक गर्नको लागि मैदानमा छिन् । पुस्तकालय बनाउनको लागि खेलिएको देउसी भट्याउने सुबुना आज देशका नीति निर्माण गर्ने ठाँउमा जानको लागि चुनावी मैदानमा छिन् । मेरो आँखा अगाडीनै एक राजनैतिक नेताको रूपमा हुर्किएकी सुबुनालाई सफलताको मुरिमुरि शुभकामना । मेक अस प्राउड माइ फ्रेन्ड । एण्ड आइ ह्याव राइट टु बि जेलस दिस टाइम अगेन ।