मनोरञ्जन

भिडियो

नेपालको दोस्रो हवाइ संग्रहालय, यस्तो छ भित्री कथा (भिडियोसहित)

सोमबार, २३ असोज २०७४ गते मा प्रकाशित

bed-uprety-aviation-meseum-nepalaaja

काठमाडौं । एउटा अंग्रेजी भनाइ नै छ, ‘द प्लेस ह्वेर दियर इज नो अपर्चुनिटी, दियर इज बिगेस्ट अपर्चुनिटी अफ क्रियटिङ अपर्चुनिटी’ । अर्थात, जहाँ अवसर नै छैन, त्यहाँ अवसर सिर्जना गर्ने ठूलो मौका हुन्छ ।

नेपालमा भविष्य नै छैन भनेर विदेश पलायन हुनेहरुको भिडमा थुप्रै भविष्यका मुहान देख्दै छन् पाइलट वेद उप्रेती । नेपालमा पहिलो हवाइ संग्रहालय सञ्चालनमा ल्याएका उनको चर्चा अहिले चौतर्फी छ । पाइलट भएर उनले नेपालमा मात्र जहाज हुँइकाएनन्, अन्तर्राष्ट्रिय स्तरमा पनि आफूलाई स्थापित गराए । हाल उनी इन्डोनेसियाली विमान लायनका क्याप्टेन हुन् । तर, यतिमा मात्र उनको परिचयको पूर्णविराम लाग्दैन ।

पाइलट हुनुका अन्य धेरै फाइदालाई प्रयोग गर्न सफल भएका छन् उप्रेती । उनी प्रशिक्षक पनि हुन् । आज उनले प्रशिक्षण दिएका पाइलटहरुको संख्या नै १०० बढी नाघिसकेको छ । एउटा पाइलटले जीवनमा ठूलो सौभाग्य पाउँछ भने त्यो हो, हिमाल, पहाड र आकाशको नजिकबाट यात्रा गर्न पाउने । मानिसले पँधेरोबाट फर्किंदा त मनमा मनग्य कथा बटुल्न पाउँछ भन्छन् । त्यसमाथि दिनहुँजसो हिमालको नजिक पुग्दा मनमा कति भावना गुञ्जिएलान् ?

जीवनको ३० वर्षसम्मको उडानयात्राका अनुभवलाई उनले मनमा मात्र गुम्स्याएका छैनन् । आफ्ना अनुभवलाई संगालेर किताबै प्रकाशन गरेका छन् । ‘ब्युटिफुल माउन्टेन अफ नेपाल’, ‘एभरेष्ट फ्रम दि एयर’, ‘अन्नपूर्ण सर्किट फ्रम दि स्काई’ उनका चर्चित प्रकाशन हुन् । तर, आफूलाई सक्षम लेखक भने मान्न तयार छैनन् उप्रेती ।

आफ्नो किताबका लागि फोटोहरु पनि उनी आफैं खिच्ने गर्छन् । त्यसकारण त उनको अर्को परिचय पनि हो ‘एरियल फोेटोग्राफर’ । ‘एभरेष्ट फ्रम दि एयर’ का लागि खिचेका तस्विरहरुलाई अहिलेसम्मकै चुनौतीपूर्ण र जो कोहीले खिच्न नसक्ने तस्विरको संज्ञा दिन्छन् उनी । भन्छन्, ‘यस्ता फोटोहरु जो कोहीले खिच्न सक्दैन ।’

ती सुन्दर तस्विरहरु खिच्दाका भित्री यथार्थ पनि कम्ती डरलाग्दा छैनन् । ‘एभरेष्ट फ्रम दि एयर’ का लागि उनी फोटो खिच्दै थिए । प्लेन सगरमाथाबाट तीन सय फिट तल खस्यो । तर, समयमै रिकभर गर्न सफल भएकाले सबै सुरक्षित भए । यस्ता जीवन र मृत्युको संघारमा परेका उनीसँग कैयन अनुभवहरु छन् ।

उनले नेपाली सेनामा पनि १२ वर्ष पाइलटकै रुपमा बिताएका छन् । कैलालीको मध्यमवर्गीय परिवारमा जन्मिएका वेद एसएलसीपछि आई एस्सीमा भर्ना भए । उनको सपना इन्जिनियर बन्ने थियो । आर्मी पाइलटका लागि आवेदन खुलेपछि उनले पनि आवेदन दिए । त्यहीँबाट उनले तालिम प्राप्त गरे । आईएस्सीमा प्रथम श्रेणीमा उत्तीर्ण गरेका कारण उनी सजिलै छनौट भए । १२ वर्षपछि सेनाको जागिरलाई बिट मारेर उनले व्यावसायिक पाइलटको तालिम लिन सुरु गरेका हुन् ।

