मेरो परिवार मेरो कथा

सम्बन्धिवच्छेद देखी एनपिस अवार्ड सम्म....

जीवन भाग हैन भोग हो, अनि भोगाइ एक कर्मको अर्को सिँढी’ । अधिकारकर्मी एवम् समिदा महिला विकास मञ्चकी संस्थापक अध्यक्ष शर्मिला थापा (शमि) 

सोमबार, २७ कार्तिक २०७४ गते मा प्रकाशित

sharmila

बाँच्नकै लागि संघर्षको पहाड चढेकी शर्मिला दुःख गरेर बाँच्नु र दुःख बिना नै बाँच्नुमा फरक ठान्छिन् । उनलाई दुख गर्नु नपरेको दिन बेकारनै लाग्छ रे । त्यसैको फलस्वरुप उनले राष्ट्रिय तथा अन्तराष्ट्रिय पुरस्कार समेत पाइसकेकी छिन् ।  उनी भन्छिन्,–‘जीवनमा अझैँ धेरै काम गर्न बाँकी नै छ । यो त सुरुवाती मात्रै हो । ’

पाँच वर्षदेखि एकल आमाको सम्पत्तिको अधिकार प्राप्तिका लागि सक्रिय अधिकारकर्मी थापा गत मंसिरमा एनपिस अवार्डबाट समेत सम्मानित भइन् ।  काठमाडौंको सामाखुसीमा जन्मे हुर्कीएकी थापाको बाल्यकाल त त्यही असहज बनेन् । तर विवाहपछि भने सधैँ सघर्षमै बित्यो । थापा अहिले ३४ वर्ष पुगिन् ।

१६ वर्षको उमेरमा शर्मिलाले ललितपुरका एक युवासँग प्रेम विवाह गरेकी थिइन् । तर नाम भने भन्न चाहिनन् । केटा आफ्नै जातका थिए ।
उनी भन्छिन्, ‘बाल्यकाल नै थियो । हामी दुई भागेर विवाह गरेका थियौं । हाम्रो घर परिवारले स्विकारेका थिएनन् । विवाहपछि हामी काठमाडौमै डेरा लिएर बस्न थाल्यौ । विवाहको एक वर्षपछि हाम्रो सन्तान जन्मियो । अनि मात्रै घरपरिवारले स्वीकारे’ उनले विगत सम्झिइन् ।

विवाहपछिको केही वर्ष उनीहरूको जीवन रामै्रसँग बित्यो । तर त्यो खुसी लामो समय टिक्न सकेन् । विवाहको पाँच वर्षपछि उनीहरू बीचमा मनमुटाव सुरु हुन थाल्यो । अनि शर्मिला सम्वन्ध विच्छेद गर्न बाँध्य भइन् ।

उनी भन्छिन्, ‘मलाई पछि मात्रै थाहा भयो, श्रीमान लागू औषधमा फसेका रहेछन् । यही कारण श्रीमान र परिवारले नै मानसिक तनाब दिन थाले । घरपरिवारले पनि श्रीमानले गर्ने गल्तीलाई शर्मिला कारण भन्दै दुःख दिन थाले । उनका हरेक काममा दोष देखाउन थाले । विवाहको पाँच वर्षपछि श्रीमान गाउँ जान्छु भनेर हिँडे । एक महिनासम्म पनि श्रीमान घर नर्फकिएपछि उनलाई माइत जान मन लाग्यो । उनी माइत गइन् । श्रीमान लिन आउलान् भनेर कुरेर बसिन् तर उनी आएनन् ।

श्रीमान आउने आशामा आफू करिब एक वर्ष माइतमै बसेको उनले बताइन् । माइतमा बस्दापनि घरपरिवार र साथीभाईले कुरा काट्ने गरेको उनले सुनाइन् । उनी भन्छिन् ‘त्यति बेला नै अनुभव गरेको थिए, हिंसा कस्तो हुँदोरहेछ भनेर ।

श्रीमानको बाटो कुरेर माइतीमा बसेकी शर्मिलालाई माइतमा समेत बस्न मन लागेन । माइतीले समेत चरित्रमै पनि प्रश्न उठाउन थाले । आफ्नो अधिकारको लागि कहाँ जाने, के गर्ने भन्ने पनि उनलाई थाहा थिएन । उमेर सानै थियो । श्रीमानको घरपरिवारले आफूलाई वास्ता नगर्ने तर बच्चा खोस्न आउँन थालेपछि उनले सुरक्षित बासको खोजीमा माइती समेत त्याग्ने निर्णय लिइन् । वि.स २०६३ सालतिर उनी न्याय पाइन्छ कि भन्दै माइती नेपाल पुगिन् । त्यहाँ उनले के गर्ने भनेर सल्लाह पाइन् ।

