कभर स्टोरी

भिडियो

सफलताको कथा

दुर्गम गाउँमा जन्मेका सचिव जसले भारतीय एकाधिकार तोडिदिए (भिडियोसहित)

बुधबार, २७ पुष २०७३ गते मा प्रकाशित

dinesh-thapaliya-ntc-sachib-nepalaaja


संखुवासभाको तत्कालीन मनकामना गाविसमा पण्डितको परिवारमा मेरो जन्म भयो । आफैँले काम गर्दा खान लाउन पुग्थ्यो । बुबा ज्योतिष हुनुहुन्थ्यो । चिनाचिर्कट लेख्नुहुन्थ्यो । जजमानहरुकोमा जानुहुन्थ्यो । केटाकेटी जम्मा गरेर साँझपख निशुल्क पढाउनुहुन्थ्यो । बुबालाई बाहुन भनेर घ्यु, राडीपाखी दिइरहन्थे । समय मिल्यो भने भारतको आसामतिर जानुहुन्थ्यो किनमेलका लागि । हामी भाग्यमानी सन्तान हौँ । बुबा (९५) र आमा (८५) को स्नेह पाइरहेका छौँ । २ दाजु, ३ दिदी र एक बहिनीको प्रिय भाइ र दाइका रुपमा मैले सदैव माया पाएँ । दाजुहरु, म र बहिनीले पढेपनि दिदीहरुले पढ्न पाउनुभएन । दाजु सुरेश थपलिया उपसचिव हुनुहुन्छ, ठूलो दाजु शिक्षण सेवाबाट सेवा निवृत्त हुनुभयो, बहिनी अधिकृत छिन् ।
बाल्यकालमा हामी पढ्दा विद्यालय नजिक थिएन । बुबाले धुलौटो र कालोपाटीमा लेखेर घरमै पढाउनुभयो । ०२८ सालमा एकै पटक मलाई २ र माइलो दाइलाई ३ मा भर्ना गरियो । भोलिपल्ट फेरी बुबाले मलाई ३ र दाइलाई ४ मा भर्ना गर्न लैजानुभयो । उही नामका विद्यार्थी एक दिनको अन्तरालमा कक्षा परिवर्तन गर्न नमिल्ने भयो । म कृष्णबाट दिनेशकुमार भएँ, दाइ सुर्यबाट सुरेशकुमार हुनुभयो । सायदै कसैले सोचेको थियो एकै पटक ३ कक्षामा भर्ना भएको फुच्चे होल फष्ट होला भन्ने । म आफैँले पनि सोचेको थिइनँ । तर भएछु । अविरमाला लगाएपछि भिन्दै मज्जा आयो । बुबाले फेरी तर्क गनुभयो ‘बल्लतल्ल पास हुने र होलफष्ट हुनेपनि एउटै कक्षामा कसरी हुन्छ ? जे होला होला छोरो अब एकै चोटी पाँचमा पढ्छ ।’ म र दाइ एउटै कक्षामा भयौँ ।
पाँचबाट छ मा जाँदा म चौथो भएँ । म १० बर्षको मात्र थिएँ । छ मा भर्ना गर्न एक बर्ष उमेर बढाउनुपर्ने भयो । मेरो उमेर बढाएपछि दाइको पनि बढाउनुपर्ने भयो । बढाइयो । छ बाट सातमा जाँदा छैठौँ भएँ । दिदीको बिहे झापा भएको थियो । दाइ तराईमा पढ्न जाने भन्ने भयो । म एक्लै स्कुल जान पर्ने भयो । स्कुल पुग्न ४० मिनेट लाग्थ्यो । सरहरुले सानै छ भनेपछि म घरमै बस्न थालेँ । गोठालो जाँदा आफुभन्दा ठूला दाइहरु साथी बने । ठुल्दाइ आइ ए पढ्ने भएकाले घरमा सामान्यज्ञानको किताव थियो । मैले बेलुका बेलुका आफुभन्दा ठूला उमेरका लाई जम्मा गरेर आगोको वरिपरि वसेर हाजिरीजवाफ गर्न थालेँ । त्यसले मेरो लगाव सामान्यज्ञानतर्फ बढायो । एक बर्ष घरमा बस्दा दिमाग तेजिलो भएछ । उमेरपनि पुगेर होला सात बाट आठमा जाँदा पहिलो पो भएँ । ३६ सालमा एसएलसी दिएपछि गाउँमै पढाउन थालेँ । आफुभन्दा ठूला थिए विद्यार्थी । माष्टर बन्यो रे भन्दा ठूलो ठान्ने बेला थियो त्यो । एसएलसी पास भएपछि मलाई सरहरुले पढ्न जान प्रेरित गर्नुभयो ।
