बिचार / ब्लग

कुन पार्टी चाहिँदैन : कम्युनिष्ट वा पूँजीवादी

सोमबार, २७ कार्तिक २०७४ गते मा प्रकाशित

Ramesh_Sunwar

–रमेश सुनुवार

वरिष्ठ माक्र्सवादी विद्वान तथा समाजशास्त्रीको उपाधिप्राप्त लेखक प्रा.डा. चैतन्य मिश्रको माक्र्सवादसम्बन्धी धारणा विभिन्न संचारमाध्यमहरुबाट जान्ने सुअवसर मिलेको छ । उनको त्यो धारणा पाठकहरुको बीचमा आएपछि त्यसले प्रायः सबैलाई आफ्नो विचार प्रकट गर्न उत्प्रेरित गरेको छ । मिश्रप्रति नेपाली बौद्धिक जगतमा जुन दृष्टिकोण बनेको छ, उनको धारणा त्यसको ठीक विपरीत देखिएको छ । यसबाट माक्र्सवाद त विकृत भएकै छ, सँगसँगै उनको गरिमा पनि धरापमा परेको छ ।

नेपाली कम्युनिष्ट आन्दोलनको सम्बन्धमा लेखकको विश्लेषण अत्यन्त सतही छ । उनले नेपालमा कम्युनिष्ट पार्टीको स्थापना र कम्युनिष्ट आन्दोलनलाई अन्तर्राष्ट्रिय प्रभावमात्र भनेका छन् । यो सही होइन किनभने नेपाली समाज अर्धसामन्ती तथा अर्धउपनिवेशी छ र यस्तो समाजमा क्रान्तिको कार्यक्रम नयाँ जनवाद हुन्छ भन्ने दृष्टिकोणको आधारमा यहाँ आन्दोलन शुरु भएको छ । २००६ सालमा नेपाल कम्युनिष्ट पार्टी स्थापना भएदेखि आजसम्म लगभग सबै कम्युष्टि पार्टीहरु यो दृष्टिकोणमा सहमत छन् । यद्यपि यो दृष्टिकोण चीनबाट आएको थियो । ‘वर्तमान युग पूँजीवादको युग हो । नेपालमा पनि पूँजीवाद आइसकेको छ र यसको विकास गर्नु अहिलेको आवश्यकता हो । पूँजीवादको विकास गर्नको लागि पूँजीवादी पार्टी चाहिन्छ । त्यसकारण अब नेपालमा कम्युनिष्ट पार्टी चाहिँदैन’ भन्ने लेखकको निष्कर्ष छ । यो अभूतपूर्व, युगान्तरकारी निष्कर्षको लागि लेखकलाई नेपाली कांग्रेसले नागरिक अभिनन्दन गर्नुपर्ने हो ।

२००४ सालदेखि निरन्तर रुपमा पूँजीवादी पार्टी नेपाली कांग्रेस अस्तित्वमा छ । तर यसले नेपाली समाजको रुपान्तरणमा कुनै ठोस भूमिका निर्वाह गरेको छैन । यदि नेपालमा पूँजीवाद आइसकेको मान्ने हो भने, यहाँ कांग्रेसले प्रमुख भूमिका निर्वाह गर्नुपर्ने हो । यदि पूँजीवादी पार्टीद्वारा नै नेपाली समाजको रुपान्तरण सम्भव हुन्थ्यो भने नेपाली कांग्रेसद्वारा किन भएन त ? के नेपाली कांग्रेस पूँजीवादी पार्टी होइन ? कम्युनिष्ट पार्टीको आवश्यकता तब पर्दछ, जब या त पूँजीवाद चरम उत्कर्षमा पुगेर संकटमा पर्न थाल्दछ, जस्तो कि उन्नाइसौं शताव्दीको उत्तरार्धमा यूरोपमा भएको थियो । या पूँजीवाद नआउने अवस्था सृजना हुन्छ, जस्तो कि बीसौं शताव्दीमा चीनलगायत अविकसित देशहरुमा भएको थियो । नेपाल दोस्रो प्रकारको देशमा पर्दछ भन्ने निष्कर्षको आधारमा यहाँ कम्युष्टि आन्दोलन चलेको हो । तर कम्युनिष्टहरुले भनेअनुसार यहाँ नयाँ जनवाद आएन । त्यसको कारण कम्युष्टिहरुको निष्कर्ष गलत भएर होइन, विश्वपरिवेश बदलिएर हो । जसरी १०० डिग्री सेन्टिग्रेडमा पानी उम्लिन्छ भन्ने तथ्य सत्य हुँदाहुँदै पनि यदि वायुमण्डलको चाप बदलियो भने त्यो तथ्य सत्य हुँदैन ।

