समाज

स्वास्थ्य

गर्भवती खोज्न गाउँ चाहार्दा ...

बिहिबार, २८ पुष २०७३ गते मा प्रकाशित

kp-oli-prahanda-and-Dauba

पुस - २८ । गर्भवती महिला सुत्केरी भएपछि आउने रगत, पिपलगायतका फोहरले भिजेका कपडा सफा गरिदिने पनि सरकारी स्वास्थ्यकर्मी होलान् ? अनि उनीहरुलाई आफूले सुत्केरी गराएका स्थानको आफैँले सफा गर्ने कमैको मात्र बानि होला ! तर यहाँस्थित चतुराले स्वास्थ्य चौकीका प्रमुख सिनियर अहेब जीवन भट्टराई आफैले सुत्केरी गराएको स्थान र सुत्केरी महिलाले लगाएका लुगासमेत धोइ समाजलाई परिवर्तन गर्ने प्रयास गरेका छन् । “मेरो पहिलो काम स्वास्थ्य चौकीमा सुरक्षित रुपमा प्रसूति सेवा (सुत्केरी गराउनु) प्रदान गर्नु हो । सुत्केरी गराउन गर्भवती महिलालाई यहाँ ल्याउने बेला हतारहतार हुँदो होला, कतिपयले फेर्ने कपडा समेत लिएर आउन भ्याएका हुँदैनन् । यस्तो अवस्थामा सुत्केरीका कपडा सफा गरिदिनुको अर्काे विकल्प रहेन ।” अहेब भट्टराईले भने । अर्काेतर्फ यस स्वास्थ्य चौकीमा सातजनाको दरबन्दी भए पनि उनसहित एकजना कार्यालय सहयोगी मात्र कार्यरत छन् । “कतिपय त सुत्केरी गराउन ल्याउने सुत्केरी भएपछिका रगत, पिपलगायतका फोहरले भिजेका कपडा देखेर घिन मान्ने गर्दछन् । उनीहरुलाई सिकाउन म नै उदाहरण बन्ने गरेको छु । आफैँ लुगाधुन अघि सर्छु र धोइदिन्छु । आफ्नो स्वास्थ्य संस्था त सफा राख्न प¥यो ।” उनले भने । अहेब भट्टराई चतुराले आएपछि हालसम्म लगभग एक हजार ३०० भन्दा बढी गर्भवती महिलालाई सुत्केरी गराउन सेवा प्रदान गरिसकेका छन् । अहिलेसम्म सुत्केरी आमा र नवजात शिशुको अकालमा मृत्यु भएको छैन।
पाँचवर्षमा आठ प्रमुख फेरिए तर अहेब भट्टराई निरन्तर विसं २०५१ देखि यस स्वास्थ्य संस्थाले स्थानीय जनतालाई स्वास्थ्य सेवा प्रदान गर्न सुरु गरेको हो । विसं २०५१ देखि २०५६ सम्मपाँच वर्षको अन्तरालमा आठजना हेल्थपोस्ट प्रमुख(इन्चार्ज) परिवर्तन भए तर अहेब भट्टराईले विसं २०५६ देखि निरन्तर रुपमा स्वास्थ्य चौकीको प्रमुखको रुपमा नेतृत्व दिइरहेका छन् । गाविसमा क्रियााशील राजनीतिक संयन्त्रले पनि पटकपटक उनलाई अन्यत्र सरुवा नगर्न जिल्ला तथा केन्द्रीय तहमा आग्रह गर्दै आएको छ ।