राजनीति

काठमाडौं–१ मा देखियो अपत्यारिलो दृश्य, घेरिए रवीन्द्र मिश्र (भिडियोसहित)

मिश्रको उम्मेदवारीले तात्यो काठमाडौं–१ को माहोल, यस्तो छ चुनावी लेखाजोखा

आइतबार, २६ कार्तिक २०७४ गते मा प्रकाशित

rabindra-mishra-sanga-sawal-jawaf-nepalaaja-06

काठमाडौं । रवीन्द्र मिश्र अर्थात् वैकल्पिक राजनीतिक शक्ति विवेकशील साझा पार्टीका दुई संयोजकमध्येका एक । विगतमा उनको परिचय थियो–पत्रकार, समाजसेवी, बौद्धिक व्यक्ति एवं देशलाई केही गरौं भन्ने विचार राख्ने व्यक्ति । तर, अहिले उनको परिचय फरक बन्दै गएको छ । २१ मंसिरमा हुन गइरहेको काठमाडौं क्षेत्र नम्बर १ को प्रतिनिधिसभा निर्वाचनमा उनी आफै उम्मेद्वार बनेका छन्, विवेकशील साझा पार्टीका तर्फबाट । सो पार्टीको चुनाव चिन्ह रहेको छ ‘तराजु’ ।

साँच्चै भन्ने हो भने, मिश्रको यो उम्मेद्वारीले काठमाडौं–१ मात्र होइन, मुलुकभर चर्चा पाएको छ । देशलाई केही गरौं भन्ने मान्यता राख्ने युवादेखि वृद्धसम्मले उनी नेतृत्वको विवेकशील साझा पार्टीलाई स्वतःस्फुर्तरुपमा साथ दिइरहेका छन् । यो देख्दा लाग्छ, चुनावी माहोलमा विवेकशील साझा पनि पछि छैन ।

युवादेखि वृद्ध सबैको अथाह माया र उत्साहले उत्साहित बन्दै गइरहेका मिश्र तिनै व्यक्तिसँग चुनावमा भिड्दै छन्, जसले लोकतन्त्रको आगमनपछि भएका दुई ओटै निर्वाचनमा काठमाडौं–१ बाट जितेका कांगे्रेस नेता प्रकाशमान सिंहसँग । कांग्रेसका पूर्व निर्वाचित महामन्त्री र उपप्रधानमन्त्री भइसकेका अनि नेपाली कांग्रेसका सर्वमान्य नेता गणेशमान सिंहका छोरा प्रकाशमानसँग भिड्न खोज्नु नै मिश्रको साहस हो । मिश्रलाई सुरुमा प्रकाशमानसँग भिड्न खोज्दा धेरैले व्यंग्यको पात्र पनि नबनाएका होइनन् । हार्नलाई काठमाडौं–१ छानेको टिप्पणीसमेत गरे । तर चुनावी माहोल अहिले अरुले भनेको र सोचेको जस्तो छैन ।

नेपाल आज फाउन्डेसनले शनिबार आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा स्वतःस्फुर्त रुपमा देखिएको उपस्थितिले पनि रवीन्द्र मिश्रप्रति धेरैको विश्वास, माया, सम्मान, आकांक्षा र अपेक्षा देखिन्छ । सो अन्तक्र्रिया कार्यक्रममा पहिलो पटक मत हाल्न इच्छुक युवादेखि वृद्ध वृद्धासम्मको लोभलाग्दो उपस्थिति थियो । सो कार्यक्रममा उपस्थित भएकाहरुले मिश्रको वजनदार कुरा सुनेनन् मात्रै, आफ्ना जिज्ञासा पनि राखेका थिए । मिश्रले झण्डै दुई घन्टा सहभागीसँग जिज्ञासा मेटाउने प्रयास गरेका थिए । उनका ओजपूर्ण प्रस्तुतीलाई लिएर हलमा लामो समयसम्म तालीको गडगडाहट सुनिएको थियो ।

सो कार्यक्रममा उनले सँधै एउटै नेता र राजनीतिक दलहरु छान्दा मुलुकले भोगिरहेको विषम परिस्थितिबारे गहन रुपमा विवेचना गरेका थिए । नेताहरुले सँधै जनता झुक्याइरहने र जनता पनि तिनै नेतालाई सँधै भोट हालिरहने अवस्था अब नरहेको उनको भनाइ थियो । उनको भनाइ थियो, ‘विगतमा पुराना पार्टी र थोत्रा नेताको विकल्प थिएन । अब त विकल्प छ । मतदाताहरुमा मेरो आग्रह छ, एकपटक यो विकल्प प्रयोग गरिदिनुहोस् ।’

मिश्रले सो अवसरमा व्यक्त गरेको धारणाको सार निम्नानुसार छ :

मैले नयाँ पार्टी नखोलेर भएकै कुनै दलमा गएको भए के हुन्थ्यो ?

