हाम्रो पात्रो विज्ञापन
कभर स्टोरी सफलताको कथा

ह्विलचेयर सम्पादक गजेन्द्रको पत्रकारिता अनुभव

ह्विलचेयर सम्पादक गजेन्द्रको पत्रकारिता अनुभव

 एक तले घरको बाहिरै थिए उनि । ‘तपाईहरुलाई घर चिन्न गाह्रो होला भनेर बाहिरै बसेको ।’ पहिलो भेटमै उनि फरासिलो देखिए ।

बस्न नपाउंदै उनले सोधे, ‘क्यामरामा पनि लिने हो ?’ सँगै बस्ने नाताले छोरी पर्ने अप्सरा राउतलाई चिया पकाउन अर्याउँदै गजेन्द्रले ह्विलचेयर ठेले र भित्र पसे । एक छिन हराए । केही बेरमा आउंदा उनि अर्कै भइसकेका थिए । झुस्स दाह्री फालेर सफाचट उनलाई भादगाऊँले टोपी खुबै सुहाएको थियो । ।

धेरैको अन्तरवार्ता गरिसकेका उनको पहिरनप्रतिको सचेतना स्वभाविक थियो । पत्रकारप्रतिको मायापनि उस्तै थियो । उनि अर्थात कारोबार दैनिकका समाचार सम्पादक गजेन्द्र बुढाथोकीसँग त्यसपछि गफगाफ शुरु भयो ।

पत्रकारिताको दुःखसुख नजिकबाट नियालेका उनले जीबनको पोको फुकाए । ‘पत्रकारिता नशा हो, लागेपछि छोड्न नसकिने रहेछ ।’ पत्रकारिताकै शिलशिलामा ह्विलचेयरको जीबनमा पुगेका गजेन्द्रले सार सुनाए, ‘यो घर बुढीले बनाएकी हुन । उनकै भरथेकमा जीबन चलेको छ । पत्रकारको जीबन समाजसेवा नै रहेछ ।’

गजेन्द्र बुढाथोकी पत्रकारिता क्षेत्रमा चिनिएका र गनिएका पात्र हुन । उनको अलग पहिचान छ । उनी अपाङ्गता भएका पत्रकार हुन । उनी हिड्न सक्दैनन । उनको खुट्टा भनेकै ह्विल चेयर हो । खुट्टा छन तर शरीर बोक्न सक्दैनन । सकसपूर्ण जिन्दगीमा संर्घषको अद्भुत अनुभव गरेका गजेन्द्र जन्मजात अपाङ्ग थिएनन् ।

गजेन्द्र बुढाथोकी उदयपूरको गाइघाटमा जन्मिए । गाइघाटकै सामान्य विद्यालय र कलेजमा पढे । सामान्य परिवारमा जन्मेका उनको सपना पनि सामान्य नै थियो । उनका बाबु व्यापारी थिए । उदयपूरमा गाडि नगुड्ने समयमा सेतो घोडाबाट उनका बाबुले खाद्यन्न ल्याउने गर्दथे । बाटो बनेपछि त्यो व्यवसाय पनि ओइलायो । त्यो व्यवसाय आइलाएपछि उनका बाबुले किराना पसल खोले । किराना पसलबाट गुजारा गर्दै आएको बुढाथोकी परिवारले एक पछि अर्को गर्दै फड्को मार्दै गयो । गजेन्द्र बुझ्ने भइसकेका थिए । लक्ष्यलाई चुनेर अघि बढ्ने समय आइसकेको थियो । परिवारको जिम्मेवारी र भारलाई बोकेर उनले २०५४ सालमा उदयपुर छोडे । झड्के झोला भिरेर सपनाको शहर काठमाडौँ भासिए । सरकारी जागिर खाने हुटहुटी थियो । बुबाले व्यापार गरेकाले व्यवसायमै लाग्ने सम्भावनापनि छंदै थियो । तर, उनी नत पहिले सोचे जस्तो सरकारी जागिरतर्फ लागे नत बुबाको बिडो थाम्ने व्यापारी नै बन्न सके । उनको भित्री ईच्छा बेग्लै थियो । काठमाडौं आएपछि सुषुप्त सो ईच्छा ज्वाराभाटा जस्तो जागृत भयो ।

