मेरो परिवार मेरो कथा

‘मध्यरातमा सर्टको टाँक र बेल्ट खोल्न थालेपछि इन्स्पेक्टरको मुखमा थुकिदिएँ ’ युद्धकालकी चर्चित नेतृको बयान

बिहिबार, ०६ असोज २०७३ गते मा प्रकाशित

kanchan-khanal-03-nepalaaja

 


गोरो बर्ण, छरितो जिउडाल, चिटिक्क पहिरन र हसिलो मुहारका कारण अपरिचितको नजरमा उनी माओवादी देखिन्नथिन् ।

त्यो बेला माओवादीहरुको ‘दाह्रा र सिङ’ हुन्छ भन्ने काल्पनिक कथा व्याप्त थियो । आवरण र आँटको सुन्दर संयोजनका कारणपनि उनी कैयौं पटक दुस्मनकै सामुन्नेबाट घेरा तोड्दै गन्तव्यमा पुग्न सफल भइन् । शहरमा जन्मे हुर्केकी सुन्दर युवती १० बर्षको युद्धकालिन संगीन घडीमा एकपछि अर्को मोर्चा सम्हाल्दै चर्चित नेतृ बनिन् । उनी अर्थात कञ्चन खनाल । युद्धकालमा माओवादी विद्यार्थी संगठन अखिल क्रान्तिकारीको सबैभन्दा माथिल्लो तहमा पुग्ने महिला नेतृ हिजोआज गुमनाम जस्तै छिन् । दुस्मनको घेरा तोड्दै मृत्युसँग लुकामारी गर्दै युद्धको त्यो भयावह परिस्थितिमा नेतृत्वमा पुगेकी कञ्चन कहाँ छिन् ? धेरैले सोध्ने गर्दछन् । पुष्पकमल दाहाल प्रचण्ड दोश्रो पटक प्रधानमन्त्री भएपछि कञ्चनको खोजी माओवादी पंक्तिमा विशेषरुपमा हुन थालेको छ । पहिलो, माओवादीले मन्त्री बन्न लायक महिला नेतृ भेटेन । प्रश्न स्वभाविक उठ्यो, ‘नेतृ नभएका हुन् वा पाखा पारिएका हुन् ?’ यसैमेसोमा कञ्चन र उनीजस्तै ओझेलमा परेका हिजोका जल्दबल्दा नेतृलाई धेरैले सम्झिन थाले ।

दोस्रो, सिंहदरबारमा प्रधानमन्त्री र मन्त्रीको सचिवायलमा रहेका अधिकांश पुरुष कञ्चनका समकक्षी वा कनिष्ठ हुन । उनीभन्दा कनिष्ठ केही मन्त्रीपनि भइसकेका छन् । उनीभन्दा कनिष्ठ महिला नेतृहरु सबैजसो सभासद् भइसके । एउटै व्याचका पुरुष नेताहरु सिंहदरबारमा भीड लाग्दा कञ्चन कहाँ छिन् ? स्वभाविक प्रश्न बनेको छ । लेखनाथ न्यौपाने अध्यक्ष हुँदा कञ्चन, रामदीप आचार्य, युवराज चौलागाईं उपाध्यक्ष थिए । हिमाल शर्मा महासचिव र रमेश मल्ल कोषाध्यक्ष थिए । यि सबै पुरुषपात्रले केन्द्रमा भुमिका पाएका छन् । लेखनाथ पोलिटव्यूरो सदस्यसहित काठमाडौंको संयोजक छन् । रामदीप प्रधानमन्त्रीको जनसम्र्पक सल्लाहकार छन् । युवाराज पार्टीको विदेश विभागमा छन्, देश विदेश घुरिहन्छन् । हिमाल अर्थमन्त्रीको स्वकीय सचिव छन् । रमेश प्रधानमन्त्रीको स्वकीय सचिव छन् ।