म सुकुलमा बसेर पढेको मान्छे । भाग्य र कर्मले साथ दिँदा म अलिकति सफल भएँ । तर यो देशका अधिकांश नागरिक अहिले पनि अत्यन्त न्यूनस्तरको र कठिन जीवन बिताउन बाध्य छन् । मेरा सहपाठीहरु मेरो सफलतामा गर्व गर्छन् । तर म देशको सफलतामा गर्व गर्न सक्दिनँ । म सफल भएँ तर देश सफल भएन । लन्डनबाट फर्केपछि मैले परोपकारी काम पनि गरेँ । तर देश नै बदल्न राजनीतिमै हस्तक्षेप गर्नुपर्छ भन्ने अठोट गरेँ । राजनीतिमा प्रवेश गर्ने दुई बाटाहरु थिए । पहिलो भएकै पार्टीमा प्रवेश गर्ने र सुधार गर्ने । अर्को नितान्त नयाँ पार्टी खोल्ने । दोस्रो बाटो खतरनाक, भएको छवि पनि धुमिल हुने, भएको सुविधा पनि गुम्ने, बालुवामा पानी हाले सरह हुने किसिमको थियो ।

मैले भएको राजनीतिक पार्टीमध्ये कुनैमा प्रवेश गर्दा के हुन्छ ? भन्ने सोच्न थालेँ । सबै दलका नेतासँग मेरो पहुँच पनि थियो । उनीहरुले आउनु भनेका पनि थिए । अपराधी र गुन्डाहरुले टिकट पाउने, राजनीतिक नियुक्ति पाउने देश हो यो । हामी सबै मिलेर यसो नगर न भनेर चिच्याएर कराउँदा पनि दलहरुले गुन्डा र अपराधीलाई उम्मेदवार बनाइदिने देश हो यो । यस्तो देशमा म पढेको लेखेको मान्छेले कुनै दलमा जाँदा कुनै राजनीतिक नियुक्ति, कुनै देशको राजदूत, सांसद मन्त्री पद नपाउने कुरै थिएन । त्यसबाट म जिन्दगीमा पूर्वमन्त्री, पूर्वसांसद, पूर्वराजदूत हुन्थेँ होला । म व्यक्ति त बन्थेँ, फेरि पनि यो देश बन्दैन थियो । यसकारण म गइनँ कुनै दलमा ।

विदेशीले हेप्छन्, हामी हेपिनुमा गर्व गर्छाैं

विकसित देशका सामान्य नागरिक हाम्रो देश घुम्न आउँछन् । हामी भने ती देश जान दूतावासको चक्कर काट्छौं । एउटा भिसाको लागि मेरो छोराछोरीको विवरण, वैवाहिक प्रमाणपत्र, बैंक व्यालेन्स, घरको लालपूर्जासमेत विदेशीले माग्ने दुःस्साहस गर्छन् । भिसाका लागि हामी घरको लालपुर्जा बोकेर दूतावास पुग्छौं । भिसा लाग्यो भने गर्व गर्छौं । भोज गर्छौं । यसरी भिसा पाउनु सबैभन्दा लज्जाको विषय हो । जबसम्म हामी आफैले हाम्रो देश बनाउँदैनौं, तबसम्म उनीहरुले हाम्रो लालपुर्जा मागिरहने छन् ।

प्रधानमन्त्रीले आफ्ना मन्त्री नचिन्ने देश

मैले कुनै पनि राजनीतिक दलमा गएर म पूर्व यो वा त्यो भनेर बाँकी जीवन बिताउन नचाहने निर्णय गरेँ । हाम्रो देशमा पदको गरिमा ध्वस्त पारिसकिएको छ । यो देशमा विश्वविद्यालयका उपकुलपतिहरुको इज्जत छैन । मन्त्रीको इज्जत छैन । हामीले कराउँदा कराउँदै ६४ जनाको मन्त्रीमण्डल बनाइन्छ । आफूले बनाएका मन्त्री प्रधानमन्त्री स्वयं आफैले चिन्नु हुन्न । यस्तो देशमा मन्त्री हुनुको के अर्थ ? त्यही भएर हामीले खतरनाक नयाँ बाटो अवलम्वन गरेका हौं । राजनीति गर्छु भन्दा सुरुमा कसैले प्रेरित गरेनन् । मैले भन्दा मेरी आमा धर्धरी रुनु भयो । बुबाले पनि सहमति जनाउनु भएन ।

सबै सिध्याएर पनि भोट उनीहरुलाई कहिलेसम्म हाल्ने ?

