बिचार

समाचार

विदेशबाट राष्ट्रपतिलाई पत्र–हाम्रो मदनको हत्या छानबिन गरिदिनुहोस्

शनिबार, २२ जेठ २०७३ गते प्रकाशित
- नेपाल आज

विदेशबाट राष्ट्रपतिलाई पत्र–हाम्रो मदनको हत्या छानबिन गरिदिनुहोस्

सम्माननीय राष्ट्रपति ज्यू,  प्रेषक

म एक आम नेपाली हुं । मदन भण्डारीका भाषण सुन्दा शरीरमा काँंडा उम्रने युवा हुं। म सानै थिए, तर उनको भाषणले मलाई खुब तान्दथ्यो । ठूलो भएपछि मदनलाई भेट्ने धोको थियो । दैबले हाम्रो मिलन चाहेन । अहिले यूएईमा छु । मदन भइदिएको भए सायद खाडीमा आएर पसिना बगाउन पर्ने थिएन ।

13348725_10206182917000899_71528878_n

उर्बर देशको कर्मठ मजस्ता हजारौं युवा यहाँं जताततै भेटिन्छौं । हामी आफुलाई अभागी ठान्छौं । देशको सेवा गर्न नपाएको पछुतो छ । कहिलेकाहीँ त हामीभन्दा अभागी मदन रहेछन् जस्तो लाग्छ । जीबनसाथी राष्ट्रपति हुंदा, अनुयायी प्रधानमन्त्री हुंदा तथा शीतल निवास र सिंहदरबारको जोडकोण मिलेको अवश्थामा समेत उनको हत्या छानबिन भइरहेको छैन । त्यसैले अभागी मदनका तर्फबाट तपाईलाई यो पत्र लेख्दैछु ।

श्रीमानको हत्या भएपछि बिधवा बन्नु पर्दाको पीडा सायद अरु कसैले अनुवभ गर्न सक्छ । निसन्देह तपाईलाई पीडा छ । श्रीमानको हत्याको बदला लिन महिलाहरुले शाहसिक काम गरेका प्रशस्तै उदाहरण छन् । जीबनभर संर्घष गरिरहेका भेटिन्छन् । रुसमा ’ब्ल्याक विडो’ भन्ने बिधवाहरुको संगठन छ, उनीहरुले रुसी सेनाहरुले क्रुरता पूर्वक मारेका आफ्ना श्रीमानहरुको बदला लिन जीबनकै जोखिम मोल्ने गर्दछन् । निश्चित रुपमा शोकलाई शक्तिमा बदल्ने तरिकाहरु फरक फरक हुन्छन् तर आफ्नो मान्छेको हत्याको छानबिन र हत्यारालाई कारवाही गर्न हरेक कोहिको जमर्को हुन्छ ।

हाम्रै देशमा नन्दप्रसाद अधिकारीले आफ्नो छोराको हत्यारालाई कारवाही गर्नुपर्ने माग राखेर प्राण त्याग गरे । गंगामाया अहिलेपनि आन्दोलनमै छन् । उनीहरुको आन्दोलन ठीक बेठीक, सफल असफल समीक्षाको विषय होला । तर, अनाथहरुलेपनि हत्याको छानबिन र न्यायको बिषयलाई मूलधारको छलफल बनाउन सक्दछन् भन्ने मानक स्थापित गर्न अधिकारी दम्पत्ति सफल भए ।

तपाई शोकलाई शक्तिमा बदल्ने नारासहित सेतो बश्त्रमा चुनावी मैदानमा खटिएको दृश्य मेरो मानसपटलमा अहिलेपनि नांचिरहेको छ । जनताका नेता मारिएको, एउटा देशभक्तलाई खोलामा बगाइएको पृष्ठभुमीमा निर्वाचन भएको थियो । जनता मदनको हत्याको छानबिन चाहन्थे र दोषीलाई कठघरामा उभ्याउन चाहन्थे । त्यसैले तपाईको पक्षमा जनता उभिए । नेपाली प्रजातान्त्रिक आन्दोलनका सम्मानित नेता कृष्णप्रसाद भट्टराईलाई पराजित गरेर जनताले तपाईलाई जिताएका थिए । सो जित तपाईको राजनीतिक जीबनका लागि कोशेढुंगा बन्यो । तपाई राष्ट्रपति हुनुभयो । मदन मरे, तर मदनले तपाईलाई कांध थाप्न छोडेनन् ।

