बिचार / ब्लग

युद्धकालमा गाउँमा भेटेको भए खड्ग ओलीलाई भाटा हान्थ्यौं

सोमबार, २३ असोज २०७४ गते मा प्रकाशित

kp-sharma-oli-gopal-kirati-nepalaaja

–गोपाल किराँती, नेता, नेकपा माओवादी केन्द्र 

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीलाई एमालेमा विलय गराउने जुन निर्णय गर्नु भएको छ यो आपत्तिजनक छ । नेकपा एमाले भनेको कम्युनिष्ट पार्टी नै होइन । यो पार्टीले कम्युनिष्ट विचार र आदर्शलाई स्वीकार पनि गर्दैन । यो पार्टीले मूलत माओवाद र पहिचानको मुद्धालाई स्वीकार गरेको छैन । एमाले भनेको पहिचानविरोधी पार्टी हो । संविधान संशोधनको विपक्षमा उभिएर एमालेले आफू पहिचान विरोधी भएको स्पष्ट गरिसकेको छ ।

 

माओवाद र पहिचानको मुद्धालाई धरापमा पारेर विलय स्वीकार गर्न सकिँदैन । अवस्था यसै गरी अगाडि बढ्यो भने मैले पार्टी छाड्नु पर्छ र नेकपा माओवादी केन्द्र पुनर्गठन गर्नु पर्ने अवस्था देख्दैछु ।

 

मेरो यस विषयमा अध्यक्ष प्रचण्डसँग कुराकानी पनि भइरहेको छ । उहाँलाई मैले मेरा यी दुई विषय पूरा हुन्छन् भन्ने प्रत्याभूति दिनुस भनेको छु । उहाँले पार्टी भित्रको आन्तरिक दुई लाइन संघर्ष गर्नुस पार्टी छाडेर जाने कुरा नगर्नुस भन्नु भएको छ । मैले माओवादको आन्दोलनमा दुई लाइन संघर्ष गर्न सकिन्छ तर पहिचना र माओवादको सत्रु नेकपा एमालेसँग विलय भएर कसरी संघर्ष गर्न सकिन्छ ? भन्ने मेरो तर्क हो ।

 

पहिचानको विषय भनेको आन्तरिक राष्ट्रियता व्यवस्थापनको कुरा हो । किराँत राज्य प्राप्तिका लागि सशस्त्र आन्दोलन गरिरहेको बेला हामी जनयुद्धमा समाहित भएका थियौं । तर अहिले एमालेसँग विलय हुने कुरा आएको छ । सबैलाई थाहा छ त, एमाले भनेको हरिया घाँसमा नदेखिने गरी लुकेर बसेको हरियो सर्प हो । यस्तोसँग मितेरी लगाउन मिल्छ ?

 

जसले माओवाद मान्दैन त्यो कम्युनिष्ट हुन सक्दैन । मान्यताअनुसार हिन्दूभएपछि वेद मान्नु पर्छ, मुसलमानले कुरान मान्छ, बौद्धमार्गीले धम्मपथ मान्छन्, कम्युनिष्टले पनि माओवाद मान्छन् । एमाले त त्यो सब मान्दैन ।

 

प्रचण्डले के सोचेर यसो गर्नुभयो मलाई थाहा छैन । असल सोचेको भए पनि हामी भौतिकवादीहरु मनमा असल होला भनेर पत्याउँदैनौं । असोज १६ र १७ गतेको बैठकमा जे उहाँले भन्नु भयो त्यही हो हामीले पत्याउने । अब अहिलेसम्मको अवस्थामा प्रचण्ड मेरो नेता हो । भगवान होइन । गल्ति जोबाट पनि हुन्छ । हुनु अनौठो पनि भएन । नेतृत्वको आलोचना र विरोध हुन्छ । अहिलेसम्मको अवस्थामा मैले प्रचण्डलाई अध्यक्ष अस्वीकार गरेको छैन । गर्न पनि सक्छु ।

 

अब ओलीको कुरा गर्दा उनी त फटाहा हुन् । वर्षौंसम्म विदेशीको दलाली गरे । मर्ने बेलामा केही राम्रो गरौं भन्ने लागेर हुन सक्छ उनले अहिले राष्ट्रवादको राग अलापेको । वनको राजा कुसुन्डालाई हजुर भन्नु परो भने जस्तो भयो पार्टी लगेर एमालेमा मिसाउँदा ।

