बिचार / ब्लग

पोषण सुधारका लागि सबैको प्रयास अपरिहार्य

बुधबार, २७ पुष २०७३ गते मा प्रकाशित

Pritam Shrestha

[caption id="attachment_50374" align="alignleft" width="242"] प्रितम श्रेष्ठ[/caption] सामान्यतया एउटा बच्चा गर्भमा आएदेखि सो बच्चा जन्मेर दुई वर्षको पुग्दासम्म दिन गन्ती गर्ने हो भने कुल १००० दिन पुग्छ । यस समयावधिलाई हामी सुनौला हजार दिनभनि बुझदछौं । विश्व स्वास्थ्य संगठनका अनुसार यस समयभित्र बच्चाको ८० प्रतिशत शारीरिक र मानसिक वृद्वि र बिकास भैसकेको हुन्छ । नेपाल जनसांख्यिक स्वास्थ्य सर्वेक्षण सन् २०११ का अनुसार नेपालका बालबालिकाहरुहरु मध्ये ४१ प्रतिशत पुड्का, २९ प्रतिशत कम तौलका र ११ प्रतिशत ख्याउटे छन् । जुन नेपालको जनस्वास्थ्य समस्याको रुपमा रहेको छ । आमाको दूधमा बच्चालाई आवश्यक सम्पूर्ण पौष्टिक तत्व हुनुका साथै ८८ प्रतिशत पानीको मात्रा पनि हुने भएको हुनाले ६ महिनासम्म बच्चालाई पानी पनि खुवाउनु हुदैन । अहिलेको तथ्याङ्कलाई हेर्ने हो भने, राम्रोसंग स्तनपान गराईएमा शिशु मृत्युदरमा २५ प्रतिशतले कमी आएको छ । बच्चा ६ महिना पूरा भएपछि आमाको दूध सगसँगै थप खानाको रुपमा हरेक दिनको खानामा अन्न, गेडागुडी, सागपात र पशुजन्य खाना खुवाउन सकेमा बच्चालाई निरोगी राख्न सकिन्छ । घरघरबाट शहरका डेरीहरुमा पुग्ने गाई भैँसीको दूध र हामीले घरमा पालेको खसी, कुखुरा र माछालगायत पशुजन्य खाना खुवाउन सकेमा हामीभन्दा पछिका सन्ततीहरुमा पोषणको स्थिति सुधार आउनुका साथै एउटा समृद्व नेपालको परिकल्पना सहजै अनुमान गर्न सकिन्छ । कुपोषणबाट बच्नका लागि पूर्ण स्तनपान र थप खाना मात्र नभई मातृ तथा शिशु स्याहार, स्वास्थ्य, सरसफाई, खाद्य सुरक्षा हुनु त्यति नै जरुरी छ । खाद्य सुरक्षा हुनका लागि खानाको उपलव्धता हुनुको साथसाथै त्यसमा पहँुच र उपभोग हुनु पर्दछ साथै खानाको स्थिरता हुनु जरुरी छ । खाद्य सुरक्षा भएर मात्र पोषण सुरक्षा हुन सक्दैन । पोषण सुरक्षा हुनका लागि खाद्य सुरक्षाको साथै गुणस्तरीय स्याहार र स्वस्थकर वातावरण अनि स्वास्थ्य सेवाहरुको पहँुच पनि हुनु पर्दछ । एउटा बच्चा सुपोषित होस भन्नाका लागि शिशु जन्मेदेखि सो शिशु हुर्कदै किशोरी हुदै गर्भवती भएर सुत्केरी हँुदासम्म उचित खानपान स्वास्थ्य सेवा स्याहार र हेरचाहको जरुरी हुन्छ । पोषण सुधारका लागि दुई किसिमका कार्यक्रमहरु हुनु अतिनै जरुरी हुने गर्दछ, त्यो हो पोषण लक्षित कार्यक्रम र पोषण संवेदनशील कार्यक्रम । पोषण लक्षित कार्यक्रम भन्नाले स्तनपान, पुरक खाना, जुकाको औषधी, आइरन चक्की वितरण, भिटामिन ए चक्की वितरण, कुपोषण