भिडियो

विदेशी नागरिकता लिएका नेपालीलाई नेपालमै काम गर्ने वातावरण किन नमिलाउने ? (भिडियोसहित)

आइतबार, २९ असोज २०७४ गते मा प्रकाशित

ram-pratap-thapa-nepalaaja

४१ वर्षअअघि विद्यार्थी भिसामा जर्मनी गएका रामप्रताप थापा अहिले एनआएरएनए सम्मेलनमा काठमाडौंमा आएका छन् । उनी एनआरएनएका संस्थापक सदस्य पनि हुन् । जर्मन नागरिकसँग विवाह गरेका उनले लामो समय जर्मनकै एक वाणिज्य बैंकमा जागीर खाए । अहिले उनी सेवानिवृत्त भइसकेका छन् । उनले एक दशकदेखि जर्मनीका लागि नेपाल सरकारको महावाणिज्यदूतको भूमिका निर्वाह गरिरहेका छन् ।

बसोबास जर्मन भएपनि उनमा आफ्नो जन्मेको देशप्रति औधी माया छ । आफू जन्मेको देशमा केही गर्न सकिन्छ कि भन्ने सोचाइमा छन् उनी । ‘देश बनाउने काम सरकारको हो, तर यसमा हाम्रो पनि सहयोग छ जस्तो लाग्छ मलाई,’ उनले नेपाल आजसँग भने।

उनले विदेशी नागरिकता लिएर बसेका नेपालीहरुलाई देशमा आएर बस्न सक्ने वातावरण सरकारले बनाउनु पर्नेमा जोड दिए । उनले सरकारले एनआरएनलाई आफ्नो प्रतिस्पर्धीको रुपमा हेर्न नहुने बताए । ‘हाम्रो माग पूरा गर्न सरकारले कञ्जुस्याईं गरिरहेको छ, तर गर्न आवश्यक छैन, मिलेर काम गरे नैपालमै धेरै काम गर्न सकिन्छ,’ उनले भने ।

थापाले गैरआवासीय नेपालीहरुको नागरिकतालाई निरन्तरता दिन पनि माग गरे । ‘उनीहरुको अनुहार नेपालीसँग मिल्दैन, नेपाली भाषा पनि बुझ्दैन, बोल्न पनि जान्दैन । तर पनि नेपाल मेरा पुर्खाको देश हो भनेर यहाँ आएर बस्न काम गर्न चाहन्छन्, उनीहरुलाई राज्यले हेर्ने कि नहेर्ने ?,’ उनले भने, ‘त्यसैले म भन्छु उनीहरुलाई नेपालमा भविष्य खोज्ने वातावरण सरकारले बनाइदिनु पर्छ ।’

उनले विमानस्थलमा पनि गैरआवासीय नेपालीका परिवारले समस्या भोग्नु परिरहेको बताए । ‘विदेशी नागरिकसँग विवाह गरेका मानिसले जन्माएको छोरा छोरी र श्रीमतीलाई एयरपोर्टमा रोक्ने अनि श्रीमान्लाई जान दिने, यो कत्तिको उचित हो आफै बुझुने कुरा हो,’ उनले भने ।