राजनीति

परिवार, अवसरवाद र अतिवादको जोखिममा रहेका प्रचण्डले यसो गर्न सक्लान् ?

शुक्रबार, २१ साउन २०७३ गते मा प्रकाशित

pr

pr

२०७० मंसिर ४ गते राति १ बजे । प्रचण्ड लाजिम्पाटमा हतास मनस्थितिमा थिए । उनले पार्टीका पदाधिकारी सबैलाई फोन गरे । नुवाकोटमा रहेका तत्कालिन महासचिव पोष्टबहादुर बोगटी ‘धैर्य गर्नु’ भन्दै राति नै काठमाडौंका लागि हानिए । पूर्वमा रहेका बर्षमान पुन पनि काठमाडौंका लागि तम्तयार भए । अन्य नेताहरु काठमाण्डु नपुग्दै पत्नी हिशिला यमीसहित डाक्टर बाबुराम भट्टराई लाजिम्पाट पुगिसेका थिए । उनले प्रचण्डलाई सुराइसकेका थिए, ‘पूरै धाँधली भयो । यो मत परिणाम अस्विकार गर्नुपर्छ ।’

प्रचण्डले मत परिणाम अस्विकार गर्ने र मतगणना बहिष्कार गर्ने निर्णय लिए । हठात मनस्थितिमा पुगेका प्रचण्डलाई नेताहरु नारायणकाजी श्रेष्ठ, पोष्टबहादुर बोगटी, बर्षमान पुनलगायतका नेताहरुले संयम हुन आग्रह गरे । तर, उनी सुन्ने मुडमा थिएनन् । पेरिसडाँडामा लाचार शैलीमा प्रचण्डले पत्रकार सम्मेलन गरे ।

चुनाव हार्दा उनको साख त्यति गिरेको थिएन जति त्यो पत्रकार सम्मेलनले गिरायो । दुबै क्षेत्रबाट हार्ने निश्चितजस्तै देखिएको अवस्थामा प्रचण्ड ओरालो लागेका मृगजस्ता देखिएका थिए । माओवादीको ऐठनमा परेकाहरुको उर्लदो भेल देखिंदै थियो । चुनावी परिणामलाई धैर्य गरी ग्रहण गर्न सकेको भए प्रचण्डले आजको परिूिस्थतिको कल्पना त्यतिबेलै गर्न सक्थे । उनी चुनावपछिको राजनीतिक समीकरणका निर्णायक बन्न सक्थे । बरु, उनैको हठले काँग्रेस एमालेका बीचमा सुपरग्लु लागिरह्यो ।

चुनावी मत परिणाम पछि प्रचण्ड आफ्नै पार्टीमा पनि कमजोर बने । उनका कदम एकपछि अर्को गरी गलत सावित हुंदै गरेका थिए । प्रचण्ड यसकारण सही भनेर वकालत गरिदिने मान्छेसमेत मुस्किलले भेटिन्थ्यो । टेलिभिजनका समीक्षा कार्यक्रममा माओवादीकै नेताहरु आउन हच्किन्थे । भातृ संगठनका युवा नेताहरुले बहश धानिदिएको सन्दर्भ थियो त्यो ।

अहिले प्रचण्डको पक्षमा माओवादीजन आक्रामक रुपमा प्रस्तुत भएका छन् । ६ दिने आन्दोलनको अवरोहपछि सम्भवतः पहिलो पटक माओवादीजनले प्रचण्डलाई नायकका रुपमा बचाउ गरिरहेका छन् । माओवादी नेता कार्यकर्ताको यतिबेलाको बचावट आर्दशमा आधारित भन्दा अवसरवादले आशक्त देखिन्छ । किनकी नेता अफ्ठयारोमा पर्दा चुप लागेका नेता कार्यकर्ता नेता सत्तामा जाँदा उम्लिनुको अर्थ होः अवसरबाद । प्रचण्ड भनेकै माओवादी र माओवादी भनेकै प्रचण्ड हुन् भन्दा अतिशयोक्ति नहोला । माओवादीलाई भएका लाभ र हानी मूलतः प्रचण्डकै क्रिया र प्रतिक्रियामा आधारित छन् । निर्णयपनि उनले परिवारको मूलीझैं लिन सक्छन् । घरको निर्णय लिन बरु उनलाई गाह्रो छ, सिता म्याडमको घुर्की कडा हुंने गर्छ । पार्टीमा उनलाई सहज छ । उनले जस्तै निर्णय लिंदापनि रोक्न खोज्ने सायदै कोही हुन्छ । प्रचण्डलाई रोक्नभन्दा छोड्दा भविष्य सुरक्षित देखेरै धेरै अलग भएको दृष्टान्त छ । प्रचण्डको वरिपरि जो घुमिरहेका छन्, त्यसप्रति पार्टीको सायदै कसैलाई चित्त बुझेको होस् । पार्टीका नेता कार्यकर्ताको चाहना परिवारका सदस्य सचिवालयमा नराखिएको प्रधानमन्त्री प्रचण्ड देख्ने छ । सायदै त्यो सम्भव छ । अझ, शितलनिवास दृश्यपछि कान्छा ज्वांइको चर्चा शुरु भएको छ ।

