अन्तरवार्ता

भिडियो

प्रचण्डलाई सनासोले च्यापेर दुःख दिन सक्ने क्षमता ओलीमा छ (भिडियोसहित)

शुक्रबार, १० कार्तिक २०७४ गते मा प्रकाशित

pradip-nepal-gyanendra-nepalaaja

वाम एकता, पूर्वराजाको अभिव्यक्ति, केपी ओली र प्रचण्डको शैली, धर्म, दर्शन आदिबारे नेकपा एमालेका नेता प्रदीप नेपालसँग कुराकानी गरेका छौं । नेपालले अन्तर्वार्ताका क्रममा व्यक्त गर्नुभएको धारणाको सार निम्नाननुशार छः 

निर्वाचनमा राजनीतिक पार्टीहरुबीच तालमेल हुनु स्वभाविक हो । यसलाई अनौठो नमान्दा हुन्छ । तर तालमेलका नाममा ६०–४० हुनु चाहीँ स्वभाविक छैन । गणित राम्रो नराखी, कार्यकर्ताको मत संकलन नगरी ६० –४० भन्नु उपयुक्त हुने थिएन । आफू कमजोर भए ठाउँ पार्टनरलाई दिने, पार्टनर कमजोर भएको ठाउँमा आफूले लिने गरी तालमेल हुने गर्छ । तर ६०– ४० ले चितवनमा माओवादी, रुकुममा एमाले उठाउने जस्तो भयो कि भन्ने मलाई लागेको छ । त्यस्तो हो भने तालमेलको के अर्थ ?

तालमेलमा प्रचण्डले चलाखी गरे भन्नु भन्दा पनि खास कुरा केपी ओली पनि कम हुनुहुन्न । छट्याइँमा प्रचण्डभन्दा केपी ओली धेरै माथि हुनुहुन्छ । उहाँ आफूलाई फाइदा नहुने गरी काम गर्नुहुन्न । घाटा हुने गरी कुनै सम्झौता गर्नुहुन्न । बरु एक्लै मर्छु भनेर हिँडनु हुन्छ तर फाइदा नहुने काम गर्नुहुन्न । तालमेल गर्दा जहिले पनि ठूलो पार्टीले सानु पार्टीलाई केही लाभ हुने गरी नै दिने गर्छन । हामीले पहिले देखि नै गरेको हो । अहिलेको माओवादी केन्द्र पहिले नेकपा मशाल थियो । ४८ सालमा मशाललाई हामीले १० सिट छाडेकै हो । ५१ सालको चुनावमा पनि १० सिट छाडेकै हो ।

जहाँसम्म बाम एकताको कुरा छ म कतै पनि देख्दिनँ । अहिले माओवादीलाई फाइदा हुने गरी तालमेल भयो भन्ने कुरा जहाँसम्म छ । मलाई के लाग्छ भने केपी ओलीलाई म २९ सालदेखि चिन्छु । उहाँ जो कोहीलाई पनि लडाउन सक्ने क्षमताको हो । लाटो मान्छे होइन । अहिले त्यति ठूलो बलिदान किन गर्नुभयो मलाई थाहा छैन ।

चुनावमा जाने र प्रधानमन्त्री बन्ने, मुख्य मन्त्री बन्नकै लागि हो । तर नेपालमा मूलत दुई पार्टीहरु नै हुन् । वामपन्थी र दक्षिणपन्थी । नेपाली कांग्रेसमा विपी हुञ्जेल त्यो पार्टीभित्र वाममार्गी पनि थिए । विपी आफै वाममार्गी थिए । ४८ सालपछि चाहिँ कांग्रेस सकियो । दक्षिणपन्थी भयो । यसकारण दक्षिणपन्थीको नेतृत्व कांग्रेसले लिन्छ । वामपन्थीको नेतृत्व नेकपा एमालेले लिन्छ । एमालेकै लाइनमा नेपालमा वाममार्ग चल्छ । एमालेले जनताको बहुदलीय जनवाद छाडदैन । मैले एक पटक प्रचण्डलाई भेटदा भनेको थिएँ, ‘तपाईसँग बाबुराम पनि हुनुहुन्न, बैद्यले त पहिले नै छाड्नु भयो । तपाईको माओवाद भनेको कुनै विचार शिद्धान्त पनि होइन । एउटा भ्रममात्रै हो । माओवाद समाउनुको अर्थ छैन । यसकारण आउनुस एमालेमा । म तपाईलाई एमालेको नेता बनाउँछु । ’ मैले त्यो बेला जनताको बहुदलीय जनवादको विकल्प खोज्न सकिन्न । त्यो उहाँहरुले मान्नु भयो भने मात्रै वाम एकता हुन्छ । नत्र हुँदैन ।