राष्ट्रपति भएलगत्तै तपाईले बल्खुमा गएर पुष्पागुच्छा अर्पण गर्नुभयो । लाग्यो अब केही हुन्छः मदनको भड्किएको आत्माको चित्कार सुन्ने सही ब्यक्ति शीतल निवासमा हाजिर छ जो देशको सर्वोच्व पदमा आसिन छ । जेठ तीन आयो । मदनको स्मृतिमा मदनको छानबिनका लागि तपाईको आग्रहमा सरकारले आयोगसम्म भएपनि बनाउला भन्ने लागेको थियो । तर, बनेन ।

अहिले नआए बजेटमा आउंला भन्ने लाग्यो । तपाई राष्ट्रपति, केपी प्रधानमन्त्री, विष्णु अर्थमन्त्री तीनैजना मदनका लागि जेपनि गर्न सक्ने भनि दाबी गर्ने नेताहरु । तर, बजेट सुनेपछि होइनरहेछ भन्ने लाग्यो । अरुप्रति औंला उठाउन सकिएला । तपाईलाई कसरी उठाउने ? मनले मानिरहेको छैन । त्यसैले शीतल निवासमा पहुंच नभएकाले यसैमार्फत मनको भारी बिसाउंदैछु ।

हत्याको छानबिन गर्न भनेर त्यतिबेलै नेकपा एमालेले भिषण आन्दोलन शुरु गरेको थियो । तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोईराला र उनको पार्टी लक्षित गरेर गरिएको आन्दोलनमा थप केहिको हत्या भयो । तिनका आफन्तले तपाईलाई शीतलनिवासमा देख्दा मनमनमा के भन्दा हुन् भन्ने लाग्दछ । आन्दोलनकै मेसोमा माधबकुमार नेपाल महासचिव भए । करिब १५ बर्षसम्म मदनको शालिकमा फूलमाला मात्र चढाएरै उनको कार्यकाल सकियो । प्रधानमन्त्री भए तर हत्याको स्वतन्त्र र उच्चस्तरीय छानबिन भएन ।

पटक पटक एमालेले गृहमन्त्रालय खायो । एमालेका ३ जना प्रधानमन्त्री भए, मदनकी धर्मपत्नी तपाई स्वंयपनि गणतन्त्र नेपालको दोश्रो तथा पहिलो महिला राष्ट्रपति बन्नुभयो । एक मिनेट मदनका नाममा मौन धारण गर्ने र मदनका नाममा बजेटमुखी फाउण्डेशन चलाउनेबाहेक अरु काम भएको बिदेशिएको यो बबुरोलाई थाहा छैन । तपाईप्रति मेरो अगाध सम्मान छ । मेरो मनमा पाप पलाउन खोजेको भए माफ पाऊं ।

मदनको हत्या हुंदा म स्कुले जीबनमा थिए । राजनीति बुझेको थिएन । तर, मदनलाई बुझेको रहेछु क्यार । अनायशै आंशु झरेको थियो । तिक्ष्ण बोलीका केपी ओलीका शब्दले जुरुक्कै पारेको थियो । उनले भनेका थिए, ‘हत्याराको हुलिया थाहा छ, यहाँ सम्म की उसको घर कतापट्टी फर्केको छ भन्ने पनि थाहा छ, तर त्यसलाई कारवाही गर्नको लागि हाम्रो सरकार हुनुपर्छ ।’

उनले सबैलाई एमालेको सरकार नभइ हुंदैन भन्ने पार्ने गरी बोलेका थिए । एमाले मध्यावधी निर्वाचनमा सबैभन्दा ठूलो दल भयो । सरकार बन्यो तर केही भएन । शालिकमा फुल चढाइयो । बस्, यत्ति भयो ।

केपीले त बोलेकै थिए । सायद यिनी आफैं प्रधानमन्त्री नभएकाले छानबिन हुन नसकेको हो कि भन्ने लाग्यो । जब ओली प्रधानमन्त्री भए, आशा फेरि आकाशियो । पछिल्ला गतिविधिले त आशा गर्ने ठाऊंपनि बांकी रहने स्थिति छैन । जीबनसाथी नै शीतल निवासमा भएकाले केही हुन्छ की भन्ने छ । त्यसैले यो पत्र लेखेको हुं ।