उनी सम्वन्ध विच्छेद गर्न चाहन्थिनन् । तर सम्वन्ध विच्छेद गर्न बाध्य भइन् । उनी भन्छिन्, ‘श्रीमान भए म सुरक्षित हुन्छु भन्ने सोचेको थिएँ । श्रीमानलाई आफूसँग राख्नका लागि शर्मिलाले सम्वन्ध विच्छेदको मुद्धा नहालि जिल्ला अदालत ललितपुरमा माना चामलको मुद्धा हालेकी थिइन् । ‘मुद्धा हालेको एक हप्तामा श्रीमान आए । श्रीमानले विदेश थिएँ भनेर बहाना बनाए । छोरो लैजान्छु भने तर मैले दिइन्’ उनले भनिन् ।
‘श्रीमानलाई मलाई म नचाहिने तर छोरो लैजाने सोच थियो । तर मैले दिइन् । उनको परिवारले पनि अदालतमा केश हालेको भन्दै स्वीकार नगर्ने बताएका थिए’ उनले भनिन्, ‘श्रीमानको परिवार र आफ्नै माइती पक्षले समेत मानसिक तनाव दिँदा म पागल जस्तै भएको थिएँ ।’ अनि श्रीमानले स्वीकार गर्न नमानेपछि आफू सम्वन्ध विच्छेद गर्न बाध्य भएको उनले बताइन् ।

सम्बन्ध विच्छेदपछि…………….

सगैँ बाँच्ने, सगैँ मर्ने कसम खाएको श्रीमानसँग सम्बन्ध विच्छेद गर्न बाँध्य भएपछि शर्मिला छोरा लिएर कोठा भाडामा लिएर बस्न थालिन् । माइती पक्षको पनि उनलाई साथ थिएन । लोग्ने छोडेको महिलालाई समाजले नराम्रो नजरले हेर्ने गरेको उनको अनुभव छ ।

उनी भन्छिन् ‘लोग्ने छोडेको महिलालाई अझै पनि समाजले विग्रिएको केटीको उपनाम दिन्छ । अहिले पनि लोग्ने छोडेका महिलालाई काठमाडौंमा कोठा पाउन गाह्रो छ । म पनि श्रीमान विदेश हुनुहुन्छ भनेरै बसेको थिए ।’  एकल आमालाई समाजले हाँस्दापनि शंका गर्दो रहेछ, रुदा पनि शंका गर्दो रहेछ मैले त्यहि बेलामा थाहा पाएँ ।

आफू आत्मनिर्भर हुनकै लागि उनले व्युटिपार्लर पनि खोलिन् । त्यहाँ उनले पाँच लाख रुपैँया लगानी गरेकी थिइन् । त्यसबाट राम्रै आन्दानी गर्न थालेकी थिइन् ।

एक वर्षपछि शर्मिलालाई विदेश (जापान) जाने रहर लाग्यो । साथीले जापान जानको लागि उक्साए । धेरै कमाउने आशामा व्युटिपार्लर बेचिन् । छोरालाई होस्टेलमा राखिन् । तर भाग्य नै भन्नुपर्छ उनकै साथी पैसा लिएर वेपत्ता भइन् । जापान जाने र धेरै पैसा कमाउने सपना देखेकी शर्मिला आफ्नै साथीबाट ठगिइन् । त्यसपछि कोठाभाडा तिर्न र छोराको स्कूल फि तिर्न नसक्दा उनले धेरै दुःख भोगिन् । र पैँसा कमाउनकै लागि उनी डान्सबारदेखि घरघरमा व्युटिसियन सेवा दिने, मार्केटिङ गर्ने काम गरिन् ।

संगठित हुने सोच

शर्मिला जहाँ काम गर्न जान्थिन्, त्यहाँ एकल महिलाले पहिचान लुकाएको पाउँथिन् । श्रीमान नभएकै कारण उनीहरूले धेरैले मानसिक र शारीरिक हिंसा सहन बाध्य भएको देख्थिन् ।

वि.स २०६७ सालतिर शर्मिलालाई पुरुषबाट हुने हिंसाकै लागि संगठित हुने सोच आयो । महिला संठगित हुन समुह बनाउँदै गइन् । उनले भनिन् ‘म एक जनालाई कसैले अट्याक गर्यो भने सक्ला । हामी ग्रुप भयो भने त प्रतिकार गर्न सक्छौँ नि भन्ने सोच भयोे र हामी संगठित हुन थाल्यौं ।’ सुरुसुरुमा उनको कुरामा कतिपय केटी साथीहरूले विश्वास गरेनन् । उनी भन्छिन्, ‘पछि हाम्रो गु्रप यस्तो भयो कि कोहि केटाहरूले जिस्कायो भने प्रतिकार गरि हाल्थ्यौ ।’

काम गर्ने ठाउँमा पैसा नदिए उनीहरू सबै झगडा गर्न पुग्थे । त्यसले गर्दा आफूहरूमा झन् साहस जुट्ने र विरोधको लागि भनेर टिम नै बनाएको उनले बताइन् ।