उसो त सोही वर्ष यस स्वास्थ्य चौकी पक्की भवनमा सरेको थियो । “विस २०५६ को सुरुमै यहाँ आएको हुँ, आएको केही महिनापछि नै गुन्द्री ओछ्याइ, सुत्केरी सेवाका सामग्रीबाट सुत्केरी सेवा दिन सुरु गरेको हुँ । तर सुरुका दिन त गर्भवती महिलालाई स्वास्थ्य संस्थामा ल्याउन र उनीहरुलाई खोज्न नै धौधौ प¥यो ।” उनले भने । “तपाईका घरमा गर्भवती महिला हुनुहुन्छ ? भनेर गाउँका पुरुषलाई सोध्यो चिकित्सक भएर स्वास्थ्य चौकीमा बसेर ट्याबलेट बाड्नु नि, किन चाहियो खोजीनिती भन्ने जवाफ दिए । तपाई त गर्भवती हुनुभएजस्तो छ, पेट बढेछ नि भनेर महिलाई सोध्दा खुलेर भन्न नचाहने तर हरेस खाइन् । भेटघाट हुनेसित गर्भवती भएपछि आउने जटिलता, यसबाट शिशुमा पर्नसक्ने असर, पोषणको महत्व, स्वास्थ्य संस्थामा नै सुत्केरी गराउँदा आमा र नवजात शिशुको स्वास्थ्यमा देखिने समस्याबारे जनचेतना जगाउनमै दिन बिताए । अरु सेवालाई भन्दा प्रजनन स्वास्थ्यलाई ध्यान दिएँ । प्रमुख समस्या र चुनौती पनि यही थियो ।” प्रमुख भट्टरार्इले अाफू काम गर्दाकाे अनुभव सुनाए ।
पहिलो वर्थिङ सेन्टर प्रजनन् उमेर, गर्भवती भएपछि कम्तीमा चारपटक स्वास्थ्य परीक्षण, दक्ष स्वास्थ्यकर्मीबाट नै सुत्केरी सेवा, नवजात शिशुलाई सङ्क्रमणबाट जोगाउने विषयमा गाउँमा ज्ञान र चेतनाको स्तर बढेपछि वर्थिङ सेन्टर स्थापनाको माग आयो । विसं २०६३ पछि सरकारले आमा सुरक्षा कार्यक्रमअन्तर्गत वर्थिङ सेन्टरको अवधारणालाई कार्यान्वयनमा ल्यायो । जिल्लास्तरमा त्रिशूली जिल्ला अस्पतालमा वर्थिङ सेन्टर स्थापना भयो । “त्यसपछि मैले आफ्नो स्वास्थ्य संस्थामा वर्थिङ सेन्टर राख्न आग्रह गरेँ, यस कार्यमा गाविसवासीले साथ र ऊर्जा दिए । विसं २०६४ मा स्वास्थ्य चौकीमध्ये पहिलो वर्थिङ सेन्टर यहाँ स्थापना भयो ।” अहेब भट्टराईले भने । वर्थिङ सेन्टरको पहिलो सेवा लिनेमा चतुराले गाविस–८ कि चन्द्रा तामाङले भएकी थिइन् । उनीले विसं २०६४ भदौ १० गते वर्थिङ सेन्टरमा छोरीलाई जन्म दिइन् । “गर्भवती चन्द्रालाई सुत्केरी गराउन स्वास्थ्य चौकीमा ल्याउन ९ गते उनको घरमा गएको थिएँ ।” उनले भने । “श्रीमान्, बाजे, बज्यैले मानिरहनु भएको थिएन, डाक्टर साहेब आफैँ घर आउनुभयो । उहाँले कस्तो छ ? भनेर सोधिरहनु हुन्थ्यो । घरमा बाजेले झाँक्रीलाई बोलाइसक्नुभएको थियो । डाक्टर साहेब आफैँ घर आएपछि हुन्छ भन्दिए । हिँडेरै गएँ ।” चन्द्रा तामाङले सुनाइन् । यस गाविसमा आमा सुरक्षा कार्यक्रमअन्तर्गत स्वास्थ्य संस्थामा सुत्केरी भएका महिलालाई प्रोत्साहनबापत दिइने रु एक हजार लिने उनी पहिलो महिला समेत बनिन् ।
