मेरो परिवार मेरो कथा

जब हिरामणीले हात र आँखा गुमाए......

शनिबार, ११ भदौ २०७३ गते मा प्रकाशित

hira-mani-adhikari-1-nepalaaja

hira-mani-adhikari-1-nepalaaja काठमाडौंको डल्लुस्थित बिजेश्वरी आर्मी क्वार्टरमा केहि सैनिकहरु आफ्ना परिवारसहित बस्ने गर्छन् । ति मध्ये केही शारीरिकरुपमा अशक्त छन् । त्यसैमध्येका एक हुन् हिरामणी अधिकारी । हाम्रा लागि उनी र उनका लागि हामी अपरिचित थियौँ । माओवादी युद्धमा शारीरिक रुपमा अशक्त भएका उनलाई भेट्न हामी त्यहाँ पुगेका थियौं । उनी स्वयं हामीलाई लिन बाहिरसम्म आउँदा हामी त आश्चार्यचकित भयौँ । उनी आर्मी क्वार्टरको ५ नम्बर भवनको दोस्रो तल्लामा बस्दा रहेछन् । अध्ँयारो भर्याङमा उनलाई पछ्याउँदै हामी उनको सानो अपार्टमेनटमा पुग्यौँ । भित्र उनका छोरा र छोरी बसिरहेका थिए । छोरी कविताले भर्खर १२ कक्षाको परीक्षा दिएकी रहिछन् । एमबिबिएसको तयारीमा रहेकी उनी झ्याल नजिकैको उज्यालोमा बसेर पढिरहेकी थिईन् । विरेन्द्र सैनिक महाविद्यालयमा पढ्ने रहेछन छोरा । श्रीमती शान्ति भने अफिस गएकी थिइन् । हिरामणीको कोठाका भित्तामा परिवारका तस्विरहरु झुण्ड्याइएका छन् । ती तस्बिरमा उनको सग्लो शरीर देखिन्छ । ती तस्बिर र हिरमणीलाई सशरीर एकसाथ देख्दा माओवादी युद्धको भयानक पक्ष प्रतिबिम्बित हुन्छ । २०६२ असार १५ गते रोपाईंको दिन, चारैतिर दही च्युरा खांदै रोपाहारहरु व्यस्त थिए । आर्मीका खरिदार रहेका नवलपरासी देउरालीका हिरामणी सिन्धुलीमा तैनाथ थिए । अचानक उनी र उनका साथीहरुको समुह बिद्रोही माओवादीको एम्बुसमा पर्यो । उनी जीबनमरणको दोसाँधमा पुगे । सँगैका साथीहरुलाई सामान्य घाइतेमात्रै भएका थिए । उनीहरुले माथि खबर गरे । सेनाको हेलिकप्टरमार्फत उनलाई तत्कालै काठमाडौंको वीरेन्द्र सैनिक अस्पताल उतारियो । होसमा आउँदा उनी हस्पिटलको शैष्यामा थिए । आँखा बिजाएजस्तो लाग्यो । यसो छाम्नका लागि हात उठाउन खोजे । तर, सकेनन् । एउटा हातको सिरिफ पाखुरा बाँकी थियो । अर्को हातमा औंला थिएनन् । कुमले आँखा छाम्न खोजे आँखामा पनि व्याण्डेज गरिएको थियो । पछि थाहा पाए उनले दुबै हात र एउटा आँखा गुमाइसकेका थिए । hira-mani-adhikari-2-nepalaaja हिरामणीको शरीर पसिनाले निर्थुक्क भयो । उनी मृत्युसमेत स्विकार गरेर युद्धमैदानमा होमिएका थिए । धन्न बाँचे । तर, अशक्त हुंदाको पीडा मृत्युभन्दा बोझिलो हुंदोरहेछ । उनको मानसपटलमा नाबालक छोराछोरी र कल्कलाउंदी