कुरा: खस्रा मिठा

भिडियो

यी दलहरुले सिन्को नभाँचे पनि पाँच वर्षमा पाँच हजार मे.वा. बिजुली उत्पादन हुन्छ (भिडियोसहित)

बुधबार, २९ कार्तिक २०७४ गते प्रकाशित
- नेपाल आज (DR)

यी दलहरुले सिन्को नभाँचे पनि पाँच वर्षमा पाँच हजार मे.वा. बिजुली उत्पादन हुन्छ (भिडियोसहित)

राजनीतिक विश्लेषक तथा नेपालको जलसरोकारका विज्ञ अरुणकुमार सुवेदीको नियमित भिडियो स्तम्भ ‘कुरा खस्रा मीठा’ मा यसपटक चुनावमा राजनीतिक दलहरुले जारी गरेका घोषणापत्रको चिरफार गर्ने प्रयत्न गरिएको छ । दलहरुले पाँच वर्षमा पाँच हजार र १० वर्षमा १५ हजार मेगावाट बिजुली उत्पादन सम्भव रहेको दाबी सुवेदीको छ । उहाँका अनुसार पूर्व–पश्चिम उच्च गतिको विद्युतीय रेल भने हावादारी हो । एमाले–माओवादीको घोषणापत्रमा रहेको पूर्वपश्चिम रेलको कुरा ती पार्टीमा भएका योजनाबिद्, विज्ञहरुले नराखिदिएको भए ठिक हुने सुवेदीले बताउनु भएको छ । उहाँले आफ्नो स्तम्भमा राख्नु भएको धारणाको मूल अंश निम्नानुसार छः

 ‘हालै राजनीतिक दलहरुले आ आफ्ना घोषणा पत्र जारी गरेका छन् । घोषणापत्रमा उल्लेख भएका मध्ये केही विषयहरु उनीहरुले विगतदेखि सम्बोधन पनि गर्दै आएका छन् । घोषणापत्रमा लेखेका प्रतिबद्धता दलहरुले पूरा गर्दैनन् भन्ने पनि होइन । २०४६ सालयताको विकासका तथ्यांक हेर्दा पनि विकास भएको पनि देखिन्छ । यद्यपि गर्नुपर्ने कामहरु धेरै छन् ।

यसपटक मूलत कांग्रेस र वाम गठबन्धन (एमाले र माओवादी)को घोषणापत्र चाहिँ बाजाको दोहोरी जस्तो भयो । कांग्रेसले सात दिन अघि घोषणापत्र सार्वजनिक गर्यो । सात दिन पछि एमाले–माओवादीको आयो । कांग्रेसले गरेका प्रतिबद्धताभन्दा एकहात माथि उफ्रेर एमाले–माओवादीले प्रतिबद्धता जनाएको जस्तो पनि देखिन्छ । कांग्रेसले पाँच हजार भन्दा अर्कोले १५ हजार भन्ने, कांग्रेसले ५०० किलोमिटर भन्यो भने अर्कोले १००० किलोमिटर भन्ने जसरी आएको देखेर हास पनि उठेकोछ । प्राविधिक अध्ययनबाट सम्भव हुने कुरा मात्रै लेखिएका छ्रैनन्, प्रतिस्पर्धाका लागि हावादारी आश्वासन पनि छन् घोषणापत्रहरुमा ।

नेपाली कांग्रेसले ५ वर्षमा ५ हजार मेगावाट बिजुली निकाल्ने बताएको छ । उसले सिन्को नभाँचे पनि अहिलेकै अवस्था जसरी नै मुलुक अगाडि बढ्ने हो भने पाँच वर्षमा पाँच हजार मेगावाट बिजुली आफै उत्पादन हुन्छ । कांग्रेसले केही गर्नैै पर्दैन । अपर कर्णाली र अरुण तेस्रो बनाउनै पर्छ (१८००मेवा), माथिल्लो तामाकोसी (४५६) एकवर्षमा उत्पादन नै सुरु हुन्छ । बुढीगन्डीक १२ सय, चमेलीया, कोरियनको २०० मेवा पनि छ, अरु साना योजनाहरु पनि छन् । यसरी हेर्दा सिन्को नभाँचे पनि पाँच हजार मेगावाट पुग्छ । कांग्रेसले घोषणापत्रमा नलेखेको भए पनि पाँच हजार मेगावाट बिजुली निस्किन्छ । वामगठबन्धनले १५ हजार मेगावाट १० वर्षमा भनेर जे भनेको छ, त्यो पनि सम्भव छ । कर्णाली चिसापानी १० हजार मेगावाटको छ । त्यो एउटैको काम अगाडि बढायो भने १५ हजार त पुगिहाल्छ । तर गर्नु पर्यो । विदेशीसँग सहकार्य नगरी यति ठूला काम हुन सक्दैनन् । विदेशीसँग सहकार्य गर्दा ‘राष्ट्रघात’ भइ नै हाल्छ, गर्ने के ?