शुरुदेखि नै मदनलाई मात्र किन एमालेले केन्द्रमा राखेको छ भन्ने मलाई खट्किरहन्थ्यो । आखिर संगै मारिएका थिए जीबराज आश्रित । शुरुमा मदनआश्रित भनिन्थ्यो । अहिले त आश्रितलाई पूरै ओझेलमा पारिएको छ । तत्कालिन संगठन बिभाग प्रमुख जीवराज आश्रीतको हत्याको कोणबाट समग्र हत्याकाण्डलाई हेरिएन । शायद उनको पनि उत्तिकै सोधीखोजी भएको भए दासढुंगा हत्याकाण्डका बारे नयाँ कोशेढुंगा भेट्न सहज हुन्थ्यो ।

एउटा साप्ताहिकमा टिएन शर्मा भन्ने लेखकको लेखहरुमा मदन भण्डारीको हत्या एमालेकै उच्चतहबाट भएको हो भन्ने कुरा बारम्बार छापिन्थ्यो । सो पत्रिका गाऊंगाऊं पुग्थ्यो । पूरै घटना बिबरण दिइएको हुन्थ्यो । सो बिबरणका बिरुद्ध कानूनी उपचार खोजेको थाहा भएन । भण्डारीको टाउको यो ठाऊंमा ठोक्काएर मारिएको भन्नेसम्मका कुरा पत्रिकामा लेखिएका हुन्थे ।

भण्डारीका चालक अमर लामा थिए । सोझो हिशावले हेर्दा एकजनामात्र साक्षी उनै हुन् । हत्याकाण्डको १० बर्षपछि उनको पनि हत्या गरियो । मदनको हत्या छानबिन त भएन भएन, एकमात्र साक्षीको हत्यापनि छानबिन गरिएको छैन । अमरको हत्या छानबिन गर्न गाह्रो छैन । उनको हत्या छानबिन गर्दैजांदा मूलसम्म पुग्न सकिन्छ भन्ने लाग्दछ । जीबनको उत्तरार्धमा कांग्रेस प्रवेश गरेका अमर लामालाई ताजाखबर भन्ने आफ्नै पत्रिकाको कार्यालयबाट अज्ञात समुहले अपहरण गरी टेकु, कालिमाटी बल्खु हुँदै किर्तिपुरमा हत्या गरेको थियो ।

अहिले जिवित साक्षी त मरिसक्यो भनेर उम्किन खोजिदैछ भन्ने गाँइगुँई सुन्दैछु । उनी जिवित छंदाका १० बर्ष के हेरेर बसेको त भन्ने प्रश्न मनमा उठ्ने गर्छ । नाम अमर भएपनि उनी सधैं अमर रहदैनथे होला । अमर लामाको हत्या गर्ने मान्छेबाटै फेरि त्यसलाई ‘रिभर्स’ गरेर हत्यारा सम्म पुग्न सकिने कुनै आधार छैन ? अमरको हत्या हुंदा देख्ने साक्षी त धेरै छन् । माओवादीले हत्याको जिम्मेवारी लिएको भनिएको थियो । जिम्मेवारी लिने नेता त जिवित होलान् ? आंट गर्ने हो भने मदनको हत्यारासम्म पुग्न सकिन्छ । तर, अब त लाग्न छोडिसक्यो यहाँ कसैले आँट गर्छ । तपाईप्रति थोरै भएपनि आशा छ । तर मनको कुरा नलुकाइ भन्ने हो भने भर लाग्न छोडिसकेको छ ।

अहिलेको स्थिति हेर्दा लाग्छ, स्वयं एमाले नै उदासिन छ । उसलाई यो घटनासँग कुनै सम्बन्ध छैन । उ यो घटना बिर्सन चाहन्छ । मदन भण्डारीले छोटो समयमा कोरेको गौरवशाली इतिहास मेट्न चाहन्छ । तर मदनको नाममा सदाकालसम्म ब्याज भने असुलिरहन चाहन्छ । जननेता मदनको हत्याको विषयमा खुबिया एजेन्सीको नाम नजोडिएको पनि होइन । बिसौं शताब्दिमा माक्र्स जिवित छन् भन्ने विरासत बनाएका थिए मदनले । ‘सिआइए’ र ‘र’ को संयुक्त अप्रेसन युनिटले हत्या गराएको भन्ने चर्चापनि काफी चलेकै थियो ।

