अपराध सुरक्षा

यस्तो छ यी पूर्वमन्त्री सञ्जय टक्लाको जेल जीवन

बिहिबार, २६ असोज २०७४ गते मा प्रकाशित

sanjaya

काठमाडौं । पहिलो संविधानसभा निर्वाचनबाट राजनीतिमा उदाएका हुन जनकपुर नगरपालिका–२ का ३९ वर्षीय सन्जयकुमार साह । त्यसअघि ठेक्का पट्टा र व्यापार व्यवसायमा सक्रिय साह पहिलो संविधानसभामा तत्कालीन मधेसी जनअधिकार फोरमबाट टिकट पाएर धनुषा क्षेत्र नम्बर ४ को चुनावी मैदानमा उत्रिएर निर्वाचितसमेत भए ।

पहिलो संविधानसभा निर्वाचनमा जितसँगै उनको राजनीतिक यात्रा सुरु भयो । यद्यपि सञ्जय मधेसी जनअधिकार फोरममा टिक्न भने सकेनन् । दोस्रो संविधानसभा निर्वाचनमा उनले राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीबाट धनुषाको पुरानै क्षेत्र नम्बर ४ बाट जित हासिल गरे । पहिलो र दोस्रो संविधानसभाको जितसँगै उनी राजनीतिक वृत्तमा छाउन सफल भए ।

सञ्जय माधव नेपालको प्रधानमन्त्रीत्वकालमा ३१ वर्षकै उमेरमा भौतिक योजना तथा निर्माण राज्यमन्त्री बन्न सफल भए तर, दुर्भाग्य छोटो समयमैं राजनीतिक उचाइमा पुग्न सफल साहको उँचो कद धेरैदिन टिक्न सकेन् । साह २०७१ वैशाख २५ देखि बन्दी जीवन जीउन बाध्य छन् । धनुषा जिल्ला अदालतको थुनछेकको आदेशअनुसार कर्तव्य ज्यान मुद्दामा उनी जलेश्वर, सिरहा, काठमाडौंको जगन्नाथ देव, डिल्लीबजार कारागार हुँदै २०७३ मंसिर १ देखि सिरहा कारागारमा बिताए ।

सभासद र राज्यमन्त्री हुँदासम्म राजनीतिक भेटघाटमा व्यस्त रहने साह अहिले कारागारमा अध्यात्मिक चिन्तनमा लिन पाइन्छन् । त्यसो त साह कारागार पुग्नुभन्दा अघि पनि धार्मिक प्रकृतिका थिए । उनी पहिले पनि नियमित पूजापाठ गर्थे तर, कारागारमा उनको पूजापाठको समय लम्बिएको छ ।

सिरहा कारागारमा उनको दिनचर्या बिहान साढे ४ बजे प्रारम्भ हुन्थ्यो । ‘बिहानीको नित्यकर्म सकेपछि साढे ५ बजेबाट ९ बजेसम्म पूजापाठ र ध्यानमा बस्छु’ सिरहा कारगारमा हुँदा उनले साप्ताहिकसँग भनेका थिए, ‘कारागारमै रहेको शिव, भगवती तथा हनुमानको मूर्ति अंकित मन्दिरमा दुर्गा, सरस्वती पाठ गर्छु । भगवती मन्त्र जप गर्छु । हनुमान लगायतका इष्ट देवताको पूजा अर्चना गर्छु ।’

साह सोमबार, मंगलबार र शनिबार व्रत बस्छन् । व्रतको बेला फलफूलमात्र सेवन गर्छन् उनी । ‘मंगलबार हनुमानको तथा शनिबार शनिदेवको व्रत बस्छु, उनले सुनाए ‘साउन महिनामा सोमबारको दिन पनि व्रत बस्न थालेको छु ।’

