समाचार

राणाहरुले सहीद शुक्रराज शास्त्रीलाई झुण्ड्याएको रुख अलपत्र

भनिरहेको छ सहिदको कथा, न कसैले सुन्छ न कसैलाई दुख्छ

शुक्रबार, २७ असोज २०७४ गते मा प्रकाशित

Sahid Rukh

काठमाडौं । किताबमा पचलीको एउटा रुखमा शुक्रराजलाई राणाहरुले झुण्ड्याएको इतिहास पढेको एउटा विद्यार्थी काठमाडाैं घुम्न आएको बेला टेकुमा गएर उक्त रुख हेर्ने इच्छा देखाउँछ र आफ्ना साथीहरुसँग हेर्न पुग्छ । भत्किएको र धुलाम्य सडक छिचोल्दै टेकुमा पुगेपछि उसलाई देखाइन्छ ‘यही हो शुक्रराज शास्त्रीलाई झुण्ड्याइएको खरीको रुख’

जब त्यस रुखमा नजर पर्छ मन खंग्रङ्ग हुन्छ । रुखलाई वरीपरीबाट घेरिएको छ, सानो चौतारी जस्तो बनाएर । रुखका हरिया पात धुलोले गर्दा बेरङ्गी भएका छन् । रुखको टुप्पोमा नेपालको झण्डा यसरी राखिएको छ, मानौं कहींबाट उडेर आएको थोत्रो कपडा हो । खुइलिएको । लाग्छ, यो झण्डा नफेरिएको पनि जुगौ बित्यो ।
अछामको रामारोशनबाट दशैंमा काठमाडौं घुम्न आएका राजकुमार महरलाई यसले अत्यन्तै भावविभोर बनायो । उनले यो इतिहासको वर्तमान रुप देख्दा मनै खल्लो बनाए ।

तत्कालीन राणा प्रधानमन्त्री जुद्धशमशेर जबराले राजद्रोह गरेको अभियोगमा टेकुस्थित पचलीमार्गको एउटा खरीको बोटमा प्रजातन्त्रका एक सिपाही शुक्रराज शास्त्रीलाई झुण्ड्याएर मार्न लगाए । त्यो रुख अहिले पनि टेकुमा जीवितै छ । त्रिपुरेश्वरबाट कालीमाटी जाने सडकको बायाँतर्फको यो रुख धुलैधुलो र वास्ता नगरिएको एउटा यस्तो जीउँदो सम्पति हो जो धरोहरको रुपमा भएपनि राज्यले न कदर गरेको छ न त यसको ऐतिहासिक महत्वको जर्गेना नै गर्न सकेको छ । केवल सहिद सप्ताहमा गएर एउटा मालाले रुखलाई घेर्नु बाहेक उल्लेख्य काम कहीं कतैबाट भएको छैन ।

शुक्रराज शास्त्रीले भारतका महात्मा गान्धीसँग भेट गरी नेपालका बारेमा कुरा गरेका कारण काठमाडौं फर्केपछि उनलाई राणा सरकारले नजरबन्द ग¥यो । नजरबन्द तोडेर आफ्ना मातापिताका माहिला छोरा शुक्रराजले १९९५ साल मंसिर १३ गते काठमाडौं इन्द्रचोकमा राणा शासकहरूको विरुद्धमा उनको सबैभन्दा पहिलो आमसभामा एकजुट हुन आह्वान गरेका थिए । त्यसपछि राजद्रोहको अभियोग लगाई उनलाई पक्राउ गरी तीन वर्षे कैद सुनाइयो । आठवटा मुद्दामा फसाई वि.सं. १९९७ साल माघ ६ गते दिउँसो ११ बजे सर्वस्वहरणसहित फाँसीको सजाय सुनाइयो र १९९७ साल माघ १० गते राति झुण्ड्याएर मारियो ।

यस्तो इतिहास बोकेको यो रुख हाल काठमाडौं महानगरपालिका–१२ मा पर्छ 

हालै सम्पन्न स्थानीय निकायको निर्वाचनमा नेकपा एमालेले बहुमतका साथ यस वडामा जित्यो । कुनै पनि पार्टीको घोषणापत्रमा सो रुखलाई कसरी संरक्षण तथा रुख क्षेत्र वरपर पर्यटकलाई कसरी तान्ने भनेर उल्लेख गरेनन् । आफूलाई वैकल्पिक राजनीतिक पार्टीको उपमा दिइरहेका विवेकशील र साझा पार्टीले पनि पचलीस्थित ‘शुक्रवृक्ष’ लाई सम्झने कुनै जाँगर देखाएनन् । वडा नं १२ का वडाध्यक्ष विकास डंगोललाई त यस वृक्षको नाम खरीको बोट हो भन्ने पनि थाहा रहेनछ । उनले टार्ने शैलीमा भने, ‘शुक्र वृक्षलाई कसरी संरक्षण गर्ने र त्यहाँ एउटा शालिक निर्माण गर्नेबारे सोचिरहेको छु ।’ उनले इन्जिनियरकी आमा बितेका काारण काम गर्न नसकिएको गुनासो गरे ।