व्यवस्थापन, क्यालसियम वितरण, आकस्मिक अवस्थाका लागि पोषण, किशोरी तथा गर्भ पूर्वको अवस्था र मातृ स्वास्थ्य तथा पोषण आदिलाई बुझिन्छ । यस्ता पोषण लक्षित कार्यक्रमहरु स्वास्थ्य क्षेत्रबाट निरन्तर सञ्चालन भइरहेकै छन् । यस्ता पोषण लक्षित कार्यक्रमहरुले महिला तथा बालबालिकाको पोषण स्थिती सुधार्न केही हदसम्म सम्भव भए पनि आजको दिनमा यस्ता कार्यक्रमका साथै पोषण संवेदनशिल कार्यक्रमहरु पनि संगसंगै सञ्चालन गर्नु अतिआवश्यक छ । पोषण संवेदनशील कार्यक्रम भन्नाले कृषि र खाद्य सुरक्षा, सामाजिक सुरक्षा, वालविकास, मानसिक स्वास्थ्य, महिला सशक्तिकरण, पानी र सरसफाई, महिलाको कार्य बोझमा कमी, घरवारी बगैचा, खाद्य सुरक्षा, सेवा र स्याहारका लागि प्रर्याप्त स्रोत व्यवस्थापन, आधारभूत स्वास्थ्य सेवामा पहुँच, स्वच्छ तथा सफा वातावरण, कृषि तथा खाद्य सुरक्षा कार्यक्रम, सामाजिक सुरक्षा, प्रारम्भिक बालबिकास कार्यक्रम, मातृ मानसिक स्वास्थ्य, महिला सशक्तिकरण (अनौपचारिक शिक्षा, साक्षरता अभियान, आय मुलक कार्यक्रम, आदि), बाल संरक्षण, बालमैत्री विद्यालय÷क्लब, जनचेतना तथा शिक्षा, ढिलो गर्भ, पोषण तथा स्वास्थ्यशिक्षा, पोषण अन्तरक्रिया, विद्यालयमा दिवाभोजन, आदिलाई बुझन सकिन्छ । पुस्तौ पुस्ताको न्यूनपोषण तोड्नका लागि महिलाको जीवनचक्र भरी खाना, स्वास्थ्य र स्याहारको उचित ध्यान दिनु जरुरी छ । सह्रशताव्दी विकास लक्ष्यको लक्ष्य ४ र ५ ले मातृ र शिशुको स्वास्थ्यलाई जसरी प्राथमिकता दिएको थियो त्यसैगरी दिगो विकास लक्ष्य (२०१५—२०३०) ले पनि पोषणलाई विषेश जोड दिएको पाईन्छ । विषेश गरी यसको लक्ष्य २, ३, ५ र ६ मा खाद्य सुरक्षा, स्वस्थ्यकर जीवनको सुनिश्चतता, लैङ्गिक समानता, खाने पानी र सरसफाईलाई बढी नै महत्व दिइएको पाइन्छ जुन पोषणसंग सम्बन्धित छन् । बिक्रम सम्वत २०७१ को राष्ट्रिय स्वास्थ्य नीतिलाई हेर्ने हो भने पनि खाद्य सुरक्षा, पोषण बगैचा, पोषण शिक्षा, स्थानिय स्तरको खानेकुरा प्रवद्र्धनलाई विशेष जोड दिएको पाइन्छ । यसका साथै सन् २०१४ मा इटलीमा भएको ICN2 सम्मेलनको दस्तावेजमा पनि दिगो विकास प्रणाली प्रवद्र्धन र खाद्य सुरक्षालाई विशेष जोड दिएको पाइन्छ । त्यसैकारण आजको दिनमा मातृ तथा पोषणमा सुधार गर्नका लागि उन्नत कृषि प्रविधि, कृषि र पशुजन्य उत्पादनमा वृद्धि, खाद्य संचय प्रशोधन र संरक्षण, उचित भण्डारण, बजार व्यवस्थापन, महिलाको कार्यवोझमा कमी, घरवारी बगैचा, विद्यालय बगैचा र करेसावारीको प्रवद्र्धन गर्नु अति जरुरी छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग (२०६१) को प्रतिवेदनलाई