बिचार

‘छोरा नजन्मेसम्म सन्तान जन्माइरहने तपाई कसरी क्रान्तिकारी ?’ यो प्रश्नले प्रचण्डकाे हालत खराब

बुधबार, १५ कार्तिक २०७४ गते प्रकाशित
- नेपाल आज (TK)

‘छोरा नजन्मेसम्म सन्तान जन्माइरहने तपाई कसरी क्रान्तिकारी ?’ यो प्रश्नले प्रचण्डकाे हालत खराब

२०५० सालको अन्त्यतिर एक दिन डा. बाबुराम भट्टराईले कोटेश्वरस्थित आफ्नो घरमा खाना खाने गरी बोलाउँदै भन्नुभयो, ‘तपाईंको दाजु प्रचण्ड (पुष्पकमल दाहाल) पनि आउनु हुन्छ । उहाँकै आग्रहमा मेरा तर्फबाट निमन्त्रणा गर्दै छु ।’

मैले घटना र विचारमा उहाँको संयुक्त जनमोर्चालाई धेरै मद्धत गरेको थिएँ । प्रजातन्त्रमा साना पार्टीहरुको भूमिका जीवन्त रहनुपर्छ भन्ने मेरो मान्यता थियो । उनीहरुको एक पाटोलाई मोहनविक्रम सिंहले नेतृत्व गर्दै २०४८ सालको चुनाव बहिष्कार गरेका थिए । एकता केन्द्रसँग मिलेर डा. बाबुराम भट्टराई पक्षले चुनावमा भाग लिएर ९ स्थान जितेको थियो । भट्टराईको कार्यालयबाट गोरखाका भाइ बासु न्यौपाने वक्तव्य बोकेर आइरहन्थे र म मिलाएर प्रसारण गरिदिन्थें ।

त्यसबेला मोर्चामा वर्तमान बहुदलीय प्रणालीविरुद्ध जाने र नजाने, तत्काल गणतन्त्रको कार्यनीति अघि सार्ने वा नसार्ने ? जनयुद्ध सुरु गर्ने वा नगर्ने ? भन्ने विषयमा गम्भीर छलफल भइरहेको थियो । कमानसिंह लामाहरु कारबाहीमा परिसकेका थिए । दिनभरजस्तो प्रचण्ड र बाबुरामजीसँग छलफल भयो । उहाँहरुले क्रान्तिका कुरा गर्दा बनारसको लड्डु कल्पनामा खाएजस्तै हुने तर्क गर्दै मैले भनें, ‘हिंसात्मक युद्ध सुरु भएमा पहिले प्रजातन्त्र अन्त्य हुन्छ, वर्तमान संविधान ध्वस्त भएर राजाको हातमा शक्ति जान्छ, त्यसपछि पनि युद्ध भइरहेमा राष्ट्र नै विघटन हुन्छ वा विदेशी हस्तक्षेप हुनेछ । राष्ट्रको अखण्ड स्वतन्त्रता रहने छैन । यसको फाइदा नेपालीले लिन सक्दैनन् ।’ तर प्रचण्डको दलिल अर्कै थियो । उहाँले १५ वर्षभित्र वर्तमान सामन्ती राजतन्त्र र पुँजिवादी बहुदलीय पद्धति ध्वस्त गरी जनवादी सत्ता स्थापना गरिनेछ भनेर जोडदार तर्क गर्नुभयो ।