त्यसैगरी कुनै एउटा परिवेशमा निकालिएको निष्कर्ष अर्को परिवेशमा सत्य हुँदैन । नेपालजस्तो देशमा नयाँ जनवादी क्रान्ति हुन्छ भन्ने निष्कर्ष एकाधिकारी पूँजीवादको चरणमा निकालिएको थियो । अहिले पूँजीवाद एकीकरणको चरणमा प्रवेश गरेको छ । यो नयाँ परिवेशमा पूँजीवादको विरुद्ध संघर्ष गर्न र यसलाई परास्त गरेर समाजवाद स्थापित गर्नको लागि पनि कम्युनिष्ट पार्टीकै आवश्यकता पर्दछ । विगतमा हरेक परिवर्तित परिवेशमा पूँजीवादको विरुद्ध संघर्ष गर्ने काम कम्युुनिष्ट पार्टीले गरेको थियो । अहिले पनि नयाँ चरणको पूँजीवादको विरुद्ध संघर्ष गर्ने कार्यभार कम्युनिष्ट पार्टीले नै निर्वाह गर्दछ । किनभने पूँजीवादले जतिसुकै रुप बदले पनि त्यो पूँजीवाद नै रहन्छ । नेपालमा त अझ पूँजीवादका लक्ष्यहरुलाई पनि कम्युनिष्ट पार्टीहरुले नै पूरा गर्नुपरेको छ । गणतन्त्र, संविधानसभाको निर्वाचन, संघीयता, धर्मनिरपेक्षताजस्ता विषयहरु पूँजीवादका लक्ष्यहरु हुन् । पूँजीवादी पार्टीको रुपमा स्थापित नेपाली कांग्रेसले उल्टै यिनीहरुको विरोध ग¥यो । माओवादी पार्टीको जोडबलले मात्र यिनीहरु पूरा हुन सकेका छन् । अब भन्नुहोस्, नेपालमा कुन पार्टी चाहिन्छ ? काग्रेस वा कम्युनिष्ट ?

आश्चर्यको कुरा त के छ भने लेखकले भएको माक्र्सवादलाई ‘नभएको’ बनाइदिएका छन् । उनले ‘नभएको माक्र्सवाद’ मा दुईवटा कुराहरु उल्लेख गरेका छन्– एकल पार्टी र सामूहीकरण । के यिनीहरु माक्र्सवादमा नभएका कुरा नै हुन् त ? सर्वप्रथम, एकल पार्टीको सम्बन्धमा विचार गरौं ।

माक्र्सवादमा एकल पार्टीप्रणालीको अवधारणापछाडि सैद्धान्तिक आधार छ । पूँजीवादी समाजमा वर्ग–संघर्ष हुन्छ । त्यस क्रममा वर्गहरुको ध्रुवीकरण हुँदै जान्छ । कुनै नष्ट हुन्छन्, कुनै एक अर्कोमा विलीन हुन्छन् । कुनै वर्गहरुको बीचमा एकता हुन्छ । परिणामस्वरुप सिंगो समाज दुई ठूला विपरीत वर्गहरुमा विभाजित हुन्छ– पूँजीपति वर्ग र सर्वहारा वर्ग । माक्र्स र एंगेल्सले कम्युनिष्ट घोषणापत्रमा भनेका छन्– ‘‘अन्य युगहरुको तुलनामा पूँजीवादी युगको विशेषता के हो भने यसले वर्ग–विरोधहरुलाई सरल बनाइदिएको छ । आज सम्पूर्ण समाज दुई विशाल शत्रु खेमाहरुमा, एक–अर्कोको विरुद्ध उभिएका दुई विशाल वर्गहरुमा विभाजित भएको छ ।’’