प्रचण्ड परिवार पीडित असाधरण नेता हुन् । पार्टी कार्यकर्ता झैं उनलाई परिवारबाट साथ मिलेको भए उनको बेग अझ वेग्लै हुनेथियो भन्दै चुकचुकाउनेहरुको संख्या धेरै छ । तर, मुखै फोरेर प्रचण्डकै सामू कोही बोल्न सक्दैनन् । कारण प्रचण्डको छाँयाले किच्ला भन्ने डर सबैको मनमा छ । अतिवादले माओवादीलाई खाएको छ ।

प्रचण्डलाई अनेक बाहनाले सिद्धाउने र जुनसुकै कदमलाई गलत देखाउन खोज्ने ठूलो पंक्ति काठमाडौंमा सक्रिय छ । प्रचण्डले भारतीय नेतालाई सामुन्नेमा राखेर नाकावन्दी किन गरेको भनेर लल्कारेको उनीहरु सुन्दैनन् । भारतीय दुतले प्रचण्डलाई ज्यान मार्ने धम्की दिंदादिदैपनि उनी संविधानका लागि अडिक भएको तथ्यपनि फर्केर हेर्दैनन् । प्रचण्डको अस्तित्व नै अस्विकार गर्ने अर्को अतिवाद यही समाजमा छ ।

प्रचण्डको भजनमात्र गाउन जानेको तर उनलाई आलोचना वा बचाउ गर्ने बेलामा पींठ फर्काउने एकथरी प्रवृत्ति र प्रचण्डको खोइरोमात्र खन्न अभ्यस्त अर्कोथरी प्रवृत्तिको चेपुवामा प्रचण्ड छन् । यि दुबै प्रवृत्तिका कारण प्रचण्ड को हुन् ? सन्तुलित तस्बिर भेटाउन मुस्किल छ ।प्रचण्ड असाधरण क्षमताका व्यक्ति हुन् । तर, उनको क्षमता सधैं सहीरुपमा प्रयोग गर्नबाट उनी आफैं चुके । युद्धबाट मुलुकलाई हायलकायल पारेका उनले पहिलो संविधानसभापछि एकपछि अर्को गल्ती गर्दै गए ।

गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति बनाएको भए स्थानीय निकायको निर्वाचन र संविधान निर्माण समयमै हुन्थ्यो । स्थानीय निकायको निर्वाचन बेलैमा गराएको भए माओवादीको एकछत्र जित हुन्थ्यो । उनका कार्यकर्ता नेताका रुपमा स्थापित हुन्थे । २५ सय कार्यकर्तालाई केन्द्रीय सदस्य बनाएर जग हसाउने र पत्तुर बनाउने स्थिति आउने थिएन । देशले पनि निकास पाउंथ्यो । प्रकरणका पछि लागेर सत्ताबाट नराम्रोसँग बाहिर जानुपनि पर्दैनथ्यो ।

अहिले प्रचण्डलाई धेरै अवसर छ । पहिलो त उनले बिद्रोह भनिरहन पर्दैन । उनका लागि बिद्रोह बासी भइसकेको तथ्य सबैलाई थाहा छ । उनि जे हुन् त्यही देखिने मैदान बनिसकेको छ । दोस्रो, उनिसँग आशा फिटिक्कै नगरिएको बेला छ । यो अर्को अवसर हो । थोरैमात्र गर्दापनि धेरै जसले ठाऊं छ । जस्तो, मधेशी मोर्चालाई विश्वासमा लिएर चुनाव गर्न सके ओलीका चर्का मन्तव्य फिका सावित हुंनेछन् । उनलाई काँग्रेसले साथ दिएको छ । उनलाई शहर ल्याउने बेला एमालेले समन्वयकारी भूमिका निर्वाह गरेपनि सारथी काँग्रेस नै थियो । काँग्रेसको साथ हुँदा राज्यसंयन्त्र उनका लागि पूरक बन्ने देखिन्छ ।

प्रचण्डसँग आश मरेको मात्रै होइन त्रास हटेको बेलापनि छ । चर्को बोल्दापनि सत्ता कब्जा गर्न थाल्यो भन्ने भय र केही नबोल्दापनि षडयन्त्र रच्यो भन्ने आंशका गर्ने स्थिति छैन । उनी सपाटरुपमा जे चाहेको हो त्यही गर्न सक्छन् । उनले गर्नपनि धेरै छ । समय पहिल्यै तोकिएको छ । समाज उनका बारेमा विभाजित छ । उनका बारेमा अतिवादी दृष्टिकोण छ । सबै दृष्टिकोणलाई साइजमा ल्याउने गरी काम गर्न सके प्रचण्डका लागि सुनौलो अवसर छ । अन्यथा प्रचण्डको राजनीतिक गाडी न्युट्रलमा राखेर ओरालोमा गुडाइएको गाडीजस्तै हुने निश्चित छ ।