माओवादीले ‘जबज’ मान्दैन, हामी माओवाद भन्ने भ्रम ठान्छौं । यसकारण यी दुई बीच एकता सम्भव छैन । विचार नमिलेपछि पार्टी मिल्दैन ।

बाबुरामजी विचार नभएकै कारण सकिनु भयो । रवीन्द्र मिश्रको फूर्ति धेरै थियो, विचार नभएकैले शुन्यमा पुग्नु भयो । रञ्जु दर्शना भन्ने राम्री फूर्तिली रैछिन्, उनले भोट तानिन् ।

हाम्रो नेपाली समाज अत्यन्त राजनीतिककृत भएको छ । यो समाजले विचार नै माग्छ । जनताले पनि दुई पार्टी नै मागेका छन् ।
..

प्रचण्ड भन्ने मान्छे जहिले पनि जस्तो पनि भइदिन सक्ने मान्छे हुन । अटलविहारी बाजपेयीलाई लेखेर दिएको चिठ्ठी एसडी मुनीले सार्वजनिक गरे । त्यस्तो कुरा त हामीले सोच्न पनि सक्ने थिएनौं । त्यस्तो कुरा हाम्रो थाहा भएको भए त हामी बाँच्नै सक्ने थिएनौं । तर उहाँले त सजिलै, ‘त्यसो नगरेको भए भारतमा हामी बस्नै सक्ने थिएनौं । बाँच्ने थिएनौं’ भनिदिनु भयो । सकियो । नैतिकता भन्ने नै केही नभएपछि त सकिँदो रहेछ । एकपटक देउवाले ज्ञानेन्द्रलाई सत्ता बुझाएका थिए, प्रचण्डले कुन दिन ज्ञानेन्द्रलाई बुझाउनु हुन्छ भन्न सकिन्न । उहाँ अडिने मान्छे होइनन् । बरु उनको पार्टीका तिनै नारायणकाजी हुन्, उनी लेफ्ट छाड्नु हुन्न भनिरहन्छन् ।

अहिले बाम एकताको कुरा त आयो । तर धेरै मान्छे डराएका छन् । किनभने प्रचण्ड लाजगाल नभएको मान्छे भएरै हो । तर केपी ओली पनि लद्दु होइन । अहिलेसम्म पछारिएको देखिएको छैन । राम्रो भाषामा भन्ने हो भने अहिलेको एकता दुई (प्रचण्ड केपी) बाठाहरुको एकता हो । नराम्रो भाषामा भन्ने हो भने दुई चोट्टाहरुको एकता हो । जित चाहीँ केपीकै हुन्छ ।
...

मलाई एमाले र माओवादीको एकता हुन्छ भन्ने लाग्दै लाग्दैन । मूल कुरा ‘जबज’ हो । एमालेकै अहिलेका धेरैजसो नेता जबजको विरोधी थिए पहिले । मनमोहन अधिकारी नै विरोधी हुनुहुन्थ्यो । झलनाथजी विरोधी नै हो । झलनाथले जबजलाई दक्षप्रजापतिको टाउको भन्नु हुन्थ्यो । सिपी त बाहिरीहाल्नु भयो । जसले जबज मानेन तिनीहरुले अहिले पनि मान्दैनन् । अब फेरि पनि सरकार बन्ने भयो भने र केपीले त्यही जबज लागू गर्न खोज्नु भयो भने उहाँ एक्लो पर्नु हुनेछ ।

जहाँसम्म माओवादीलाई ४० प्रतिशत दिएको कुरा छ, यो स्वभाविक हो । पहिले पनि दिएकै हो । पछि पनि दिन्थ्यौं । ५२ सालमा उहाँहरु इन्डियातिर लाग्नु भयो ।
..

प्रचण्डको विषयमा पछिल्ला १२ महिनाका व्यवहार हेर्नै पर्दैन । १२ घन्टामा कुरा फेर्नु हुन्छ । त्यो पनि सानो होइन डरलाग्दो कुरा फेर्नुहुन्छ । हाम्रो केपीजीमा पनि सनासोले च्यापेर दुःख दिन सक्ने मान्छे हो । प्रचण्डले धोका दिनु भयो भने सनासोले च्याप्न केपी खप्पीस हुनुहुन्छ । मूल कुरा दुई पार्टी एकता हुँदैन । किनभने उनीहरु माओवादी छाड्दैनन् । हामी माओवादलाई कुनै वाद नै ठान्दैनौं । माओवाद भनेको कृषिप्रधान देशमा गुरिल्ला युद्धबाट सानो शक्तिले ठूलो शक्तिलाई परास्त गर्ने कुरा हो । चीनमै माओवाद भनिदैन । यिनीहरुले भनेका हुन् ।
..