यी दुई वर्गहरुबीचको निर्णायक संघर्षको परिणामस्वरुप समाजवादी क्रान्ति हुन्छ र सर्वहारा वर्गको सत्ता स्थापित हुन्छ । सर्वहारा वर्ग स्वयं पनि अन्तिम वर्ग हो, जसले अन्य वर्गलाई उन्मूलन गरेर आफूलाई पनि उन्मूलन गर्दछ । त्यसपछि वर्गविहीन समाज वा साम्यवाद आउँदछ । यसरी एउटा सर्वहारा वर्गको प्रतिनिधित्व गर्ने पार्टी पनि एउटै हुन्छ । ‘‘विश्वका मजदुरहरु एक होऊ !’’ भन्ने नारा सर्वप्रथम माक्र्सवादले ल्याएको थियो । यो नारा पनि एकल पार्टीको अवधारणाअन्तर्गत आएको थियो । यसको अर्थ सर्वहारा वर्गको शक्ति एकतामा छ, विभाजन र प्रतिस्पर्धामा होइन । एकताबद्ध भएर मात्र सर्वहारा वर्गले युद्ध जित्न सक्दछ ।

सैद्धान्तिक रुपमा मात्र होइन, व्यावहारिक रुपमा पनि माक्र्सवादका संस्थापकहरु माक्र्स र एंगेल्सले एकल पार्टी प्रणालीकै अभ्यास गरेका थिए । सन् १८४७ मा कम्युनिष्ट लिगबाट आरम्भ भएको उनीहरुको यात्रा १८६४ को प्रथम कम्युनिष्ट अन्तर्राष्ट्रियसम्म चलेको थियोे । ती दुवै पार्टी विश्व सर्वहारा वर्गका प्रतिनिधि थिए । के यो नभएको माक्र्सवाद हो त ? अब सामूहीकरणबारे चर्चा गरौं । पूँजीवाद र समाजवाद


बीचको आधारभूत भिन्नता नै सम्पत्तिको स्वामित्वको स्वरुपमा हो । पूँजीवादमा निजी स्वामित्व हुन्छ भने समाजवादमा सामूहिक स्वामित्व हुन्छ । माक्र्सवादले ऐतिहासिक तथ्यको आधारमा के सिद्ध गरेको छ भने यो सामूहिक स्वामित्व पूँजीवादको अनिवार्य परिणाम हो । पूँजीवाद विकसित हुँदै जाँदा उत्पादन सामूहिक हुँदै जान्छ र उत्पादनका साधनहरु पनि सामूहिक रुपमा मात्र प्रयोग गर्नसकिने गरी विकसित हुन्छन् । तर स्वामित्व निजी नै रहन्छ । अझ सम्पत्ति निरन्तर थोरै मानिसहरुको हातमा केन्द्रित हुँदै जान्छ । यसरी सामूहिक उत्पादन र निजी स्वामित्वको बीचमा अन्तर्विरोध हुनजान्छ । यसको समाधान समाजवादी क्रान्तिद्वारा
हुन्छ, जसले निजी स्वामित्वलाई अन्त्य गरेर सामूहिक स्वामित्व स्थापित गर्दछ ।