अनि युद्धकालकी उदारहणीय नेतृ कञ्चन कहाँ छिन् ? लेखनाथपछि स्वभाविकरुपमा अखिल क्रान्तिकारीको अध्यक्ष बन्ने पालो कञ्चनको थियो । बरिष्ठता, सहिद परिवार तथा महिला भएका कारण उनलाई अध्यक्ष बनाउँदा सकारात्मक सन्देश जाने तर्कसहित उनको पक्षमा जबरजस्त माहोल तयार भएको थियो । कञ्चनले पार्टी नेतृत्व समक्ष प्रस्ताव गरिन्, ‘बाबु काखमा छ । शान्ति प्रक्रियाको निर्णायक चरण भएकाले थोरैमात्रै पनि तलमाथि गर्न नहुने स्थिति छ । यस्तो अवस्थामा काखे बच्चाकी आमा म उपयुक्त नहुन सक्छु ।’ अध्यक्ष बन्नका लागि चलिरहेको अनेकथरी हानथापका बीच कञ्चनको यो उदार प्रस्तावले अर्को उदाहरण प्रस्तुत गरेको थियो । उनको सहज बर्हिगमनका कारण हिमाल शर्माका लागि अध्यक्ष बन्ने सरल बाटो तय भयो । उनीसँगै विद्यार्थी संगठनबाट बाहिरिएका लेखनाथ, रामदीप र युवराज काठमाडौंमै रहे ।

उनी जिल्ला संगठनमा सक्रिय भइन । माओवादीमा अनेक उतारचढाव आए । केन्द्रमा रहेका पात्रहरु नेतृत्वको नजरमा पर्दै गए । उनी विस्तारै ओझेल परिन् । युद्धकालमा आर्दश र प्रेरणाका रुपमा उदाहरण बनेकी कञ्चन शान्तिकालमा भुमिगतजस्तै रहेकी छिन् । यि सबै पृष्ठभुमी बारे बुझिसकेपछि नेपाल आजले चितवनमा रहेकी कञ्चनसँग सम्र्पक गर्यो । उनले मिडियामा आउन नचाहेको अड्डी लिइन् । जनयुद्धको भोगाइका बारेमा सिमित रहने सर्तमा उनी बोल्न राजी भइन् ।

 कञ्चनको राजनीति प्रवेश

कञ्चन चितवनको शान्तिचोकमा जन्मिइन् । काठमाडौं नरदेबीस्थित कन्या माबिबाट एसएलसी गरिन् । त्यसपछि उच्च शिक्षा हासिल गर्नका लागि चितवन फर्किइन् । बुबा बिष्णु कम्युनिष्ट आन्दोलनका चर्चित पात्र रुपलाल विश्वकर्माका साथी भएकाले घरमा कम्युनिष्ट नेताको आउजाउ भइरहन्थ्यो । माक्र्स, लेलिन र माओका कितावहरु घरमा आइरहन्थे । चितवनको राजनीतिक इतिहासमा नमेटिने अध्यायका रुपमा रहेका जुटपानी, जुगेडीको संर्घषमा कञ्चनको परिवार प्रत्यक्ष जोडिएको थियो । साइलो बुबा हिमालय खनाल र फुपु सुभलक्ष्मीको राजनीतिप्रतिको लगावले कञ्चनलाई भिन्दै प्रभाव पारेको थियो । कञ्चनलाई विशेष प्रभाव पार्यो पुस्तकले । चिनियाँ साँस्कृतिक क्रान्तिका बारेमा केन्द्रीत उपन्यास युवाहरुको गीत, कालु स्कुल जाँदैछ, थ्याङ्क यू मिस्टर ग्लाड जस्ता पुस्तकले उनलाई छापामार बन्ने हुटहुटी पैदा गरायो ।

सहिद स्मृति बहुमुखी क्याम्पस पढ्दै गर्दा २०५१ सालमा उनी अखिल क्रान्तिकारीमा संगठित भइन् । सोही बर्ष स्ववियूको निर्वाचन भयो । भर्खर भर्खर संगठित भएकी कञ्चनलाई सचिवको उम्मेदवार बनाइयो । उनले आफु उम्मेदवार नबन्ने बताइन् तर संगठनको कमाण्ड नमानी सुखै भएन । भोट नमाग्ने सर्तमा उनी उम्मेदवार भइन् । उनी उम्मेदवार भएपनि उनलाई उनकै सहपाठीले चिन्दैनथे । चुनावको रन्कोले कलेजमा फन्को मारिसकेको थियो । उनी कक्षाकोठामै हुन्थिन् । चुनावको चर्चा भइरहन्थ्यो । उनी छेवैमा एउटा समुह गफमा मस्त थियो । एउटा केटाले भन्यो, ‘क्रान्तिकारीकी कञ्चन भन्ने को रैछ ? भोट माग्न पनि हिड्दिन । कस्तिलाई उम्मेदवार बनाएछ ?’ केटाले गफैगफमा भनेको सो बाणी कञ्चनका लागि बाँण सावित भयो । उनले आफुलाई थाम्नै सकिनन् । सरासर अगाडि गइन् । ‘साथीहरु म कञ्चन खनाल ।

