अन्तरवार्ता

भिडियो

कोही छ मलाई भ्रष्टाचारको नाममा उपहार दिएको वा पैसा दिएको भन्न सक्ने ? : कृष्णहरि बाँस्कोटा (भिडियोसहित)

शुक्रबार, ०१ मङि्सर २०७४ गते मा प्रकाशित

krishna-hari-baskota-nepalaaja-new

कृष्णहरि बाँस्कोटा अर्थात् सूचना आयोगको अध्यक्ष । लामो समय सरकारी सेवामा काम गरेका बाँस्कोटालाई यसकारण पनि भाग्यमानी मानिन्छन् कि उनले अवकाशपछि पनि घरमा बस्नु परेन । सरकारी सेवाको दौरानमा अर्थसचिवको समेत जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेका उनलाई सरकारले उनको कामको उचित कदर गर्दै सूचना आयोगको अध्यक्ष बनाएको हो । सरकारी सेवामा प्रवेश गरेदेखि हालसम्म पनि आर्थिक मामिलाको हिसावमा कुनै दाग नलागेका र भ्रष्टाचारी र खुसखोरी, ठग कर्मचारीलाई कुनै ठाउँ दिनुहुन्न भन्ने मान्यता बोकेका बाँस्कोटाले धेरै सुधारका काम गरेका छन् ।

वाणिज्य विभागको महानिर्देशक हुँदा के कस्ता काम गर्नुभयो ?

म वाणिज्य विभागको महानिर्देशक हुँदा गतिशील नागरिक प्रमाणपत्र निर्माण गरेँ । वार्षिक क्यालेण्डर ल्याएँ, प्रत्येक महिनामा सर्वोत्कृष्ट कर्मचारी भनेर छनौट गर्ने पद्धति ल्याएँ । बैठक व्यवस्थापनसम्बन्धी काम गरेँ । टोकन प्रणालीको सुरुवात गरेँ । मैले सम्झेअनुसार, करिब ३५ वटा सुधारका काम गरेँ ।

तपाईंले ल्याउनु भएको दुईघण्टे सेवा सेवाग्राहीको पेवा भन्ने नीति के हो ?

वाणिज्य विभागका कर्मचारीहरुसँग बसेर छलफल गर्दा मैले के थाहा पाएँ भने वाणिज्य विभागका अधिकाँश सेवा करिब दुई घण्टामा दिन सकिने रहेछ । त्यसकारण हाामीले यो स्लोगन नै बनायौं । कर्मचारीले पनि सकिन्छ भने । पछि काम लागू नै भयो । कति त यस्तो सुधार गर्ने मान्छेको अनुहार हेरौं, नमस्कार गरौं भनेर पनि आए । नेतृत्वले सुधारलाई अघि बढाए कर्मचारी आफैं सुधारका कुरा सोच्दा रहेछन् भन्ने कुराको पनि अनुभव संगाले ।

भन्सार विभागजस्तो मालजन्य ठाउँमा काम गर्दा कत्तिको माल कमाउनुभयो ?

भन्सार विभाग अहिले पनि मालदार ठाउँ भनेर चिन्ने गरिन्छ । त्यहाँ महानिर्देशक भएर जाँदा माल त पाइएन । तर, आफ्नो क्षमता भने देखाउन सकियो । भन्सार विभागको महानिर्देशक हुन पाउँदा मलाई घमण्ड छ किनभने नेपालमा कुनै यस्तो व्यवसायी, उद्योगपति या कर्मचारी जन्मिएको थिएन जसले कृष्णहरि बास्कोटालाई भ्रष्टाचारको अफर गर्न सकोस् । म सुरुमै यति कडा शैलीमा कर्मचारी समक्ष प्रस्तुत भएँ की कुनै पनि कर्मचारीले मलाई भ्रष्टाचारको कुरा गर्न सकेनन् । कर्मचारीलाई भ्रष्टाचारीको टुप्पी समाउनुस् या जे मिल्यो त्यही समात्नुस् भनेको थिएँ । जसले गर्दा म भन्सार विभागमा गएको पहिलो वर्ष नै अघिल्लो वर्ष भन्दा सात अर्ब बढी राजश्व उठ्यो । भन्सारको पनि तीन वर्षको अवधी योजना मेरै पालामा सुचारु गरें । वाणिज्य विभागको दुई घण्टे सेवा भन्सार विभागमा पनि सुचारु गरेँ । भन्सारको सामान राख्ने ठाउँको व्यवस्थापन गर्नमा सहयोग गरें ।

भ्रष्टाचारीको टुप्पी समात्ने भनेर भन्नुभयो । तपाईं आफूले भ्रष्टाचार गरेकै छैन भन्ने कुरामा सहमत हुनुहुन्छ ?

