बिचार / ब्लग

मोरङमा कांग्रेसका उम्मेदवार तथा मेडिकल माफिया सुनील शर्माको ‘रियालिटी’ यस्तो छ

आइतबार, ०३ मङि्सर २०७४ गते मा प्रकाशित

sunil sharma

– अर्जुन आचार्य

प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनले देश तातेको छ । चिया पसलदेखि चौतारामा पनि निर्वाचनको हल्लाखल्ला छ । मोरङ यसै पनि राजनीतिको केन्द्र । राणाशासन विरोधी प्रजातान्त्रिक आन्दोलनको उद्गम । त्यसमा पनि कोइराला परिवारको विरासत रहेको मोरङमा यस पटक बाम गठबन्धन र कांग्रेस गठबन्धनबीच घमासान प्रतिस्पर्धा हुँदैछ । त्यस मध्ये पनि निर्वाचन क्षेत्र नम्बर ३ को चर्चा बेग्लै छ । बामपन्थीको गढ मानिने ३ नम्बर क्षेत्रमा कांग्रेसका तर्फबाट उम्मेदवार बनेका मेडिकल कलेज संचालक सुनील शर्माले हमला गरेका छन् । शर्मालाई नेपालका मूलधारका केही पत्रपत्रिकाले ‘मेडिकल माफियाो’ को संज्ञा पनि दिएका थिए ।

शर्माको हमला ‘पिली’ हुने वा ‘खारा’ (तत्कालिन माओवादीले अन्तिम सयमयमा गरेको पीलि आक्रमण सफल भएको थियो भने खारा आक्रमणमा शर्मनाक हार भएको थियो) हुने आँकलन सुरु भएको छ । निर्वाचन जित्नका लागि शर्माले पैसाको नदी बगाएका छन् भन्ने चर्चा छ । गाउँ–गाउँमा रहेका, टोलटोलमा रहेका धार्मिक संस्था हुन् या सामाजिक संघसंस्था हुन् उनले नचखाएको ठाउँ भेटिँदैन भन्ने चर्चा छ ।

शर्माले आस्थाका आधारमा राजनीति गरिरहेका छैनन् गरेका छन् त केबल पैसा र पहुँचको आधारमा । राजनीतिक हिसावले शेखर कोइरालाको छत्र–छायाँमा टिकट पाएका शर्मा कोइराला जस्तै मुर्ख र हठी छन् । उनले निर्वाचनमा मत माग्ने नाममा अहिले नोबेल अस्पतालको विज्ञापन गराएका छन् । त्यस क्षेत्रका साना निजी अस्पताल, क्लिनिक तथा सरकारी स्वास्थ्य चौकीलाई सुकाइदिएका छन् । जनताको आँगनमा भएको पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेज चल्न नदिएर नोबेल अस्पतालको दीर्घकालिन व्यापार गर्दैछन् सुनील शर्मा ।
नोबेल अस्पतालका विद्यार्थीका लागि ३ नम्बर क्षेत्रलाई प्रयोगशाला बनाइँदैछ । अस्पतालमा बिरामी आउन छाडेपछि गाडीका गाडी शिविरको नाममा त्यस क्षेत्रका मानिस ओसार्नुको अर्को रहस्य के हुन्छ ? हो, जनतालाई प्रयोग गरिँदैछ, अहिले निःशुल्क पछि ब्रम्हलुट गर्ने शर्माको व्यापारिक योजना हो । जनताले यो विषय बुझ्न आवश्यक छ ।

मेडिकल माफियाको रुपमा पहिचान बनाएका शर्माका तिकडम साना छैनन् । आफ्नै साथीभाईलाई पाखा लगाएर ‘नोमिनल शेयर’बाट सतप्रतिशत शेयर बनाएका नोबेल अस्पताल उनको पोल्टामा कसरी गयो ? यसको सम्पूर्ण योजनाकार सुनिल शर्मा मात्रै छैनन्, पछाडि छन् शेखर कोइराला । अहिले ३ नम्बर क्षेत्रका कांग्रेसी जनको दिमागले सोच्नु पर्ने आवश्यकता छ । प्रतिष्ठा, इज्जत, इमान, त्याग र तपस्या गरेर बसेका कांग्रेसका नेताहरूले नैतिकता बिर्सीएका, माथिल्लो निकायलाई दबाब, प्रभाव र प्रलोभनमा पारेर आफ्नो स्वार्थ सिद्ध गर्ने सुनील शर्मालाई कसरी जिताउन सक्छन् ? ३ नम्बर क्षेत्रमा बामपन्थीहरुले सुनिल शर्मासँग होइन शेखर कोइरालासँग प्रतिस्पर्धा गरिरहेका छन् ।
शेखरले आफ्नो सम्पूर्ण पावर लगाएर शर्मालाई थेगिरेहेका छन् । हुन त भुइँको टिप्न खोज्दा गोजीको झरेजस्तै यस पटक सुनिललाई बोक्दा र जनतालाई भ्रममा पार्न खोज्दा शेखर कोइराला नराम्ररी पछारिने यहाँ चर्चा सुरु भएको छ । यहाँको निर्वाचनमा सुनिल शर्माले चुनाव जित्नु हुँदैन भन्ने होइन । तर, उनले हार्नुपर्छ भन्ने मेरो मत हो ।