क्रान्तिकारीको तर्फबाट सचिवको उम्मेदवार । मलाई भोट दिनुहोला ।’ एक सासमा उनले सबै भनिन् । उनको हाउभाउ अस्वभाविक थियो । आत्तिएकी थिइन् उनी । कक्षा हाँसोले गुन्जियो । जे होस् उनी सार्वजनिक भइन् । भलै चुनाव हारिन्, प्यानलमा सर्वाधिक भोट ल्याउन सफल भइन् । शहरमा जन्मे हुर्केकी र सापेक्षिकरुपमा सुखसयल भोगेकी कञ्चनका लागि माओवादी राजनीति खप्न नसकिने खालकै थियो । शुरुशुरुमा उनलाई अनेक समस्या आइलागे । जस्तो पायो त्यस्तै ठाऊँमा बस्न नसक्ने, जो पायो त्यही खान नसक्ने बानी लागेको थियो । ०५३ सालमा चितवनको कोराक गाऊँमा जाँदाको घटना उनी कहिल्यै भुल्दिनन् । खानेकुरा केही थिएन । पाहुनालाई भनेर चेपाङ भाउजुले गुन्द्रुक पकाएकी थिइन् । खाँदा मासुको रस जस्तो लाग्यो । उनले यसो नियालेर हेरिन् । सुकाएको चेपागाडा ‘भ्याकुतोको बच्चा) मिसाएर बनाइएको रहेछ ।

सिनियरले उनलाई सम्झाए, ‘यस्तैमा बानी पार्नुपर्छ ।’ त्यतिबेलाको घटना सम्झदै कञ्चन भन्छिन्, ‘कैयौंदिन भोकै बसें । चेपाङ बस्तीमा विस्तारा भनेकै भुँइ हुन्थ्यो, त्यस्तोमा कसरी सुत्नु । रातभरी जागै हुन्थें । तर हिम्मत हारिनँ ।’ कृषि विकास बैंकबाट कब्जा गरेको लालापूर्जा वितरण र संगठन विस्तारका लागि कोराक पुग्दा उनले फरक संसार देखिन् । कञ्चनले भित्रभित्रै भुमिगत हुने तयारी गर्दैथिइन् । आमा सरितालाई जिस्काउँथिन्, ‘थप्नु थप्नु, हजुरले दिएको खाने दिन नै कति छ र् ?’ आमाको ध्यान विवाहतिर जान्थ्यो । उनी जवाफ फर्काउथिन्, ‘अहिल्यै तलाई कस्ले दिन्छ र् ?’ उनले घरमा खाशै काम गर्नु पर्दैनथ्यो । संगठनले जनताको घरमा श्रम गर्ने नीति लियो । उनले भुमिगतरुपमा काम गर्ने बानी पार्न जुनेली रातमा आफ्नै खेतको धान काट्न थालिन् । यसैगरी उनी भुमिगत जीबनका लागि तयार हुँदै गइन् ।