उनी कलमी मान्छे बने, पत्रकारिताको बाटोमा अघि बढे । पत्रकारिताको प्रारम्भिक अभ्यास उदयपुर छंदै गरिसकेका थिए । गजेन्द्रलाई पत्रकार हुन पाएकोमा गर्व छ । भन्छन, ‘भाग्यले म पत्रकार बन्न सके ।’ किशोरवयको उत्तरार्धमा उनले आफुमा लेखन क्षमता रहेको महशुश गरे । यही क्षेत्रमा अघि बढ्ने निधो गरे । संर्घषपूर्ण मोडमा उनले पत्रकारिता शुरु गरे । बाबुको बिडो थाम्ने व्यवसायी बन्न नसकेपनि उनि व्यवसाय र व्यवसायीका बारेमा लेख्ने पत्रकार भए । गाइघाटमा सुखमदुखम हुर्केका गजेन्द्रले धनीका कुरा लेखे । धनको रहस्य बुझे । गाऊघरका उनि हरेक दिनजस्तो पाँचतारे होटलमा जान थाले । अचम्म उनलाई कहिल्यै द्रव्यले तानेन । धनको लोभमा उनि भासिएनन् । भन्छन, ‘पत्रकारिताकै सिलसिलामा धेरै करोडपतिहरुसगँ संगत गरियो तर, करोडपति बन्ने सपना कहिल्यै पालिएन ।’ पत्रकारिताबाट उनले नकमाएका होइनन् । प्रशस्त्रै कमाए । तर, उनले धन होइन, मनकारी मित्र कमाए । धनसम्पत्ति भन्दापनि मित्रता माथि हुंने उनको गहिरो बुझाइ र व्यवहारिक अनुभव छ ।

जीबनको अकल्पनीय मोड

पत्रकारितामा उनि सघंर्ष गर्दै थिए, स्थापित हुने क्रममा थिए । काम नै धर्म हो भन्ने मनन गरेका उनि पत्रकारिताको रफ्तार यात्रामा थिए । उनि ब्रेकिङका लागि खुब दौडधुप गर्थे । गतिशिल उनको जिन्दगीमा नराम्रसँग ब्रेक लाग्यो ।

२०६५ साल असोज ८ गते काठमाण्डौमा पहिलो हाइड्रोपावर समिटको कार्यक्रम थियो । त्यसमा उनी राजधानी दैनिकबाट सहभागि भएका थिए । कार्यक्रम राति साढे ८ मा सकियो । उनी फर्किने क्रममा थिए । भद्रकालीको टर्निङमा एउटा गाडीले उनको मोटरसाइकललाई ठक्कर दियो । गलत दिशाबाट आएको सो गाडीले गजेन्द्रको जीबनमा बज्रपात निम्ताइदियो । गजेन्द्रको मेरुदण्ड भाँचियो ।

गजेन्द्र भर्खर ३० लागेका थिए । छोरा, छोरी र श्रीमतीसहितको सानो परिवार खुशी थियो । केही गर्ने जोश र आँट बोकेका गजेन्द्र उत्साहित थिए । तर, नियतिलाई यो सब मन्जुर भएन । जीबनमा अकल्पनिय परीक्षामा उनि सामेल भए । अस्पतालको शैष्यामा उनि अनेक कुरा कल्पना गर्थे । घरिरि जीबन व्यर्थजस्तो देखिन्थ्यो । ‘ढाडै नभएपछि जीबन कसरि चल्छ ?’ उनको मानसपटलमा कालो बादल मडारिन्थ्यो । सोच्दासोच्दै आँखाबाट आँशु बर्बरी खसिसकेको हुन्थ्यो । गजेन्द्र त्यतिबेलाको पीडा सम्झदै भन्छन ‘ मेरो मेरुदण्ड मात्र भाचिएको थिएन । पूरा परिवारको सिंगो जग भाचिँएको थियो ।’ जिन्दगीले उनलाई अन्याय गरेको थियो ।