बिहान १० बजे खाना खाएपछि उनी एक घण्टा कारागारभित्रको टेलिफोन बुथमा हुन्छन् । घरपरिवार तथा इष्टमित्रसँग एक घण्टा टेलिफोन गफपछि उनी चारबजेसम्म पत्रपत्रिका एवं पुस्तकहरू अध्ययन गर्छन् । कारागरमैं उनले रुकमाङ्गद कटुवालको आत्मकथा, महात्मा गान्धी तथा बीपी कोइरालाको जीवनीका साथै राजनीतिक घटनाक्रमसँग सम्बन्धित थुप्रै पुस्तक पढ्न भ्याए ।

‘गान्धी, बीपी कोइराला लगायतका व्यक्तित्वको आत्मकथा पढ्दा जीवनको उतारचढाव यस्तै रहेछ भन्ने महसुस गरे’ सञ्जयले थपेका थिए, ‘आत्मकथा पढेपछि जीवनलाई मैले सरलीकृत रूपमा लिए । अब म जीवनलाई सामान्यीकरण गर्न सक्ने भएको छु ।’ व्यापार व्यवसाय र राजनीतिक क्षेत्रमा लागेपछि पुस्तक अध्ययन गर्न नपाएका सञ्जयले कारागारमा पुस्तक अध्ययन नै आफ्नो दिनचर्या भएको बताए ।

२०४८ सालमा कन्टिन झा नमुना मावि वभनगामा धनुषाबाट एसएलसी, भारत विहारबाट आइएल तथा आइकम उत्तीर्ण गरेका साहको बिकम अध्ययन भने अपुरो रह्यो । आइएल उत्तीर्ण साहले कारागारमा रहेका कैदीबन्दीहरूले भोगेका फौजदारी मुद्दा र न्याय प्रणालीसम्बन्धी पुस्तक लेख्न थालेको पनि जानकारी दिए । साँझको खाना ४ बजे नै खाइसक्ने साह साँझ टेलिभिजन समाचार हेरिसकेपछि ढिलोमा साढे १० बजे सुत्छन् । साहको कोठामा ९ जना सुत्छन् तर उनी एउटै कोठाका कैदीबन्दीसँग पनि भलाकुसरी गर्न रुचाउँदैनन् ।

कैदीबन्दीसँग घुलमिल नगर्ने, एकान्त रुचाउने साह कारागारका चौकीदार श्रीदेव कापरसँग भने राजनीतिक कुरा गर्दै गफिन्थे । ‘बढी पूजापाठ र पुस्तक अध्ययनमैं रमाउँछन्’ लागूऔषध मुद्दामा सजाय काटिरहेका चौकिदार कापरले त्यो बेला साप्ताहिकसँग भनेका थिए, ‘पहिले नेता, कार्यकर्तासँग भेटघाट, उठबस धेरै भएकाले होला, नेताजी मसँग बाहेक राजनीतिक कुराकानी गर्दैनन्, रुचाउँदैनन् पनि ।’

कारागारभित्र अरू कैदी बन्दीले खाँदै आएका दाल, भात, सागसब्जी आदि नै भोजन गर्छन् साह । साह कारागारमा आउने शुभचिन्तक, नेता कार्यकर्ताहरूसँगको भेटघाट बाहेक अन्य समय पूजापाठ, ध्यान र अध्ययनमै तल्लिन रहने चौकीदार कापरले बताएका थिए ।

‘कारागार जीवन असहज नै हुन्छ, आध्यत्मिक ध्यान, जप र अध्ययनले अलिकति सहज बनाएको छ’ पूर्वसभासद एवं पूर्वराज्यमन्त्री साहले भनेका थिए, ‘समयको पनि चरण हुँदो रहेछ, कारागारको बसाइले मलाई धेरै समय अध्यात्ममा दिन बाध्य बनायो । यसले मेरो कारागार बसाइलाई सहज पनि बनाएको छ ।’ आफूमाथिको मुद्दा २०६९ सालमा सुरु भए पनि अहिलेसम्म छिनोफानो नभएको प्रतिभने उनले दुस्खेसो पोखेका थिए ।

साप्ताहिक