कञ्चनको नेतृत्वमा जब प्रतिरोध भयो

२०५५ सालमा कञ्चन क्रान्तिकारीको जिल्ला अध्यक्ष भइन् । संगठनमा अध्यक्षबाहेक सबै पुरुष थिए । त्यसैले पनि चितवनको विद्यार्थी संगठन माओवादीभित्र चर्चित थियो । कञ्चनको नेतृत्वमा निशुल्क शिक्षाका लागि आन्दोलन चर्कियो । सो आन्दोलनले देशव्यापी लहर पैदा गर्यो । कञ्चनको परिचय व्यापक बन्दै गयो । ०५५ को स्ववियू निर्वाचनको सन्दर्भ पारेर क्रान्तिकारीले चितवनमा नेविसंघको प्रतिरोध गर्ने योजना बनायो । सप्तगण्डकीमा क्रान्तिकारीको पकड रहेकाले सप्तगण्डकीबाटै प्रतिरोध गर्दा सहज हुने धेरैका राय थियो । अध्यक्ष कञ्चनले जहाँ संगठन कमजोर छ त्यहीबाट प्रतिरोध गर्दा अर्थपूर्ण हुने अडान लिइन् । चितवनको वीरेन्द्र बहुमुखी क्याम्पसलाई नेविसंघको अखडा मानिन्थ्यो । विद्यार्थी नेता शिब पौडेललगायतको हत्या भएकाले पनि त्यहाँ बामपन्थी विद्यार्थीको मनोबल धेरै समयसम्म खस्किएको थियो ।

कञ्चनको प्रमुख आतिथ्यतामा वीरेन्द्रमा स्ववियू विशेष कार्यक्रमको आयोजना भयो । कार्यक्रमको अन्तिमतिर नेविसंघ क्रान्तिकारीमाथि जाइलाग्यो । भागाभाग शुरु भयो । कञ्चनले कुर्सी उठाएर नेविसंघका कोइराला थरका नेतामाथि प्रहार गरिन् । त्यसपछि परिस्थिति फेरियो । पूर्वयोजना अनुसार प्रतिरोध शुरु भयो । वीरेन्द्र बहुमुखी क्याम्पसमा क्रान्तिकारीले ‘कब्जा’ जमायो । त्यसपछि कञ्चनको नाम नै काफी हुन थाल्यो । घटना सम्झदै भन्छिन्, ‘मनोबल ठूलो कुरा रहेछ । हामीले प्रतिरोध थालेपछि उनीहरु भागे । यस्ले त हान्छे भनेर पछि पनि तर्किन थाले । खाशमा हामीसँग केही व्याक फोर्स थियो । सोही टिमले प्रतिरोध गरेको हो ।’ चितवनको निशुल्क शिक्षाका लागि भएको शैक्षिक आन्दोलन तथा वीरेन्द्र र रामपुरको प्रतिरोधपछि कञ्चनको प्रख्याती ह्वात्तै बढ्यो । उनी केन्द्रमा तानिइन् ।

जेलजीबन र यातना

उनी तीनपटक पक्राउ परिन् । युद्ध शुरुवाती चरणमा भएकाले उनी बाँच्न सफल भइन् । अन्यथा उनी हजारौं सहिदको सूचीमा ज्ञातअज्ञातको समुच्चमा पर्ने निश्चित  थियो । तोरीखेतमा माओवादीले भरुवा बन्दुक खोसेको थियो । सोही बन्दुकको खोजी तीब्र पार्यो प्रहरीले । कञ्चन पक्राउ परिन् । त्यतिबेला इन्स्पेक्टर प्रल्हाद केसीको नेतृत्वमा कञ्चनलाई यातना दिइएको थियो । मध्यरातमा इन्स्पेक्टर हिरासत कक्षमा जत्थासहित प्रवेश गर्दथ्यो । मार हकाथ्र्यो । देबी खड्कामाथि हिरासतमा सामुहिक बलात्कार गरिएको घटना सार्वजनिक भएको थियो । उसले देबीकै हाल बनाउने भनेर मानसिक याताना दिन्थ्यो । ‘मेरो हात बाँधिएको थियो । सर्टको टाँक खोल्यो । बेल्टपनि खोल्यो । त्यसपछि सुम्सुमाउन थाल्यो । मैले केही सोच्नै सकिनँ । उसको मुखमा थुकिदिएँ ।’ हिरासतको त्यो कालरात्री सम्झदैं उनले भनिन् । रिसले चूर इन्स्पेक्टर केसीले गालामा जोड्ले थप्पड हानेपछि उनी भित्तामा ठोक्किइन् । ‘यसलाई देबीलाई झैं बनाउनु भन्दै ऊ बाहिरियो । म काँपिरहेकी थिएँ ।’ उनले भावुक हुँदै भनिन् । हवल्दार भाइकाजी श्रेष्ठसहितको समुह उनलाई ‘बलत्कार’ गर्ने आदेशसहित बसेको थियो । श्रेष्ठले बाँकीलाई बाहिर पठाए । ‘बहिनी तपाईलाई डर लागेको छ हो ?’ मायालु स्वरमा उनले सोधे । उनले थरथराउँदै हो को संकेत गरिन् । ‘हामी त्यस्तो गर्दैनौं । तपाईलाई डर देखाउँनका लागि सापले त्यस्तो भन्नु भएको हो ।’