प्रचारात्मक, संगठनात्मक अभ्यास, जनकारबाही, आधारक्षेत्र निर्माण, आधारक्षेत्र घोषणा गर्दै संगठन र युद्ध विस्तार गर्ने रणनीति छलफलका क्रममा उठेको थियो । उहाँले टि टेबलमा यौटा कागजको पानामा स्केच गर्दै मलाई एक प्रकारको समग्र युद्धको रेखाचित्र प्रस्तुत गर्नुभयो । उहाँका यी कुराहरुलाई मैले त्यति पत्याइनँ । अन्तमा सहयोग गर्न उहाँले दोहो-याएपछि मैले बडो स्पष्ट शव्दमा भनें, ‘म स्वतन्त्रता र समानताको सिद्धान्तमा विश्वास राख्दछु । दुई कुरालाई म स्वीकार गर्दिनँ । पहिलो, कसैको ज्यान मार्ने र घातक आक्रमण गर्ने । दोस्रो, अरुको श्रीसम्पत्ति लुट्ने र कब्जा गर्ने । यीबाहेक अधिकार, न्याय र समानताका लागि शान्तिपूर्ण हुने सबै आन्दोलन र आग्रहहरुमा मेरो समर्थन रहने छ ।’ तैपनि प्रचण्डसँगको संवादलाई लिएर मैले राष्ट्रपुकार साप्ताहिकमा संक्षेपमा केही संकेत गरेको थिएँ भने रेडियोको कार्यक्रम घटना र विचारमा नसुतिकन देख्न लागेको सपना भनेर छोटो टिप्पणी प्रस्तुत गरेको थिएँ । कम्तीमा पनि सरकार, राजनीतिक दल र जिम्मेवार नागरिकहरुले यसतर्फ ध्यान दिउन् भन्ने मेरो आशय थियो । यसपछि जनमोर्चाको अर्काे पक्षलाई निर्वाचन आयोगले मान्यता दिएपछि २०५१ मंसिरको मध्यावधि निर्वाचन बहिष्कारको घोषणा डा. भट्टराई पक्षले ग-यो । मलाई के आश्चर्य लागिरहेको छ भने प्रचण्डले भनेअनुसार नै हिंसात्मक अभ्यास बिस्तार भएको थियो ।

त्यस दिन एउटा रमाइलो प्रसंग चल्यो । मैले उहाँका विषयमा धेरै कुरा सोधें– रामपुर पढ्दा, आरुघाटमा पढाउँदा र एक विदेशी संस्थामा जागिर खाँदा र त्यसपछि भूमिगत भएका विषय थिए ती । त्यही मेसोमा मैले उहाँको परिवारबारे प्रश्न गरेँ । उहाँको उत्तर थियो– ‘एक श्रीमती, तीन छोरी र एक छोरा छन् ।’ मैले ठट्टा गर्दै सोधें, ‘त्यसो भए सबैभन्दा कान्छा चाहिँ छोरा होलान् ?’ यसो भन्नासाथ प्रचण्ड र डा. भट्टराई मरीमरी हाँस्नु भयो र भन्नुभयो, ‘तपाईंले कसरी अनुमान गर्नुभयो ?’ मैले भनें, ‘हाम्रो समाज छोराका निम्ति बढी व्यग्र हुन्छ । सुरुमा नै छोरा भएको भए सायद् चार सन्तानको आवश्यकता हुने थिएन होला ।’

उहाँले यस सत्यलाई स्वीकार गर्दै भन्नुभयो, ‘के गर्नु तपाईंको भाउजुले मानिनन्, एउटा छोरो चाहिन्छ भनिरहिन् । घरमा सम्झाउन गाह्रो हुन्छ । गएको साल जेठी छोरीको बिहे विधिपूर्वक गरिदिएँ ।’ मैले ठट्टामा तर गम्भीर प्रश्न गरेँ, ‘एक जना घरकै पत्नीलाई परिवर्तन गर्न नसक्ने तपार्ईं देशभरीका महिला र पुरुषलाई क्रान्तिकारी परिवर्तन गर्ने आँट कसरी गर्नु हुन्छ ?’ मेरो यो प्रश्नको उत्तर त्यसबेला प्रचण्डले नदिए पनि समयले दिन थालेको छ भन्ने मलाई स्मरणीय लाग्दै छ ।

(वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालको ‘मेरो पत्रकारिता’ पुस्तकबाट साभार)