अन्तरवार्ता

प्रहरीका पूर्व डीआईजी भन्छन् दरबार हत्याकाण्डको रहस्य प्रहरीले पत्ता लगाउन सक्छ

बिहिबार, २६ असोज २०७४ गते मा प्रकाशित

Hemanta

नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक डीआईजी हेमन्त मल्ल ठकुरी अपराध अनुसन्धानमा अब्बल मानिन्छन् । लागूऔषध नियन्त्रण ब्युरो, केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी, अपराध महाशाखाको नेतृत्व सम्हाल्ने क्रममा उनले रानीबारी हत्याकाण्ड, न्यायाधीश रणबहादुर बम हत्याकाण्डलगायत थुपै्र गम्भीर र जटिल किसिमका अपराधको अनुसन्धान गरेका थिए ।

१० महिनाअघि प्रहरी सेवाबाट निवृत्त भएर नागरिक जीवन बिताइरहेका तिनै पूर्वप्रहरी अधिकारी मल्लसँग नेपालले नेपाल प्रहरीको अनुसन्धान पद्धति, प्रवृत्ति र क्षमताबारे लामो कुराकानी गरे, त्यसैको सम्पादित अंश : 

सेवा निवृत्त जीवन कसरी बिताइरहनुभएको छ ?

केही काम गर्ने नयाँ द्वारहरू हेरिरहेको छु । कुनै व्यवसाय सुरु गर्छु होला । इन्भेस्टमेन्टसम्बन्धी एउटा कम्पनी पनि खोलेका छौँ । जन्मथलो कैलालीतिर पनि केही गरौँ भनेर विचार गरिरहेको छु ।

तपाईंको अनुभवका आधारमा अपराध अनुसन्धान के हो ?

अनुसन्धान भनेको मानिसमा जन्मैदेखि आएको हुने रहेछ । अहिले पनि अनुसन्धान भन्नासाथै केही प्रहरी अधिकृतहरूको मात्र नाम आउँछ । ७२ हजार जनाको फौज भएको प्रहरीमा अनुसन्धान अधिकारीको नाम लिनुपर्दा १० र १५ जना मात्रै छन् । अनुसन्धान खुबी तालिम दिएर भन्दा पनि जन्मजात गुण हो । यस्तो क्षमतालाई थोरै बाटो देखाइदिए त्यसमा निखार आउने रहेछ ।

यति थोरै जनशक्ति मात्रै अनुसन्धानमा पोख्त रहेछ, यो त गम्भीर कुरा होइन ?

गम्भीर नै हो । यस्तो जनशक्ति तयार गर्न अनुसन्धान गर्न सक्ने खुबी भएकालाई चिन्न सक्नुपर्छ । यो पहिचान ‘सुपरभाइजर’ले गर्ने हो । अनुसन्धानलाई प्राथमिकतामा राखेर काम गर्ने हो भने यस्तो जनशक्ति तयार गर्न सकिन्छ

अपराध अनुसन्धानको जनशक्ति कम हुनुको कारण के देख्नुहुन्छ, तपाईं ?

प्रहरीको जागिर भनेको कस्तो भने पोसाक लगाएपछि रवाफ देखाउन सकिन्छ भन्ने मनोविज्ञान छ । तर, बिनाबर्दी निरन्तर खटिएर गरिने अनुसन्धानले यस्तो रवाफ पाउँदैन । नयाँ भर्ना हुनेहरूले बर्दी लगाएर आफू ठूलो भएको महसुस गर्न र गराउन चाहन्छन् । अनि, कहाँ उनीहरू यस्तो अनुसन्धान गर्ने काममा मन लगाउँछन् त रु केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी, अपराध महाशाखामा त एकरएक वर्षमै अधिकारीहरू आउनेरजाने भइरहन्छ । उनीहरू अडिँदैनन् ।

यस्तो अवस्थामा अनुसन्धान गर्ने टिम कसरी तयार गर्न सकिन्छ ? अनुसन्धानप्रति विकर्षण हो यो ?

अनुसन्धान गर्दा पनि ‘करिअर’ छ भन्ने कुरा संगठनले देखाइदिन सक्नुपर्छ । म १३ वर्ष लगातार एकै ठाउँ लागूऔषध अनुसन्धानमा बसेँ । तीनपटक त्यहीँ बढुवा भएँ । मेरो करिअरमा त त्यसले राम्रै गर्‍यो । त्यसैले बिनाबर्दी बस्नुपर्दा ‘एक्सपोजर’ हुँदैन भन्ने मनोविज्ञान चिर्नुपर्छ ।

गम्भीर र जटिल प्रकृतिका घटनाको सफल अनुसन्धान गर्‍यो भने त त्यसले दिने एक्सपोजर धेरै बढी हुन्छ नि बर्दीको तुलनामा, होइन ?

हो । तर, त्यो धैर्य कसलाई छ र रु तुरुन्तै परिणाम खोज्ने प्रवृत्ति छ । अनुसन्धान त धेरै समय लाग्छ । निरन्तर खटिरहनुपर्छ । जबकि, फास्टफुडको जमाना छ अहिले

हाम्रो अनुसन्धानको कमजोर पक्ष के हो ?

