कभर स्टोरी

भिडियो

मुख्य समाचार

मोनिका बन्न मनोजले झेलेको महाभारत (भिडियोसहित)

सोमबार, १० जेठ २०७३ गते प्रकाशित
- नेपाल आज(SS)

मोनिका बन्न मनोजले झेलेको महाभारत (भिडियोसहित)


‘म को हुं ?’ उनलाई द्विविधा भइरहन्थ्यो । रुप र व्यवहारमा तालमेल मिल्दैनथ्यो । केटीका लुगा लगाउन मन लाग्थ्यो । केटीकै माझमा बस्न मन लाग्थ्यो । लक्का जवान पुरुषसंग प्रेम गर्ने चाहना हुन्थ्यो ।

तर व्यक्त गर्ने कसरी ? उनी मनलाई छल्न सक्दिनथिन् । समाजसंग आत्मसमर्पण गरेर केटाजस्तै हुनपनि सक्दिनथिन् । नागरिकता लिने उमेर पुगिसकेको थियो । उनले जिल्ला प्रशासन कार्यालय कैलालीमा आवेदन दिइन् । नागरिकता आवेदन फारममा उनले महिला/पुरुष लेखिनन् । तेस्रो लिङ्गी भनेर लेखिदिइन् । उनको आवेदन कार्यालयका लागि असमान्य बनिदियो । कुरा प्रमुख जिल्ला अधिकारीकोसम्म पुग्यो । प्रजिअले तेस्रो लिङ्गीको प्रमाण प्रस्तुत गर्न भने ।

 

7


कैलालीकी मोनिका शाही ३७ वर्षकी भइन । ३७ बर्षको उमेरमा उनले दुईथरी जीबन जिइन् । पहिले मनोजका रुपमा र अहिले मोनिकाका रुपमा । मनोजबाट मोनिका बन्न उनले बर्षौ संर्घष गर्नुप¥यो । उनको जन्म पुरुषका रुपमा भयो ।

अङ्गप्रत्यङ्ग पुरुषकै भएकाले बुबाआमाले नाम जुराइदिए मनोज । उमेर बढ्दै जादा उनको भावभङ्गिमा र सोचले पुरुष हुन मानेन । उनी एकमा दुई मान्छे थिइन्ः समाजका लागि पुरुष, आफ्नोलागि महिला । उनी समाजमा आफु को हुं प्रष्ट भन्न सक्दिनथिन् । नत पुरुषजस्तो बनेर नाटक गर्न सक्थिन । परिवन्दमा पिरोलिरहिन् केही बर्ष ।


आफ्नो कारणले परिवार बदनाम हुंदा

‘म को हुं ?’ उनलाई द्विविधा भइरहन्थ्यो । रुप र व्यवहारमा तालमेल मिल्दैनथ्यो । केटीका लुगा लगाउन मन लाग्थ्यो । केटीकै माझमा बस्न मन लाग्थ्यो । लक्का जवान पुरुषसंग प्रेम गर्ने चाहना हुन्थ्यो । तर व्यक्त गर्ने कसरी ? उनी मनलाई छल्न सक्दिनथिन् । समाजसंग आत्मसमर्पण गरेर केटाजस्तै हुनपनि सक्दिनथिन् । यहीं बेमेलका कारण उनी साथीभाइ र गाऊघरमा अनौठो पात्र बनिन् । साथीभाइ उनलाई जिस्काउथे । हेप्थे । बचन लाउंथे । उनी सहन बाध्य थिइन् । उनका साथी भाइले उनलाई त जिस्काएकै थिए, विस्तारै उनको नाम लिंदै दाजु र दिदीहरुलाई पनि जिस्काउन थाले ।

दुई दाजु र दुई दिदीकी कान्छी बहिनी मोनिका घरकी प्यारी थिइन् । दाजु र दिदीहरुलाई आफ्नो नाम लिएर जिस्काउदा असह्य हुन्थ्यो । आत्महत्या गरुंकी भन्ने पनि लागिरहन्थ्यो । छिमेकीले ‘हिजडाको दाइ’ भनेर जिस्काउथे । दाइहरुले उनीसंग कहिल्यै गुनासो गर्नुभएन । तर, दाइहरुलाई परेको भावनात्मक चोट उनी सहजै बुझ्दिन् तर उनीसंग गर्न सक्ने केही थिएन । ‘आफ्नो कारण दाइहरुलाई अफ्ठयारो पर्दा मुटुमा खिल परेजस्तो हुन्थ्यो ।’ यति भन्न नपाउंदै लरबराइरहेको उनको बोली रोकियो । झचल्किएका आंखाबाट आंशुको थोपा चुइसकेको थियो ।