माओवादीको युद्धले १७ हजार मानिस मात्रै मारिएका छैनन् । १७ हजार मारिँदा १७ लाख मानिसलाई पीडा हुन्छ । हाम्रो एकजना यदु गौतमलाई उनीहरुले मारे । १० वर्षसम्म उनका छोराछोरीको विजोग भयो । ६२ अर्ब त आर्थिक क्षति गर्नुभयो । त्यो बेलाको दुई बर्षको बजेट थियो त्यो । यसकारण माओवादीले गरेको जनयुद्ध होइन राष्ट्रिय अपराध हो । पार्टीहरुले त्यो अपराधलाई राजनीतिक घटनाक्रम भनेर स्वीकार गरे । किनभने उनीहरु डराए । तर मैले त अहिलेसम्म अपराध नै मानेको छु । संसारको कतै पनि जनयुद्धमा जनता मारिएका छैनन् । उनीहरुले पत्रकार डेकेन्द थापा, ज्ञानेन्द्र खडकालाई कसरी मारियो हेर्नुस त । ज्ञानेन्द्र खडकालाई त दसैमा बोका काटे जसरी काटेर मारिएको हो ।

तत्कालीन नेकपा मालेले १० जना मारेर यति ठूलो पार्टी बन्यो भने हामीसँग पनि शक्ति छ, जनयुद्ध नामक काम गरांै, धेरै मान्छे मारौं अनि ठूलो पार्टी बनौं भनेर ५२ सालमा माओवादीले जनयुद्ध सुरु गरेको भन्ने थाहा पाए मैले । मान्छे मारेरै ठूलो पार्टी हुने योजना त उनीहरुको पहिलेदेखि नै रहेछ ।
..

गठबन्धन कार्यकर्तामा आधारित भएमात्रै गठबन्धन सार्थक हुन्छ । कांग्रेस जनतामा आधारित पार्टी हो । यो पार्टीसँग गठबन्धन गर्नुको अर्थ हुँदैन । कार्यकर्तामा आधारित पार्टीले आफ्ना कार्यकर्तालाई निर्देशन दिन सक्छ । तर जनतामा आधारितले जनतालाई आदेश दियो भने आफै सकिन्छ । यसकारण बाम एकता भए पनि कांग एकता सम्भव छैन ।
..

पूर्वराजाले हालै आफ्नो अभिव्यक्ति सार्वजनिक गर्नुभयो । कतिपयले यसलाई निको मानेनन् । तर मेरो भनाइ यो हो कि ज्ञानेन्द्रले पनि बोल्न पाउनु पर्छ । उनले पनि बोल्न पाउने व्यवस्था हामीले ल्याएका हौैं । ज्ञानेन्द्रले के गर्नुहुन्छ हुन्न भन्ने कुरा जनताले हेरेका छन् । सातसालको कुरा त गर्दिन । किनभने नाबालकलाई राणाहरुले गद्दिमा राखिदिएका थिए ।

उहाँको शासन शैली ५९,६० ६१ र ६२ मा देखियो । उहाँको शासन शैली हाम्रा नेताहरुको भन्दा एक इन्च पनि फरक देखिएन । उहाँले जम्मा गर्ने भनेको पनि समयले नपत्याएका, डेट एक्सपाएर भएका, थोत्रा मान्छेहरु हुन् । तुलसी गिरीजस्ता भ्रष्टाचारी, अनाचारी, दूराचारी व्यक्तिलाई ल्याएर उपाध्यक्ष बनाउनु भयो । ज्ञानेन्द्रले केही गर्न सक्दैनन् । फेरि बोल्दैमा के हुन्छ र ? गर्न सक्नु पर्यो नी ।

मूल कुरा ज्ञानेन्द्रमै कुनै क्षमता देखिएन । शेरबहादुरलाई ‘असक्षम’ त भने तर उनी आफै सक्षम भएको प्रमाणित गर्न सकेनन् ।

..

मलाई के लाग्छ भने अहिलेको मितिमा जनमत संग्रह हुने हो भने जनताले धर्मनिरपेक्षताको पक्षमा मत दिन्छन् । तर संविधान जारी हुने बेला जनमत ंसंग्रह हुने हो भने जनताले हिन्दू राष्ट्र रोज्नेछन् । यस्तो विवादीत विषयमा जनमत संग्रह गर्नु पथ्र्यो । दलहरुले गरेनन । गलत गरे । तर म नास्तिक हो । धर्मनिरपेक्ष पक्षधर हो । भगवान छैनन् भन्ने कुरा मैले ऋग्वेद पढेर थाहा पाएको हो ।