यसबारे कम्युनिष्ट घोषणापत्रको एउटा उदाहरण हेरौं– ‘‘संक्षेपमा कम्युनिष्टहरुको सिद्धान्तलाई यसो भन्न सकिन्छ : निजी सम्पत्तिको उन्मूलन ।’’ अब यो पनि नभएको माक्र्सवाद नै हो कि ? लेनिनले माक्र्सवाद बुझेनन् भन्ने तर्क छ, लेखकको । उनले पूँजीवाद ओरालो लग्यो भन्ने निष्कर्ष लेनिन र माओको हो भन्ने
दावी गरेका छन् । तर माक्र्सवादको सामान्य जानकारी राख्ने जोसुकैलाई के थाहा छ भने पूँजीवाद ओरालो लागेपछि नै माक्र्सवाद आएको हो । त्यसको ज्वलन्त उदाहरण सन् १८४८ मा प्रकाशित कम्युनिष्ट घोषणापत्र हो, जसमा अब पूँजीवाद अगाडि जानसक्दैन भन्ने निष्कर्ष निकालिएको छ ।

कम्युनिष्ट घोषणापत्रमा निकालिएको निष्कर्ष मात्र होइन, पूँजीवाद यथार्थमै संकटमा परेको थियो । त्यसवेला औद्योगिक क्षेत्रहरुमा ठूला–ठूला मजदुर विद्रोहहरु हुन्थे । पूँजीवाद दश–दश वर्षमा आवधिक संकटको चपेटामा पर्दथ्यो । त्यस्ता संकटहरुमा पूँजीवाद क्षत–विक्षत हुन्थ्यो, उद्योगहरु टाट पल्टिन्थे र अनेकौं
उद्योगहरु ध्वस्त भएर एक–दुई उद्योगहरु मात्र बाँकी रहन्थे । यस्तो परिदृश्यलाई हेरेर कम्युनिष्टहरुले अब पूँजीवादको अन्त्य र समाजवादको आरम्भ हुने बेला आयो भन्ने निष्कर्ष निकालेर समाजवादी क्रान्तिको लागि प्रयत्न थालेका थिए । त्यही प्रयत्नको परिणामस्वरुप सन् १८४७ मा कम्युुनिष्ट लिगको गठन र १८४८ मा कम्युनिष्ट घोषणापत्रको प्रकाशन, सन् १८६४ मा प्रथम कम्युनिष्ट अन्तर्राष्ट्रियको गठन, १८७१ मा पेरिस कम्युनको स्थापना र १८८९ मा दोस्रो कम्युनिष्ट अन्तर्राष्ट्रियको गठन भएको थियो ।

लेनिनको पूँजीवाद ओरालो लाग्यो भन्ने निष्कर्ष त दोस्रो चरणको कुरा हो । किनभने माक्र्सवादका अनुसार पूँजीवादले हरेक संकटलाई त्यस्ता साधनरुद्वारा पार गर्दछ, जसले अझ ठूलो संकट निम्त्याउँदछन् । पहिलो चरणको संकटलाई त्यसले एकाधिकारद्वारा पार गरेको थियो । तर त्यही एकाधिकारको परिणामस्वरुप पूँजीवाद अझ ठूलो संकटमा पर्दथ्यो । त्यसकारण लेनिनले एकाधिकारी पूँजीवादलाई, जुन साम्राज्यवाद थियो, मरणासन्न पूँजीवाद भनेका थिए । त्यसले समाजवादलाई निकट ल्याइदिएको छ भन्ने उनको निष्कर्ष थियो ।