साथले माथ गरिदियो पीडा

अस्पतालको शैष्यामा उनले नयाँ पाठ सिके । साथ र आत्मसाथको अन्तरसम्बन्ध । आफुभन्दा अरुको भरथेग साथ हो, आफैंले आफैंलाई गर्ने सहयोग आत्मसाथ हो । उनले आफुलाई साथ दिए, सकारात्मक ढंगले सोच्न थाले । जसका लागि श्रीमती कुन्ता थापाले सबैभन्दा धेरै साथ दिइन् । बाँकी जीबनपनि अर्थपूर्ण बनाउन सकिने भन्दै हौस्याइन । ‘सोच सकारात्मक भएपछि शरीर गलेपनि मान्छे थाक्दोरहेनछ ।’ कुराकानी चल्दै गर्दा गजेन्द्र गम्भीर बने, ‘श्रीमतीले मलाई कहिल्यै अपाङ्ग भएको कुरा महशुश हुन दिइनन् । जीवनको हर घडिमा खुट्टा नचले पनि दिमागले काम गर्छ भनेर हौसला दिईन । मेरो हातमा हात मिलाउँदै अघि बढाइन् । आजसम्म पनि निरन्तर मलाई हौसला दिईरहेकी छिन ।’

पत्रकारितबाट गजेन्द्रले मित्र कमाएका थिए । नाङ्लो पसलेदेखि अरबपतिसम्म उनलाई भेट्न आए । उनले भित्रैदेखि महशुश गरे । जनसम्बन्ध पत्रकारिताको महत्वपूर्ण पाटो र धन रहेछ । अस्पताल बसाइमा उनलाई गहिरो अनुभुति भयो ।

अघिपछि धपेडी भएपनि परेको बेलामा पत्रकारिताले भिन्दै मिठास दिंदोरहेछ भन्ने हेक्का उनले जति सायदै कसैले गरेको होस । आगन्तुकहरुले देखाएको सदभावले उनको आत्मबल बढ्दै गयो ।

फेरि पत्रकारिता

आठ महिनामा उनि अस्पतालबाट घर फर्के । केही समय छोरा सुयोगसँग खेलेरै टाइमपास गरे । विस्तारै जीवनले उर्जा प्राप्त गर्यो  । उनी संर्घषबाट पछि हट्ने उनको स्वभाव थिएन । कुजिएर बस्न उनि मन्जुर थिएनन् । पत्रकारिता रगरगमा बसिसकेका थियो । उनि फिल्डमा उत्रिए । तर, फरक पहिचानका साथमाः ह्विलचेयर पत्रकार !

सूचना प्रविधिले पत्रकारितालाई गतिशिल बनाइसकेको थियो । यिनी दौडधुप गर्न सक्दैनथे । फोन र इन्टरनेटको भरपूर उपयोग गरे । कहिलेकाहीं कार्यालयमै उनले सौच गर्नुपथ्र्यो । साथीभाइले घीन नमानिकनै सहयोग गरे । दैनिकी डटकमका सम्पादक हुंदाका  दिनहरु सम्झिदै गर्दा गजेन्द्र भावविभोर भए, ‘कार्यालयमा अशक्त हुदाँहुदैँ पनि कुनै अप्ठ्यारो स्थिति सिर्जना भएन । साथीहरुले दिसापिसाब गराउन घीन मानेनन् । कतिपय अवस्थामा त साथीहरु आफैले सफा गरिदिएका क्षण पनि ताजै छन । यस्तो सहयोगले जीवनमा बाँच्नका लागि थप प्रेरणा मिल्छ ।’