बयानमुखी अनुसन्धान । बयानमा जे बोल्यो, त्यही अन्तिम बनाउँछ प्रहरीले । अभियोगी कसैले पनि अदालतमा आफ्नो अपराध कबोल गर्दैन । प्रहरीले जबरजस्ती बयान लिएको भन्छ । त्यसैले प्रहरीले अभियोग पुष्टि गर्ने अन्य प्रमाणहरू जुटाउनेतिर अनुसन्धान केन्द्रित गर्नुपर्ने हो । तब न अभियोग बलियो हुन्छ । प्रमाण नै जुटाउँदैन । त्यही भएर अदालतमा मुद्दा दायर भएपछि दोषी छुट्छन् ।

किन यस्तो भएको ?

मिहिनेत गर्ने चलन छैन हामीकहाँ । सजिलो बाटो खोज्छौँ । प्रमाण संकलन गर्ने फुर्सदै छैन । बरू बयान गरायो, पठायो, टन्टै साफ । प्रमाण जुटाएर अभियोग बलियो नबनाउने अनि रुवाबासी गर्ने– पैसा खाएर छोड्यो भन्दै । हाम्रो काम अनुसन्धान गर्नेभन्दा पनि प्रक्रियामा लैजाने र झन्झट सार्ने मात्रै भइरहेछ ।
भनेपछि त हामी अनुसन्धानमा निकै नै कमजोर रहेछौँ, होइन रु

साँच्चै भन्नुपर्दा कमजोर नै छौँ । प्रहरीका केही युनिटहरूले गरेका काम राम्रा पनि छन् । जस्तै स् सीआईबी, अपराध महाशाखा, लागूऔषध ब्युरो, विशेष ब्युरो आदि । तर, यी मात्रै त प्रहरी युनिट होइनन् । ७५ जिल्लामै मुद्दा चलाउने युनिटहरू छन् । समग्रमा, अनुसन्धान कमजोर छ ।

कतै प्रहरीको ‘सेलिब्रिटी’ बन्ने रहरले यस्तो भएको त होइन ?

प्रहरी सेलिब्रिटी बन्ने चलनले पनि बिगारिरहेको छ । हुन त समाजमा सेलिब्रिटी बन्ने प्रवृत्ति प्रहरीमा मात्रै छैन । अहिले मन्त्रीहरू नै सेलिब्रिटी भइरहेका छन् । काठमाडौँको दरबार मार्गमा मन्त्री आफैँ पुगेर पसल सिल गरे । धनगढीमा मन्त्री आफैँ टाँचा लगाउँदै हिँडे । सञ्चारमन्त्री टेलिफोनको तार काट्न तैनाथ भए । मन्त्रीहरूले नै यस्तो काम गर्दै हिँडेपछि कर्मचारीले के गर्ने रु भोलिदेखि गृहमन्त्री खानतलासी, छापा मार्न हिँड्न थाले भने प्रहरीले चाहिँ के गर्ने रु

अनुसन्धान गर्ने निकाय मिडियाबाजीमा लागेपछि मूल कामबाट टाढा हुनु स्वाभाविक हो ।

तपाईंको अनुभवमा लागूऔषधको कारोबारमा कस्ता व्यक्तिहरू संलग्न हुँदा रहेछन् ?

पञ्चायतकालमा त ठूला व्यक्तिहरूको हात हुन्छ भनिन्थ्यो । मैले अनुसन्धानका क्रममा त्यस्तो पाइनँ । तर, यो एकदमै संगठित अपराध भएकाले यसको सञ्जाल अन्तर्राष्ट्रिय हुन्छ । संगठित अपराधको ‘चेन’को एउटा ‘सिक्वेन्स’ गायब भयो भने त्यहाँबाट अगाडि पनि बढ्न सकिन्न, पछाडि हट्न पनि सकिन्न ।
संगठित अपराधको सम्पूर्ण ‘सिन्डीकेट’ तोडेको मेरो जीवनमा एकदमै कम छ । त्यसमध्येको हो, डान्स बारमार्फत युवतीहरूलाई विभिन्न मुलुकमा पुर्‍याएर बेच्ने धन्दा । सीआईबीमा हुँदा यो अप्रेसन भएको थियो ।

संगठित तवरले हुने धन्दामा कहीँ न कहीँ पहुँचवालाहरूको संलग्नता हुन्छ भनिन्छ । यसले पनि अनुसन्धान टुंगोमा पुग्न नसकेको त होइन ?

संगठित अपराधलाई पनि हामीले अलग–अलग हिसाबले हेर्नुपर्छ । लागूऔषधमा प्रभावशाली मानिसहरूको प्रत्यक्ष संलग्न हुने ‘चान्स’ मचाहिँ देख्दिनँ, यदाकदा भए मात्र । डलर, सुनको धन्दामा पटक–पटक पहुँचवालाहरूको संलग्नता खुलेकै छ । कुनै समय राज्य संयन्त्र नै लागेर सुन तस्करी भएकै हो । त्यसैले सुुन, डलर काण्डमा ठूला मानिसहरूको संलग्नता नहोला भन्न सकिन्न ।

तपाईंलाई अनुसन्धानका क्रममा कुनै दबाब आयो कि आएन ?

