भिडियो

मनोरञ्जन

कोमल ओलीसंग किशोरीको सवालजवाफः तपाईं कुमारी हो ?

बुधबार, ०१ असार २०७३ गते मा प्रकाशित

komal-oli

कोमल ओली गायिका हुन् । चर्चामा रहिरहने अबिबाहित यी गायिकासंग अनेक प्रसंग जोडिएका छन् । कन्चन न्यौपानेले ओलीका  बिगत, आगत र विवादका  बारे रोचक सवाल जवाफ गरेकी छन् -सम्पादक 

 कोमल जी संन्चै हुनुहुन्छ ?

हजुर, आरामै छु ।

केमा व्यस्त हुनुहुन्छ आजकाल ?

रेकर्डिङ, गीतको भिज्वलाइजिङ गर्ने, अरु सामाजिक संघसंस्थाको काममा व्यस्त छु । दैनिक काम त मेरो रेडियो नेपालमा छदैँ छ । त्यस्तै गरी अन्तर्वाता दिने क्रममा, नेपाल आज डट् कममा छु अहिले ।

गीतको अफरहरु कतिको आइरहेको छ ?

आइरहहेको छ ,गाइरहेकी छु । यही हप्ता पनि मैले चार पाँचवटा गीत गाइसकेँ । गएको हप्ता पनि तीन चारवटा गीत गाएँ । आफैले पनि रेकर्ड गरेँ ।

बाल्यकाल कता बित्यो ?

म जन्मेको दाङमा हो । मैले महेन्द्र माध्यामीक विद्यालय, तुलसीपूरमा पढेँ । कलेज महेन्द्र बहुमुखी क्याम्पस दाङमा पढेँ । त्यहिबाट मैले ग्राजुवेसन गरे राजनैतिक विज्ञान र अर्थशास्त्रमा । पाटन संयुक्त क्याम्पसबाट मास्टर्स गरे ।

तपाइको पारिवारिक वातावरण कस्तो थियो ?

विशेष गरी मेरो बुबाले मलाई बढि समर्थन गर्नुहुन्थ्यो । मलाई विभिन्न कुराहरु सिकाइरहनुहुन्थ्यो । बुबाले बोल्न सिकाउने, भाषण गर्न सिकाउने, वक्तित्वकला सिकाउने, हार्मोनियम बजाउन सिकाउने गर्नुहुन्थ्यो । मेरो आमा अलिकति कडा स्वाभावको हुनुहुन्छ । अनुशासानमा रहेको हेर्न चाहनुहुन्थ्यो । अहिले पनि मेरो आमाले त्यस्तै चाहनुहुन्छ । बुबा साथीजस्तो हुनुहुन्छ । परिवारको मायाले गर्दा म यहांसम्म आइपुगेकी हुं । छोरालाई अवसर जतिपनि हुन्छ । छोरीलाई अवसर दिलाउन घरको वातावरणले भुमिका निर्वाह गर्दछ ।

त्यो बेलामा समर्थन गर्ने मात्र थिए कि विरोधी पनि ?

त्यस्तो त कोही पनि थिएन । हामी चारजना दाजुभाइ दिदीवहिनी हो । मेरो दाइलाई खासै इन्ट्रेस्ट थिएन त्यस्तो कुरामा । दाइलाई तिमी के बन्ने भन्दा, मिल चलाउँने भनेर भन्थ्यो । मेरो वहिनी राजाको खाना बनाउँने भन्थी । म चाहिँ प्रधानमन्त्री बन्ने भन्थेँ । मेरो भाइ घोडा पाल्छु भन्थ्यो । त्यो बेलादेखि नै हामी एकदम मिल्ने गथ्र्यौ । मेरो दाइले मलाई जहिले पनि समर्थन गर्नुहुन्थ्यो ।

स्कुलमा निकै अभद्र हुनुहुन्थ्यो रे, त्यसरी अरुलाइ दुख दिँदा रमाइलो लाग्थ्यो ?