यहाँ लेखकको प्रश्न छ– ‘के पूँजीवाद मर्यो त ?’ हो, पूँजीवाद मरेन । तर जुन आधारमा माक्र्सले पूँजीवाद मर्छ भनेका थिए, त्यही आधारमा पूँजीवाद बाँचेको होइन । त्यो आधार थियो– मुक्त प्रतिस्पर्धा । उन्नाइसौं शताव्दीको आरम्भसँगै पूँजीवादले प्रतिस्पर्धी चरणलाई छोडेर एकाधिकारको चरणमा
प्रवेश गर्यो । तर पनि प्रतिस्पर्धी चरणमा पूँजीवादको मृत्यु हुन्थ्यो भन्ने कुराको प्रमाण सन् १८७१ को पेरिस कम्युन हो । त्यसमा पूँजीवादी सत्ताको अन्त्य भएर समाजवादी सत्ता आएको थियो । त्यसैगरी लेनिनले जुन आधारमा पूँजीवाद मर्छ भनेका थिए, त्यही आधारमा पूँजीवाद बाँचेको होइन । लेनिनले भनेको आधार  थियो– एकाधिकार । बीसौं शताव्दीको आरम्भबाटै शुरु भएको एकाधिकारले पूँजीवादलाई प्रतिस्पर्धाबाट उत्पन्न हुने संकटबाट त बचाएको थियो, तर त्यही एकाधिकारको आधारमा पूँजीवादको अन्त्य हुन्छ भन्ने लेनिनको निष्कर्ष थियो । लेनिनको त्यो निष्कर्ष


सही नै थियो भन्ने कुराको प्रमाण दुई विश्वयुद्धहरु हुन्, जुन पूँजीवादको एकाधिकारी चरणमै भएका थिए । ती युद्धहरुमा कति धनजनको क्षति भयो र पूँजीवादी देशहरु कति क्षत–विक्षत भए भन्ने कुरा त जगजाहेर नै छ । अब यसरी क्षत–विक्षत भएर बाँच्नुलाई पनि बाँच्नु नै भन्ने हो भने त समाजवादी देशहरु पनि
बाँचेकै छन् । क्युबा, उत्तर कोरिया र भियतनाम बाँचेकै छन् । अरुले जतिसुकै पूँजीवादी भन्ने आरोप लगाए पनि चीनले आफूलाई समाजवादी नै भन्छ । त्यहाँ कम्युनिष्ट पार्टीको रातो झण्डा नै फहराएको छ । अरुलेजस्तो चीनले पार्टी र झण्डा फेरेर हिँडेको छैन ।

यसरी दुईवटा विश्वयुद्धहरुको कारण मृत्युशैयामा पुगेको पूँजीवाद अहिले फर्केर त आएको छ, तर अर्कै आधारमा । त्यो आधार हो– एकीकरण र विज्ञान–प्रविधि । अहिले पूँजीवादको प्रमुख चरित्र प्रतिस्पर्धा होइन । सम्पूर्ण विश्वका पूँजीवादीहरु आपसमा मिलेका छन् र विज्ञान–प्रविधिबाट अत्यधिक लाभ लिइरहेका छन् ।  यसरी उनीहरु प्रतिस्पर्धा र एकाधिकारबाट उत्पन्न हुने संकटबाट मुक्त भएका छन् र श्रमिक वर्गको आन्दोलनलाई पनि दबाउन सफल भएका छन् । सिण्डिकेट, कार्टेल र कर्पोरशन वर्तमान भूमण्डलीकृत पूँजीवादका स्वरुप हुन् ।

पूँजीवादलाई उत्कृष्ट व्यवस्था सिद्ध गर्नको लागि लेखकले यस्तो तर्क गरेका छन्– ‘माक्र्सले पूँजीवादलाई क्रान्तिकारी व्यवस्था भनेका छन् ।’ तर उनी माक्र्सको अर्को यो भनाइलाई चाहिँ बिर्सन्छन्– ‘सामन्तवादको तुलनामा पूँजीवाद क्रान्तिकारी व्यवस्था हो ।’ माक्र्सले जति पूँजीवादको कुरुप, अमानवीय पक्षको उद्घाटन गरेका छन्, त्यति अरु कसैले गरेका छैनन् । उनले आफ्नो प्रमुख कृति ‘पूँजी’ को रचना पूँजीवादको महिमामण्डन गर्नको लागि होइन, यसको दाहसंस्कार गर्नको लागि गरेका थिए ।

