राजनीति

भिडियो

'अहिलेको घटना त चुनावी तालमेल मात्रै हो' (भिडियोसहित)

शुक्रबार, २० असोज २०७४ गते मा प्रकाशित

madan-rai-party-unification-nepalaaja

नयाँ शक्ति नेपालका संस्थापक नेता मदन राईका धेरै पहिचान छन् । कृषि वैज्ञानिक, जीवन दर्शनका अध्येता, यौन र जीवनबारे विशेष ज्ञान बोक्नु भएका राई यसपटकको निर्वाचनमा खोटाङबाट चुनाव लड्दै हुनुहुन्छ । कम्युनिष्ट भन्ने शब्द नै मन नपराउनु हुने राईलाई हामीले सोध्यौं, ‘अब तपाईको पार्टी त कम्युनिष्टसँगै मिल्ने भयो नी । के भन्नु हुन्छ ?’ राईको जवाफको भाव निम्नानुसार छः

‘मानिसहरु एक ठाउँमा संगठित भएर बस्छन् । यो परापूर्वकाल देखिको कुरा हो । राजनीतिक दलहरु पनि धेरै भए भने अस्थिरता हुने रैछ । आर्थिृृक विकासका लागि घातक हुने रहेछ । दलहरु पनि केही हदसम्म संगठित हुन आवश्यक हुन्छ । यो राम्रो कुरा हो । अब थ्रेस होल्डको कुरा पनि छ । पार्टीहरुको धु््रवीकरणले कांग्रेसलाई पनि दबाब भएको छ । अब नेपालमा नौ वटा जति राष्ट्रिय पार्टी बन्न सक्छन् । दुई खाले गठबन्धन बन्यो भने कुनै एकले स्पष्ट बहुमत ल्याउँछन् । दुई तिहाई पनि आउन सक्छ । त्यस्तो भयो भने प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गर्न सजिलो हुन्छ ।

बाबुराम भट्टराई त त्रिकालदर्शी हुनुहुन्छ । नयाँ शक्ति यो गठबन्धनमा सहभागी भएका कारण अहिले यति हंगामा भएको छ । बाबुराम भट्टराई अर्थशास्त्री, राजनेता र इञ्जिनियर हो । यस्तो क्षमता भएको कोही पनि नेता छैन नेपालमा । केपी ओली र प्रचण्डलाई पनि धन्यवाद भन्न चाहन्छु । भोलि केपी र प्रचण्डलाई विस्थापित गर्ने क्षमता भएको नेता हो बाबुराम । तर पनि उहाँहरुले बाबुरामलाई एकतामा सहभागी गराउनु भयो ।

बाबुराम भट्टराईले प्रचण्डको बारेमा बिगतमा भनेका कुरा सत्य हुन् । मेरो मतमा पनि प्रचण्ड राजनीतिक अपराधी हुन् । उनले सरकारमा हुँदा शक्तिको प्रयोग गरेर नयाँ शक्तिलाई चुनाव चिन्ह दिएनन् । प्रचण्ड गल्ति तमाम छन् । तर राम्रो पक्ष पनि छन् । राम्रो कुरा खोज्नु पर्छ ।

अहिलेको घटना त चुनावी तालमेल मात्रै हो । पार्टी एकता त टाढाको कुरा हो । मलाई कम्युनिष्ट भन्ने मन पर्दैन । अब नयाँ शक्ति, एमाले र माओवादी मिलेर फेरि कम्युनिष्ट पार्टी बन्यो भने म त्यहाँ बस्दिनँ । किनभने म कम्युनिष्ट होइन । हुन पनि चाहन्न । बाबुरामलाई प्रचण्डले कमरेड भन्नु ठिकै हो । उहाँ पूर्व कम्युनिष्ट हो । मुठी कसेर अभिभादन गर्नुलाई पनि लागेको बानीका रुपमा बुझ्छु ।

मूल कुरा आर्थिक समृद्धि हो । मुसा मार्नु पर्ने छ बिरालोको रङसँग के मतलव । समृद्धिको लागि दलहरु एक हुनु राम्रो हो । सबै खाले बादहरु बेकार हुन् । यी त बरबाद हुन् । म त समयवाद मान्छु ।

म जीवनको उत्तरार्धमा कम्युनिष्ट हुन सक्दिनँ । कम्युनिष्ट भनेको भ्रम हो ।’