स्कुलमा त मेरो साथीहरु मसगँ आजितै थिए । गृहकार्य नगरेपछि सरहरुले मलाई किन गृहकार्य नगरेको भनेर उठाउनुहुन्थ्यो । मैले गीतमा जवाफ दिन्थेँ । मलाई त्यस्तै उल्टो उल्टो चिज गर्न मन लाग्ने । मैले छडि र कुटाइ नखाएको सुरु सुरुको दिनहरुमा त कहिल्यै पनि हुदैँनथ्यो होला । तर सरहरुको प्यारो विद्यार्थीपनि मै थिएँ । सरहरुसगँ एकदम मिलेर कुरा गर्थेँ । म पढाइमा अलिकति पछाडि थिएँ । तैपनि स्कुलमा मनिटर थिएँ । स्कुलमा म सधैँ प्रर्थानासभा गराउथेँ, सधैँ क्याप्टेन हुन्थेँ । म खेलाडीपनि हो । मेरो स्कुलको टिम क्याप्टेन पनि थिए । हामी फुटबलपनि खेल्थ्यौं । राप्ती अञ्चलको म खेलाडी हुँ । साथीभाइको ग्रुप थियो । कसैले केही गरे बाटो ढुकेर बदला लिन्थ्यौं । भिड्नपनि पछि पर्दैनथ्यौं । एकदुई पटक पिटाइ पनि खाइयो र पिटियो पनि ।

काठमाडौंमा शुरुशुरुमा गाह्रो भएन ?

०४४ सालमा काठमाडौं आएको म र मेरो वहिनी प्रज्ञा । रेडियो नेपालले फागुन सात गते लोकगीत प्रतियोगिता गरेको थियो । त्यस प्रतियोगितामा भाग लियौँ । अलिकति ताल नमिल्नाले हामी दोस्रो भयौँ । त्योबेला पाचौँ स्थानसम्म आउँनेहरुको स्वर परिक्षण गर्नु पर्दैनथ्यो । दोस्रो हुंदापनि एकदमै खुसी लाग्यो । दाङको विकट गाउँबाट आएर पनि त्यो स्थान हासिल गर्न सक्यौँ । त्यो भन्दा पहिलेपनि म रेडियोमा गीत गाउथें । २०४२ सालमा काठमाडौंमा ‘अल नेपाल टुर’ मा परेको थिए । लगातार काठमाडौँ आएर बस्न थालेको चाहि २०४९ सालको फागुन चैत देखि ।

तपाईलाई यहाँसम्म ल्याउनमा खुमबहादुर खड्काको निकै ठुलो हात छ भन्छन् नि ?

खुमबहादुर खड्का मात्र होइन धेरैको हात छ । समाजमा धेरै मानिसको धेरै मानिससगँ एक अर्काको सहयोग र सद्भाव रहेको हुन्छ । खुमबहादुर खड्का जी मेरो दाङ जिल्लाको नेतापनि हो । नेपाली कांग्रेसको भएतापनि उहाँ निकै सहयोगी हुनुहुन्छ । टाढाबाट उहाँ मेरो नाता पनि पर्नुहुन्छ । उहाँले एउटा आफ्नो चेलिबेटिको हिसाबले सधैभरी मलाई सहयोगी भावना मात्र राख्नुभयो । उहाँले गरिदिएर मेरो स्वर बन्ने पनि होइन, मेरो गायकी आउने कुरा पनि होइन, मैले समाचार बाचन् गर्न सक्ने पनि होइन । त्यसकारणले उहाँले गरिदिएर हुने पनि होइन । खड्काजी मन्त्री भएकोबेलामा स्वर परीक्षण गर्न गएको थिए रेडियो नेपालमा । पाण्डव सुनुवारले ‘ओहो एउटा नयाँ भोइस् आयो रेडियोमा’ भन्नुभएको थियो । उहाँले मेरो स्वर परीक्षा लिनुभएको थियो । समाचार वाचनका लागि थियो त्यो । भोलिपल्ट नतिजा आउंदा मेरो नाम थिएन । स्वर परीक्षामै म फेल भएको थिए । त्यसपछि योग्य मानिसहरुले काम पाउने ठाउँ, योग्य मानिसहरु सेलेक्सन हुने ठाउँ यो देश होइन भन्ने मलाई महसुश भयो ।

म २०४७ सालमै नेपालबाट करिब एकसय पचास जनाको प्रतियोगितामा प्रथम भएर जापानमा गएर ४७ वटा देशको आइवाइवाइ भन्ने ओशाकामा भएको सम्मेलनमा बेस्ट पर्फमेन्स् गरिसकेको थिएं । मेरो राइजिङ नेपालको पहिलो पृष्ठमा फोटो सहित समाचार छापिएको थियो । मेरो स्वर परीक्षामा सबैभन्दा राम्रो छ भनिएको स्वर थियो । रेडियो नेपालको स्वर परिक्षणमा । नाम ननिस्किएपछि म खुमबहादुर खड्का ज्यू कहाँ गएँ । उहाँ यातायत मन्त्री हुनुहुन्थ्यो । कुरा गरेँ । मेरो क्वालीफिकेसन पुगेको छ, मेरो स्वर राम्रो छ तर मैले काम पाइन भनेपछि उहाँले तुरुन्तै सञ्चार मन्त्री विजय गच्छादार ज्यूलाई फोन गरिदिनुभयो । सञ्चार मन्त्री ज्यूलाइ भेट्न गएँ । सञ्चार मन्त्री ज्यूले रेडियो नेपालको डाइरेक्टरलाई बोलाएर उहाँको स्वर कस्तो छ अनेस्ट्ली भन्नुस त भनेर सोध्नुभयो । उहाँको राम्रो थियो भनेर भन्नुभयो ।