लेखकले माक्र्सवादपछि आएका लेनिनवाद र माओवादलाई अनावश्यक भनेर खारेज गरिदिएका छन् । तर तिनीहरु अनावश्यक होइनन्, तिनीहरु त परिवर्तित परिस्थितिका परिणाम हुन् । यदि तिनीहरुलाई अनावश्यक मान्ने हो भने त न्यूटनको सिद्धान्तपछि आएका सापेक्षताको सिद्धान्त र क्वाण्टम सिद्धान्तलाई पनि अनावश्यक भनेर खारेज गर्दा हुन्छ । जसरी न्यूटनको सिद्धान्तपछि उद्घाटित नयाँ घटनाहरु र क्षेत्रहरुमा त्यसले काम नगर्ने हुँदा म्याक्स प्लाङ्कको क्वान्टम सिद्धान्त र आइन्स्टाइनको सापेक्षताको सिद्घान्त आएका छन्, त्यसैगरी माक्र्सवादपछि विकसित नयाँ परिवेशमा माक्र्सवाद अपर्याप्त भएको हुँदा लेनिनवाद र माओवाद आएका हुन् । त्यसकारण लेनिनवाद र माओवाद माक्र्सवादको विकासमा अनिवार्य चरणहरु हुन् । तिनीहरुबिना रुस र चीनमा क्रान्ति संभव थिएन ।


यसरी निरन्तर विकासको क्रममा रहनु हरेक विज्ञानको अनिवार्य शर्त हो । जुन चीज आवश्यकताअनुसार बदलिन्छ, त्यो अस्तित्वमा रहन्छ । पूँजीवादले पनि आफूलाई आवश्यकताअनुसार बदलेर बचाएको छ । नत्र यो कुन युगमै पाताल भासिसक्थ्यो होला । पूँजीवादले गरेको प्रगति र विकासप्रति लेखकको ठूलो मोह छ, ठूलो गर्व छ । उनी पूँजीवादलाई क्रान्तिकारी व्यवस्था भन्छन्, सुनको अण्डा पार्ने कुखुराको उपमा दिन्छन्, मर्छ भनेको पूँजीवाद बाँचेर प्रगति गरिरहेको दावी गर्छन् र यसको आयु अझै ७० वर्ष भएको भविष्यवाणी गर्छन् । माक्र्सवादका अनुसार हरेक सामाजिक व्यवस्था आफ्नो समयमा क्रान्तिकारी हुन्छ । प्राचीन कालको दासव्यवस्था आफ्नो समयमा क्रान्तिकारी थियो, मध्यकालको सामन्तवाद आफ्नो समयमा क्रान्तिकारी थियो र आधुनिक कालको पूँजीवाद आफ्नो समयमा क्रान्तिकारी हुनु कुनै नौलो कुरा होइन । तर एउटा निश्चित चरणमा पुगेपछि हरेक व्यवस्थाको क्रान्तिकारी चरित्र प्रतिक्रान्तिकारी चरित्रमा बदलिन्छ । परिणामस्वरुप त्यसको स्थान अर्को व्यवस्थाले लिन्छ, जुन त्योभन्दा उच्च र क्रान्तिकारी हुन्छ ।

पूँजीवाद विगतमा क्रान्तिकारी थियो । तर यो अन्तर्विरोधमा फसेको धेरै समय भइसकेको छ, जुन माक्र्सवाद आउनुभन्दा पहिले नै शुरु भएको थियो । त्यसकारण सम्पूर्ण संसारलाई नलुटी यो बाँच्नै सक्दैन । यसको यही लुटतन्त्र बाहिरबाट हेर्दा क्रान्तिकारीजस्तो देखिएको छ । दुईवटा विश्वयुद्धहरु पूँजीवादी देशहरुकै बीचमा भएका थिए । अहिले पनि पूँजीवादी देशहरु युद्धरत छन् र अमेरिका यसमा अग्रणी रहेको छ । लेखकले पूँजीवादलाई सुनको अण्डा पार्ने कुखुरा भनेका छन् ।