समाजमा शारीरिक अपाङ्गता भएकालाई हेर्ने दृष्टिकोण

ससाना शब्द र व्यवहारलेपनि शारीरिकरुपमा अशक्त व्यक्तिको जीबनमा कति फरक पार्दोरहेछ भन्ने गहिरो अनुभुति गरेका छन् उनले । सरकारी कार्यालयहरु अपाङ्गमैत्री छैनन् । उनले कम्तिमा पनि सिंहदरबार, बैंकिङ र करर्पोरेट  क्षेत्रलाई अपाङ्गमैत्री बनाउन पहल थाले । अझैं भइसकेको छैन ।

यताउता जाँदा मान्छेले गर्ने व्यवहारले चिमोट्ने गर्दछ । कोही क्वारक्वार्ती हेर्छन । कोही फिस्स हास्छन् । हाँसेर खिल्ली उडाउने प्रवृति नेपाली समाजमा अझै पनि विद्यामन छ । गजेन्द्रले पनि यस्ता थुप्रै स्थितिहरुको सामना गरेका छन् । एक पटक उनि फिल्म हेर्न गएका थिए । एकजनाले उनलाई मगन्ते सम्झिए र १० रुपैयाँ दिए । ति व्यक्ति सायद मनकारी थिए । थिए बुझ्दै नबुझी देखाइने दयालेपनि कहिलेकाहीं नराम्रो धक्का दिने गर्दछ ।

बच्चाहरु उनलाई देखेपछि रमिता हेर्न आओ भनेर भीड लाग्थे । शुरुशुरुमा उनलाई दिक्क लाग्थ्यो । अहिले यस्ता कुरा पचिसकेको छ ।

दुर्घटनामा पर्दा ३० का थिए गजेन्द्र । सकस साथ ९ बर्ष बितिसके । अब त सकस नै साथीजस्तो लाग्न थालेको छ । २४ बर्षकी रहरलाग्दी कुन्ताका सामू एकसाथ काखे छोरा र श्रीमानलाई रेखदेख गर्नुपर्ने बाध्यता आइलाग्यो । श्रीमानको रेखदेखमा रमाउनुपर्ने बेलामा दैबले भिन्दै खेल रचिदियो । यि सबै परिश्थितिलाई झेलेर परिवारलाई खुशी बनाउन कुन्ताको करुणा महत्वपूर्ण रह्यो ।

उनको नजरमा पत्रकारिता

गजेन्द्रको जीबन टुक्रियो । तर, उनले पत्रकारितालाई टुक्रन थिएनन् । समाचारलाई बिक्री गर्ने विकृत्तिको विपक्षमा उनि सधैं दृढ रहे । कमाइ खाशै केही नभएका पत्रकारले रातारात महल ठडाएको उनले नजिकबाट देखे । भन्छन्, ‘पैसा नै ठूलो ठानेर कमाउनै मन भए समाचार किन विक्री गर्नु, व्यवसाय थाले भइहाल्यो ।’

गजेन्द्रलाई आर्थिक संकट नपरेको होइन । उनले अनगिन्ती असहज परिश्थितिको सामाना गरेका छन् । तर, पेशाको पासो थापेर उनले पैसा लिएका छैनन । भन्छन, ‘मेरी श्रीमति बिरामी भएर म सगँ सिटामोल किन्ने पैसा पनि थिएन । मैले बरु उनको स्वयंबरको औँठी बेचेँ तर कसैसगँ हात फैलाउन गइन ।’ आफू बिजनेस पत्रकार भएको हुनाले कति मान्छेले यसको घरमा त खाद्यन्नका सामान पनि खरिद गर्नु नपर्ने जस्ता आरोप पनि लगाए । गजेन्द्रको भोगाइ र व्यवहार भने विल्कुल फरक छ । भन्छन, ‘जिन्दगीमा कसैको मागेर र लुटेर खानु हुदैन । पत्रकारहरुले इमान्दारितालाई सदा उच्च स्थानमा राख्न र नैतिकवान हुन सक्नुपर्छ ।’