पहिलो प्रसूति गृह भवन स्वास्थ्य चौकीमा प्रसूति सेवा लिन आउनेको सङ्ख्या वृद्धि भएपछि स्वास्थ्य मन्त्रालयले छुट्टै प्रसूति गृह भवनसमेत निर्माण गरिदिएको छ । जिल्ला अस्पतालपछि पहिलो प्रसूति गृह भवन हो । पक्की दुई कोठे सो भवनमा सुरक्षित प्रसूति सेवाका लागि आवश्यक उपकरण, शैया, सुत्केरीपछि बस्ने सुविधा समेत रहेको छ । नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित भूकम्प प्रतिकार्य कार्यक्रमले प्रसूति सेवाका लागि आवश्यक उपकरण, शैयालगायत सुत्केरीपछि बस्नका लागि आवश्यक ३९ प्रकारका अत्यावश्यक सामग्री सहयोग हस्तान्तरण गरेको छ । जिल्लाका कार्यक्रम संयोजक शारदा खतिवडाले समग्र स्वास्थ्य सेवा विशेष गरी सुरक्षित प्रसूति सेवालाई थप सुदृढ बनाउन र संस्थागतरुपमा स्वास्थ्य चौकीकमा प्रसूति सेवा लिन आउनका लागि उत्प्रेरणा दिन कार्यक्रमले सहयोग गरेको जानकारी दिए । पछिल्लो जनगणना अनुसार यस गाविसको जनसङ्या चार हजार ४०० छ, जनसङ्ख्याको अनुपातमा गर्भवती महिलाको सङ्ख्या ६० देखि ६५ हुनुपर्ने थियो तर ५२ गर्भवती महिलाले मात्र सेवा लिइरहेका अहेब भट्टराईले जानकारी दिए।
आँटे पुग्छ अहेब भट्टराईको काम गर्ने इच्छा र जागर देखेर यहाँका बासिन्दाले उनलाई अन्यत्र सरुवा भएर जान दिएका छैनन् । समाजसेवी ज्ञानबहादुर तामाङ भन्छन् “उहाँको सेवा भावको लगाव अत्यन्तै अनुकरणीय छ, यसैले हामीले उहाँलाई यही बस्न प्रेरित गरिरहेका छौँ ।” अहेब भट्टराईले पनि आफूलाई आवश्यक पर्ने भौतिक एवम् अन्य सामग्रीका लागि आफैँले स्रोत जुटाइरहेका छन् । उनको कार्यशैलीका कारण जिल्ला जनस्वास्थ्य कार्यालय, नेपाल रेडक्रस सोसाइटीको भूकम्प प्रतिरोध कार्यक्रम र सेभ दि चिल्ड्रेनबाट पनि आर्थिक एवम् प्राविधिक सहयोग प्राप्त भएको छ । अहेब भटृराईकै माग बमोजिम महिला स्वयम्सेविकालाई नवजात शिशु जन्मेपछि आमा स्वयम्ले शिशुको स्वास्थ्य परीक्षण गर्न पाइताला नाप्ने कार्ड उपयोग गर्न, नाभी मलमको प्रयोग गर्न सेभ दि चिल्ड्रेनबाट तालिम प्रदान गरिएको थियो । हाल यस गाविसमा २० महिला स्वयम्सेविकाले सो सेवा प्रदान गरिरहेका छन् । अहेब भट्टराईले आफूले नै पाउने सुविधाबाट महिला स्वयम्सेविकालाई स्वास्थ्य चौकीमा गर्भवती महिलालाई स्वास्थ्य परीक्षण गर्न ल्याएबापत् रु १०० दिने समेत गरिरहेका छन्।
पहिलो पूर्ण खोप गाविस अर्काेतर्फ नुवाकोट जिल्लामा चतुराले गाविसलाई पहिलो पूर्ण खोप गाविससमेत घोषणा गरेको र यसका लागि नेपाल रेडक्रस सोसाइटीको भूकम्प प्रतिकार्य कार्यक्रमले आर्थिक एवम् प्राविधि सहयोग उपलब्ध गराएको थियो । अहिलेपनि सोसाइटीका स्वयंसेवकहरु घरघरमा गइ प्रसूति शिक्षा र खोपको महत्वबारे जनचेतना जगाउँदै आएका छन् । हाल यस गाविसमा पाँच वर्षमुनिका २९३ बालबालिकाले खोप सेवा लिइरहेका छन् । “मेरो लक्ष्य भनेको शून्य होम डेलिभरी गाविस घोषणा गर्ने हो, यो कार्य छिट्टै पूरा हुँदैछ ।” उनले भने ।
विष्णु नेपाल/नुवाकोट