यात्रा काठमाडौंको हाम्रो क्षेत्रका मानिसहरु पढ्न आउने भनेको धनकुटातिर हो । म काठमाडौँ आउने भएँ । म फुच्चे थिएँ । जहाज भाडा १०० थियो । म बच्चा जस्तो भनेर काउन्टरले ५० मात्र लियो । त्यसमाथि पढ्नमा चलाख छ रे भन्ने सुनिसकेका रहेछन् । त्यतिवेला फष्ट डिभिजन ल्याउनेको चर्चा पर पर सम्म चल्थ्यो । विमानस्थलमा समेत बेग्लै माया पाएँ । पढे त नचिनेकाले पनि माया गर्दारहेछन् भन्ने प¥यो । काठमाडौं आएपछि मैले गाडी देखेको हो । गाडी गाउँमा हुँदैनथ्यो, मैले देखेको पहिलो शहर नै काठमाडौं हो । अस्कल र त्रिचन्द्रमा आइएस्सी पढ्न चाहेको थिएँ । तर, नाम निस्केन । सोलुखुम्बुको चलाख बिद्यार्थी भनेर के गर्नु ? यहाँ बेहाल भयो । पुल्चोक इन्जिनियर कलेजमा ओभरसियर पढ्न थालेँ । पढाइ नसकिदै जागिर पाइने बेला थियो त्यो । क्याम्पसबाट पढाइ सकिएको तर रिजल्ट नआएको ब्योहोरा लिएर म संखुवासभा गएँ । त्यहीं सब–ओभरसेयरको नियुक्ति पाएँ । पास भएलगत्तै ओभरसेयर भएँ । लोकसेवा आयोगबाट ०४२ सालमा स्थायी भएँ । स्थायी भएपछि मेरो पोस्टिङ मनाङमा भयो । एउटा झोलुङ्गे पुल बनाएँ । त्यसपछि रसुवा सरुवा भयो । रसुवामा ३ वटा झोलुङ्गे पुल बनाएँ, २०÷२० वटा सर्भे गरेँ, केहीलाई मर्मत गरेँ । यति गर्दा मैले झोलुङ्गे पुलसम्बन्धी राम्रै ज्ञान हाशिल गरेँ । प्राइभेट बिद्यार्थीको रुपमा विकम र विएल पास गरेँ । एएमआइई पढ्नका लागि भारतको मन्द्रास जाने कुरा तय भयो । साथीहरु पनि जाने भए । २३ सय तिरेर भर्ना पनि भएँ । त्यो बेलाको २३ सयले काठमाडौंमै जग्गा आउँथ्यो । जाने भनेर पोका पन्तुरा तयार थियो । प्रेमकुमार राई (हाल आपुर्ति सचिव)ले मलाई पाँच बर्ष इन्जिनियर पढेर फेरी जागिरको पछि लाग्दा पछि परिन्छ भनेर सल्लाह दिए । शाखा अधिकृत भइसकेका राईले मलाई अधिकृतका लागि तयारी गर्न सुझाए । पूर्णचन्द्र अधिकारी (त्यतिबेला इन्स्पेक्टर), प्रेम पराजुली (त्यतिवेला खरिदार) र मेरो दाइ सुरेश (त्यतिबेला सुब्बा) सबैले पढ्ने कुरा ठीक भएपनि ढिला भइसकेको भन्न थाले । अन्तिममा म साथीहरुलाई विदाइ गर्न सुन्धारा गएँ, उनीहरु म नजाने भनेपछि छक्क परे । रसियामा छात्रवृत्ति पाउँदा पनि गएको थिइनँ । भइराखेको जागिर छाडेर त्यतिबेलाको २३ सय तिरेर म मन्द्रास जान किन हौसिएँ ? यो प्रश्न अहिले पनि आफैँलाई गरिरहन्छु । सायद, साथीहरुको प्रेमले घच्घचाएको थियो ।