कोमल मनका श्रेष्ठले त्यति भनेपछि कञ्चनको सास थामियो । उनले आफुले यातना दिएजस्तो गर्ने तपाई कराएजस्तो गर्ने भन्ने सुझाव दिए । उनले आवाज निकाल्न खोजिन् तर उनको गलाबाट आवाजसमेत निस्किन सकेन । भोलिपल्ट इनिस्पेक्टर केसीको फेरि प्रवेश भयो । उनलाई हलचल नगरी घण्टौं बस्न लगाइयो । कुट्दा भन्दा हलचल नगरी बस्दा बढी पीडा हुने कञ्चनको अनुभव छ । त्यसपछि उनको नङमा पीन रोपियो । विस्तारै यातना यातनाजस्तो लाग्न छाड्यो । ‘शुरुमा नङमा रोप्दापनि दुख्थ्यो । पछि पाक्दापनि दुख्न छाड्यो ।’ ल्याडप्याडमा हुर्केकी उनले हिरासत अनुभव सुनाइन् । दोस्रो पटक उनी काठमाडौंमा पक्राउ परिन् । महिलाको सम्मेलनमा आएकी थिइन् । प्रहरीले हस्तक्षेप गर्न खोजेपछि उनी प्रतिरोधमा उत्रिइन् । पक्राउ गरेपछि उनलाई गायव पारियो । सुरुची पत्रिकामा उनले प्रतिरोध गर्दै गरेको लडाकु फोटो छापियो । त्यसपछि उनलाई आफन्तसँग भेटघाट गर्न दिइयो । प्रहरीले उनीसँग राम्रो व्यवहार गर्थे । इन्स्पेक्टरकी भान्जी भन्थे ।

उनलाई जिस्काएजस्तो लाग्थ्यो । छुटेको धेरै समयपछि उनले थाहा पाइन् मामा (जी कट्टेल) हनुमान ढोकामा इन्स्पेक्टर भएकाले उनी छुटेकी रहिछिन् । माओवादीले पश्चिम क्षेत्रमा एक पछि अर्को आक्रमण गरिरहेको थियो । विस्तारै मध्य र पूर्व क्षेत्रमा उसले आक्रमण बढाउँदै लगेको थियो । शहरी क्षेत्रमा माओवादीको उतिसारो प्रभाव थिएन । कञ्चन चितवनमा सक्रिय थिइन् । ०५६ बैशाखको आम निर्वाचन बिफल बनाउने माओवादी नीति थियो । कञ्चनसहितका माओवादी कार्यकर्ता निर्वाचन बहिष्कारको नारासहित सडकमा उत्रिए । प्रहरीले हस्तक्षेप गर्यो । उनकै साथ लागेर जुलुशमा सहभागी हुन गएकी बहिनीपनि पक्राउ परिन् । यसपटकको यातना बेग्लै थियो । बेल्नाले कम्मरमुनीको भागमा पेल्ने र तातो सिमेन्टमा लगेर सुताउने गरिन्थ्यो । ‘शरीर चटचट गर्दथ्यो । शुरुशुरुमा असाध्य पीडा हुन्थ्यो । पछि बानी पर्यो ।’ पीडा बिर्साउने गरि उनी हासिन् । तीन महिना कारागारमा बसेपछि अदालतको आदेशमा उनी मुक्त भइन् ।