अन्तर्राष्ट्रिय अपराध रिसर्च सेन्टरको काठमाडौं स्थित ‘मिसन फायर’को कार्यालयमा सो बारे दस्तावेज रहेको कुरा तत्कालिन आन्तरिक गुप्तचर एजेन्सी प्रमुख समिर मुखियाले बताएकै हुन् । राष्ट्रियताको सवालमा विरेन्द्रसंग मदनको सहकार्य उतिबेलै चर्चामा थियो । मदन मारिएको ८ बर्षपछि बिरेन्द्रपनि मारिए । एउटैको निशानामा दुबै परेकी भन्नेपनि छ ।

मदनआश्रित हत्या छानबिनका लागि तमाम प्रमाण अहिलेपनि सुरक्षित छन् । मदनको हत्यापूर्व र हत्यापछि आएका विभिन्न कोणका अभिव्यक्ति आफैंलेपनि अनुसन्धानमा सहयोगी भुमिका निर्वाह गर्न सक्छन् । मदन र जीवराजको भिसेरा अहिले पनि राष्ट्रिय बिज्ञान प्रयोगशालामा सुरक्षित छ । त्यतिबेलै उनिहरुको मृत शरीरबाट निकालेर राखिएका केहि अंगका टुक्राहरु (जसलाई भिसेरा) भनिन्छ, त्यसको मुचुल्का नउठाइकन सिरिन्ज बाट शिसाको बट्टामा सारिएको भनेर शंका गरिएको थियो । त्यस्ता कृयाकलापले अपराध अनुसन्धानमा प्रगति नहोस भन्ने बद्नियत त्यतिबेलै नदेखाएको होइन ।

एमाले र तपाईहरुले त्यतिबेलाको अनुसन्धानलाई अस्विकार गर्नुभएकै हो । अरुले गरेको अनुसन्धानपनि नस्विकार्ने, आफु देशकै सर्वोच्व पदमा हुंदासमेत आफ्नै जीबनसाथीको हत्याका बारेमा छानबिन नगराइकन तपाई कसरी बस्न सक्नुभए होला ? घरीघरी अचम्म लाग्दछ । केहि दिन पहिला एमाले बरिष्ठ नेता माधवकुमार नेपालले हिमालय टेलिभिजनमा अन्तर्वार्ता दिँदै मदन भण्डारीको हत्याको च्याप्टर अब बन्द गर्नुपर्ने आशयको उत्तर दिएका थिए । के हत्यारा पत्ता नलाग्दै त्यसको च्याप्टर बन्द गर्न खोजिएको हो ? त्यसले फेरि एउटा बहसको शुरुवात गरिदिएको छ । एउटा राजनेतालाई असाहयजस्तो व्यवहार गर्न मिल्छ । उनको हत्या कुनै नेताको सनकको विषय हुन सक्दैन । कहिले हत्या भएको भनेर कार्यकर्ता सडकमा ओराल्ने र थप हत्या गराउने । कहिले अब च्पाप्टर क्लोज गरौं भन्ने ? यसो गर्न पाइन्छ ? इतिहासको कठघरामा एमाले र तपाई हुनुहुन्छ ।

यात मदन भण्डारी सडक दुर्घटनामा परेका हुन् भनेर स्विकार गर्ने हिम्मत देखाउनुहोस् । होइन, हत्या नै भएको हो भने छानबिनका लागि तप्परता देखाउंनुहोस् । कुनै दिन यस्तो किम्बदन्ती नबनोस् ‘देशको प्रखर राष्ट्रवादी नेता मारिए । उसको नाममा श्रीमतीले आक्रामकरुपमा राजनीति गर्न  थालिन । देशको राष्ट्रपतिपनि भइन । तर शीतल निवास पुगेपछि उसको आक्रोशा शितलता आयो । उद्देश्य पूरा भइसकेको थियो । श्रीमानको हत्याका बारेमा चुपचाप रहिन ।’

तपाईको भलो चिताउने तर मदनको हत्याको छानबिन चाहने, हाल परदेशिएको, उही, ईश्वर अर्याल