श्रीमती घुम्न थाले । बाँकी रहेको एउटा आँखाबाट अनायशै आँशु चुहियो । एउटा मान्छेको मायाले कति असर पार्दछ जीबनमा भन्ने गीत हिरामणीको जीबनमा ठ्याक्कै मेल खान्छ । नारायणगोपालको स्वरमा रहेको एउटा मान्छेका रुपमा उनकी श्रीमती देखा परिन् । उनकै मायामा हिरामणीले जीबन देखे । कैयौं साथीका श्रीमती युद्धमा श्रीमान असक्त भएपछि भागेको उनले सुनेका थिए । तर, उनले जीबनमा श्रीमतीको यस्तो समर्पण र प्रेम पाए, विस्तारै पीडा दूर हुंदै गयो । निराशा आशामा बदलिन थाल्यो । हिरामणीको जीवनमा उनका दाजु केशव अधिकारीप्रति पनि उनी ऋणी छन् । जब उनी घाइते अवस्थामा अस्पतालमा थिए । उनकी श्रीमती तत्काल काठमाडौँ आउन नसकेको समयमा दाजु केशवले नै उनको स्याहार सुसार गर्ने गर्दथे । उनको दिशा पिसाव सफा गर्नेजस्ता सारा  काम दाजुले नै गरिदिन्थे । जब शारिरिक असक्षमताले उनको मनोबललाई पुर्ण रुपमा घाइते बनायो तब उनका दाजुले उनलाई जिन्दगीसगँ फेरि लड्न हौस्याउथे । जिन्दगीलाई नयाँ ढङ्गबाट बाँच्न उनलाई प्रयत्न गराउँथे । उनीले भावुक हुँदै भने, ‘दाजु त मेरा लागि भगवान सरह हुन् । उनको साथ र योगदानलाई कदापी भूल्ने छैन ।’ शारीरिकरुपमा असक्त भएपछि उनले आफन्त र समाजलाई नजिकबाट चिह्न पाए । असक्त भएपछि उनको खर्च बढ्यो । खर्चको तुलनमा आयआर्यजन कम थियो । उनलाई गाऊका साहुमहाजन ऋण दिन आनाकानी गर्थे । नजिकका टाढिन्थे । हिजो उनलाई पैसा दिनु भनेको बैंकमा राख्नुजस्तै हो भन्नेहरु आंशकायुक्त नजरले हेर्थे । सहयोगपनि बलशाली रहिन्जेलमात्र पाइने रहेछ । यसले कमाएर तिर्न सक्दैन भन्ने सोचले सबैलाई गांजेको थियो । हिरामणीको जीबनमा युद्धले धेरै कुरा हरेको छ । युद्धमा गुमेको आँखाको ठाऊँमा उनले नक्कली आँखा राखेका छन् । नक्कली आँखाले देख्दैन, कम्तिमा अरुले हेर्दा असहज नदेखियोस् भनेर राखिएको हो । उनी बाटो हिंड्दा अल्मलिने गर्दछन् । एकातिरमात्र देख्न सक्ने भएकाले अर्कोतिर ठोक्किसक्छन् । बाटो काट्न उनलाई झनै असहज हुन्छ । तिल्मिलाउंने गर्दछन् । सार्वजनिक यातायातमा अपाङ्ग सिट भनेर लेखिएको हुन्छ । सपाङ्ग भनिएकाहरु सिटमा ढसमस्स बसेका हुन्छन् । उनलाई अजिव लाग्छ । मान्छे कति कठोर हुन्छ † जसका लागि छुट्टाइएको हो उसैका लागि सिट छोड्न पर्दापनि मरेजस्तो गर्छन । हिरामणीले हेपाइ र अपहेलना खेपेका छन् तर हरेस खाएका छैनन् । केही नयाँ गर्ने अठोट उनमा छ । उनी विहानको समयमा तालिममा व्यस्त हुन्छन् । असक्तहरुले