प्रचण्ड, बाबुरामसँगको भेट ०५६ सालमा भारतको गोरखपुरमा मध्य क्षेत्रको भेला भएको थियो । उनले त्यही पहिलो पटक प्रचण्ड बाबुरामलाई देखिन् । उनलाई शुरुबाटै सैन्य फाँटमा काम गर्ने रुची थियो । त्यसमाथि प्राविधिक टिम (बम, बारुद, एम्बुस बनाउने)का साथीहरुपनि सहभागी थिए । कान्छा ( प्रेम नगरकोटी) माओवादीमा चर्चित थिए । किनकी प्राविधिक टिम भन्दा बित्तिकै उनको नाम आइहाल्थ्यो । कान्छासँग त्यही उनको देखादेख भयो । विद्यार्थीको केन्द्रीय सदस्य भइसकेकी कञ्चनको कास्की सरुवा भयो ।

उनी संयोगले प्राविधिक विभागको जिम्मेवारीमा पनि परिन् । उनले निर्माण विभागमा रहँदा बम, बारुद र माइन बनाउन सिकिन् । ‘पहिले हामीसँग २ वटा बम छ भनेपछि सबै जितिन्छ भन्ने लाग्थ्यो । बम बनाउन जानेपछि बमको क्षमता थाहा भयो । सकेट बम छ भनेपछि भिन्दै साहश आएको सम्झदा आफैंलाई हास्यो लाग्यो ।’ उनले कलमको राजनीतिबाट हतियारसहितको राजनीतिमा रुपान्तरण हुँदाको समय सम्झिइन् । निर्माण फाँटमा रहँदा उनले युद्धको माग र चापलाई नजिकबाट बुझ्न पाइन् । उनलाई कान्छाले हरतरहले सहयोग गरे । विस्तारै उनीहरुको मन बस्यो । २०५८ मंसिर १ गते उनीहरुको जनबादी विवाह भयो । कान्छाबहादुर (देब गुरुङ) विवाहमा प्रमुख अतिथि थिए ।

संकटकाल र सेनाले घेरा हालेको घरमा देब गुरुङसहित कान्छा र कञ्चन

उनीहरुको विवाह हुँदा देशमा शान्ति वार्ता चलिरहेको थियो । विवाहको केही दिनमै पार्टीले शान्ति वार्ताको औचित्य नरहेको सर्कुलर गर्यो  । निर्माण टिममा रहेका कान्छा र कञ्चन दुबै स्याङ्जा आक्रमणको तयारीमा जुटे । मंसिर ८ गते माओवादीले दाङलगायतका ठाऊँमा भिषण आक्रमण गर्यो । स्याङ्जामा समेत धमका मच्यायो । ११ गते संकटकाल लाग्यो । पोखरामा प्राविधिक तयारी गरी स्याङ्जा आक्रमण भएको सूचना सेनाले पाएको थियो । कास्की क्षेत्रमा व्यापक धरपकड शुरु भयो । कमाण्ड बाबुराम भट्टराईले सम्हालेको भएपनि फिल्ड कमाण्ड देब गुरुङको थियो । देब गुरुङ पछिको नेतृत्व देवेन्द्र पौडेल सुनिलको थियो । तर, स्टाफ पक्राउ परेपछि देवेन्द्र दम्पत्ति एकाएक गायव भए । खबर आयो ‘दुर्गम गाऊँतिर भागेका छन्’ भन्ने ।

देब गुरुङको खोजीमा सेनाले पूरै शक्ति लगाएको थियो । देब गुरुङलाई जोगाउने दायित्व कञ्चन र कान्छाको काँधमा आइलाग्यो । ‘नेतृत्व बचाउनै पर्छ भन्ने थियो । नेता नै मारिएपछि आन्दोलनलाई ठूलो क्षति हुन्छ । हामी मर्दा केही हुँदैन भन्ने चेतना थियो ।’ कञ्चनले संकटकालको सास्ती र आर्दश सुनाइन् । चौतर्फी घेरावन्दी थियो । उनी पूर्ण पौड्याल (बेपत्ता)को घरमा गएकी थिइन् । कान्छाले नजाउ भन्दा भन्दै उनी त्यहाँ पुगेकी थिइन् । छतमा बसेर कुरा गर्दा नगर्दै सेनाले छापा मार्यो, चिनेकैले सुराक गरेको रहेछ । ‘तेजकुमारीलाई पक्राउ गरेपछि उ को भनेर सोध्यो । सानिमाकी छोरी भनेर तेजुको दिदीले बचाउनुभयो ।’ झण्डै समातिएको सो क्षणको व्याख्या गर्दै उनले भनिन्, ‘उसलाई भ्यानमा राखेपछि कोठी भएकी केटीपनि सँगै थिइ भन्ने कुरा चलेछ । उनीहरु फर्केर घरमा आए । त्यतिन्जेल म घरबाट निस्किसकेकी थिएँ ।’ घुमाउँरो बाटो हुँदै उनी कोठा पुगिन् ।