किन फेल गराको त उहाँलाई ? भनेर गच्छदारजीले भनेपछि समाचारमा काम गर्न पाएको हो । खड्काजीलाई हिजोआजपनि भेट्न जान्छु । काठ्माडौँमा उहाँको र मेरो बस्ने ठाउँ नजिक नजिक छ । दाङका हरेक व्यक्तिहरुसगँ हाम्रो भेटघाट हुन्छ । उहाँसगँ मेरो राम्रो सम्बन्ध छ । केटी मान्छे कसैसगँ हाँस्यो भनेपनि मान्छेले अनेकथरि कुरा गर्छन् । त्यस्तो कुराले मलाई केहि फरक पर्दैन ।

जता पनि पावर लाग्दोरहेछ है ?

नेपालको बिडम्बना अहिले पनि त्यस्तै छ । यहाँ तपाई सक्षम हुनुनुन्छ, मैले काम पाउनुपर्छ भनेर तपाइले काम पाउन सक्नुहुन्न । आजको दिनसम्म पनि, यदि तपाई मन्त्रीको, सचिवको नजिकको हुनुहुन्छ भने तपाइँले छिट्टो काम पाइहाल्नुहुन्छ । तपाई योग्य हुनुपर्दैन । तर, सोर्सले मात्र काम पाएकाहरु धेरै समय टिक्न सक्दैनन् । आफु सक्षम हुनैपर्छ । पावर मात्र भएर हुँदैन । तपाईभित्र क्षमता छ भनेमात्र पावरले काम गर्छ ।

हिजोको दिनमा यसक्षेत्रमा आउन कोबाट प्रभावित हुनुभयोे ?

सबै संगीतको विभिन्न कालखण्डमा विभिन्न खालको विधाहरु र धारहरु आएका छन् । हरेक दशकमा संगीतका विभिन्न धारहरु आएका छन् । धर्मराज थापादेखि लिएर पछिल्लो समयमा लोकबहादुर क्षत्री ज्यूदेखि लिएर आधुनिक विधाका नारायण गोपाल, भक्तराज आचार्य, तारादेवी र तीर्थकुमारीको गीतबाट प्रभावित भए । मलाई विशेष गरेर लोकगीत नै मन पर्छ ।

हिजो र आजमा  के फरक पाउनु भएको छ ?

त्यो दिन पनि रमाइलो नै थियो । त्यो समय स्कुलमा पनि आइ इज्जोवेड अ लट । स्कुलमा हुदाँ पनि मेरो भिन्दै परिचय थियो । मस्त जिन्दगी थियो । केहि कुराको टेन्सन, चिन्ता भन्ने थिएन । यो बन्छु, त्यो बन्छु भन्ने पनि केहि थिएन रमाइलो जिन्दगी थियो । अहिले जिन्दगीको वास्तविकता अर्के हुंदो रहेछ भन्ने महशुस भएको छ । सानो हुँदा म कहिले जवान हुँला, म कहिले तरुनी हुँला भन्ने मात्र लागिरहन्थ्यो । अहिले मेरो परिचय छुट्टै भयो । म जहाँ गएपनि कोमल ओली भनेर चिन्नुहुन्छ । बोल्न आउनुहुन्छ । एकदम खुसी लाग्छ । मैले धेरै मेहनत गरेँ, धेरै दुख गरेँ, धेरै परिश्रम गरेँ । परिणामस्वरुप धेरै मान्छेहरुले मलाई चिन्नुहुन्छ, माया गर्नुहुन्छ । सत्कर्म गरिरहेछु जस्तो लाग्छ, खुसी लाग्छ र म बढीभन्दा बढी समय यस्तै सामाजिक कामलाई दिने गर्छु ।

पोइला जाने संस्कृति पाच्य नभएको नेपाली समाजमा म जस्तो किशोरीले के सिक्ने तपाईबाट ?