आइहाल्छ नि  उदाहरणका लागि सञ्जय साह टकलाको घटना लिन सकिन्छ । धेरै प्रभावशाली व्यक्तिहरूले दबाब दिएका थिए । नाम नभनौँ । दबाब दिने, भन्ने उनीहरूको काम हो, अनुसन्धान गर्ने हाम्रो कर्तव्य । त्यसैले हामी रोकिएनौँ र उनी अहिले जेलमा छन् ।

अनि, प्रलोभन नि ?

लागूऔषधमा हुँदा ठूलो प्रलोभन आएको थियो । अपराध महाशाखामा बस्दा पनि आयो । कसले, कुन केसमा भनेर नभनौँ । आउँछ, प्रलोभनमा पर्नेरनपर्ने

तपाईंको इच्छा ।

अनुसन्धानका क्रममा प्रहरीलाई अन्य सरकारी निकायको पनि सहयोग चाहिन्छ । के उनीहरूको व्यवहार सहयोगी हुने गरेको छ रु
एकदमै हुँदैन । सबैले आ–आफ्नो फलामे गेट बनाएका छन् । सबैमा ‘मै ठूलो’ भन्ने इगो छ । प्रहरीको केन्द्रीकृत प्रणालीले मात्रै अनुसन्धान धानेको हो । संघीयतामा संविधानले परिकल्पना गरेजस्तो प्रान्तैपिच्छे स्वतन्त्र प्रहरी हुने हो भने प्रहरीको यो बल पनि कमजोर हुनेछ ।

कसरी ?

भारतमा प्रान्तीय प्रहरीलाई स्वायत्त छाड्दा त्यहाँ ‘चेन अफ कमान्ड’मा समस्या देखिइसकेको छ । त्यहाँ प्रान्त–प्रान्तका प्रहरीबीच खटपट छ । त्यही भएर केन्द्रीय स्तरमा नयाँ–नयाँ एजेन्सीहरू खुलिरहेका छन् । यही अवस्था नेपालमा आउन सक्छ । त्यसैले केन्द्रीय हेडक्वार्टर राखेर केन्द्रीकृत प्रणालीमै जानुपर्छ । नत्र, त्यसले अनुसन्धानमा असर पर्छ ।

स्रोत–साधन हुने हो भने नेपाल प्रहरीको हैसियत कस्तो परिकल्पना गर्नुहुन्छ तपाईं ?

मलाई आउने सूचनाले कहिलेकाहीँ त हामी विश्वकै उत्कृष्ट प्रहरी हौँजस्तो लाग्थ्यो । हामीसँग प्रविधिमा आधारितभन्दा पनि ‘ह्युमन इन्टेलिजेन्स’मा आधारित सूचना हुन्थ्यो र त्यो ठ्याक्कै मिल्थ्यो । विदेशीहरू छक्क पर्थे । हामीसँग प्रविधिलगायतका स्रोत–साधन हुने भए साँच्चै उत्कृष्ट कार्य सम्पादन गर्न सक्थ्यौँ ।

अबचाहिँ गाह्रो छ । किनभने, अहिलेको इन्टेलिजेन्स भनेको ‘कमोडिटी’ वस्तु हो । कमोडिटी नकिनी पाइन्छ रु विकसित देशहरूले सूचना खरिद गर्न थालेका छन् । हामी त्यो स्तरमा कहिले पुग्ने, थाहा छैन । पैसा नभई कसैले पनि सूचना दिँदैन, अहिलेको जमानामा ।

पाईंले धेरै जटिल र लामो समयदेखि रहस्यमा रहेका हत्याकाण्डको अनुसन्धान गर्नुभयो । राजदरबार हत्याकाण्डको रहस्य पत्ता लगाउन सक्दैन प्रहरीले ?

राजदरबार हत्याकाण्डको रहस्य नेपाल प्रहरीले नै पत्ता लगाउन सक्छ । त्यो क्षमता र हैसियत राख्ने अधिकृत प्रहरीमा अझै छन् ।

त्यसो भए अहिलेसम्म किन अनुसन्धान नगरेको त ?

तत्कालीन अवस्थामा दरबारमा भएका घटनाको अनुसन्धान प्रहरीले गर्न सक्दैनथ्यो । राजनीतिक प्रकृतिको आयोग बन्यो र त्यसले प्रतिवेदन दिने किसिमले मात्र छानबिन गर्‍यो । अपराधी पत्ता लगाउने किसिमले वास्तविक अनुसन्धान भएकै छैन । अझै पनि प्रहरीलाई जिम्मा दिने हो भने रहस्य पत्ता लाग्छ ।

नेपाल साप्ताहिकबाट