अधिकृत हुँदा लोकसेवाको किताब किनेँ । नोट मागेँ । लेखा अधिकृत र शाखा अधिकृतको परीक्षा दिएँ । लेखा अधिकृतमा नाम निस्कियो । अन्तरवार्तामा फालिएँ । अन्तरवार्तामा असफल भएपनि मलाई भिन्दै उर्जा मिल्यो । खाशै तयारी नगरिकन नाम निस्केको थियो, तयारी गरे अवस्य निस्किन्छ भन्ने भयो । ०४७ सालमा म अधिकृत भएँ । ओभरसियरको जागिर जसो तसो चलेकै थियो । सूचना तथा संचार मन्त्रालय, राष्ट्रिय योजना आयोगमा तीन बर्ष काम गरेँ । ०५० सालमा बिहे भयो । सविता बस्नेत बिए पढ्दै थिइन् । श्रीमतीको पढाइ, काठमाडौंको बसाइ भएपछि मेरो कमाइले धान्न गाह्रो भयो । म जिल्लामा सरुवा हुन चाहन्थेँ । तर, पहुँच नहुँदा जान पाइनँ । त्यतिबेला प्रमाणपत्रको प्रतिलिपिको प्रमाणिकरण अधिकृतले गर्नुपथ्र्यो । आफु अधिकृत नहुँदा मैले आफ्ना प्रमाणपत्र प्रमाणित गर्न धेरै पापड पेल्नु परेको थियो । पहुँच नहुँदा प्रमाणपत्रसमेत प्रमाणित गर्न गाह्रो हुन्थ्यो भन्ने बुझेरै मैले सबैका प्रमाणपत्र प्रमाणित गरिदिन्थेँ । अधिकृत भएपछि सरुवा गर्न त्यस्तै सास्ती आइलाग्यो । बल्लतल्ल सिप विकास तालिम केन्द्र पर्वतमा सरुवा भएँ । भर्खर कार्यालय बन्दै थियो । त्यो बेला प्रत्यक्ष जनतासँग जोडिएर काम गर्न पाएँ । पूर्वको मान्छे पश्चिममा गएर देशलाई बुझ्न पाएँ । पर्वतमा त्यतिबेला ५५ गाविस थिए, सबै चहारेँ । त्यहीबेला जेठो छोरा जन्मियो । कार्यालयमा उतिसारो काम नभएकाले उपसचिवको तयारी गर्न पाएँ । नभन्दै नाम निस्कियो । पर्वत मेरा लागि टर्निङ प्वाइन्ट बन्यो ।
सिडियो हुँदा बरिष्ठ श्रम अधिकृतको रुपमा बीरगंजमा पोष्टिङ भएँ । उद्योगका बारेमा बुझ्ने अवसर त मिल्यो तर मलाई त्यो पद रुचीकर लागेन । धेरैले चाहन्थे त्यो ठाउँमा पोष्टिङ हुन, अहिले पनि चाहन्छन् । तर, मेरो मन रमेन । सरकार छिटो छिटो परिवर्तन हुन थाले । कर्मचारीको सरुवा पनि भइरहने भयो । म गृह मन्त्रालय तानिएँ । ३३ बर्षकै उमेरमा म जाजरकोटको सिडिओ भएँ । रौँ फुलेका, चाउरी परेका र भुँडी लाएका मात्र सिडिओ हुने त्यतिवेलाको जमानामा म ठिटो सिडिओ भएर जाँदा धेरैले विस्वासै गरेनन् । ‘केटो आको छ रे सिडिओ भएर’ जिल्लाभर हल्ला फिँजिएछ । त्यसमाथि म उमेर भन्दा कलिलो देखिने सानो कदको मान्छे । माओवादी युद्ध शुरु भएको बेला प्रभावित जिल्ला जाजरकोटको सिडिओ हुनु चुनौतिपूर्ण थियो । ०५४ सालको स्थानीय निकायको निर्वाचन गराएँ । एक बर्षको बसाइले धेरै सिकायो । इमान्दारितापूर्वक भन्दा मलाई सिडिओ पद मन परेन । फाँइफुट्टी लाउनुपर्ने, नचाहेर पनि कठोर बन्नुपर्ने, जनतासँग एक किसिमको दूरी कायम गर्नुपर्ने पद रहेछ । म त जनताको छोरो हुँ, उनीहरुसँगै बस्दा रमाउने मान्छे हुँ । त्यसपछि म सिडिओ बन भन्दापनि बनिनँ । मेरो स्थानीय विकास मन्त्रालयमा सरुवा भयो । ०५४ सालदेखि ०७१ सालसम्म म स्थानीय विकास मन्त्रालयमै रहेँ विभिन्न भुमिकामा । इलाम, चितवनमा एलडिओ भएँ । ०६० सालमा म मन्त्रालय फर्केँ । राजाको शासनकाल थियो । मन्त्रीहरु ०४६ पछिका कर्मचारीलाई विश्वास नगर्ने । जिसी थरका मन्त्रीले जगेडा कोषको पैसा प्युठान पठाउन चाहे । नगरपालिकामा जाने कोष नगरपालिका नभएको जिल्लामा जान सक्दैन भनेर रोकिदिएँ । कार्यविधि सच्चाउनुपर्ने सुझाव दिएँ । जगेडा कोषको बाँडफाँड गर्दा निर्वाचित नगरपालिका प्रतिनिधि हुन्थे एक जना । काठमाडौंका उपमेयर बिदुर मैनाली सदस्य थिए । उनलाई हटाइदिनु भनेर मन्त्रीको आदेश आयो । मैले आफुसँग हटाउने अधिकार नभएको जवाफ फर्काएँ । त्यसपछि मेरो सरुवा विराटनगर उपहानगरपालिकामा भयो । विराटनगर बस्दै गर्दा म सहसचिव भएँ । काठमाडौं महानगरपालिकामा आएँ । भर्खर गणतन्त्र आएको तर जनप्रतिनिधि नभएको बेला महानगरपालिका सम्हाल्नु एकदमै गाह्रो थियो । म ३० महिना बस्दा २४ पटक फोहोरमैला नउठाउने भनेर आन्दोलन भयो । फोहोरमैला व्यवस्थापनका लागि प्राइभेट पब्लिक पार्टनरसिपको अवधारणा विफल बनाउन त्यसो गरिएको थियो । काम पनि नगर्ने बाटो पनि नछाड्ने प्रवृत्ति नजिकबाट देखेँ । मैले त्यतिबेलै सोचेको कुरा पूरा हुन १३ बर्ष लाग्यो । त्यसपछि स्थानीय विकास मन्त्रालयमा सरुवा भएँ । योजना बनाउने ठाउँमा रहेँ । मैले देश किन बनेन र कसरी बनाउन सकिन्छ भन्ने गहिरो अध्ययन गर्ने मौका पाएँ । स्थानीय निकायलाई बलियो नबनाइ देशको विकास सम्भव छैन । दुर्भाग्य म सिडियो हुँदा ०५४ सालमा स्थानीय निकायको निर्वाचन भएको थियो, २० बर्ष भइसक्यो अर्को निर्वाचन भएको छैन । राज्य त जनता भएको ठाउँमा हुनुपर्ने हो नि । तर, जनता भएको स्थानीय तहमा राज्य संयन्त्र बलियो छैन । स्थानीय प्रजातन्त्र स्थानीय ठालुहरुको कब्जामा छ । बिकेन्द्रीकरणको नारा लगाउँदै केन्द्रीकरणको चरम अभ्यास भइरहेको छ । मेरो पर्यटन मन्त्रालयमा सरुवा भयो । मन्त्रालयमा रहँदा मैले पर्यटन र संस्कृतिका क्षेत्रबाट नेपालले पाउनसक्ने लाभ अझ बढी जान्न पाएँ । मैले चार ‘च’ को धारणा बनाएको छु नेपालको सन्दर्भमा ः कल्चर, नेचर, एग्रिकल्चर र एडभेन्चर । यी चारको मात्र यथोचित व्यवश्थापन र सदुपयोग गर्न सके समृद्धिका दृष्टिले नेपाल कहाँ पुग्छ कहाँ ।
