खेल

नेपालकाे एेतिहासिक जित, भारत १९ रनले पराजित

दीपेन्द्रले ८८ रनसँगै ४ विकेट लिए

आइतबार, २६ कार्तिक २०७४ गते मा प्रकाशित

nepali cricket

काठमाडौं । उन्नाइस वर्षमुनिको एसिया कप क्रिकेट अन्तर्गत भारतविरुद्ध भएको एेतिहासिक खेलमा नेपालले भारतलाई १९ रनले पराजित गरेको छ ।

मलेसियामा जारी प्रतियोगिताअन्तर्गतको खेलमा नेपाललाई एेतिहासिक जित दिलाउनको लागि दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट पारी खेले । कप्तान ऐरीले ८८ रनको पारीका साथै ४ विकेट पनि आफ्नो नाम गरे ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरको खेलमा ८ विकेट गुमाएर १८५ रन जोडेको हो । नेपालका लागि सर्वाधिक ८८ रन जोडेका कप्तान दीपेन्द्रसिंह ऐरीले १०१ बल खेल्दै ६ चौका र २ छक्का प्रहार गरे ।

यस्तै ओपनर जितेन्द्र सिंहले ३६ तथा भिम सार्कीले १५ रन जोडे । मध्यक्रम बाँकी खेलाडीहरुले दोहोरो अंक जोड्न नसक्दा नेपाल ठूलो योगफल बनाउन चुक्यो । आसिफ सेखले ३, अनिलकुमारसाहले ६, रोहितकुमार पौडेलले ६ रन मात्रै बनाउन सके भने सन्दीप लामिछाने ९, किशोर महतो ७ रनमा नटआउट रहे । भारतका आदित्य थकारे र अभिषेक शर्माले समान २ विकेट लिए ।

त्यस्तै जवाफि ब्याटिङमा उत्रेको भारतले ओभरमा सबै विकेट गुमाउँदै रनमात्र बनाउन सफल भयो । भारतको लागि कप्तान हिमान्सु रानाले सर्वाधिक ४६ रन जोडे । त्यस्तै मन्जोत कार्लाले ३५, अभिषेक शर्माले २७ र अनुज रावतले १८ रन जोडे ।

नेपालको लागि कप्तान दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ४ विकेट लिए । त्यस्तै पवन सरफ र सहहाव आलमले २ तथा सन्दिप लामिछाने र कमल सिंहले समान १–१ विकेट लिए । जितसँगै नेपालकाे सेमिफाइनलमा पुग्ने अाशा जिवितै रहेकाे छ ।