१९९० मा प्रजातन्त्र आएको सीमारेखा मान्ने हो भने यताको २५ वर्ष भन्दा बढी हाम्रा नेताले के गरेर बिताए ? हामी जनताले २५ वर्षसम्म आशै आशामा भोट दिएर बितायौं । त्यो भोट दिएर के पायौं ? धुलै धुलो भएको सडक छेउ भाडामा लिइएको घरमा खुलेको स्कुलमा आफ्ना छोराछोरी पढ्ने स्कुल पायौं । जहाँ खेल्ने ठाउँ पनि छैन । गुणस्तरहीन शिक्षा पायौं । विद्यार्थी भन्दा बढी प्रोफेसर भएको विश्वविद्यालय पायौं । यस्तो अस्पताल पायौं, जहा पसेर निस्किँदा स्वस्थ नै भइरहन्छौं कि रहँदैनौं ग्यारेन्टी हुँदैन । जति जति पटक आश गर्दै भोट हाल्यौं कहिले केही भएन । हाम्रो जीवनस्तर कहिले फेरिएन । जसलाई भोट हालेका थियौं उनीहरुकै जीवनस्तर फेरियो । भोट पाउने सुखी भए । भोट हाल्ने सबै दुःखी भए । हामी दुःखी त भयौं तर हामीले हाम्रो दुःख महसुस नै गर्न छाडिसकेका रहेछौं । सुख के हो भन्ने बिर्सिन थालेका छौं ।

बाटोमा उड्ने धुलोबाट बच्न कुन मास्क राम्रो हुन्छ भनेर हामी सोच्ने गर्छौं । तर मास्क लगाउनु पर्ने स्थिति सिर्जना गर्ने नेताहरु हाम्रा अगुवा हुन योग्य छन् कि छैनन् भन्ने कुरामा हामीलाई चिन्तै छैन । यही धुलोका कारण तपाईं हाम्रो वा हाम्रो परिवारको कसैको मृत्यु पनि हुन सक्छ । कसैको मृत्यु भयो भने हामी भाग्यलाई दोष दिन्छौं । धुलो सिर्जना गर्ने तत्वलाई दोष दिँदैनौं । मध्यम वर्गीय मानिसहरु आजीवन कमाउँछन् । पछिका लागि भनेर केही लाख जम्मा गर्छन् । जब परिवारमा कसैलाई गम्भीर रोग लाग्छ, कमाएको पैसा दुई महिनामै सकिन्छ । नेपालका अस्पतालले दिल्ली लैजानु भन्छ । दिल्ली जान एक टुक्रा जमिन बेच्न खोज्छौं । १० हजार २० हजार कसले दिन्छ भनेर नातागोतामा फोन गर्छौं । जब दिल्लीबाट फर्किन्छौं, तिनै नेतालाई भोट हाल्छौं । यस्तो अवस्था कहिलेसम्म जारी राख्ने ?

हामीले आन्दोलन गर्दा रवीन्द्र मिश्र लन्डनमा एसीमा बसेर जागिर खान्थे

नेताहरुले भन्ने गर्नुहुन्छ, हामीले आन्दोलन गर्दा रवीन्द्र मिश्र लन्डनमा बसेर एअर कन्डिसन भएको कोठामा बसेर हामीलाई प्रश्न गथ्र्यो । हो, म सानका साथ भन्छु कि म काम गर्थें । काम गरेर मेरो परिवार पाल्थेँ । तर उहाँहरुले त्यो बेला आन्दोलन गर्नुभयो, आन्दोलन गरेर त्यसको ब्याज अहिलेसम्म खाइरहनु भएको छ । देशका लागि गरेको आन्दोलनबाट ब्याज खाने होइन, व्यवसायमा गरेको लगानीबाट मात्रै हो ब्याज खाने त । उहाँहरुले जति गर्नुभयो त्यसको साँवा ब्याज लिइसक्नु भएको छ । मैले इमानका साथ लन्डनमा काम गरे । त्यहाँ गरेको आर्जेको बुद्धि विवेक राष्ट्रका लागि उपयोग गर्नुपर्छ भनेर लन्डन बसेँ । के मैले अपराध गरेँ ?

हामी तीन सय वर्ष पर्खिन सक्दैनौं

विकास खै त ? भनेर नेताहरुलाई सोध्यौं भने उनीहरु भन्ने गर्छन्, ‘युरोप अमेरिका पनि रातारात बनेको होइन, २–३ सय वर्ष लाग्यो । विस्तारै हुन्छ ।’ मैले भन्ने गरेको छु, ‘तपाईंहरुको बुद्धि नै यस्तो भएपछि देश कसरी बन्छ ? तपार्इंले टेलिभिजन सेट बनाउने उद्योग खोल्नु भयो भने अब पनि ब्ल्याक एन्ड ह्वाइट टिभीबाटै बनाउन सुरु गर्नु हुन्छ ?

संसारका धेरै मुलुक छन् जसले २०–२५ वर्षमा पनि ठूलो विकास गरेका छन् । हाम्रो नेताको दिमागमा अहिले पनि रेल भन्ने बित्तिकै ब्रोडगेज रेल आउँछ । हाम्रो दिगामा बुलेट रेल आउँछ । केही नभएका अफ्रिकाका कैयन देशले कति धेरै प्रगति गरेका छन् । हामीले नगर्ने भने के छ ? हामी पनि गर्न सक्छौं ।