कन्चनलाई धेरै कुराहरु थाहा छैन । त्यसकारणले हो । हाम्रो जस्तो समाजमा पोइल जान एकदम आवश्यक छ । हाम्रोमा जातको कुरा हुन्छ, वर्गको कुरा हुन्छ, धर्मको कुरा हुन्छ । म परेको मान्छेसंग विवाह गर्न परिवारले सहमति दिदैन । लमी पठाएर विवाह गर्ने चलन छ आज पनि । कसको छोरी हो, गोत्र के हो ? हेर्छौ र मिलाउँछौँ । कोसगँ जीवन कस्तो हुन्छ भनेर हामीले चिना हेराउँछौँ । कहिल्यै नचिनेको मान्छेलाई जीवनसाथी बनाउन बाध्य हुन्छौं । पोइला जाने भनेको प्रेम विवाह गर्नु हो । हरेक युवती सक्षम भएर आफ्नो खुट्टामा उभिएर स्वाभिमानी भएर स्वाबलम्बी भएर र आफैँले कमाउँने भएर पोइला जानु भनिएको हो । त्यसैले यसमा कुनै अश्लिलता छैन । यसमा महिला शशक्तिकरणको कुरा छ । यसमा प्रगतिशिल सोच छ । एकदम सुन्दर गीत हो यो ।

कोमल ओलीको पोइला जान पाम पछि ज्योति मगरको ढाडे बिरालो र अर्चना पनेरुको आगमन हुन थाल्योे । तपाईले विकृति ल्याउनुभयो ।

कोमल ओलीको आयो भनेर त्यस्तो भन्छन् ? मैले त त्यस्तो सुनेको छैन । ढाडे बिरालो त मेरो कारणले नआएको हुनुपर्ने हो । म त गीत गाउँनुभन्दा पहिला तीन पटक सोच्छु । त्यस्तो हुनै सक्दैन । पोइला जान पाम गीतले नयाँ ट्रेन्ड चाहिँ ल्याएको हो । त्यो तीजको बेलामा शिवजीसगँ एउटा जवान युवतीले पोइला जान पाम शिव भन्छे, राम्रो श्रीमान प्राप्त होस भनेर । मेरो गीत चलेको हुनाले सबैले मलाई इष्र्या गरेर त्यस्तो भनेको हुनुपर्छ ।

तपाइको गीतमा प्राय विहेलाइ केन्द्रविन्दु बनाइएको हुन्छ । यतिविधि रहर हुंदापनि बिहे किन नगर्नुभाको ?

पोइल जान पांम त भनेकै हो । अनि किन विवाह गरिनौं त भन्दा गोजीमा गाँठ भएको र मनमा आँट भएको भेटिएकै छैन । संयोग त्यस्तै मिल्दै आयो । गीत संगीतले नै मेरो विहेको पाटोलाइ एउटा वे आउट गर्दै ल्याएको छ । बिहेपछि कोमलको विहे भइसक्यो भन्ने पनि गीत आउँछ मेरो ।

विवाहको सोचमा हुनुहुन्छ ?

छपनि छैनपनि । इमान्दारितापूर्वक भन्दा विहेलाई प्रथामिकता दिएको छैन । मान्छेहरुले कुरा गरिरहन्छन् । आफन्तले गर्छन्, साथीहरुले गर्छन्, नाता पर्नेहरुले गर्छन् । मेरो घरमा बुबाआमाले खासै कर गर्नुभएको छैन । मेरो परिवारमा कसैले पनि कर गर्दैनन् । मेरो आमाले भन्नुहुन्छ , ‘तिम्रो बेलामा म जन्मिएको भए म विवाह गर्दिन थिएँ , यस्तो सुन्दर जिन्दगी पाएकी छाैं त्यसकारणले यो सुन्दर जिन्दगी अर्थपूर्ण रुपले बाँच , के त्यो सधैँ मेरो परिवारलाइ, मेरो श्रीमानको सेवा, मेरो छोराछोरीको सेवा, मेरो फलानोको गरेर के जिन्दगी बिताउनु ?’ मेरो बुबालाइ त हुने कुरै भएन , उहाँ एकदम आध्यात्मिक विचारधाराको हुनुहुन्छ ।

तपाइँ कुमारी हो या होइन ?