गजेन्द्र हाल कारोबार दैनिकका सामाचार  सम्पादक हुन । ३९ बर्षिय यि पत्रकारले जीबनमा थुप्रै आरोह अवरोह देखेका छन । सायदै कोही पत्रकारले यस्तो अनुभुति गरेको होस् । उनि थुप्रै ठाऊंमा मिडिया पोलिसीका बारेमा मन्तव्य दिन जाने गर्दछन् । सल्लाहकारको भुमिकामा रहेका छन । पहिले पहिले उनि गाडीमा बसेरै कार्यालय जाने गर्दथे । मेरुदण्डको समस्या बल्झिन थालेपछि उनले घरबाटै कार्यालयको काम गर्दछन । प्रविधिको प्रयोगमा अभ्यस्त गजेन्द्र छिनछिनका घटनाक्रमसँग अपडेट भइरहन्छन् ।

पत्रकारिता उनले आत्म सन्तुष्टिका लागि गरेका हुन । पैसाको पछि लागेको भए उनि व्यापारी हुन्थे, बुबाको सानै व्यापारले उनलाई पैसा तान्ने तागत देखाइसकेको थियो । तर, उनले भिन्दै बाटो रोजे । पैसाभन्दा पेशामाथि भन्ने मर्म बुझे ।

कसैका सामूपनि आँखा जुँधाएर बोल्न सक्ने गरि समाचार लेखे । यिनै कलमबीरले कुराकानी टुग्याउंदै भने, ‘पैसा कमाउनका लागि पत्रकारित गर्ने होइन, आत्म सन्तुष्टिका लागि गर्र्ने हो । पत्रकारलाई ज्याक अफ अल मास्टर अफ नन भनिन्छ । तर, त्यस्तो होइन । हामी सबैतिरको कुरा जान्ने तर एउटा बिधामा अब्बल अर्थात ज्याक अफ अल मास्टर अफ वन हुनुपर्छ ।’ यसो भन्दै गर्दा उनका आँखा केही ठूला देखिए । जोश मुहारमा छल्कियो । केही भन्न खोजे जस्तो र केही लुकाउन खोजेजस्तो भाव प्रष्ट देखिन्थ्यो । उनले लुकाउन सकेनन् । हास्दै भ्याट्ट भने, ‘ कुनै बिधामा दख्खल राख्दा घरमै बसिबसिपनि जागिर खान सकिदोरहेछ । भविश्यमा काम लाग्दोरहेछ ।’

पत्रकारिताका प्रारम्भिक दिन गजेन्द्रकै शब्दमा

२०४९ सालमा एसएलसी दिएलगत्तै करिब ६ महिना शिक्षण गरेँ । २०५० सालमा नजिता निस्क्यो । त्यहीबीचमा वातावरण संरक्षणसम्बन्धी एक्का नामक संस्थाको प्रशिक्षक प्रशिक्षण लिएँ, जसमा भित्ते पत्रिका प्रकासनको एउटा भाग पनि थियो । एक्काका प्रशिक्षकका रूपमा उदयपुर जिल्लाभित्रैका विभिन्न स्कुलदेखि सिरहा, सप्तरी, सिन्धुली, धनुषासम्मका विभिन्न स्कुलहरू पुग्दा वातावरण विनासका विभिन्न पक्षबारे थाह भयो । यो कुरा मैले निबन्धका रूपमा लेखेर उदयपुरकै त्रियुगा अर्धसाप्ताहिकका तत्कालीक प्रकाशक बद्री काफ्लेलाई दिएको थिएँ (तर उनले त्यो अफ्नो झोलामै राखेछन्) ।