नेपालमा राष्ट्रिय योजना आयोगले केही राष्ट्रिय गौरवका आयोजनाहरु बनाउँदै आएको छ । ‘महानगरपालिकाले योजना बनाउन आग्रह गरेको खण्डमा उक्त रुखलाई कसरी संरक्षण गर्ने र पर्यटकीय स्थलको रुपमा विकास गर्ने भन्ने योजना बनाउन सकिन्छ तर हालसम्म महानगरले यसको प्रस्ताव ल्याएको छैन,’ राष्ट्रिय योजना आयोगका सहसचिव तुलसीप्रसाद गौतमले नेपाल आजसँग कुराकानीका क्रममा भने ।

फास्ट ट्रयाक, अन्र्तराष्ट्रिय विमानस्थललगायतका क्षेत्रमा मात्र योजना गर्न रुचाउने योजना आयोगलाई हरेक कार्यका लागि सरकारले आग्रह गर्नु पर्छ । टेकुस्थित शुक्र वृक्षलाई नजरअन्दाज गर्न नमिल्ने एकजना समाजशास्त्री विद्दार्थीको चिन्ता छ । नेपालको हरेक प्रजातान्त्रिक आन्दोलनको जीउदो धरोहरलाई त्यसरी अवमूल्यन गर्नु सहिदको अपमान गर्नु हो । सहिद दिवसमा माल्यार्पण गर्दैमा सहीदको सम्मान हुँदैन । ‘यदि उनीहरुले देखाएको बाटोले नै हामीले गणतन्त्र ल्याएका हौं भने शुक्र वृक्ष जस्ता प्रजातन्त्रका जीउँदा प्रतीकहरुको संरक्षण गर्नु कर्तब्य हो । त्यो रुखमात्र होइन धर्मभक्त र गंगालाल श्रेष्ठलाई गोली हानेको विष्णुमती नदीको किनार र दशरथ चन्दलाई मारेको सिफलको रुखलाई पनि संरक्षण गर्नु पर्छ । चिनाउनु पर्छ,’ विद्यार्थी समुन्द्र पाठकले भने ।

उनले थपे, ‘यस वृक्षको समाजशास्त्रीय महत्व पनि दर्षाउने हो भने राज्यले समाजको प्रतीकको संरक्षण गर्नै पर्छ । हाम्रो देशले विभिन्न कालखण्डमा भोगेको सत्य देखाउने सांस्कृतिक पक्षपनि बोकेको नेपाली समाजको युगौंसम्मको धरोहर ठानेर संरक्षण गर्नुको विकल्प छैन ।’

संस्कृतिविद्् सत्यमोहन जोशीले यो रुखको ऐतिहासिक महत्वलाई सबैले मनन गर्नुपर्ने बताए । ‘जब जब त्यो रुखको बारेमा कुरा हुन्छ तब तब १९९७ साल, नेपालको जहाँनीया राणा शासन, २००७ साल र हरेक पटकका नेपालका प्रजातान्त्रिक आन्दोलनहरु मष्तिस्कमा विचरण गर्छन । यस्तो साक्षात लोकतन्त्रको प्रतीकलाई गणतन्त्र आइसक्दा पनि संरक्षण नगर्नु लज्जास्पद हो । सबै कुरा पर्यटक आउन् भनेर गर्नु जरुरी छैन, यो रुख हेर्न कोही विदेशी पाहुना नआए पनि केही फरक पर्दैन, तर हामी आफैंले यसलाई सँधै देख्न पाउनुनै भाग्य को कुरा हो,’ उनले भने, ‘शास्त्रीका आफ्नै सन्तान थिए भने वा उहाँकी श्रीमती हुनुहुन्थ्यो भने सायद यस रुखका लागि आवाज उठाउँथे होला, उहाँ त निःसन्तान हुनुन्थ्यो, हुन त उहाँले हामी सबैका लागि आफ्नो ज्यान पनि दिनु भयो, हामीले नै कदर गर्न सकेनौं ।’

सम्भवतः मुल सडकमै पर्ने भएर पनि यसलाई आवश्यक संरक्षण वा विस्तार गर्न सकिएको छैन । टेकु सडकलाई बिस्तार गर्ने हो भने महानगरपालिकाले यो रुख ढालीदिन्छ की भन्ने पीर पनि छ । घर भत्काइरहेको डोजरलाई मुल सडकमा पर्ने रुख भत्काउन के को सन्देह ? यदि साँचीक्कै रुखको संरक्षण र सम्बद्र्धन गर्ने हो भने उक्त रुख वरपरका घरहरुलाई मुआव्जा दिएर पनि शुक्रराज शास्त्रीलाई झुण्ड्याएर मारेको पचलीको खरीको बोटलाई बचाउन सकिन्छ ।

प्रस्तुती ः मञ्जु मिश्र