यदि यसलाई व्यंग्य गर्ने हो भने, नेपालमा पूँजीवादले सुनको अण्डा पारेको पारै छ । केही समय अगाडि मात्र ८० के.जी. सुन आएको थियो । यस्ता सुन त कति आए–आए । यसरी नेपालमा पूँजीवादले चोरी–तस्करीलाई मलजल गरिरहेको छ । के लेखकले दावी गरेजस्तै पूँजीवादले प्रगति गरेको गरै छ त ? पूँजीवादले विश्वका केही देशहरुमा मात्र प्रगति गरेको छ, सबै देशहरुमा गरेको छैन । अझै पनि एसिया, अफ्रिका र ल्याटिन अमेरिकाका धेरै देशहरु गरीब नै छन् । ती देशहरुमा पूँजीवाद नआएर विकास नभएको होइन । त्यहाँ पूँजीवाद नै छ । त्यसको कारण त पूँजीवादमा असमान विकास हुनु हो । पूँजीवादमा विकास असमान हुन्छ, यो पूँजीवादको चरित्र नै हो, जसलाई लेनिनले पहिले नै ठम्याइसकेका थिए ।

युरोप र अमेरिकाको प्रगति पनि पूँजीवादको क्षमता र चमत्कारको मात्र परिणाम होइन । त्यसमा सम्पूर्ण विश्वको लगानी छ । अफ्रिकाले दास बनेर लगानी गरेको छ, एसियाले बजार बनेर लगानी गरेको छ र ल्याटिन अमेरिकाले कच्चा पदार्थको स्रोत बनेर लगानी गरेको छ । पहिले ‘ब्रिटिश साम्राज्यमा सूर्य कहिल्यै अस्ताउँदैन’ भन्ने कथन प्रचलित थियो । बेलायतको साम्राज्य विश्वभरि फैलिएको थियो र त्यसले सम्पूर्ण विश्वबाट बहुमूल्य साधन–स्रोतहरु संग्रह गर्दथ्यो । त्यसकै परिणाम हो, आजको बेलायत । आज सम्पूर्ण विश्वको ५० प्रतिशत साधन–स्रोत संयुक्त राज्य अमेरिकामा केन्द्रित छ । त्यसकै परिणाम हो अमेरिकाको मनमोहक सम्पन्नता । अमेरिकाको शान पूँजीवादको क्रान्तिकारिता वा महानतामा मात्र टिकेको छैन ।

यदि पूँजीेवादसँग त्यति धेरै क्षमता भएको भए त हजारौं अमेरिकाहरु बन्थे होलान्, किन एउटा मात्र ? अथवा सबै पूँजीवादी देशहरु अमेरिकाजस्ता बन्थे होलान्, किन पाकिस्तान, बंगलादेश वा श्रीलंका बन्ने ? विगतमा युरोपका सबै प्रमुख देशहरु साम्राज्यवादी थिए, जसका साम्राज्य विश्वभरि फैलिएका थिए । बेलायत साम्राज्यवादी थियो । फ्रान्स, जर्मनी, स्पेन र पोर्चुगल साम्राज्यवादी थिए । एसियामा पनि सबभन्दा सम्पन्न मानिएको जापान विगतमा साम्राज्यवादी नै थियो । अहिले अमेरिका साम्राज्यवादी छ ।

स्वतन्त्रता, समानता र भातृत्वको पूँजीवादी आदर्शले कहाँ प्रगति भएको छ ? लेखकले पूँजीवादको आयु अझै ७० वर्ष भएको भविष्यवाणी गरेका छन् । तर यो त विगत ७० वर्षभन्दा पहिले नै मर्न थालिसकेको थियो । पहिलो पटक पेरिस कम्युनमा, दोस्रो पटक सोभियत संघमा, तेस्रो पटक चीनमा, चौथौ पटक उत्तर
कोरियामा, पाँचौं पटक क्युबामा र छैठौं पटक भियतनाममा मर्यो । र, अहिले यो मर्ने क्रम ल्याटिन अमेरिकामा अगाडि बढिरहेकै छ ।