सचिव भएपछि ०७१ सालमा सचिव भएपछि म क्षेत्रिय प्रशासकको रुपमा पोखरामा बसेँ । यो पद भएपनि हुने नभएपनि हुने खालको रहेछ । गरेपनि हुने नगरेपनि हुने भुमिकाको कार्यालय किन राखियो ? यस्तो पद किन राखेको होला ? मलाई अचम्म लाग्छ । जनतासँग जोडिएर काम गर्ने स्वभावका कारण भुमिकालाई सकेसम्म रचानात्मक बनाउने प्रयास गरेँ । पोखरा गएको केही दिनमै हिम पहिरो गयो । सेना, प्रहरी र उद्धारमा काम गर्नेको समर्पण देखेरमा भावविह्ल भएँ । ज्यानभन्दा सेवा ठूलो ठान्ने विशाल पंक्ति देशमा छ । मात्र त्यसलाई नेतृत्व दिने अगुवाको खाँचो रहेको मैले गहिरो अनुभुति गरेको छु । भुकम्प जाँदा सो क्षेत्रमा मनग्य राहत उठ्यो । हामीले ठूलो मात्रामा राहत काठमाडौं पठायौँ । अधिकृतका रुपमा म जहाँ पहिलो पटक पोष्टिङ भएको थिएँ त्यहीँ सचिवको रुपमा फर्केँ । संचार मन्त्रालय मेरालागि माइतीजस्तो लाग्छ । २० बर्ष अघि जे विषयमा छलफल भइरहन्थ्यो, ती विषय छलफलमै रहेछन् । आफुले प्रशासनिक नेतृत्व लिएको बेलामा केही गर्नैपर्छ भन्ने लाग्यो । राष्ट्रवाद जागेको बेला राष्ट्रिय हितमा काम गर्दा अवरोध हुँदैन भन्ने कुराले आँट पनि आयो । मैले मन्त्रालयमा छलफल चलाएँ, थाती रहेका फाइल पल्टाउन लगाएँ । एकपछि अर्को निर्णय लियौँ । नेपालको आफ्नै स्याटलाइट बनाउने कुरा बजेटमा चर्चा हुने तर नबन्ने भइरहेको थियो । १५ बर्ष अघि निर्णय भएको रहेछ, चर्चा त्योभन्दा पहिले पनि हुन्थ्यो । मेरो कार्यकालमा त्यो कार्यान्वयनतर्फ गयो । क्लिन फिडको कुरा अति महत्वपूर्ण हो । नेपालमा प्रशारण हुने चलचित्र र टेलिभिजनमा नेपालकै विज्ञापन हुने भएपछि नेपाली संचारमाध्यम र विज्ञापन व्यवसायी दीगोरुपमा टिक्न सक्छन् । यो विषयमा निर्णय गर्दैगर्दा भारतीय राजदुतले जिज्ञाशा राखेका थिए । भारत, भुटान, बंगलादेशमा अभ्यास भइसकेको कुरा नेपालमा गर्दा के बिग्रन्छ भनेपछि उनले खाशै चासो दिएनन् । तर्क र तथ्य साथमा भएपछि हस्तक्षेप हुन्छ भनेर हच्किन पर्ने छैन । धेरैले धेरै कुरा उठाएपनि क्लिन फिड लागू भएरै छोड्छ । चीनसँग पनि ब्याण्डविथ लिने सम्झौता भएको छ । इन्टरनेटमा भारतसँगको मात्र परनिर्भरता हटेको छ । कम से कम हामी बहुपहुँचमा पुगेका छौँ । आफ्नै स्याटलाइट भएपछि हामी आत्मनिर्भर हुनेछौँ । बक्स अफिस नहुँदा हलवाला मोटाउने चलचित्र बनाउनेहरु चाहीँ कंगाल हुने स्थिति छ । ०५४ सालदेखि बक्स अफिसको कुरा चलिरहेको थियो । मेरो कार्यकालमा त्यो कार्यान्वयनको तहमा गयो । स्कुरिटी प्रेस राष्ट्रिय हितका लागि नभइ नहुने कुरा हो । देशका महत्वपूर्ण डकुमेन्ट छाप्न बिदेश जानुपर्ने स्थितिको अन्त्य गर्नुपर्छ । अब सेकुरिटी प्रेस स्थापना हुँदैछ । काम हुँदै गएपछि हामी नोट नै यही छाप्न सक्छौँ । राहदनी पनि छापिन्छ । देश मजबुत हुने यसैगरी हो । नेपाल टेलिकम चुनौतिमा छ । एनसेलको रणनैतिक आक्रमण जारी छ । एनसेल अन्तराष्ट्रिय संस्थासँग आबद्ध छ जसको व्यापारशैली आक्रमक छ । यस्तै स्थिति रहिरहे गर्विलो संस्था एनटिसी धराशायी हुने देखिन्छ । एनसेलमा ५०० कर्मचारी छन्, एनटिसीमा ४८०० । तर, कामको रफ्तार हेरियो भने एनसेलको बेग गति छ । भोलिका दिनमा अरुपनि संस्था आउलान् यसैगरी । एनटिसीलाई बचाउनका लागि पनि रणनैतिक साँझेदार (स्ट्राटेजी पार्टनर) आवश्यक देखिन्छ । यसका लागि प्रारम्भिक कार्य मेरो कार्यकालमा भएको छ । संचार प्रतिष्ठानलाई उद्योगको मान्यता दिने र राज्यले विशेष सहुलियत दिने कुरामा ठोस प्रगति भएको छ । समानुपातिक विज्ञानको विषयमा प्रगति भएको छ । पत्रकारको न्युनतम तलब झण्डै दोब्बर बनाइयो । तलबको सवालमा चौतर्फी दबाब नआएको पनि होइन । राज्यको चौथो अंग पत्रकार भोको रहनु सर्वथा गलत हो । पत्रकारलाई इमान र जमानका साथ जिउँने स्थिति बनाउनै पर्छ । रेडियो नेपाल र नेपाल टेलिभिजनलाई एउटै निकाय बनाउने विषय छलफलमै छ । मेरो कार्यकालमा मूर्तरुप दिने प्रयास गरिरहेको थिएँ, सरुवा भएँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा आएपछि केहीले मलाई अन्याय भएको भनेर टिप्पणी गरे । तपाईले पनि जगेडामा राखिएको भनेर प्रश्न गर्नुभयो । मलाई त्यस्तो लाग्दैन । जहाँ सचिवको दरबन्दी छ, हरेक दरबन्दी उत्तिकै महत्वपूर्ण छ । आफुले पाएको भुमिका पूरा गर्नु हाम्रो दायित्व हो । म सरुवा भएपनि मलाई कुनै गुनासो छैन, कमसेकम आफु रहँदा संचारमन्त्रालयमा कैयौँ दीर्घकालिन महत्वका काम गर्न सकियो । यस्तै काम जहाँ रहेपनि गर्ने मेरो प्रयास रहनेछ । कार्यकारी पदमा रहँदा धेरै गर्न सकिन्छ, सहयोगीको भुमिकामा रहँदा घच्घचाउन सकिन्छ ।
गीत संगीतमा रमेका सचिव तिमीलाई देखेपछि आइ लभ यु आइ लभ यु भन्न मन लाग्छ भन्ने गीत युट्युवमा अत्याधिक हेरिएको छ । यो गीत लेख्ने मान्छे मै हुँ भन्ने धेरैले कल्पनापनि गर्दैनन् । सचिवजस्तो पाको उमेरको मान्छेले के लेख्या होला भन्ने लाग्दो हो । तर, कथाअनुसारको गीत मैले लेखेँ । खाशमा म सामाजिक जागरणका गीत, कविता र विज्ञापन लेख्छु । चिनेजानेका साथीभाइले भनिसकेपछि आइ लभ यु वालापनि लेखिदिएँ । १७० वटा जागरण र विकाससँग सम्बन्धित गीत लेखेको छु । स्थानीय विकास मन्त्रालयमा रहँदा विकासे गीत लेख्न मन लाग्यो । जनतालाई विकाससँग गीत संगीतमार्फत जोड्न सकिन्छ भन्ने लागेर लेखेको हुँ । यसको प्रभाव परेको लाग्छ । जगदम्बा स्टिलको विज्ञापन, नेपाल बैँकको विज्ञापन, बागमती अभियानको गीत, युनिसफेको विज्ञापन, सुनौला हजार दिनको नारा मैले लेखेको हो । राष्ट्रिय गीत र आधुनिक गीत पनि लेखेको छु । युट्युवमा कैयौँ गीत अपलोड छन् । मन झन झन चंगा हुँदै गएजस्तो लाग्छ । उमेर ढल्कदो छ, सृजना गर्न धेरै बाँकी छ । (सचिव दिनेशकुमार थपलियासँग नारायण पौडेलले गरेको कुराकानीमा आधारित) प्रतिक्रियाका लागिः narayanpoudel040@gmail.com