 

माओवादी र एमालेले छ बुँदे सहमति गर्दा एकले अर्काको आलोचना नगर्ने भन्ने सहमति पनि छ । तर मैले त छ बुँदे मानेकै छैन । यसकारण म बोलिरहेको छु । खड्ग ओली फटाहा नै हो । जनयुद्धकालमा गाउँतिर भेटेको भए ओलीलाई भाटा हानिन्थ्यो । सहर बसेका कारण छुटे । जनयुद्धले गाउँ जित्यो, सहर जित्न नसक्दा खड्ग ओली जस्ता फटाहा बचे ।

 

यति हुँदा हुँदै पनि मानिस परिवर्तन हुन सक्छ भन्ने विज्ञानको नियम छ । रत्नाकर डाकु वाल्मिकी भए । तर म खड्ग ओलीमा सुध्रिने संकेत भने देख्दिनँ । जाली नै छन् । यस्तै रहिरहन्छन् ।

 

वाम एकताको कसले गरायो, कसरी भयो, भारतले हो कि चीनले हो भनेर मानिसहरु लख काटिरहेका छन् । म त्यस्ता मान्छेलाई भन्न चाहन्छु कि यस्तो पराधीन मानसिकता त्याग्नुस । नेपालीहरु आफैले पनि यस्ता निर्णय आफै लिन सक्छन् । हामी आफैले आफ्नो काम गर्न सक्छौ । खड्ग ओली र प्रचण्डकै निर्णयमा यसो भएको हो भन्ने मलाई लाग्छ ।

 

यसमा माओवादीहरुले भुल्न नहुने कुरा के छ भने एमालेले प्रचण्डलाई कार्यकारी राष्ट्रपति बनाउँछ भन्ने नसोचे पनि हुन्छ । एमाले जस्तो छट्टु पार्टीले प्रचण्डलाई कार्यकारी दिँदैन । यो कुरामा ढुक्क भए हुन्छ । अब सहमति नै ६० र ४० को छ । पार्टीमा ५१ प्रतिशत हुँदा त बहुमत पुग्छ । जसो गरे पनि हुन्छ । ६० प्रतिशतले त पेलिहाल्छ नी ।

 

यो धु्रवीकरणमा खतरा को बाट होला भन्ने सबैलाई लागेको छ । मेरो बिचारमा पहिलो खतरा त एमालेबाटै छ । त्यसपछि बाबुरामबाट छ । बाबुरामले दुई वर्षसम्म कम्युनिष्टको विरोध गर्नुभयो । अब अहिले फेरि आउनु भएको छ । यहाँ कम्युनिष्ट पार्टी बनाउन र बन्न आउनु भएको होइन । कम्युनिष्ट नबनाउन चाहिँ आउनु भएको हो । चार जना बुढाबुढीले धानेको पार्टी थियो । ठूलो ठाउँ पाउनु भयो आउनु भयो ।

 

मैले माओवादी पुनर्गठन गर्नु पर्यो भने मेरो पार्टीमा धेरै अटाउँदैनन् । जस्तो कि मोहन बैद्य हाम्रो दाजु हुनुहुहुन्छ । तर राजनीतिमा पारा ल्याउनु हुन्न । विप्लव पहिचान विरोधी हुन् । उपेन्द्र यादव माओवादी विरोधी हो । यस्तासँग सहकार्य सम्भव छैन ।

 

म यसपटक चुनाव पनि लड्दीन । प्रचण्डले मनस्थिति बिगारिदिएका छन् । मनस्थिति बिग्रेको बेला चुनावमा जानु हुँदैन । मैले भनिसकेको छु, समानुपातिकमा पनि नाम नराख्नू भनेर । मैले भनेको नमानी नाम राखिदिए भने निर्वाचन कार्यालय गएर फिर्ता लिइदिन्छु ।

 

म त अब बैचारिक काम गर्ने हो । ३० हजार त किताब पढिसकेको छु । अब ३० हजार पढ्छु । अब वैज्ञानिक भएर काम गर्छु । मलाई सांसद मन्त्री हुने कुनै शौख छैन । दुई पटक चुनाव लडे । एक पटक जित एक हार भयो । त्यो बेला पनि बाध्यताले लडेको थिएँ ।

(नेता किराँतीसँग भएको कुराकानीमा आधारित)