राजनीति

बाबुरामले आफ्ना पार्टीका सबैलाई धोका दिएर एक्लैले लिए टिकट

सोमबार, ०६ कार्तिक २०७४ गते प्रकाशित
- नेपाल आज (DR)

बाबुरामले आफ्ना पार्टीका सबैलाई धोका दिएर एक्लैले लिए टिकट

काठमाडौं । नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले आफ्ना पार्टीका सबै नेताहरुलाई धोका दिएर कांग्रेससँग एक्लैले तालमेल गरेका छन् । पहिलो चरणमा हुन लागेको ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमध्ये बाबुरामले कांग्रेससँग मिलेर गोर्खा–२ उम्काएका छन् । १५ सिटका लागि एमालेसँग बार्गेनिङ गरेका भट्टराईले सो नपाएपछि कांग्रेसतिर गएका थिए । कांग्रेसमा जाँदा उनले १४ विर्सेर एक्लैका लागि टिकट सुरक्षित गरे । 

पहिलो चरणको निर्वाचनमा नेपाली कांग्रेसले ३७ मध्ये एक बाबुराम र सिन्धुपाल्चोक– २ मा राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर राणालाई समर्थन गरिदिएको छ । ७० सालको संविधान सभा निर्वाचनमा गोरखा २ बाट निर्वाचित भट्टराईले बीचमै राजीनामा दिएर स्वतन्त्र बसेका थिए । नयाँ शक्ति निर्माणको उनको अभियान अहिले तुहिसकेको चर्चा हुन थालेको छ ।

नयाँ शक्तिले गति लिन नसकेपछि उनले उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरममा एकता प्रयास गरे । तर उनलाई उपेन्द्र यादवले पनि पत्याएनन् । त्यसपछि रवीन्द्र मिश्रको साझा पार्टी, विवेकशी नेपालीसँगको एकता प्रयास पनि सफल भएन । त्यसपछि भट्टराई वाम एकतामा आएर कम्युनिष्ट केन्द्र बनाउन लागि परे । एक साता जति कांग्रेसलाई पाठ सिकाउनु पर्छ भनेर अभिव्यक्ति पनि दिए । सूर्य चिन्ह लिएर उनले चुनाव लड्ने विषय बाहिरियो । १५ सिट एमालेले दिन अस्वीकार गरेपछि हाल उनी रुखको छहारीमा पुगेको टिप्पणी भइरहेको छ ।

उता वाम गठबन्धनमा ३७ प्रतिनिधि सभा सदस्य मध्ये १६ वटा माओवादी केन्द्र र बाँकी एमालेले भाग लगाएका छन् ।
पहिलो चरणको निर्वाचन मंसिर १० मा हुँदैछ । यो निर्वाचनले सोही ३२ जिल्लाबाट ७४ जना प्रदेश सभाका लागि पनि निर्वाचित गर्नेछ ।