 

Monika Shahi


आफुजस्तै अरुपनि

शुरुमा त उनलाई दैबले ठगेको महशुश हुन्थ्यो । ‘म मात्रै किन यस्तो ?’ उनको मनमा कुरा खेलिरहन्थ्यो । कसैलाई भन्नपनि नसकिने । भन्यो भनेपनि अपमानित भइएला भन्ने डर । उकुसमुकुस हुन्थ्यो । उनले जताततै डरैडर देख्थिन । परिवार, साथीभाइ, छिमेकी, आफन्त सबै साथमा थिए ।

उनी सबैको बीचमा बसेरपनि एक्ली थिइन् । आफुजस्ता अरु हुन्छन् कि हुंदैनन् भन्ने बुझ्न थालिन् । गांइगुंइ सुनिन्ः हजारौंको संख्यामा हुन्छन् । आफुजस्तैहरुले संस्था खोलेर पहिचानका लागि संर्घष गरिरहेकोपनि सुनिन् । उनले आफु तेस्रो लिङ्गी हुं भन्ने धेरैपछि मात्र थाह पाइन् । पहिचान थाह पाउंदा उनलाई पिंजडाबाट मुक्त पंक्षीजस्तो लाग्यो । अब त उड्न सक्छौं भन्ने आत्मविश्वास पैदा भयो । उनलाई विद्यालयमा पढ्नसमेत अफ्ठयारो हुंदै गयो । उनी केटासंग कक्षामा बस्न चाहन्नथिन् । मनोभावका दृष्टिले उनी केटी थिइन् । केटीसंगै बस्न चाहन्थिन तर विद्यालय प्रशासनले छुट दिदैनथ्यो । साथीभाइको बीचमा हासोमजाकको पात्र बनिरहिन् । अन्ततः उनले पढाइ पूरा नहुंदै जनजागृति माध्यामिक विद्यालय छाडिन् ।

Monika Shahi


प्रजिअले जब तेस्रो लिङ्गीको प्रमाण मागे

केही वर्ष पछि उनी ब्लु डाइमण्ड सोसाइटीको सम्पर्कमा आइन । त्यहां उनले आफुजस्तै धेरैलाई भेटिन् । पहिचान लुकाएर लुक्दैन भन्ने साहश बटुलिन् । तेस्रो लिङ्गीका बारेमा भएका बहश, कानूनी प्रावधान र सफलताका कथा बुझ्न पाइन । तस्रो लिङ्गी हुनु कुनै रोग होइन, प्राकृतिक कुरा हो भन्ने वैज्ञानिक आधार बुझन पाइन । आफ्नै पहिचानका आधारमा नागरिकता लिन पाइने जानकारीसमेत पाइन् । नागरिकता लिने उमेर पुगिसकेको थियो । उनले जिल्ला प्रशासन कार्यालय कैलालीमा आवेदन दिइन् । नागरिकता आवेदन फारममा उनले महिला/पुरुष लेखिनन् ।

तेस्रो लिङ्गी भनेर लेखिदिइन् । उनको आवेदन कार्यालयका लागि असमान्य बनिदियो । कुरा प्रमुख जिल्ला अधिकारीकोसम्म पुग्यो । प्रजिअले तेस्रो लिङ्गीको प्रमाण प्रस्तुत गर्न भने । महिला वा पुरुष भनेर लेखेको भए के प्रजिअले प्रमाण माग्थे ? उनकै सामु प्रजिअले कतिको नागरिकता प्रमाणित गरे । तर कसैलाई लिङ्गको प्रमाण देखाउन भनेनन् । उनले राज्यबाटै विभेदको महशुश गरिन् ।