ढोका जोडले ढक्ढकाएको आवाज आयो । कोठाभरि हतियार थिए । उनी झसङ्ग भइन्, ‘कोठामा नआउनुपर्ने । पछ्याउँदै आएछ । म त जे हुन्थे हुन्थे । यत्रो हतियारपनि जाने भयो ।’ तेजुका साथी कान्छालाई तेजु र कञ्चन पक्राउ परेको खबर दिन आएका रहेछन् । कन्चनलाई कोठामा देखेपछि उनी तीनछक परे । केही दिन पछिको कुरा । कान्छा हतारिदै आए । हतियार अँगालोमा हाल्न थाले । कञ्चनले के भयो भनेर सोधिन् । कान्छाले गम्भीर कुरा सुनाए, ‘बुटवलबाट बलदेबको खबर छ, हाम्रो बारेमा सेनाले सुंइको पाइसकेको छ । डेरा छाड भन्ने कमाण्ड छ ।’ कञ्चनले तरकारी पकाउन तेल बसालेकी मात्रै थिइन् । उनीहरु कोठा छाडेर निस्किए । केही बेरमा सेना पुगेछ । ‘तेल तातै छ ।

यतै छन्’ भन्दै भूँइपाताल खोजेको सूचना उनीहरुले पछिबाट थाहा पाए । युद्धकालमा उनी पटक पटक मृत्युको मुखमा परिन् । कास्कीको संगठन संकटकाल लागेपछि छिन्नभिन्न भयो । नेतृत्व जोगाउनै मुस्किल पर्यो । डोल्पाको दुनै आक्रमण गरेको दिन थियो । देब गुरुङलाई खोज्न सेना केन्द्रीत भएको थियो । गुरुङसँग कान्छा र कञ्चन एक जना गुरुङ्नी आमाको घरमा सेल्टर लिएर रेडियो सुनिरहेका थिए । माथि कोठामा उनीहरु रेडियो सुन्दै समीक्षा गरिरहेका थिए, तल सेनाले घर र टोललाई चारैतिरबाट घेरा हालिसकेछ । घरबेटी आमा हेमकलाले भनिन्, ‘म मरेर भएपनि जोगाउँछु ।’ आमा तल झरिन् । ‘कोही आएको छ ?’ सेनाको कमाण्डरले प्रश्न गरे । उनले जवाफ फर्काइन्, ‘आको छ ।

लाहुरे छोरो आको छ । माथि बुहारीसँग छ । म बुढीलाई यस्तै छ ।’ आमाले नाटक गर्न थालिन् । ‘लाहुरको मिठाइ खाने ?’ उनले सेनाप्रति माया दर्शाइन् । सर्वत खुवाइन् । त्यसपछि कोही आए खबर गर्नु भन्यो कमाण्डरले । उनले नम्बर मागिन् । निकैबेरको गलफ्त्तिपछि कमाण्डरले ‘हिडाओ, पर्दैन माथि जान’ भन्दै टोली फर्काए । आमा हास्दै माथि आइन्, ‘कमाण्डरपनि गुरुङ भएकाले सजिलो भयो ।’ यस्ता अनेकौं घटनाको फेहरिस्त छन् कञ्चनसँग । (श्रीमानको सहादतपछि कञ्चनले पार्टी भित्रका बाट झेल्नु परेको ‘कुदृष्टि’, विद्यार्थीको उपाध्यक्ष हुँदाको अनुभव, एकमात्र भाइको निधनपछिको अवस्था र पार्टी विभाजनको पीडा समेटिएको अध्याय छिट्टै प्रकासित गर्नेछौँ –सम्पादक)


र याे पनि,

► ‘भारतको सुरक्षा छातामा नेपाल बस्दैन’ भनेपछि मनमोहनलाई भारतले हेलिकोप्टर दुर्घटनामा पारेको हो