यो प्रश्न महिलाहरुलाई सोध्न हुदैँन किनभने यो प्यूरिटि(पवित्रता) सगँ सम्बन्धित विषय हो । यसले छोरीहरु र नारीलाई अपमान गरेको ठहरिन्छ । त्यसैले अबदेखि नसोध्नुहोला कसैलाइ पनि । यो प्रश्न नसोध्नै अनुरोध गर्छु म । म जवाफ दिन चाहन्न ।

यति राम्री हुनुहुन्छ, प्रस्ताव त टन्नै आउँछन् होला, कसरी झेल्नुहुन्छ त्यस्तो कुरालाई ?

आउँछ नि । यदि केटि भएर केटाहरुले हेरेनन् भने, महिला भएर प्रस्तावहरु आएनन् भने यो त जिन्दगीमा सहनै नसकिने कुरा हुन्नछ । त्यसकारणले प्रस्ताव आउँनपनि पर्छ । जति आयो त्यति क्रेज बढ्छ । प्रस्ताव आएको मलाई एकदम मनपर्छ । म रेस्पोन्स पनि गर्ने गर्छु । ए मलाई फलानाले यस्तो भन्यो भनेर म त्यसलाई नकारात्मक रुपले हेर्दिन । धेरै मान्छेहरु म सगँ त्यस्तो कुरा गर्न डराउँनुहुन्छ । डराउँनुहुन्छ जस्तो लाग्छ मलाई अप्रत्यक्ष रुपले प्रस्ताव गर्ने कुराहरु थाहा हुन्छ नि त । छोरी मान्छे हो नि, मलाई कत्ति कुराहरु थाहा छ ?

कुनै समय गहिरो प्रेममा पर्नुभएर प्रेम गर्न नचाहेको हो र ?

होइन । म त एकदम प्रेम गर्ने मान्छेमा पर्छु । मेरो स्कलुको साथी एकजनालाई म यस्तो मन पराउँथे, सुरुसुरुको टिनएजको लभ त कस्तो गहिरो हुन्छ नि । आहा हेर्न पाए हुन्थ्यो। फेरि भेट्न पाए हुन्थ्यो भन्ने लागिरहन्थ्यो । त्यति मिठो हुन्छ नि त्यो । वास्तावमा त्यो इम्याचुरिटि हो । त्यो उमेरको कारणले गर्दा आउँने । यसमा चाहिँ कत्ति मान्छेहरुले विवाह गरेर आफ्को जिन्दगी बर्बाद गर्छन् तर जो मान्छेले त्यहिबेलामा म केहि बन्नु छ, मैले केहि गर्नु छ भनेर सोच्छ, त्यो मान्छेहरु ठ्याक्क आफ्नो बाटो लाग्यो भने राम्रो हुन्छ ।

त्यसकारण अलि सतर्क हुनुपर्छ जस्तो लाग्छ । त्योबेलामा यताउता सिकाउँने मेरो म्याडमहरु हुनुहुन्थ्यो स्कुलको । म आज पनि सानो सानो नानीहरुलाइ भन्ने गरेको छु, ‘ए छिटो विहे नगर है, लभ नगर्नु है अहिल्यै, पछाडिपटि मोटरसाइकलमा टासिँएर नहिड्नु है, लगेर कहाँ छोडिदिन्छ तिमीलाइ, जिन्दगी बर्बाद हुन्छ । तिमी डिप्रेसनमा जान्छौँ । त्यसकारणले प्रेम गर्नु तर मरिहत्ते गरेर चाहिँ नगर्नु ।’ मलाई मेरो म्यामहरुले भनेको कुरा याद आउँछ अहिले । अहिले करियर बनाउने हो भने दायाँ वायाँ नसोच्नु भन्नुहुन्थ्यो मलाइ मेरो म्याडमले । त्यो कुरा सधैँ मेरो दिमागमा आइरहन्थ्यो र आज पनि छ मेरो दिमागमा ।

जादाँजादैँ आफ्ना शुभचिन्तक र दर्शकलाइ के भन्नुहुन्छ ?

मेरो नयाँ एल्बमपनि आउँदै छ । पोइला जान पामलाई टक्कर दिदैछ यस पटककोे गीतले । मलाइ मन पराइराख्नु भएको छ, मन पराइदिनुहोला । यो जुलाइमा मलेसिया आउँदै छु । अगस्टमा म अस्ट्रेलिया आउँदैछु । त्यहाँको दुइतीनवटा शहरहरुमा कार्यक्रम हुँदैछ । त्यसपछि सेप्टेम्बर दुइदेखि मेरो क्यानडामा सो हुदैँछ । यहाँहरुसबैको माया तथा सद्भावको लागि धेरैधेरै धन्यबाद ।