खेल्ने विशेष किसिमको टाइक्वान्दो सिकिरहेका छन् । सैनिक भएकाले उनको ज्यान जस्तै भएपनि कसिलो छ । अपाङ्ग नै किन नहोस्, केही गर्न सक्ने तागत छ । दिउँसो उनी क्वार्टरमै बस्छन् । उनी सेनाका जागिरे हुन् । युद्धमा अंगभंग भएका कारण उनलाई कार्यालय समयको कडीकडाउ छैन । नेपाल सरकारले द्वन्दकालमा अङग भङ्ग भएका सबै मानिसहरुलाई उनीहरुको अपाङ्गताको प्रकृति हेरेर प्रतिसत छुट्याएको छ । त्यहि प्रतिसत अनुरुप नेपाल सरकारले उनहिरुलाई मासिक भत्ता र अन्य सुविधा दिँदै आएको छ । जसअनुरुप ५१ प्रतिशत अपाङगता भएका व्यक्तिलाई मासिक भत्तासहित आफ्ना छोराछोरीलाई पनि निःशुल्क पढाउने व्यवस्था सरकारले मिलाइदिएको छ । hira-mani-adhikari-3-nepalaaja उनी आफुमाथि अन्याय भएको बताउंछन् । सरकारी टोलीले उनीमाथि नियत साँधेको उनको बुझाइ छ । ५१ प्रतिसत अपाङ्गता तोकिदिएको भए उनले जीबनभर विशेष सेवासुविधा पाउंथे । तर, तोकियो ५० प्रतिसत । यति भनेपछि उनी सरासर अर्को कोठामा पसे । वाकस खोलेको र खोतलेको आवाज प्रष्ट सुनिन्थ्यो । उनको हातमा प्रमाणपत्र थियो । सेनाले दिएको अपाङ्गताको प्रमाणपत्र थियो त्यो जसमा उनी १०० प्रतिसत अपाङ्ग ठहर गरिएका थिए । सेनापनि सरकारी निकाय हो । तर, शान्ति मन्त्रालय र सेनाले दिएको अपाङ्गताको प्रमाणपत्रमा प्रतिसत आकास जमिनको अन्तर थियो । व्यक्ति एकै प्रमाणपत्र उस्तै भएपनि परिणाममा समानता थिएन । एक प्रतिसतले उनी आफ्ना छोरा छोरीलाई छात्रवृत्तिमा पढाउँनबाट वञ्चित भए । ‘जीवन मरणको दोसाँधमा परेर राज्यको लागि लडियो । अहिले आएर राज्यले नै हामी माथि अन्याय गरेको छ ।’ उनी भावुक सुनिए । प्रतिसत छुट्याउने प्रसंगमा पनि धादली भएको उनको ठम्याइ छ । सत्यनिरुपण तथा मेलमिलाप आयोगमा उनले त्यतिबेलाको विद्रोही पक्षलाई उजुरी दिएका छन् । उनीजस्तै युद्धमा तत्कालीन विद्रोही पक्षबाट पीडित बनाइएका धेरैले माओवादी र उसको नेतृत्वमाथि उजुरी दिएका छन् । राजनीतिको लीलापनि गजबको छ बिद्रोही नेता पुष्पकमल दाहाल प्रचण्ड दोहोराएर प्रधानमन्त्री भएका छन् । प्रचण्ड हिजो माओवादीका कमाण्डरा थिए, आज हिरामणीका पनि प्रधानमन्त्री हुंन । हिरामणीलाई प्रचण्ड प्रधानमन्त्री बन्दा कस्तो लागेको होला ? उनको उत्तर उनको व्यथा र पृष्ठभूमी भन्दा बिल्कुल फरक आयो । ‘प्रचण्डबाट झन धेरै आशा गरेको छु । मलाई लाग्छ द्वन्द्वका घाउ उनैले सुरु गरे र उनैले निको पार्नेछन् ।’ प्रस्तुति: कन्चन न्यौपाने