लेखकको तर्क के छ भने पूँजीवाद पूर्णरुपमा विकसित भएपछि आफैं मर्छ, यसलाई जबर्जस्ती मार्नुहुँदैन । तर हामी देखिरहेका छौं, युरोप तथा अमेरिकामा पूँजीवाद विकसित भएर पनि मरेको छैन । अब कति विकास हुँदा मर्छ त ? यदि पूँजीवादको विरुद्ध सर्वहारा वर्गले संघर्ष नगर्ने हो भने, यो नमर्न सक्छ । हरेक व्यवस्थाले अर्को पुरानो व्यवस्थालाई बलपूर्वक नै विस्थापन गर्छ । युरोपमा पूँजीवादले सामन्तवादको बिदाइ राजाको टाउको काटेर गरेको होइन र ? नेपालमा पनि प्रजातन्त्रवादीहरुले सामन्तवादको प्रतिनिधि राणाशासनको अन्त्य सशस्त्र युद्धद्वारा नै गरेका थिए । अब यो पूँजीवाद चाहिँ आफैं अन्त्य हुन्छ अथवा आफैं मर्छ भन्ने आधार के हो ? पूँजीवाद आफैं सहजै मर्दैन । यदि पूँजीवादलाई आफैं मर्नको लागि छोड्ने हो भने यसले समाजलाई ठूलो नोक्सान पु¥याउन सक्छ । किनभने यसले आफ्नो आयु लम्ब्याउनको लागि जुनसुकै अमानवीय, जस्तोसुकै घातक कदम पनि चाल्न सक्दछ । अहिले पूँजीवादले नाफा बढाउनको लागि अत्यधिक मात्रामा निर्मम ढंगले प्रकृतिको दोहन गरिरहेको छ, वातावरण विगारिरहेको छ र भूमण्डलीय तापमान बढाइरहेको छ ।

यदि पूँजीवाद आफैं मर्ने भए त सर्वहारा वर्गले आन्दोलन किन गर्नुपथ्र्यो, कम्युनिष्ट पार्टी किन खोल्नुपथ्र्यो र त्यसको विरुद्ध सशस्त्र संघर्ष किन गर्नुपथ्र्यो ? त्यसकै लागि त माक्र्सवादले बलप्रयोगको सिद्धान्त ल्याएको हो । कुनै पनि चीज आफैं समाप्त हुँदैन । यदि त्यसलाई आफैं समाप्त हुनको लागि छोड्ने हो भने, त्यसबाट नकारात्मक परिणाम निस्किन्छ । उदाहरणको लागि, बच्चाका दाँतहरु फेरिँदा तिनीहरुलाई आफैं झरुन् भनेर छोडियो भने, तिनीहरुले नयाँ
दाँतहरुलाई अवरुद्ध गर्दछन् । फलस्वरुप नयाँ दाँतहरु बाङ्गा–टिङ्गा उम्रिन्छन् र कुरुप बन्दछन् । त्यसकारण पुराना दाँतहरु हल्लिन थालेपछि तिनीहरुलाई जबर्जस्त खोलेर फ्याँक्नुपर्दछ, तबमात्र नयाँ दाँतहरुले सीधा उम्रिन पाउँदछन् र तिनीहरु राम्रा बन्दछन् । पूँजीवादले आफूलाई बचाउनको लागि अनेक रुपहरु धारण गरिरहेको छ । त्यसकारण यसलाई समाप्त पार्न कम्युनिष्टहरुले पनि अनेक रणनीतिहरु अवलम्बन गर्नु आवश्यक छ ।

पूँजीवादमा प्रगति, विकास अचेत ढंगले, बाध्यात्मक रुपमा हुन्छ । तर समाजवादमा विकास र प्रगति सचेत ढंगले र स्वाभाविक रुपमा हुन्छ । त्यसकारण पूँजीवादको विकल्प वैज्ञानिक समाजवाद मात्र हुनसक्दछ ।