हेर्ने हो भने, हामीले प्रयोग गर्ने पोलिस गरिएको चामलभन्दा गाउँ घरमा पाईने जौ, फापर, कागुनो, कोदो, मकेैमा पोषक तत्व बढी पाइने जनाइएको छ । त्यसैले हाम्रो जस्तो देशमा स्थानिय स्तरमा उपलव्ध खाद्यान्नहरु (जस्तै चिनो, कागुनो, सिस्नो, ओखर, कोदो, फापर, फलफूलहरू) को उचित प्रवद्र्धन र उपयोग गर्नु जरुरी छ । शहरदेखि गाउँसम्म प्रचलित प्याकेट तथा जङक फूडहरुलाई निरुत्साहित गर्नु अपरिहार्य छ । साथै गाउँघरमा भेटिएका अतीकुपोषित बच्चाहरुलाई पोषण पुर्नस्थापना गृहमा राखी उपचार गर्नु जरुरी छ । सन् २००९ मा तयार पारिएको पोषणको लेखाजोखा र खाचो बिश्लेषण (NAGA) प्रतिवेदनले मुलुकमा पोषणको स्थितिमा सुधार ल्याउन सबै सरोकारवालाहरूको परिचालन र वहुक्षेत्रीय सहभागितामा जोड दिएको थियो । अहिलेको समयमा स्वास्थ्य क्षेत्रले कार्यक्रम गरेर मात्र पोषण सुरक्षा हुन नसक्ने महसुस गरि वहुक्षेत्रीय पोषण योजनालगायतका नीतिहरु तर्जुमा र कार्यान्वयन भइरहेका छन् । साथै संयुक्त राष्ट्र संघले पनि २०१६ देखि २०२५ को दशकलाई पोषण दशक घोषणा गरेको छ । नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०११ लाई आधार मान्ने हो भने, १८ प्रतिशत सन्तानोत्पादन गर्ने उम्मेरका महिलाहरु दुब्ला वा न्यून भरण पोषण भएका छन् भने, यसै उम्मेरका १३ प्रतिशत महिलाहरु अधिक भरण पोषण भएका छन् । यस तथ्यांकले पोषणको दोहोरो बोझलाई दर्साउछ । नेपालको ठूलो जनसंख्या सुक्ष्म पोषक तत्वको अभाववाट ग्रसित छन । जसको कारण राष्ट्रले कुल ग्राहस्थ उत्पादनको २ देखि ३ प्रतिशत (२५करोड देखि ३७ करोड डलर) सम्म क्षति व्यहोर्नु परेको छ (विश्ववंैक २०११) । एक चौथाई वालवालिकालाई (२४ प्रतिशत) मात्र सिफारीस गरिएका IYCF अभ्यास अनुसार (स्तनपान, चारै समूहको खाना तथा उम्मेर र उचाईको आधारमा न्युनतम खानाखाने दर) खुवाईन्छ । पोषण लक्षित कार्यक्रमलाई सहयोग गर्न र त्यसको क्षेत्र विस्तार गर्न पोषण संवेदनशील कार्यक्रमले मद्दत गर्दछ । साथै बहुक्षेत्रीय पोषण योजनाअनुसार एकिकृत पोषणका कृयाकलापहरुलाई संस्थागत गर्न स्थानिय विकासका योजनाहरुमा पोषणका अन्तर वस्तुहरु राख्न पनि जरुरी छ । हालै मात्र कालिकोटमा कुपोषित बालिकाको मृत्यु, मुगुमा ६१ प्रतिशत बालबालिका कुपोषित जस्ता समाचारहरु सुन्नु नपरोस् भन्नका लागि पोषण लक्षित कार्यक्रम र पोषण संवेदनशील कार्यक्रमहरुलाई संगसंगै प्रभावकारी रुपले सञ्चालन गर्नुका साथै सबै तह र तप्काबाट पोषण सुधारका लागि थप पहल गर्न जरुरी देखिन्छ ।
लेखक FAO of the UN काे कृषि तथा खाद्य सुरक्षा आयोजनाका जिल्ला प्राविधिक अधिकृत (पोषण) हुन् ।