म यो कुरामा ढुक्क छु की, नेपालका तीन करोड जिउँदो मानिसले कृष्णहरि बाँस्कोटालाई अहिलेसम्म भ्रष्टाचारको नाममा उपहार दिएको या पैसा दिएको भन्न सक्ने मानिस छैन । जागिरे जीवनको गौरवको विषय राखेँ भने, त्यो इमान्दारिता, सदाचारिता र भ्रष्टाचारविहीनतामै सेवा प्रवाह गरियो । जसकारण पनि अवकाश भएपछि पनि नेपाल सरकारले मलाई दुईवटा पद दिलायो ।

त्यसो भए सदाचारी कर्मचारीले पनि नेपालमा घर घडेरी जोड्न सक्छ ?

कुनै बेला मैले सातामा चारवटासम्म अखबारमा लेख छपाउँथे । तलब भन्दा बढी लेखबाट नै मेलै कमाउँछु भन्ने सोच्थेँ । हालसम्म मैले २५ वटा किताब छपाइसकेको छु । यस्ता उदाहरण धेरै छन् । इमान्दारितापूर्वक मेहनत गर्ने हो भने कुनै पनि नेपालीलार्ई काठमाडौंमा चार कोठाको घर घडेरी जोड्न कुनै ठूलो कुरा हो भन्ने जस्तो लाग्दैन । क्षमताशील मान्छेलाई यो सामान्य कुरा हो ।

तपाईंलाई त ढक तराजु सचिव पनि भन्थे नि ?

त्यो बेलामा उपभोक्ता संरक्षण ऐन २०४४ जारी भयो । वाणिज्य विभागमा २०४८ सालमा लाइसेन्स जारी गर्ने प्रचलन हटेपछि वाणिज्य विभागमा सहसचिव महानिर्देशक भएर पनि गएका रहेछन् । पहिलोपटक म महानिर्देशक सचिव भएर गएपछि नेपाल सरकारसँग अनुगमन गर्ने अनुमति पाउँ भनेर स्वीकृति मागें । मैले बजार अनुगमनलाई तीव्रता दिँदै गएँ । एकदिन शनिबारको दिन मासु पसलेहरुको ढक तराजु अनुगमन गर्न जाँदा एक सय तीनवटा पसलेको ढक तराजु खोसियो । कसैले एक केजीको ढकको पछाडि ड्रिल मेसिनले ड्रिल गरेर फलाम जति निकालेर त्यहाँ हलुका लाहा हालेका रहेछन् । कसैले सटर खोल्न र बन्द गर्दा पनि ढकले हान्ने ढकको त चोइटै हुन्थेन । कतिले एक किलो दिन पर्ने ठाउँमा ९५० ग्राम मात्र दिने रहेछन् । यो सबै पत्ता लगाएर मैले एकै दिनमा आधा मिनी ट्रक ढक तराजु संकलन गरेको थिएँ ।

विभिन्न मन्त्री प्रधानमन्त्रीसँग काम गर्नुभयो, तपाईंलाई लागेका उम्दा मन्त्री, प्रधानमन्त्री को हुन् ?

राजनीतिक रुपमा कहिल्यै एक्स्पोज्ड भइएन । सबैलाई मैले काम सघाएँ । डा. रामशरण महत परिपक्व र उम्दा मन्त्री लाग्छ । त्यसपछि बाबुराम भट्टराई अर्थमन्त्रीको रुपमा पूर्ण रुपमा सफल हनुभयो जस्तो लाग्छ । उनको पालामा राजस्व साढे ३३ प्रतिशतले बढेको थियो । सुरेन्द्र पाण्डेलाई पनि धैर्यता भएका र सबैलाई मिलाएर लैजान सक्ने र आफ्नै पक्षका मानिसलाई पनि गलत काम गरको खण्डमा गलत गर्नुभयो भनेर भन्न सक्ने युवा नेताको रुपमा लिन्छु । पछि वर्षमान पुनसँग पनि डेढ वर्ष काम गरेँ । उहाँ पनि सुरेन्द्र पाण्डेजस्तै काबिल, सिर्जनशील नेताको रुपमा पाएँ । तीनै दलका नेतासँग नजिकमा बसेर काम गर्दा सबैलाई एकसेएक पाएँ ।

(उनीसँग गरिएको कुराकानीको पूर्ण अंश तलको लिंकमा हेर्न सकिन्छ ।)