विदेश नीति

नेपाल जस्तो भूरणनीतिक अवस्थिति भएको मूलुककालागि विदेशी नीति अत्यन्यत महत्वपूर्ण विषय हो । अबको निर्वाचन पछि शैद्धान्तिक हिसाबले बन्ने भनेको कि नेकपा एमालेको कि नेपाली कांग्रेसकै सरकार हो ।

यसपटकको एमालेको विदेश नीतिसँग म असहमत छु । नेपालको जुन अहिलेसम्मको विदेश नीति छ, नेपालले जुन कारणले अहिलेसम्म पीडा खप्नु परेको छ, त्यही विषयलाई एमाले–माओवादीले विदेशी नीतिमा पनि दोहोर्याएका छन् । उसको समदूरीको शिद्धान्तलाई अगाडि बढाएको छ । यसको अर्थ यो हो कि एमाले–माओवादीका लागि उत्तर कोरिया र चीन पनि बराबर हुन्, भारत र पाकिस्तान पनि बराबर हुन्, अमेरिका र जिबुटी पनि बराबर हुन् । यी सबै मुलुक सार्बभौमसत्ता सम्पन्न मुलुक हुन् यसकारण सबैसँग बराबरको सम्बन्ध भनिएको छ ।

समदूरीको सम्बन्ध व्यवहारमा सम्भव नै छैन । यो अव्यवहारिक, असान्दर्भिक र हाम्रा लागि हानिकारक पनि छ यो विदेश नीति । तर नेपाली कांग्रेसले दुई वटा छिमेकीलाई पहिलो प्राथमिकता दिएर मात्रै बाँकी मुलुकको विदेशनीति तय गर्नुपर्छ भनेको छ । यो ठिक छ ।  विदेश नीतिको मूल कुरा हो– आफूलाई जे गर्दा फाइदा हुन्छ, त्यही नीति लिने हो । अरु केही होइन ।

जलस्रोत

जलस्रोतका विषयमा नेपाली कांग्रेसले लेखेको घोषणापत्रका कुराहरु मैले पढेँ । पढेपछि मलाई के लाग्यो भने, ‘कम्प्लेक’ (मानसिक रोग) का कारण अर्धविक्षिप्त भएको मानिसले लेखेको योजना जस्तो लाग्यो । आफैले गरेका कामहरुको समेत कांग्रेसले रक्षा गर्न सकेको छैन । जलस्रोतको समुचित उपयोग गर्ने बारे केही बोलेको छैन । अस्ति शेरबहादुरजी भारत जाँदा कोशी उच्चबाँध बारे कुरा उठाउनु भयो । तर त्यो उठाएको कुरा घोषणापत्रमा उल्लेख नै छैन । कोशी उच्चबाँध बारे नेपालमा विरोध भयो । तर उहाँले त्यस्तो आलोचना होला भनेर घोषणापत्रमा राख्नु भएन । तर वामगठबन्धनले उच्च बाँध बनाएर नेपालसम्म पानीजहाज चलाउने कुरा लेखेको छ ।

वामगठबन्धनले पाँच वर्षमा पूर्वपश्चिममा उच्च गतिको रेल चलाउने जुन कुरा गरेको छ त्यो हावा कुरा हो, सम्भव छैन । आर्थिक हिसाब र व्यवसायिक हिसाबले पनि सम्भावनायुक्त छैन । नेपालको जनसंख्या ३ करोड छ, ३० लाख पर्यटक आएर सबै रेलमा घुमेको घुमेकै गर्दा पनि लागत उठ्दैन । यस्तो योजना के काम ? त्यसमाथि पूर्वपश्चिममा रेल पनि चलाउने, अनि २ लेनको पूर्वपश्चिम राजमार्गलाई बढाएर छ लेन बनाउने, हुलाकी राजमार्ग पनि ४ लेनको बनाउने उल्लेख छ । रेल चलेपछि मान्छे र सामान सबै रेलमा अटाइ हाल्छन्, बाँकी ८ लेनको सडकमा के चलाउने ? यसकारण रेलको कुरा हावा हो भन्ने लाग्छ । पाँच वर्षमा नर्मल स्पिडको रेल काठमाडौंबाट वीरगञ्ज पुर्याउन सकियो भने ठूलो उपलब्धी हुनेछ ।

स्वास्थ्य र शिक्षामा अपराध

जनकपुर चुरोट कारखाना बन्द भयो, बाँसबारी छालाजुत्ता कारखाना बन्द भयो, यो बेचियो, त्यो बेचियो भनेर अहिले एकथरी मानिसहरु हल्ला गर्छन् । राज्यले बिँडी र बोका बेच्न छाडेको कुरा जोडजोडले हल्ला गर्छन्, तर स्वास्थ्य र शिक्षामा गरेको मानवीय महाअपराधलाई कसैले उक्काउँदैनन् । नेपालको स्वास्थ्य र शिक्षामा जति ठूलो अपराध यो देशका नेता, नीति निर्माताहरुले गरेकै छैनन् । तपाईँसँ पैशा छ, उपचार गर्नूस बाँच्नूस । पैशा छैन, घरमा गएर ओछ्यानमै मर्नूस भन्ने नीति हो नेपालको । यो विषय चानचून लाग्छ तपाइँलाई ?

तपाईसँग पैशा छ, छोराछोरीलाई राम्रो स्कुलमा पढाउनूस्, दक्ष बनाउनूस्, राम्रो जागिर खुवाउनूस् । तर पैशा छैन भने सरकारी स्कुलमा पढाएर सधै मजदूर बनाउनू भन्ने राज्यको नीति नै छ त । यो घोषित नीति हो । तमाम जनताका छोराछोरी पढ्ने स्कुलको गुणस्तर छैन, अर्कोतिर व्यापारीहरुले शिक्षा बेचिरहेका छन् । यसबाट दुई थरी नागरिक,जनशक्ति उत्पादन भइरहेका छन् । अब भन्नूस् बिँडी उद्योग बेच्नु ठूलो अपराध कि स्वास्थ्य शिक्षामा भइरहेको यो बेथिती सबैभन्दा ठूलो अपराध ?

यस्तो अपराध लुकाउन अहिलेका राजनीतिक दलले सरकारी उद्योगका कुरा, रेलका कुरा ल्याएर जनता अल्मल्याएका हुन् ।’