धनगढीमा उनले नेपालकै पहिलो हवाई म्युजियम सञ्चालनमा ल्याएको पनि केही वर्ष बितिसकेको छ । माध्यमिक तहका विद्यार्थीलाई निःशुल्क छुट दिइएको उक्त संग्रहालयमा एउटा रेष्टुराँसहित त्यहाँभित्र थुप्रै साना जहाजहरु पनि राखिएका छन् । यसरी महंगो जहाज खरिद गरेर संग्रहालय स्थापना गर्नुको उद्देश्य के त ? उनले भने, ‘यसबाट धेरै कुराको लाभ लिन सकिन्छ । जस्तो पर्यटन वृद्धिमा यसले भूमिका खेल्न सक्छ । अर्को कुरा अबको पुस्तालाई एभियजनमा इच्छा जगाउनका लागि पनि यो आवश्यक छ ।’

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा टर्किस एयरको एयरबस ३२० मा संग्रहालय निर्माण हुँदै छ । करिब ६ करोडको एकल लगानीमा उक्त संग्राहलय बन्न लागेको हो । ‘वेद फोटो ग्यालरी’ नाम राखिएको उक्त संग्रहालयमा उनले खिचेका तस्विरहरु र अन्य साना विमान राखिनेछन् । उक्त एयरबसको ककपिटभित्र राइट ब्रदर्सको पालादेखि अहिलेसम्मका मोडेल एयर क्राफ्ट राखिनेछ । त्यसैगरी एभिएसनको इतिहास र आगामी रणनीतिसम्बन्धी वृत्तचित्र र नेपालको एरियल फोटोग्राफी (आकाशबाट खिचिएका तस्विर) प्रदर्शनी गरिनेछ । फिस्टेल एयरको हेलिकोप्टर पनि संग्रहालयमा अटेको छ । यसका साथै उक्त जहाजको तल्लो तल्लामा क्याफे पनि खुल्नेछ । जुलाईदेखि सञ्चालनमा आउने उक्त संग्रहालयमा भित्र जाने मूल्य भने अहिले नतोकिएको उनले जानकारी दिए ।

नेपालमा धनगढीको हवाई संग्रहालय पहिलो हो । कस्मिक एयरको ग्राउन्डेड विमानको उक्त म्युजियममा करिब तीन सय साना विमान राखिएका छन् । हवाइयात्राको क्रममा विभिन्न देशहरु घुम्ने अवसरमा सिकाइलाई व्यवहारमा उतारेको उपज हो त्यो । अन्य देशमा बिग्रिएका जहाजहरुको यस्तो सदुपयोग गरेको देखेर नै उनले नेपालमा पनि यही कुरालाई लागू गर्ने नयाँ सोच बनाए ।

उक्त संग्रहालयको स्थापनाले अहिले धेरैले रोजगारीको अवसर पाएका छन् । काम गर्ने कामदारमात्र नभएर मेकानिकल इन्जिनियरहरुले पनि नयाँ अवसर पाएका छन् । सिनामंगलस्थित बन्दै गरेको संग्रहालयमा पुग्दा केही इन्जिनियर विद्यार्थीहरु प्रफुल्लित देखिन्थे । आफ्नो लगाव पनि मेकानिकलको क्षेत्रमा भएकाले त्यहाँ काम गर्दा उनीहरुको मुहारमा भिन्नै चमक देखिन्थ्यो । वेदले भर्खरै एरोनटिक्स पढ्दै गरेका विद्यार्थीलाई काम सिक्ने र आफ्नो कलालाई प्रस्फुटन गर्ने अवसर दिएका छन् ।

कुराकानीको अन्त्यतिर अर्को रमाइलो र तीतो सत्य बोकेको प्रश्न पनि उनलाई तेस्रियो । ‘वास्तवमा पाइलट र एयर होस्टेजको सम्बन्धलाई किन नकारात्मक रुपमा हेरिने गरिन्छ ?’ प्रश्न झर्न नपाउँदै उनले भने, ‘वास्तवमा नराम्रो होइन । तर, नराम्रो बनाइएको हो । हामीबीच प्रोफेसनल सम्बन्ध नै बढी हुन्छ । नराम्रो भन्नेलाई चुप लगाउन कोशिश गरेर साध्य छैन ।’

‘एयर होस्टेजहरु सुन्दरताका खानी पनि मानिन्छन् । विशेषगरी अन्तर्राष्ट्रिय स्तरका एयर होस्टेजहरु अत्यन्त सुन्दरी हुने धेरैको भनाई छ । त्यस्ता सुन्दरी देख्दा मन कत्तिको पग्लन्छ ?’ जवाफमा उनले भने, ‘मन त हो । राम्री केटी देखेपछि त पक्कै पनि पग्लिन्छ । तर, त्यसमा भन्दा पनि बढी काममा नै फोकस हुन्छ ।’