हामी सानो हुँदा सप्तरीका वरिष्ठ पत्रकार शिशुप्रसाद देवकोटाको पत्रिका गोरेटो खुब लोकप्रिय थियो । गोरेटोको पनि सुलसुले स्तम्भ खुब लोकप्रिय थियो । अनौपचारिक शैलीमा प्रकासित हुने त्यो स्तम्भले पञ्चायतकालका अञ्चलाधीसदेखि जिल्लाका हाकिमहरूका समेत दोहोलो काढेको थियो । त्यसैले पत्रकारलाई सुलसुले भन्ने चलन थियो । जिल्ला सदरमुकाममै सरकारी कार्यालयहरूका बीचमा घर भएकाले मलाई त्यो सुलसुलेको रोमान्चले तानेको थियो । पत्रकार भनेका खतरा हुन्छन्, सब कुरा थाह पाउँछन् भन्ने परेको थियो ।

कलेजमा पढ्दै गर्दा हामी कलेजमा भित्तेपत्रिका निकाल्थ्यौं । ०५१ सालमा हामी सेकेन्ड इयरमा हुँदा कलेजले स्मारिका निकाल्ने भयो । भाषामा पकड , अलिकता बोल्न, नेतृत्व गर्न, जनसम्पर्कमा अलि सक्रिय भएकाले मलाई सम्पादन समूहमा राखियो । यही क्रममा उदयपुरका वरिष्ठ पत्रकार कौशल चेम्जोङसँग सम्पर्क भयो । उहाँलाई मैले मेरो लेख नछापिएको गुनासो गरेँ, उहाँले फेरि लेख भन्नु भयो । उहाँकै अगाडि मैले करिब अधा घण्टामै अढाइ पेजका स्टोरी तयार पारेर बुझाएँ । मेरो अक्षर सफा र भाषामा कमान्ड देखेर उहाँ प्रभावित हुनुभयो । यसरी लेख्ने हैन केटा, यसरी भनेर मेरै अगाडि सम्पादन गरेर त्यसलाई चिटिक्क बनाइ दिनु भयो र भन्नु भयो: अब नियमित लेख, मसँगै हिड, तलाइ समाचार लेख्न सिकाउँछु भन्नुभयो ।

सुलसुलेको रोमान्स छँदैथियो, हुन्छ भने । जिल्लाका सरकारी कार्यालयहरूमा जानु, त्यहाँ कर्मचारीले काम नगरेको, छिल्लिएर बसेको, तास खेलेर बसेको, रक्सी खाएर कर्मचारीहरू लडेको, सरकारी क्वाटरमा महिला ल्याएर राखेको...यस्ता रिपोर्टिङले म छिट्टै चर्चित पनि भएँ । त्यसै बीचमा मेरा एक जना एक्काका प्रशिक्षक साथीले लोकपत्र दैनिक खुल्न लागेको जानकारी दिए । मैले निवेदन पठाएँ, जवाफमा करारपत्रै पो गयो । प्रतिशब्द २५ पैसाका दरले भुक्तानी हुने गरी ।

धेरैलाई विश्वास नलाग्ला त्यसपछि मैले पूर्णकालीन (भुक्तानी लिने गरी) व्यावसायिक पत्रकारितामै हात हालेँ । बरू थोरै पाइयो होला, कुरियर खर्चमात्र भनेर लिइयो होला, तर यो २२ वर्षमा बिनाभुक्तानी काम गरिएन भन्दा पनि हुन्छ । काठमाडौं र विराटनगरबाट छापिने एउटा दैनिक, केही साप्ताहिकले भने कुरियर, फ्याक्स, फोनको समेत पैसा दिएनन।

प्रस्तुति: कन्चन न्यौपाने

gajendrako patrakarita anubhav maghi khane patrakaar k patrakaar
ADVERTISEMENT