ऋण खोजेर संस्था दर्ता

उनलाई संस्था भन्ने पहिले त थाह नै थिएन । वि.स २०६९ मा ऋण खोजेर संस्था दर्ता गर्ने जमर्को गरेछन् । सुरुमा त नाम के राख्ने भनेर भन्ने बारेमै धेरै सोचे । मंगलबारको दिन उनी मन्दिरबाट फर्किदा होम गरिरहेको समिदा देखिन् रे । जहाँ नौ वटा काठ राखेर होम गरिएको थियो । अनि उनको मनमा पनि संस्थाको नाम समिदा राख्ने सोच आयो । जहाँ ९ वटा काठ जलेर शान्ति भयो भनिन्छ ।

‘हामी महिलाहरू पनि भित्रभित्र जलेर पनि अरुलाई शान्ति दिन्छौ भन्ने लाग्यो र त्यही दिन नै हामीले संस्थाको नाम समिदा राखेर दर्ता गर्यौ’ उनले भनिन् ।

आफैँ मिलेर केही गरौं भनेर ६ लाख रुपैँया ऋण खोजेर सिलाई बुनाईको काम गर्न थालेपछि काम पनि राम्रै भएको र नियमित काम गर्न १५, २० जना महिला समेत आउन थाले । तर उनीहरूलाई अब आफूहरूले उत्पादन गरेका समानको बजारका लागि समस्या भयो । उत्पादित सामान ठमेलमा दिए । महिलाले उत्पादन गरेकै कारण पैँसा दिन आलटाल गरे । पैँसा पछि दिन्छु, सामान छोडेर जानुस् भन्न थाले । पैँसा उठाउन गाह्रो भयो । त्यसैले धेरै पैँसा डुव्यो । व्याज बढ्दै गयो । ऋण तिर्न नसकेपछि संस्थाका केही साथीहरू आउन छाडे । कति त भागेर विदेश गए ।

त्यसपछि शर्मिला फेरि एक्लो भइन् । यी सबै घटना झेल्न नसकेर उनमा आत्महत्या गर्ने सोच पनि आएछ । तर छोराको मायाले उनलाई बचायो । जीवनमा केहि गरेरै छाड्ने आँट आयो ।

वि.स २०७१ सालतिर उनको एउटा साथीसँग भेट भयो । संस्था चलाउन एनजिओ आइएनजिओसंग समन्वय गर्न सुझाव दिए । धेरै ठाउँमा फोन गरिन् । मान्छे सानो, एसएलसी पास नगरेकाले नि एनजिओ अलाउने भनेर कतिले विल्ला गरे । त्यसले झन् उनको मनमा इख पलायो । उनले भनिन्, ‘त्यसपछि म एनजिओ र आइएनजिओको ढोकामा कहिल्यै पुगिन् ।’

उनको जीवनले फेरि अर्को मोड लियो । हरेक दिन पत्रपत्रिका पढ्ने उनी भन्छिन् ‘केही नबुझेपनि बुझ्नकै लागि भोकभोकै भएपनि धर्ना र कार्यक्रममा जान थाले । साथीहरूसँग चिनजान जान थाल्यो । यसरी उनी करिव एक वर्ष त विभिन्न संघ संस्थाले गर्ने कार्यक्रममै हिँडिन् । त्यसपछि महिलाका विषयमा बुझ्दै जान थालिन् ।

 

एन पिस अवार्ड

फ्रान्सिसको कार्थ भन्ने विदेशी नागरिकले शर्मिलाको कामको मुल्याङ्कन गर्दै सन् २०१५ मा उनलाई एनपिस अवार्डका लागि सिफासिर गरेका थिए । तर शर्मिलालाई आफूलाई सिफारिस गरेको समेत थाहा थिएन । यो पुरस्कारका लागि अनलाईन भोटिङ सिष्टम थियो । उनले यो पुरस्कार जितिन् । पुरस्कारको लागि अमेरिका जाँदा यसबाट धेरै नेटवर्क, साथीहरू बनाइन् । नेपालमा भूकम्प जाँदा एकल आमालाई मात्र नभई सबैलाई सहयोग गर्नुपर्छ भनेरै लागिन् ।

सन् २०१७ मार्चमा उनी लण्डन समेत पुगिन् । जहाँ उनले नटिका युनिर्भसिटिमा अध्ययनरत मास्टर पढ्दै गरेका ४५ विद्यार्थीलाई भाषण दिइन् । त्यहाँबाट उनी अर्को ग्लासको युनिर्भसिटमा पनि पुगिन् । त्यहाँ उनले पीएचडीका २५ जना विद्यार्थीलाई लेक्चर दिइन् । नेपाली दाजुभाईले समेत त्यहाँ उनलाई सम्मान गरे ।

 

 ः महिला खबरबाट