किनकी यहाँका जनता तथा पार्टी कार्यकर्ताको मत प्रतिष्ठा र राजनीतिले जित्नुपर्छ भन्ने हो । यदि राजनीति र प्रतिष्ठाले हार्छ भने सुनिल शर्माजस्ता धनवादको चंगुलमा देश पर्छ । शर्माले चुनाव जितेको खण्डमा देशको कानून मान्दैनन्, राज्यका निकायले भनेको सुन्दैनन् र आफ्नो काबुमा राख्ने तिकडम गर्नेछन् । त्यसको ज्वलन्त उदाहरण उनले अहिले गर्दै आएका हर्कत हुन् । निर्वाचन आयोगले मत माग्ने भाँडोको रुपमा मोहरा बनाइएको नोबेल अस्पतालको शिविर रोक्न पटक पटक आग्रह गरेको छ । तर शर्माले यसलाई नजरअन्दाज गरेका छन् र प्रजातान्त्रिक प्रणाली, निर्वाचन आचारसंहिताका धज्जी उडाएका छन् ।

चुनाब लड्नकै लागि काँग्रेसमा प्रवेश गरेर मोटो रकम खर्च गरी महासमिति सदस्य हत्याउन सफल भएका शर्माले करोडौं रुपैयाँ खर्चेर भएपनि चुनाब जित्ने दावी कार्यकर्ताबीच गर्दै आएका छन् । आफ्ना लागि धुर्त बुद्धीमा माहिर मानिने नेपाली काँग्रेसका शर्मा अहिलेसम्म ठूलै हतकण्डा मच्चाउन सफल मानिएका छन् । उनको बाल्यकालदेखिको जीवनीको सारसंक्षेप अध्ययन गर्ने हो भने जसको बुई चढ्यो उसैलाई सिध्याउने खेलका सफल रचनाकार मानिन्छन्, शर्मा ।
माओवादी आन्दोलनको एउटा कालखण्डमा नेपाली काँग्रेस निकट मोरङ इटहराका कृष्ण बैठाको हत्यादेखि, शान्तिप्रक्रियापछि माओवादीमै संलग्न भएर डा. ज्ञानेन्द्र गिरीमाथिको मारपिट काण्ड, आफ्नै अस्पताल परिसरमा बम राखेर आफ्नै साझेदार डा.ज्ञानेन्द्र कार्की तर्साउनेसम्म योजनाका सफल योजनाकार हुन् उनी ।

अझै गहन कुरा त ‘नोमिनल शेयर’ बाट प्रवेश गरेको व्यक्तिले आफ्नै नाममा अस्पताल ल्याउन सक्ने तिकडम शर्माका हत्कण्ठाका उदाहरण हुन् । यसैले पनि काँग्रेसभित्रका इमान्दार कार्यकर्ताहरुले शर्माको प्रवेशले पार्टी झनै धरापमा परेको बताउने गरेका छन् ।

बाल्यकालमा रिक्सा चलाएर गुजारा चलाएको बताउने शर्मासँग दुई अर्बभन्दा बढी चलअचल सम्पत्ति रहेको अनुमान छ । नोबेल अस्पतालबाहेक शर्माको काठमाडौंमा पिपुल्स डेन्टल कलेज, मेडिकल इन्स्टिच्युट, घर र मोरङकै विराटनगर, बेलबारी र हसन्दहमा जग्गा छ ।

आन्तरिक राजश्व विभागको अनुसन्धानमा पर्दा ४ वर्षअघि शर्माले नोबेलमा एक अर्बको कारोबार रहेको स्वीकार गरेका थिए । तर, बैंक अफ काठमाडौंलगायत विभिन्न बैंकमार्फत नोबेलमा २ अर्ब बढी लगानी रहेको अनुसन्धानमा खुलेको थियो ।

बिनालगानी सम्बन्धन दिलाएवापतको ५ प्रतिशत शेयरमा नोबेल प्रवेश गरेका शर्मासँग यतिधेरै सम्पत्ती कसरी जम्मा भएको रहस्यमय छ । उनको सम्पत्तीको बारेमा विभिन्न निकायले अनुसन्धान गरेपनि पहुँचको आधारमा बच्दै आएका छन् ।

लेटाङमा माध्यमिक तह पढ्दा राजेन्द्र नाम गरेका उनी त्यहाँ एसएलसी फेल गरेपछि कालीकोट गएका थिए । उताबाट फेरि ९ कक्षादेखि अध्ययन गरेर एसएलसी प्रथम श्रेणीमा पास भएर फर्किँदा उनी सुनिल भइसकेका थिए ।

२०५९ सालमा स्थापना गर्दा डा. ज्ञानेन्द्र गिरी अध्यक्ष रहेको नोबेल मेडिकल कलेजमा २८ करोड लगानी थियो । नोबेललाई सम्बन्धन दिलाउने सर्तमा सुनिल छिरेका थिए । नभन्दै डा. कोइरालामार्फत २०६४ सालमा उनले सम्बन्धन पनि दिलाए । तर, सम्बन्धन दिलाएको केही समयमै शर्माले गिरीसहित नवराज पाण्डे, आदित्य खनाल, उमेश पाण्डेलगायतलाई अपहरण गराई नोबेल हत्याएका थिए ।

शर्माले नोबेलमा डा.गिरीसहितको समूह अलग भएपछि डा. ज्ञानेन्द्र कार्कीलाई साझेदारको रुपमा भित्र्याएका थिए । उनी पनि वर्ष दिन नवित्दै नोबेलबाट बाहिरिए ।
त्यसपछि आफ्नै सहोदर दाजु केपी शर्मालाई नोबेलको अध्यक्ष बनाएका उनले दाजुलाई पनि टिक्क दिएनन् । यसरी हेर्दा शर्माको प्रवृत्ती खोलो त¥यो लौरो बिस्र्यो भन्ने उखानसँग मिल्ने देखिन्छ । चुनावमा हरेक आश्वासन बाँडेर जित्ने र जितेपछि राज्यका संयन्त्र प्रयोग गरी जनताको सेवा होइन माफियाकरणलाई मलजल गर्ने उनको उद्देश्य प्रष्ट देख्न सकिन्छ । चेतना भया ।