भारी मन लिएर कार्यालयबाट फर्किन् । तर, हरेश खाइनन् । उनले ‘मेरो लिङ्गको बारेमा म भन्दा ठूलो प्रमाण के हुन्छ ?’ भन्ने प्रश्न प्रशासन समक्ष तेर्साइरहिन् । बहश नै चल्यो उनको कारणले कार्यालयमा । अन्ततः उनले तेस्रो लिङ्गीका रुपमा नागरिकता पाइन् । जसो तसो नागरिकता त बनाइन् । राहदानी बनाउंदा उस्तै झण्झट । हरेक ठांऊमा प्रष्टिकरण दिनुपर्ने । व्यक्तिको लिङ्ग निजी मामिला भएपनि राज्यले अनेकौं उल्झन देखाउंथ्यो । प्रशासनले नागरिकता दिएपनि परराष्ट्र मन्त्रालयको राहदानी विभागले थप प्रमाण खोज्थ्यो । कर्मचारीहरुको आंखा ‘तेस्रो लिङ्गी’ लेखेको ठाऊंमा पुग्दा वित्तिकै अर्कै भावमा प्रस्तुत हुन्थे । मानौं उनीहरुका सामू कुख्यात अपराधी उभिएको छ ।

अन्ततः उनले राहदानी पाउने भइन् । जेण्डरमा लेखियोः ओ । अर्थात अदर । महिला पनि होइन, पुरुषपनि होइन । ऊ अन्य हो । अन्य हुनुपनि पहिचान हो । ओ को राहदानी पाउंने उनी पहिलो नेपाली हुन् । पहिलो हुंदाको खुशी जत्ति छ त्यसका लागि संर्घष गर्दाको पीडा उत्ति नै । उनीपछि ओ राहधानी पाउने धेरै भइसके । उनले बाटो खोलिदिएपछि अरुका लागि हिड्न सजिलो भएको छ ।

मोनिकाले गर्नुपरेको संर्घष र भोग्नुपरेको सास्ती अब दोहोरिदैन । संविधानले तेस्रो लिङ्गीको पहिचानलाई प्रत्याभुत गरेको छ । धर्म ,वर्ण ,जात, जाती ,लिंग उत्पती , भाषा वा बैचारीक आस्थाका आधारमा नागरिकलाई भेदभाव गर्न नमिल्ने प्राबधान संविधानमा छ । तेस्रो लिङ्गी विवाहलाई नेपालको अदालतले मान्यता दिइसकेको छ । आफुहरुको संर्घषका कारण तेस्रो लिङ्गीमैत्री संविधान र कानून बनेकोमा गर्व मोनिकालाई गर्व लाग्छ । अधिकार मागेर पाइंदोरहेनछ, खोसेर लिनुपर्दोरहेछ । उनको अनुभव यसै भन्छ । उनलाई थकथकी लाग्छः पहिल्यै आफु खुल्न सकेको भए धेरै समस्या टरिसकेको हुन्थ्यो । गुम्सिएर बस्दा समस्या बल्झदोमात्र रहेछ । गुपचुप रहेका तेस्रो लिङ्गीलाई आफ्नो पहिचान बेलैमा खुलाउन मोनिका आग्रह गर्छिन ।

Monika Passport


बुबाआमा नहुंदा

मोनिकालाई खट्किएको छ आमाबुबाको अनुपस्थिति । २० बर्ष अघि बुबा वित्नुभयो । दैबलाईपनि छाडेन आमालाई । १० बर्षअघि आमा बित्नुभयो । बुबाआमा जीबनको उत्तराद्र्धमा रहंदा मोनिका पहिचानका लागि संर्घष गर्दै थिइन् । बुबाआमालाई मोनिकाको भविश्यप्रति सबैभन्दा बढी चिन्ता थियो । राज्यसंगको लडाइमा थिइन् मोनिका । आज राज्यले उनलाई ग्रहण गरेको छ ।

समाजमा पनि उनका बारेमा सकारात्मक सोच पैदा भएको छ । अस्तित्व नभेटिदा आत्महत्या गर्न चाहेकी मोनिकाका सामू आज धेरैले मनको बह पोख्ने स्थिति छ । धेरैका लागि प्रेरणाको स्रोत बन्न सफल भएकी छन् । ‘जन्म दिएरपनि कर्म दिन नसकेको भन्दै अफसोच् मान्नुहुने बुबाआमा यतिबेला भइदिएको भए कति खुशी हुनुहुन्थ्यो होला ?’ मोनिकाको मनमा बिझीरहन्छ । आमाले सधैं मोनिकाको घरजम भएको देख्न चाहनुहुन्थ्यो । सम्भव भएन । उनले कुराकानीको बिट मार्दै भनिन्ः विहेका लागि कुराकानी भइरहेको छ । छिट्टै केटा साथीसंग विहे गर्दैछु ।